विधायिकामा बेथिति: ‘कण्डिसनका गाडी ग्यारेजमा, नयाँ किन्न रकम माग’

नारायण काफ्ले

काठमाडौँ, कात्तिक २० गते । सङघीय संसद्का विषयगत समिति सभापति निर्वाचित भइसकेपछि धेरै सभापतिको गुनासो उस्तै थियो,‘सचिवालयले सुविधावापत दिएका गाडी पुराना भए ।’
सभापति मात्र हैन केही पदाधिकारीले पनि सचिवालयले उपलब्ध गराएको सवारीमा चित्त बुझाउनुभएन । पदाधिकारी र सभापतिको गुनासो बढेपछि सवारी खरिदको ‘एजेण्डा’ नै बन्यो । र, त्यो एजेण्डा पुग्यो व्यवस्थापन समिति बैठकसम्म ।
सङ्ख्याका हिसाबले हेर्ने हो भने सङघीय संसद् सचिवालयसँग सयभन्दा बढी गाडी छन् । प्रचलनमा रहेका ठूला गाडी कर्मचारीको आवातजावातका लागि प्रयोग गरिए पनि अन्य सवारी पदाधिकारी र सचिवालयका उच्च अधिकारीले प्रयोग गर्दै आएका छन् । कूल गाडीमध्ये दुई वर्ष यता भित्र्याइएका सवारी नै २५ वटाभन्दा बढी छन् । तर, दुई वर्षयता खरिद भई प्रचलनमा ल्याइएका सवारीलाई समेत पदाधिकारी र सभापतिले कन्डिसनमा नरहेको भन्दै नयाँ गाडी खरिद प्रक्रिया अघि बढाउन बाध्य बनाएका हुन् ।
व्यवस्थापन समितिमा प्रतिनिधिसभाका सभामुख, उपसभामुख तथा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष लगायतका पदाधिकारी रहने व्यवस्था छ । पदाधिकारी र सभापतिको दबाब परेपछि सचिवालय व्यवस्थापन समितिले दसैँअघि २३ नयाँ गाडी खरिदको निर्णय गरेको छ ।
निर्णयअनुसार बजेटका लागि अर्थ मन्त्रालयसँग सहमति माग भएको छ । अर्थ मन्त्रालयले अहिलेसम्म सवारी खरिदका लागि रकम दिने वा नदिने जवाफ दिइसकेको छैन । प्रति सवारी ७० लाख रुपियाँका दरले पर्ने गरी रकम माग भएको हो । खरिदका लागि निर्णय भएका सवारी राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष तथा समितिका सभापति र दलका प्रमुख सचेतकलाई दिने योजना छ ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सवारी खरिदको निर्णय भई अर्थ मन्त्रालयको सहमतिका लागि पठाइए पनि कुनै जवाफ नआएको बताउनुभयो । योगीले भन्नुभयो ‘सवारी खरिदको निर्णय भई सहमतिका लागि अर्थ मन्त्रालय पठाइएको छ । कुनै पनि जवाफ प्राप्त भइसकेको छैन ।’
कति छन् संसद्सँग गाडी?
सचिवालयको सवारी शाखाका अनुसार हाल ९३ वटा गाडी प्रचलनमा नै छन् । जसमा चारवटा ठूला बस छन् । ती बसहरू बिहान तथा दिउँसो कर्मचारी ल्याउन तथा पु¥याउनका लागि प्रयोग हुन्छन् । अन्य सवारी भने उच्च अधिकारीकै लागि प्रयोगमा छन् । सरकारका अन्य निकायमा जस्तै संसदका कतिपय पदाधिकारीले एकमात्र सवारीमा चित्त बुझाएका छैनन् ।
सचिवालयका अनुसार हाल सचिवालयसँग ४२ वटा स्कार्पियो गाडी छन् । जसमध्ये नौवटा मर्मतका क्रममा छन् । मर्मत बाहेकका ३३ स्कार्पियो सञ्चालनमा छन् । सञ्चालनमा रहेका यी गाडी समिति सभापतिहरूले प्रयोग गरिरहनुभएको छ ।
पछिल्लो पटक संसद् सचिवालयले २०७४ जेठमा १८ वटा नयाँ गाडी किनेको थियो । जसमा १२ वटा स्कार्पियो र छ वटा टाटाका कार थिए । कारहरू सहसचिव स्तरका कर्मचारीलाई दिनेगरी खरिद भएका थिए । तोकिएको मापदण्ड विपरीत सवारी ल्याइएको भन्दै केही सहसचिवले उक्त सवारी प्रयोग गरेका थिएनन् ।
दोस्रो संविधानसभा रुपान्तरित संसद्मा परिणत भएपछि मात्र संसद्लाई चीनले नौ वटा कार उपलब्ध गराएको थियो । कियाका नौ वटा कार तत्कालीन दलका संसदीय दलका प्रमुख सचेतकहरूले प्रयोग गर्नुभएको थियो । हाल ती गाडी संसद्का सचिवहरुले प्रयोग गरिरहनुभएको छ । सङघीय संसद्ले पहिलो संविधानसभा लगत्तै ४० वटा गाडी युएनडीपीको सहायताबाट पनि प्राप्त गरेको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds