वकपत्रकै कारण पीडितलाई न्याय पाउन कठिन

गोरखापत्र समाचारदाता

काठमाडौंँ, मङ्सिर २२ गते । मानव बेचबिखन मुद्दामा पीडित/साक्षीको प्रतिकूल वकपत्रकै कारण पीडितले न्याय नपाउने वातावरण सिर्जना भइरहेको तथ्य सार्वजनिक भएको छ । मानव बेचबिखनविरूद्धको मुद्दामा त्यस्तो बकपत्रका कारण ७६ प्रतिशत दोषीले सजायँ नपाउने अवस्था देखिएको हो ।
माइती नेपालले महिला हिंसाविरूद्धको १६ दिने अभियान अन्तरगत शुक्रबार राजधानीमा सार्वजनिक गरेको ‘मानव बेचबिखन मुद्दामा पीडित÷साक्षीको प्रतिकूल वकपत्र’ शीर्षकको अनुसन्धानमूलक अध्ययनसहितको पुस्तकमा उक्त तथ्याङ्क सार्वजनिक भएको हो । उपन्यायाधिवक्ता सोमकान्त भण्डारीको नेतृत्वमा अधिवक्ताद्वय उमा तामाङ, अनिता थपलिया र माइती नेपालका कार्यक्रम अधिकृत रक्षा रिसाल सहभागी समूहले अनुसन्धान गर्नुभएको विषय वस्तु सो पुस्तकमा समेटिएका छन् ।
कार्यक्रममा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पुस्तकको लोकार्पण गर्दै संस्थाको पहलमा मानव बेचबिखनका मुद्दामा पीडित÷साक्षीको प्रतिकूल बकपत्रका बारेमा गरिएको अनुसन्धानले पीडित र साक्षीले के कारणले प्रतिकूल बकपत्र दिदारहेछन्, कसरी त्यो अवस्थाको न्यूनीकरण गरी पीडितलाई न्याय दिलाउने काममा सफलता हासिल गर्न सकिन्छ भन्ने बारेमा स्पष्ट पार्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अधिवक्ता अनिता थपलियाले कार्यपत्र प्रस्तुत गर्दै प्रभावित जिल्लाहरू मोरङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, काठमाडौँ , बाँके र बर्दियामा प्रश्नावलीसहित गरिएको अनुसन्धानबाट यस सम्बन्धमा विभिन्न तथ्य सङ्कलन भएको जानकारी दिनुभयो ।
उहाँले रोजगारीको नाममा भएको मानव बेचबिखनबाट प्रभावितले न्याय पाउनका लागि अदालतमा दायर गरेको मुद्दा नै कमजोर हुने गरी दिने प्रतिकूल बकपत्रका कारणहरूमा ६२ प्रतिशत प्रतिवादीको डर, धाक, धम्की वा प्रभाव, १६ प्रतिशत समयमा बकपत्र नहुनु,१५ प्रतिसत पीडित र साक्षीको स्ुरक्षा नहुनु र आठ प्रतिशतले न्याय सम्पादनमा लामो समय लाग्ने भएकाले पुरानो घटनालाई विर्सन चाहनु रहेको बताउनुभयो ।
त्यसैगरी बेचबिखनको मारमा पर्ने ५० प्रतिशत पीडित नाबालिग र ५९ प्रतिशतले आधारभूत शिक्षा पनि प्राप्त नगरेकाले उनीहरूलाई बकपत्रमा के के भन्नेसम्मको ज्ञान नभएका १२ प्रतिशत पीडित भेटिएका छन् ।
सो मुद्दाको सम्वन्धमा सर्वोच्च अदालतले गरेको फैसला, मानव बेचबिखन तथा ओसारपसार मुद्दाको क्षेत्रमा कार्यरत विशिष्ट व्यक्तिहरूसँग प्रश्नावलीसहित लिइएको अन्तर्वार्ताबाट प्राप्त विवरणको विष्लेषण र पीडितहरूसँगको अन्तरवार्ताको विधिबाट गरिएको अनुसन्धानमा बेचबिखनमा पर्नेहरू ८१ प्रतिशतलाई रोजगारीको प्रलोभन देखाएर, ७७ प्रतिशतको आर्थिक अवस्था न्यून स्तरको र ५३ प्रतिशतलाई आफ्नै परिवारको सदस्यले पीडित बनाएको पुस्तकमा उल्लेख छ ।
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले उक्त विषयसँग सम्बन्धित विभिन्न अपराधलाई कसुरको घोषणा गरी सजायँको व्यवस्था गरेको छ । सो ऐनले निषेध गरेका कसुरहरूमध्ये मानव ओसारपसार (विदेशमा) ३३ प्रतिसत र स्वदेशभित्रै २३ प्रतिशत छन् ।
कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगका सचिव कृष्णजीवी घिमिरेले यस अनुसन्धानमूलक पुस्तकले पीडितलाई न्याय दिलाउन अपनाउनुपर्ने सर्तकता, नीतिगत सुधारका लागि सहयोगिसिद्ध हुने बताउनुभयो ।

क्याप्सन ः महान्यायाधिवक्ता अग्निप्रसाद खरेलल शुक्रबार राजधानीमा ‘मानव बेचबिखन मुद्दामा पीडित÷साक्षीको प्रतिकूल वकपत्र’ शीर्षकको पुस्तक लोकार्पण गर्नुहुँदै । तस्बिर ः कविता थापा÷गोरखापत्र

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds