स्वास्थ्यलाभपछि प्रम कार्यक्रममा

लक्की चौधरी

काठमाडौँ,  मङ्सिर ४ गते । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभपश्चात् झण्डै तीन सातापछि सोमबार निवास बाहिर औपचारिक कार्यक्रममा सहभागी हुनुभयो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ललितपुरको खुमलटारस्थित निवासमा प्रचण्डपुत्र स्वर्गीय प्रकाश दाहालको वार्षिक स्मृतिसभामा उहाँ सहभागी हुनुभएको हो ।
यसअघि उहाँ कात्तिक २२ गते बालुवाटारमै आयोजित लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती कार्यक्रममा सहभागी हुनुभएको थियो । कात्तिक १२ गते विरामी परेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएर उपचार गराउनुभएका प्रधानमन्त्री ओलीलाई चिकित्सकहरूले सन्चो नभएसम्म बाहिरको कार्यक्रममा नजान सुझाव दिनुभएको थियो ।
प्रधानमन्त्री ओलीले खुमलटारमा औपचारिक कार्यक्रममा सहभागितासँगै श्रद्धाञ्जलि सभामा मन्तव्य व्यक्त गर्नुभयो । निजी चिकित्सकहरूको सुझाव लामो समय मन्तव्य नदिने रहे पनि उहाँले कात्तिक २२ गते आयोजित कार्यक्रममा पनि करिब आधा घण्टा लामो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रधानमन्त्रीका निजी चिकित्सक डा. अरुण सायमीका अनुसार विसन्चो हुँदासम्म बाहिरको कार्यक्रममा भाग लिन र मन्तव्यहरू नराख्न सुझाव दिइएको भए पनि अहिले स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएपछि केही औपचारिक कार्यक्रममा सहभागी हुँदा केही फरक नपर्ने बताउनुभयो । तर धेरै दौडधुप गर्ने र लामो समयसम्म बोल्ने अवस्था अझै नरहेको सुझाव प्रधानमन्त्रीलाई दिइएको डा. सायमीले बताउनुभयो ।
‘बाहिरको कार्यक्रममा हिँड्दै नहिँड्नुस् त भनेका छैनौँ, तर तुलनात्मक रूपमा कम गर्नुस् भन्ने सुझाव हाम्रो हो,’ डा. सायमीले भन्नुभयो, “धेरै हुलमुलमा जाने र लामो समय बस्ने अवस्था अझै भइसकेको छैन, प्रमलाई त्यही सुझाव दिएका छौं ।”
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले चिकित्सकको सल्लाहअनुसार नै बाहिरको औपचारिक कार्यक्रमको सूची पहिलेभन्दा कम हुने बताउनुभयो । विरामी पर्नुभएर अहिले स्वास्थ्यमा क्रमिक सुधार भए पनि पूर्ण सुधार अझै भइनसकेको उहाँले बताउनुभयो । स्वास्थ्य सुधार भएपछि बालुवाटार बाहिरको कार्यक्रममा प्रधानमन्त्री पहिलो पटक सोमबार जानु भए पनि अझै आरामको जरुरी रहेको सल्लाहकार अर्यालले बताउनुभयो ।
बाहिरको कार्यक्रममा निस्कदै ननिस्कने भन्ने त होइन, तर पहिलेजस्तो दौडधुप गर्ने अवस्था अझै बनिसकेको छैन डा. अर्यालले भन्नुभयो, “अब पहिलेजस्तो कार्यक्रममा धेरै दौडधुप गर्नुहुन्न, बाहिरको भन्दा भित्रको कार्यक्रममा बढी व्यस्त रहनुहोला ।”पछिल्लो समय प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठक पनि बालुवाटारमै राख्दै आउनुभएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds