खाद्य संस्थानले आजदेखि खसीबोका बेच्ने


सीता शर्मा

काठमाडौँ, असोज २६ गते । नेपाल खाद्य संस्थानले दसैँका लागि ल्याइएका खसी, बोका र च्याङ्ग्रा शुक्रबारदेखि बिक्री सुरु गर्ने जनाएको छ । संस्थानको थापाथलीस्थित बागमती कार्यालय परिसरबाट बिक्री सुरु गर्ने भएको हो । संस्थानका प्रवक्ता शङ्करप्रसाद सापकोटाले संस्थानका तर्फबाट पाँच सय च्याङ्ग्रा र १८० खसी र बोका काठमाडौँमा ल्याइसकेको र शुक्रबार बिहानसम्म थप खसी बोका आइपुग्ने भएकाले शुक्रबार वा २६ गतेदेखि नै बिक्री गर्न सुरु गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार संस्थानले यस वर्षको दसैँलाई लक्षित गर्दै एक हजार च्याङ्ग्रा र एक हजार खसीबोका ल्याउन लागेको जनाएको छ । संस्थानले बिक्री गर्ने भनेका एक हजार खसीबोकामध्ये मकवानपुरको हेटौंडाबाट ३२० खसीबोका र दाङको तुलसीपुरबाट पाँच सय खसीबोका काठमाडौँमा ल्याउने क्रममा रहेको जनाएको छ ।
यस्तै एक हजार च्याङ्ग्रामा मुस्ताङबाट ल्याउने भनेकोमा पाँच सय च्याङ्ग्रा आइसकेको र बाँकी शुक्रबार राति वा शनिबार बिहानसम्म आइसक्ने संस्थानले जनाएको छ । संस्थानका प्रवक्ता सापकोटाले संस्थानले ल्याएका खसीबोका च्याङ्ग्राले उपत्यकावासी उपभोक्ताको माग पूर्ति गर्ने नभएर मूल्य नियन्त्रण गर्ने उद्देश्य रहेको जानकारी दिनुभयो । दसैँको मासु बढी खपत हुने भएकाले दसंँका नाममा भाउ मनपरी नहोस् भनेर नै संस्थानले थोरै ल्याएर बजार भाउ नियन्त्रण गर्दै आएको उहाँले बताउनुभयो । khasiboka
संस्थानले खरिद गरेका खसीबोका र च्याङ्ग्राको मूल्य अन्य बजारमा पाइनेभन्दा सस्तोमा बिक्री गर्ने जनाएको छ । संस्थानका प्रवक्ता सापकोटाले बजारभन्दा सस्तो मूल्यमा मासुका लागि खसीबोका बिक्री गर्ने गरी मूल्य निर्धारण गरेका छौँ भन्नुभयो ।
संस्थानले खसीबोकाको प्रतिकेजी मूल्य ५३० रुपियाँ र च्याङ्ग्राको मूल्य ७७० रुपियाँ प्रस्ताव गरेको छ । गत वर्ष खसीबोकाको बिक्री मूल्य प्रतिकेजी ४५४ रुपियाँ रहेको थियो । यस्तै, संस्थानबाट च्याङ्ग्रा ६७५ रुपियाँ प्रतिकेजीमा बिक्री वितरण भएको थियो । यो वर्ष खसीबोकाको बजार मूल्यको भन्दा प्रतिकेजी १० रुपियाँ सस्तो हुने भन्दै प्रवक्ता सापकोटाले प्रत्येक वर्ष दसँैतिहारको बेला संस्थानले खसीबोका खरिद गरेर राजधानी ल्याउने र बजार मूल्यभन्दा सस्तोमा बिक्री वितरण गर्ने गरेको बताउनुभयो ।
संस्थानले तीन करोड ४९ लाख ३० हजार रुपियाँ बजेट विनियोजन गरी खसीबोका तथा च्याङ्ग्रा ल्याउनका लागि बजेट छुट्याएको हो । संस्थानले अघिल्लो वर्ष खसीबोका खरिदका लागि तीन करोड ६३ लाख ४५ हजार रुपियाँ छुट्याएकोमा संस्थानले दई करोड ९० लाख ८६ हजार रुपियाँ बराबरको खसीबोका तथा च्याङ्ग्रा ल्याउनका लागि खर्च गरेको थियो । गत वर्ष संस्थानले २३ हजार ९७७ केजी खसीबोका बिक्री गरेको थियो ।
संस्थानका अनुसार ती खसीबोका बराबर बिक्रीबाट एक करोड आठ लाख ८३ हजार रुपियाँ आम्दानी गरेको छ । संस्थानले गत वर्ष च्याङ्ग्रा एक करोड ८९ लाख ८९ हजार रुपियाँ बराबरको बिक्री गरेको थियो । गत वर्ष संस्थानले एक हजार पाँच सय खसीबोका, एक हजार च्याङ्ग्रा खरिद गर्ने लक्ष्य राखेकोमा खसीबोका ९७३ र च्याङ्ग्रा ८९० वटा मात्रै खरिद गरेको थियो । संस्थानले यस वर्ष लक्ष्यअनुरूप सबै आउने दाबी गर्दै आएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds