भाइमसलाको जोहो


गोरखापत्र समाचारदाता

bhai masalaकाठमाडौँ, कात्तिक १८ गते । भाइटीका आउन पाँच दिन मात्रै बाँकी रहँदा बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ । काठमाडौँको भोटाहिटी, असन, महाबौद्ध, नयाँ सडकलगायतका व्यापारिक स्थलमा भाइटीकामा चाहिने सामान बेच्ने र किन्नेको चहलपहल बढेको हो । तिहारमा लक्ष्मीपूजा गर्दा चाहिने दियो तथा पाला, दाजुभाइ पुज्नका लागि फूलका माला, ढाका टोपी, ओखर तथा ढाका टोपी र दीपावली गर्नका लागि मैनबत्तीको किनबेच हुन्छ ।
दियो तथा पाला
लक्ष्मीपूजाका दिन लहरै बालिने दियो तथा पाला नेपालमै बनाइन्छ । काठमाडौँ उपत्यकाका लागि चाहिने दियो तथा पाला भक्तपुरको ठिमीमा निर्माण हुने व्यापारीहरू बताउँछन् । व्यापारी कृष्णबहादुर श्रेष्ठका अनुसार तिहारमा चाहिने सामग्रीमध्ये दियो तथा पाला मात्र स्वदेशी उत्पादनले धानिरहेको छ । अन्य सामग्री भारत तथा चीनबाट आयात गर्नुपर्ने बाध्यता रहेको श्रेष्ठले बताउनुभयो ।
फूलको माला
दाजुभाइलाई लगाइदिने र घरमा समेत माला बनाएर सजाइने भएकाले अरू समयको तुलनामा तिहारमा फूलको माला धेरै खपत हुन्छ । स्वदेशी उत्पादनले मात्र धान्न नसकेपछि तिहारमा भारतबाट ठूलो मात्रामा फूलको माला आयात गरिन्छ । गोदावरी र मखमली फूलमा नेपाल आत्मनिर्भर भइसके पनि तिहारका बेला भारतबाट सयपत्री फूल आयात गर्नुपरेको नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजूले जानकारी दिनुभयो । उहाँका अनुुसार बर्सेनि झण्डै पौने दुई अरब बराबरको फूलको कारोबार हुने गरेकोमा नौ करोड २५ लाख रुपियाँ बराबरको फूलको कारोबार तिहारमा मात्र हुने गरेको छ । पछिल्लो समय देशभित्रै फूलको उत्पादन बढ्न थाले पनि मागलाई धान्न नसकेको फूल व्यापारी लक्ष्मी कार्कीले बताउनुभयो ।
ढाकाटोपी
तिहारमा ढाकाटोपीको बिक्री पनि फस्टाउँदो छ । बजारमा पाल्पाली र पूर्वेली ढाका टोपी प्रख्यात छन् । यी ढाकाका लागि पनि भारतको गोरखपुरबाट कच्चा पदार्थ आयात गर्नुपरेको टोपी व्यापारी नीलकण्ठ गौतमले बताउनुभयो ।
भारतको गोरखपुरबाट कच्चा पदार्थ ल्याएर पाल्पामा बुनिन्छ, त्यहाँ बुनेको ढाका बालाजुमा रहेको कारखानामा सिलाएपछि बजारमा आउँछ, गौतमले बताउनुभयो । उहाँका अनुसार ५० रुपियाँदेखि एक हजार ५०० रुपियाँका टोपी बेच्न राखिए पनि तिहारमा २५० देखि ५०० रुपियाँ पर्ने टोपी धेरै बिक्री भइरहेको छ ।
इलेक्ट्रिक बत्ती र दियो
बजारमा इलेक्ट्रिक बत्ती र दियो पनि बेच्न राखिएका छन् । ती झिलिमिली बत्ती र इलेक्ट्रिक दियो चीनबाट आयात हुन्छ । बिजुलीमा जडान गर्नासाथ झिलिमिली बल्ने बत्ती र कागज तथा प्लास्टिकका फूल पनि उतैका हुन् तर बिजुली हुँदा मात्र बल्ने भएकाले धेरैले माटाका दियो र पाला नै खोज्ने गरेका असनका व्यापारी कृष्ण श्रेष्ठले बताउनुभयो ।
मैनबत्ती
लक्ष्मी पूजाका दिन कतिले घरको चारैतिर मैनबत्ती बालेर दीपावली गरिन्छ । मैनबत्ती देशभित्रै बनाए पनि कच्चापदार्थ भने भारतबाटै आयात हुने गरेको व्यापारी घनश्याम बोहोरा बताउनुुहुन्छ । चाडपर्वका बेला नेपाली बजार चम्किएको देखिए पनि सरसामानका लागि अर्बौं रुपियाँ देश बाहिर गइरहेको हुन्छ । हामीलाई आवश्यक पर्ने स–साना सामानसमेत नेपालमा उत्पादन नहुँदा चाडपर्वकै बेला सबैभन्दा बढी रकम देश बाहिर जाने गरेको जानकारहरू बताउँछन् ।
नेपालमा उत्पादन नहुने सामान आयात गर्नुपर्ने बाध्यता भए पनि भाइमसलामा चाहिने खानेकुरा, फूल तथा टोपीलगायतका सामान नेपालमै उत्पादन गर्न सकिने र यसले पुँजी पलायन रोकिने जानकारहरू बताउँछन् । पोहोर भारतले नाकाबन्दी गर्ने बेला स्वदेशी उत्पादनको प्रयोगमा जोड दिए पनि आयात सहज भएपछि बिर्सन थालेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना