पाँच महिनादेखि पर्वत अस्पताल प्रमुखविहीन



गणेश पौडेल

पर्वत, असोज २६ गते । जिल्लाको एक मात्र पर्वत जिल्ला अस्पताल पाँच महिनादेखि प्रमुखविहीन हुँदा निमित्तको भरमा चल्दै आएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बुद्धिबहादुर थापा सरुवा भएर गएको पाँच महिनासम्म सरुवा प्रतिस्थापन नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ ।
अस्पतालमा दुई जना स्थायी दरबन्दीसहित करारका आठ जना डाक्टरको दरबन्दी रहेको भए पनि अहिले करार सेवाका तीन जना डाक्टरको भरमा अस्पताल चलेको छ । मेडिकल सुपरिटेन्डेन्ट डा. नहुँदा अस्पतालले दिँदै आएका सेवा समेत बन्द भएका छन् । अस्पतालले उपलब्ध गराउँदै आएका सामान्य सेवा समेत बन्द हुँदा स्थानीयलाई उपचारमा समस्या भएको हो ।
अस्पतालका निमित्त प्रमुख डा. भक्त गुरुङका अनुसार अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. नहुँदा दैनिक कामकाजमा समेत समस्या भएको बताउनुभयो । उहाँका अनुसार अप्रेसन गर्नुपर्ने बिरामीलाई सेवा दिन नसकिएको साथै थोरै जनशक्तिले बिरामीलाई सेवा दिन गाह्रो भएको बताउनुभयो । प्रमुख नभए पनि बिरामीलाई दिने सेवामा कुनै कमी नभएको भए पनि अप्रेसन गराउन समस्या भएको उहाँको भनाइ छ । स्वास्थ्य सेवा विभागले गत जेठ २१ गते तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. बुद्धिबहादुर थापाको सरुवा गरेको भए पनि हालसम्म उक्त पदमा प्रतिस्थापन गर्न नसकेको हो । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नहुँदा साना अप्रेसन सेवा प्रभावित हुनुका साथै प्रभावकारी सेवा नहुँदा स्थानीयवासी मोटो रकम खर्चेर पोखरा जानुपर्ने बाध्यता भएको छ ।
अस्पतालका अस्पतालले विगत केही वर्ष पहिलादेखि सुरु गरेको भिडियो एक्सरे सेवा तथा सुत्केरी अप्रेसन, हाइड्रोसिल र जनरल अप्रेसन सेवा बन्द भएको छ । दैनिक एक सयभन्दा बढी बिरामी आउने अस्पताल अहिले सुनसान बन्न थालेको छ । अस्पतालमा डाक्टरको दरबन्दी भए पनि प्रमुख र अन्य डाक्टर नहुँदा स्थानीय मेडिकलमा बिरामी भरिभराउ हुने गरेका छन् भने जिल्ला अस्पताल नाम मात्रैको बनेको छ । गत वर्ष यही समयमा दैनिक २५० देखि ३०० बिरामी आउने गरेको भए पनि अहिले दैनिक मुस्किलले एक सय जनासम्म आउने गरेको अस्पतालका कर्मचारी बताउँछन् ।
स्थानीय अस्पताललाई नगरपालिकाले हेर्नुपर्ने भए पनि अस्पतालको बिजोग हेरेर बसेको कर्मचारी बताउँछन् । करार सेवाका कर्मचारीको व्यवस्थापन हुन नसकेका कारण समेत झनै समस्या भएको बताइएको छ । यता नगरपालिकाका सामाजिक विकास समितिका संयोजक शिवप्रसाद पौडेलले विभागसँग माग गरेको भए पनि विभागले वास्ता नगर्दा समस्या भएको बताउनुभयो । उहाँले बिरामीलाई सेवा दिन खोलिएका अस्पतालमा पर्याप्त दरबन्दी नहुँदा गरिब तथा विपन्नलाई समस्या भएको बताउनुभयो । विभागमा जानकारी गराइसकेकाले केही समयमा व्यवस्थापन हुनसक्ने आश्वासन आएको समेत उहाँको भनाइ छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds