शिक्षाको समाजवादी दृष्टिकोण

yp acharyaवाई.पी. आचार्य

नेपालको समग्र शिक्षाको नीति निर्धारणका लागि सुझाव दिन शिक्षामन्त्रीको अध्यक्षतामा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तीव्र रूपमा काम गरिरहेको छ । यसले शिक्षाको दूरदृष्टि, राष्ट्रिय उद्देश्यहरू, मार्गदर्शक सिद्धान्त सिफारिस गर्नेछ । प्रारम्भिक बाल शिक्षादेखि उच्च शिक्षासम्मको खाका सुझाउनेछ । यस आयोगले संवैधानिक व्यवस्था अनुरूप शिक्षाको समाजवादी दृष्टिकोण स्पष्ट पार्नुपर्नेछ । यसका लागि व्यापक छलफल र बहस समेत भइरहेको छ ।
बहसको जन्म
प्राचीनकालदेखि नै श्रम र शिक्षालाई अलग गरेर हेरियो । श्रम गर्नेलाई शिक्षा चाहिँदैन भन्ने मान्यता थियो । दासयुग देखि पुँजीवादी युगसम्म आँउदा श्रमिक वर्गमा चरम शोषण भयो । प्लेटोले आफ्नो बहुचर्चित पुस्तक रिपब्लिकामा शिक्षा सबैलाई जरुरी छैन भने । उनले प्रभुवर्गलाई मात्र शिक्षित हुनुपर्छ भने । आदेश दिनेलाई मात्र शिक्षा दिने हो, पालकलाई होइन भने । उनले कामदार वर्ग र महिलामा आत्मा हुँदैन त्यसैले यिनीहरूलाई शिक्षा चाहिँदैन भने । यो विचारले शताब्दीऔँसम्म काम ग¥यो । कामदार वर्ग र महिला शिक्षाबाट वञ्चित भए । औद्योगिक क्रान्ति पछि जब पुँजीवादको विकास भयो त्यसपछि उद्योगमा काम गर्ने जनशक्ति चाहियो । सीपयुक्त जनशक्ति चाहियो । यसका लागि शिक्षा पनि चाहिने भयो । यो आवश्यकता पूरा गर्न पुँजीपतिहरूले आम शिक्षामा जोड दिए । तर उनीहरूको मान्यता कामदारको हातको प्रशिक्षण गर तर दिमागको होइन भन्ने थियो । हात प्रशिक्षित भए उत्पादन बढ्छ, आफूलाई फाइदा हुन्छ । दिमाग प्रशिक्षित गरे बुद्धि बढ्छ र कामदारले ज्याला बढी माग्छन्, हड्ताल गर्छन् ।
उन्नाइसौँ शताब्दीमा कार्लमाक्र्स र एङ्गेल्सहरू जन्मिए । उनीहरूले समाजलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट व्याख्या गरे । श्रमिक र सर्वहारावर्गलाई सामाजिक सुविधाबाट अलग्याउने कुरालाई राज्य व्यवस्थाको चरित्रसँग जोडे र राज्य व्यवस्थाको परिवर्तन नै न्यायसंगत सुविधा वितरणको आधार माने । उनीहरूले समाजवाद र साम्यवादको परिकल्पना गरे र यही समाजमा मात्रै शिक्षा आम जनताको बन्न सक्छ भन्ने मान्यता राखे । यही मान्यतालाई लेनिन, माओ, क्यास्त्रो, लुनाचास्की, किमइलसुङ हुँदै नेपालका कम्युनिस्टहरूसम्म आइपुग्यो । यसले गर्दा समाजवादी शिक्षालाई समाजवादी राज्यव्यवस्थासँग जोडियो र कम्युनिस्टहरूको पोल्टामा छाडियो ।
नेपालमा समाजवादी शिक्षाभन्दा बढी जनावादी शिक्षा भनियो । यो चिनिया प्रभाव हो । चीनमा सन् १९४९ मा अर्धसामन्ती र अर्धऔपनिवेसिक सामाजिक चरित्रको समाज थियो । त्यहाँ पुँजीवादको विकास भइसकेको थिएन । यस्तो चरित्र भएको समाजमा मजदुर र किसान वर्गको नेतृत्वमा गरिने पुँजीवादी क्रान्तिलाई माओले जनवाद भने । नेपालमा पुष्पलालहरूले यही विचार भित्र्याए र जनवादी व्यवस्थाको वकालत गरे । साथै शिक्षा पनि जनवादी हुने भने । चलिरहेको शिक्षालाई बुर्जवा शिक्षा भनि बहिष्कार गरे, गराए । न यही अनुसारको जनवादी क्रान्ति भयो, न जनवादी व्यवस्था आयो न त जनवादी शिक्षा नै ।
नेपाली यथार्थ र सुझाव
नेपाली समाजको अर्थराजनीतिक चरित्र दलाल पुँजीवादी छ । राष्ट्रिय पुँजी कमजोर छ । सामन्तवादका अवशेषहरूको समूल नष्ट भइसकेको छैन । समाजवाद गरिबी बाँड्ने समाज होइन, समृद्धि बाँड्ने समाज हो । त्यसैले अहिले समाजवादभन्दा पहिले पुँजीवादलाई परिपक्व बनाउनुपर्नेछ । राष्ट्रिय पुँजीको विकास गर्नुपर्नेछ । अर्कातिर नेपाली समाज माक्र्सले भनेजस्तो दुईवर्गीय मात्रै पनि छैन । यहाँ वर्गीय चेत र संगठन कमजोर छ । जातियता र क्षेत्रीयता हावी छ । शिक्षामा पनि दलाल पुँजीवाद हावी छ । यिनीहरूकै सिन्डिकेट छ । यसो हँुदा अब समाजवादी शिक्षाको मर्मलाई प्रयोग गर्दै समाजवादको आधार तयार गर्न बल गर्नु तत्कालिक कार्यभार हुन्छ । अहिलेलाई शिक्षामा माक्र्सको वैज्ञानिक समाजवादी धारमा मात्रै नभएर बीपीको प्रजातान्त्रिक समाजवादी मान्यतालाई समेत समेटेर शिक्षाको दृष्टिकोण बनाउनु आवश्यक छ । जसका लागि निम्न काम गर्नुर्पछ ।
सारपक्ष
मानवलाई मानव बनाउने शिक्षा– समाजमा श्रमको शोषण छ । श्रम गर्ने एउटा फाइदा खाने अर्कै छ । यसले मानवलाई दानव बनाएको छ । यसको अन्त्यका लागि श्रम र शिक्षा जोड्नुपर्छ । व्यक्तिको सम्पूर्णताको विकासमा जोड दिनुपर्छ । तल्लो कक्षादेखि नै बहु प्राविधिक शिक्षाको मर्मलाई प्रयोग गर्नुपर्छ ।
सामूहिक र वर्गीय स्वतन्त्रतामा जोड – वर्गीय चेतना बढाउने शिक्षा दिनुपर्छ । यसले शोषण बुझ्न सघाउँछ । आफ्नो भूमिका स्पष्ट गर्न मद्दत गर्छ । व्यक्तिवादी शिक्षामा होइन सामूहिकतामा जोड दिनुपर्छ । प्रमाणपत्रमा होइन सामाजिक योगदानमा जोड दिनुपर्छ ।
राष्ट्रियतामा जोड – राष्ट्रिय भावना जगाउने शिक्षा दिनुपर्छ । जनतालाई माया, राष्ट्रलाई माया र कामलाई माया गर्ने शिक्षामा जोड दिनु पर्छ । राज्यका विद्रोही मात्रै जन्माउने होइन, राज्य निर्माणकर्ता जन्माउने हो । व्यक्तिगत सम्पत्ति मात्रै जोड्ने जनशक्ति होइन, राष्ट्रिय पुँजीको विकास गर्ने जनशक्ति उत्पादन गर्न जोड दिनुपर्छ ।
समालोचक वा द्वन्द्ववादी बन्ने – अहिले हामीले कि त ‘हस बहादुर’ कि त ‘हुन्न बहादुर’ मात्रै जन्माएका छौं । अन्धभक्त मात्रै जन्मायौं । आफ्ना सबै ठीक इतरका सबै बेठिक भन्ने संकीर्ण मानसिकता हुर्कायौं । शिक्षाले संरचना, व्यवस्था, व्यवहारका प्रति प्रश्न गर्न सक्ने बनाउनु पर्छ । राम्रोलाई समर्थन गर्ने र नराम्रोलाई विरोध गर्न सक्ने सामथ्र्य बढाउनु पर्छ । वर्गीय चेतना र त्यसको जगमा निर्मित शोषणका विरुद्ध आवाज उठाउन सक्ने शक्ति प्रदान गर्नुपर्छ ।
आशा जगाउने – शिक्षाले व्यक्तिमा आशा पैदा गर्नुपर्छ । निराशालाई हटाउनु पर्छ । अबको शिक्षा गरिब केन्द्रित हुनुपर्छ । पाउलो फ्रेरेले खिन्नतालाई गरिबीको विवशता मान्छन् । गरिब आफ्ना आवश्यकता पूरा गर्न प्रयत्न गरिरहन्छ । तर यी प्रयत्नलाई सामाजिक संरचना र विश्वासबाट अवरोध सिर्जना गरिन्छ । यसले खिन्नता जन्माउँछ । खिन्नताले उनीहरूलाई ‘प्यारालाइज’ गर्छ । शक्तिहीन बनाउँछ । उत्प्रेरणा मारिदिन्छ । चुप लाग्न बाध्य बनाउँछ । शिक्षाले यही खिन्नता ल्याउने तìवहरूलाई नष्ट गर्न सघाउनुपर्छ र उनीहरूमा आशा जगाउनुपर्छ ।
दर्शनको उपयोग – शिक्षा तटस्थ हुँदैन । यसको पक्षधरता हुन्छ । त्यसैले विद्यार्थीमा वैज्ञानिक विश्व दृष्टिकोणको विकास गराउन माक्र्सवादको सहारा लिन सकिन्छ । देशको यथार्थलाई सम्बोधन गर्न पूर्वीय दर्शन अँगाल्न सकिन्छ । यी दुईको संयोजनबाट नेपालीपन झिक्न सकिन्छ ।
देशको विशेषता अनुसारको शिक्षा– शिक्षा समाज सापेक्ष हुनुपर्छ । समाजवादी शिक्षा अन्य समाजवादी देशको फोटोकपी होइन । सोभियत मोडेल क्यूवा र उत्तर कोरियामा टिकेन । चिनिया मोडल नेपालमा टिक्दैन । जहाँ आफ्नो तागत र विषेशतामा आधारित हुन्छ, त्यहाँ टिक्छ ।
रूप पक्ष
सरकारीकरण – माथि उल्लेखित सारपक्षलाई साकार रूप दिने एउटा साधन शिक्षाको सरकारीकरण हो । यो साधन हो साध्य होइन । सरकारीकरण हुँदैमा समाजवादी हुन्छ भन्ने छैन । निजी विद्यालय चल्दैमा समाजवादी मर्म मर्छ भन्ने पनि छैन । तर नेपाल जस्तो दलाल पुँजीवादी चरित्र हावी भएको समाजमा शिक्षालाई सरकारीकरण गर्नु बुद्धिमानी हुन्छ ।
समाजवादी व्यवस्था – समाजवादी शिक्षा लागू गर्न समाजवादमा प्रवेश गर्नुपर्छ भन्ने मत हावी छ । तर समाजवादी शिक्षाको बाटो हुँदै समाजवादमा पुग्न सकिने तथ्य पनि बिर्सनु हुँदैन । समाजवादमा यो शिक्षा मौलाउँछ तर यसको पर्खाइमा जीवन बिताउन भने हुँदैन ।
समाजवादी शिक्षा कुनै पार्टी विशेषको होइन । यो साझा पद्धति हो । यो जनहितमा केन्द्रित हुन्छ । कुनै विचार र पार्टीसँग जोडेर यसको मर्मलाई हत्याउनु हुँदैन । यसको सारलाई प्रयोग गर्नुपर्छ, रूपमा धेरै अल्झिन हुँदैन । सारपक्षलाई समेटेर शिक्षाको समाजवादी दृष्टिकोणको निर्माण गर्नुपर्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds