चाडपर्वमा सुरक्षा चुनौती (सम्पादकीय)

सुरक्षाको दृष्टिले चाडपर्व निकै संवेदनशील हुन्छ । नियमितभन्दा फरक काम र परिवेश, मनोरञ्जनको मानसिकता र फरक व्यस्तताले सर्वसाधारणको स्वास्थ्य, सुरक्षालगायतको जोखिम बढाएको हुन्छ । लामो यात्रा, सवारी साधनको अधिक प्रयोग, सवारी चालकको थकाइले सवारी दुर्घटनाका घटना बढ्छन् । अधिक माग र किनमेलका कारण मूल्यवृद्धि, गुणस्तरहीन सामानको बिक्रीवितरण बढ्ने सम्भावना धेरै हुन्छ । यसैबेला उपभोक्ता, यात्रु ठगिने र चोरी, डकैतीका घटना पनि बढ्छन् । प्रहरीका अनुसार दसैँतहारका बेला सवारी साधन दुर्घटनाका घटना २०–२५ प्रतिशत र जुवातास खेल्ने÷खेलाउने ४०–५० प्रतिशतले बढ्छन् । मूल्य वृद्धि र गुणस्तरीय सामानको बिक्री तथा ठगी, चोरी डकैतीका उजुरी पनि धेरै आउने गरेको प्रहरीको भनाइ छ । 

चाडपर्व मान्नका लागि घर पुग्नुपर्ने बाध्यता र यात्रुको सङ्ख्याको तुलनामा सवारी साधनको न्यून उपलब्धताले सधँै चाडपर्वका बेला यात्रु ठगिन्छन् । खासगरी लामो यात्रा गर्नुपर्ने र सोझासिधा, मजदुरी गरेर फर्कने व्यक्ति यसको उच्च जोखिममा रहन्छन् । अहिले भारतमा काम गरेर फर्कनेहरूको पीडा यसको उदाहरण हो । कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको धार्चुलामा यस्ता घटना देखिने गरेका छन् । यी नाकाबाट दिनहुँ पाँच–सात हजार नेपाली आफ्ना लालाबाला र पोकापुन्तुरा लिएर प्रवेश गरिरहेका हुन्छन् । उनीहरू भारतीय क्षेत्रमा ठगिने, लुटिने गरेका दुःखदायी घटना बारम्बार आइरहन्छन् । सीमा नाकामा भारतीय प्रहरीले सामान जाँचको बहानामा दुःख दिने र रकम असुल गर्ने गरेको घटना सामान्य जस्तै भएको छ । यति मात्रै होइन, नेपाली भूमिमा प्रवेश गरिसकेपछि पनि नेपाली सुरक्षाकर्मी, भन्सार कर्मचारी र टाँगा, रिक्सा र टेम्पो चालकबाट पनि ठगिनुपरेको कथा उनीहरूबाट सुनिन्छ । यो वर्षैँदेखिको पीडा हो । यस्ता घटना हुन नदिन नेपाल र भारतका सुरक्षा अधिकारीबीच छलफल भई सतर्कता अपनाउने सहमति भएको थियो । केही ठाउँमा दुवैतर्फका सुरक्षा निकायले संयुक्त हेल्पडेस्क पनि राखिएको छ । तर पनि लुटिने र ठगिनेको सङ्ख्या घट्न सकेको छैन ।
चाडपर्वका बेला भनेर खर्चको जोहो गरिएको हुन्छ । कर्मचारीले दशैँ खर्च पाउँछन्, विदेशमा काम गर्नेले घर खर्च पठाइदिएका हुन्छन् । यही मौका पारेर चोरी डकैतीका घटना पनि बढ्छन् । विभिन्न बहाना र शैलीमा चोरी गर्नेहरू देखापर्ने गर्छन् । चितवनको माडीबाट प्रहरीले चुक अमिलो बेच्दै दिनभरि गाउँ डुल्ने र राति बास बसेर नशालु पदार्थ सेवन गराई धनमाल लुट्नेहरूको समूहलाई पक्राउ गरेको छ । अन्य भागमा पनि यस्ता घटना निकै हुने गर्छन् । दशैँका बेला यात्रा गर्ने, बजारमा किनमेल गर्न जाने व्यक्तिलाई साथी बनाउने, मिठाई, विस्कुट र पेयपदार्थमा नशालु पदार्थ मिसाएर खानदिने र बेहोस बनाई लुट्नेहरूको समूह नै विभिन्न ठाउँमा प्रहरीले भेटेको छ । होटल, रेष्टुराँ, मदिरा पसल, गरगहना र मोबाइल पसलबाट सामान लुट्ने काममा लाग्नेहरू पनि विभिन्न ठाउँमा फेला परेका छन् । चाडबाडको समयमा राजमार्ग, बजार, सार्वजनिक यातायातमा चोरी, लुटपाट र ठगीका घटना धेरै हुन्छन् ।
चाडबाडको अवसरमा बढ्नसक्ने दुर्घटना, चोरी, डकैती र लुटपाटका घटना हुन नदिन र भइहाले अपराधीलाई कारबाही गर्न र पीडितलाई न्याय दिन सुरक्षा व्यवस्था कडा बनाइएको गृहमन्त्रालयले जनाएको छ । यसका लागि नेपाल प्रहरीले विशेष सुरक्षा व्यवस्था गरेको छ । जिल्लाजिल्ला र संवेदनशील ठाउँमा टोली बनाएर अपराध नियन्त्रणमा प्रहरी लागिपरेको छ । पैदल गस्ती, साइकल, मोटरसाइकल र गाडीसहितको क्विक रेस्पोन्स टोली, सादा र पोशाकमा प्रहरी परिचालन गरेको छ । यति हुँदाहुँदै पनि दुर्घटना र ठगी, चोरीका घटना हुनसक्ने भएकाले यात्रु, नागरिक स्वयं पनि सचेत हुन आवश्यक छ । सुरक्षाकर्मीले सुरक्षा व्यवस्थालाई कडा बनाउने भए पनि नागरिकको होसियारी भएन भने कुनै पनि घटना हुनसक्छ । त्यसैले बजार, बैङ्कलगायत वित्तीय संस्था, सार्वजनिक यातायात जस्ता सुरक्षाका दृष्टिले संवेदनशील भएकाले सुरक्षा निगरानी बढाउनुपर्छ । मादक पदार्थको अधिक प्रयोगले पनि धेरै घटना हुने भएकाले यसको बिक्री वितरण र उपभोगलाई व्यवस्थित गर्नुपर्छ ।

 

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds