दीर्घकालीन लगानीको सम्भावना

saroj adhikariसरोज अधिकारी

सेयर बजारमा चाडबाडको असर कायमै रहेका बेला अबको कारोबार न्यून हुनु र बजारमा उतार चढाव पनि सामान्य हुन स्वभाविक नै हो । लामो समयदेखि सुस्ताएको बजार कहिले उल्लेख्य रूपमा माथि जाने हो भन्ने सधैँ लगानीकर्ताको ठूलो चासोको विषय बन्ने गर्छ । ०७३ साल साउन महिनादेखि एक हजार ८८१ को बिन्दुबाट ओरालो लाग्न थालेको बजार हालसम्म आइपुग्दा ओरालो लाग्दै पुनः बढ्दै अनि फेरि ओरालो लाग्दै हाल एक हजार २२० को बिन्दु नजिक कारोबार भइरहेको छ ।
नेपाली सेयर बजारमा आएको मन्दी झण्डै दुई वर्ष तीन महिना पुगेको छ । ०६५ साल भदौदेखि ०६८ साल जेठ महिनासम्म आइपुग्दा नेप्से एक हजार १७३ को बिन्दुबाट २९२ को न्यून बिन्दुमा आएर बजार बढ्न थालेको हो । तर हालको परिस्थिति भने बेग्लै छ । नेप्सेमा सूचीकृत बैंकहरूको चुक्ता पुुँजी नै न्यूनतम आठ अर्ब पुगेको अवस्था छ भने अन्य विकास बैंक र फाइनान्स अनि लघुवित्तको समेत चुक्ता पुँजी र कारोबारको आकार निकै बढेको अवस्था छ । दुई वर्ष तीन महिना वियरिस ट्रेन्ड भोगिसकेको बजार अब कहिले फर्कन्छ र माथि जाने क्रम शुरु हुन्छ भन्ने चासो लगानीकर्तामा रहनु स्वभाविक नै हो । कतिपय प्राविधिक सेयर विश्लेषकहरूले बजार अझै घटेर एक हजारको हाराहारीमा आइपुग्ने अनुमान गरे तापनि बजार निकै घटिसकेको र कुनै पनि बेला राम्रो समाचारलाई आधार बनाएर बढ्न थाल्ने सम्भावना भएकोले कतिपय लगानीकर्ताले लामो समयका लागि लगानी गर्न थालिसकेको देखिएको छ । बजार अझै तल आउँछ भन्ने मान्यतामा विश्वास गर्नेहरू भने अझै पर्ख र हेरको अवस्थामा रमाएको पाइन्छ ।
तिहार र छठ पर्व पश्चात् बजारमा कारोबारले गति लिने अपेक्षा गरिए तापनि नेप्से माथि जान्छ नै भन्ने कुरामा भने अझै आशावादी हुन सकिने अवस्था छैन । हाल बजारमा छोटो अवधिका लागि ट्रेडिङ्ग गर्नेका लागि भने सस्तिएको बेला खरिद गरेको सेयर बिक्री गर्दै नाफा बुक गर्ने अवसर छ । सेयर सस्तिएका बेला खरिद गर्ने र केही बढोत्तरी हुने बित्तिकै कम नाफामा नै सेयर बिक्री गर्ने टे«डरहरू बजारमा हावी भएकोले पनि बजार माथि जान नसकेको देखिन्छ । बजारमा माथि जानका लागि सेयर बिक्रीको चाप घट्नुका साथै धेरै लगानीकर्ता भित्र्याएर माग बढाउने अवस्था नै मुख्य हो ।
आगामी दिनमा बजार कता जान्छ भन्ने कुराको बलियो आधार केलाउँदा बैंक वित्तीय संस्थाहरूले गत वर्षको मुनाफाबाट खासै आकर्षित लाभांश सेयरधनीलाई दिनसक्ने अवस्था देखिंदैन । त्यसको सुरुआत सानिमा बैंकले १४ प्रतिशत नगद लाभांश, एभरेष्ट बैंकको २० प्रतिशत नगद लाभांश, आइसीएफसी फाइनान्सका ८ प्रतिशत नगद लाभांश जस्ता उदाहरणहरू पर्याप्त छन् । अब यस्तो अवस्थामा सूचीकृत संस्थाहरूले दिने न्यून प्रतिफल बजारमा सेयरमा लगानी गरेको रकमको अनुपातमा खासै आकर्षक देखिंदैन । बजार हाल करिब १२ प्रतिशतको मुद्दतीमा प्रतिफल प्राप्त हुने अवस्थामा छ कतिपय बैंकहरूले निकालेको ऋणपत्रमा पनि दश प्रतिशतभन्दा माथिको ब्याज दर पाउने सुनिश्चित देखिन्छ । तर हाल सेयर बजारमा गरेको लगानीको प्रतिफल भने करिब पाँच प्रतिशतको नगद लाभांशको हाराहारीमा मात्रै देखिन्छ । यस्तो अवस्थामा लगानीकर्ता धैर्यसाथ सेयर नबेची भविष्यका लागि ठूलै नाफा गर्ने उद्देश्यले कुर्छन् वा अधीर भएर सेयर बिक्री गर्न तल्लीन हुन्छन् भन्ने कुरा महìवपूर्ण हुन्छ । बजारमा सेयर बिक्रीको चाप कम भएको अवस्थामा बजारले अवश्य पनि गति लिने अनुमान गर्न सकिन्छ । तरलताको अभाव, चर्को ब्याज दर अझै पनि बजारलाई माथि जान बाधा पु¥याउने तìवको रूपमा हेर्न सकिन्छ । तर सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले बझ्नै पर्ने कुरा के हो भने केही समय कम प्रतिफल प्राप्त हुँदाको अवस्थामा पनि धैर्य गर्दै लगानी बजारमा टिकाइराख्दा भविष्यमा कैयन गुणा नाफाको हकदार हुन सकिन्छ । जुन मुद्दतीले दिने ब्याज दरभन्दा निकै बढी हुन सक्छ ।
सेयर बजारका वियरिस टे«न्डको चक्र झण्डै सकिन लागेको अनुमान धेरै विश्लेषकहरूको रहेको बर्तमान अवस्थामा बजार अझै केही समयका लागि १०–२० प्रतिशत तल झर्न सक्ने सम्भावनालाई नकार्न मिल्दैन तर दीर्घकालीन लगानीमा भने बजारमा गरेको लगानीले निकै फाइदा दिनसक्ने आधारहरू भने तयार हुँदैछ । बजारमा सूचीकृत कम्पनीहरू मध्ये धेरै रहेको बैंक तथा वित्तीय संस्थाहरूले भलै गत वर्षको नाफाबाट यस वर्ष लगानीकर्तालाई उच्च प्रतिफल दिन सकेको देखिंदैन । तर सानिमा बैंककै कुरा गर्दा एक सय रुपियाँमा संस्थापक सेयर वा प्राथमिक सेयर पार्ने लगानीकर्ताका लागि १४ प्रतिशतको नगद लाभांश कम प्रतिफल अवश्य पनि होइन । तर चुक्ता पुँजी वृद्धिका कारण बैंक वित्तीय संस्थाहरूको आर्थिक स्वास्थ्य निकै राम्रो बन्दैछ । कर्जा लगानी उच्च मात्रामा बढेको छ । नाफामा सुधार आएको छ । खराब कर्जा घटेको छ । त्यसले दीर्घकालीन रूपमा संस्थालाई सक्षम र बढी नाफा कमाउने बनाउने हुँदा भविष्यमा राम्रो प्रतिफल दिन योग्य हुने कुरामा द्विविधा छैन । अनि भविष्य राम्रो भएको र उच्च गतिमा प्रगति गर्दै रहेको बैंक वित्तीय संस्थाहरूको सेयरको बजार मूल्य निकै कम हुनुले पनि लगानीकर्ताका लागि हाल लगानीको सुनौलो अवसर बनेको छ । उच्च ब्याज दरमा ऋण लिएर लगानी गर्नेका लागि सही समय आइनसकेको भए पनि बचतबाट लगानी गर्नेका लागि सही समय आइसकेको देखिन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds