स्वास्थ्य केन्द्र निर्माणमा सहयोग जुट्दै

राममणि दाहाल

हेटौँडा, असोज २६ गते । मिस नेपाल शृङ्खला खतिवडाको अगुवाइमा मकवानपुरका विकट गाउँ ताम्लाङमा निर्माण हुने स्वास्थ्य चौकीका लागि थप सहयोग जुट्ने भएको छ ।  कैलाश गाउँपालिका वडा नम्बर ७ मा वान होम फाउन्डेसनको समन्वयमा निर्माण सुरु गरिएको सामुदायिक स्वास्थ्य केन्द्रका लागि लन्डनमा भएको च्यारिटीबाट १० लाख रुपियाँ सहयोग जुट्ने भएको हो ।
मिस यूके नेपाल च्यारिटीमा मिस नेपाल खतिवडा सहभागी हुनुभएको थियो । च्यारिटीमा सहभागी हुनुभएका शृङ्खलाका आमा मुनु सिग्देलले च्यारिटीबाट सङ्कलित करिब १० रुपियाँ स्वास्थ्य चौकी निर्माण गर्न प्राप्त हुने जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य चौकी निर्माणमा गैर आवासीय नेपालीको संस्थाले पनि सहयोगको प्रतिबद्धता जनाएको छ ।
सन् २०१७ का मिस यूके नेपाल सिर्जना गुरुङ, दीपेश राई र नवीन गुरुङको सक्रियतामा लन्डनमा स्वास्थ्य चौकी निर्माणमा सहयोग पु¥याउन च्यारिटी आयोजना गरिएको थियो ।
चेपाङ समुदायको बाहुल्य रहेको कैलाश गाउँपालिकाको ताम्लाङ क्षेत्रमा स्वास्थ्य चौकी नहुँदा दुई घण्टाभन्दा बढी पैदल हिँडेर सामान्य स्वास्थ्य सुविधा लिन कैशाल गाउँपालिकाको केन्द्र कालिकाटार वा राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुर पुग्नुपर्ने बाध्यता रहेको छ ।
स्वास्थ्य केन्द्र स्थापना भएपछि कैशाल गाउँपालिकाको वडा नम्बर ७ सँगै राक्सिराङ गाउँपालिकाको वडा नम्बर ४ का बासिन्दा लाभान्वित हुनेछन् । भवन निर्माणसँगै केन्द्रका लागि आवश्यक उपकरण सहयोगीबाट जुटाइने भएको हो । मिस नेपाल खतिवडा अध्यक्ष रहेको फाउन्डेसनले भवन र उपकरणसहित करिब ६० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको जनाएको छ ।
कैलाश गाउँपालिका ७ का वडा अध्यक्ष उदास लामाले भवन निर्माण कार्य ७० प्रतिशत पूरा भएको जानकारी दिँदै दसैँपछि उद्घाटन गर्ने गरी काम भइरहेको बताउनुभयो ।
मिस नेपाल भएपछि कैलाश गाउँपालिकाको विकट बस्ती पुग्नुभएका खतिवडाले स्वास्थ्य चौकी निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध स्वास्थ्य सेवा प्रदान गरिने लक्ष्य रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा हलसहित छवटा कोठा रहनेछन् ।
यसैबीच मकवानपुर मिलन केन्द्र दोहा, कतारले मिस नेपाल खतिवडाको अभियानलाई सहयोग पु¥याउन स्वास्थ्य चौकीका लागि एउटा एम्बुलेन्स उपलब्ध गराउने भएको छ ।
चेपाङ समुदायलाई लक्षित गरी निर्माण गर्न लागेको स्वास्थ्य चौकी र स्थानीयलाई स्वास्थ्य सेवा सहज बनाउन एम्बुलेन्स प्रदान गर्न लागेको संस्थाले जनाएको छ ।
संस्थाले हेटौँडा उपमहानगरपालिका–११ मा निर्मााणाधीन मामा घर नेपालका लागि आर्थिक सङ्कलन गर्न विजया दशमी तथा दीपावलीको अवसरमा च्यारिटी डिनर २०१८ कतार एवं विविध कार्यक्रम गर्ने भएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना