पुख्र्यौली सीपको व्यावसायीकरण

yadav devkotaयादब देवकोटा

 


परिवर्तन सानो सानो कुराबाट भयो भने मात्रै त्यो दिगो र प्रभावकारी हुन्छ । त्यो सानो परिवर्तन भनेको गाउँघरमा आज पनि प्रचलनमा रहेका सीप, ज्ञान र पेशाको प्रवद्र्धन, उनीहरूको आत्मसम्मान अनि भएको सीपलाई व्यावसायिक रूपमा अघि बढाउने वातावरण हो । विकास र समृद्धि अजङ्गका आयोजनाबाट मात्र सम्भव हुँदैन, विकास घरघरबाट हुनुपर्छ । ठूला आयोजना र उद्योगधन्दासँगै घरेलु र कुटिर उद्योग अनि पेशालाई पनि प्रवद्र्धन एकसाथ गर्न सकियो भने राष्ट्र र जनताको आर्थिक अवस्थामा सुधार आउनेछ अनि सम्भव हुनेछ – ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियान । वंशाणुगत पेशाको व्यावसायीकरण नै मुलुक रुपान्तरणको पहिलो खुड्किलो हो । यसले राजनीतिक रूपमा समानता, आर्थिक रूपमा समृद्धि र सामाजिक रूपमा एकता पनि एकसाथ पैदा गर्नेछ ।
आज पशुपक्षी र बोटविरुद्धको वंश संरक्षण गर्न करोडौँ खर्च गरिन्छ तर मानवीय गुण संरक्षणको साटो उनीहरूलाई कथित जातका आधारमा आफ्नो वंशप्रति नै घृणा पैदा गराउने काम गरिन्छ । पशुपंक्षीको आणुवंशिक विशेषताको संरक्षण, संवद्र्धन जति हुन्छ त्यसको एक छेउ पनि मानिसमा भएन । एकातिर विकासको पश्चिमा सूत्र कण्ठस्थ पारेर उनीहरूबाटै दीक्षित भएर आएकाहरू अनि आफूलाई वर्गरहित समाज निर्माणको ठेकेदार बताउनेहरूको दोहोरो चेपुवामा परेको नेपालको उन्नतिका आधारस्तम्भ हुनसक्ने वंशाणुगत पेशाको नवीकरण नै समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल बनाउने पहिलो आधार हो ।
आजभोलि राजनीतिकरणका कारण ती पेशा लोप हुँदैछन् । आफ्नो हातमा भएको सीप छोडेर विदेशमा श्रम गर्न जाने अवस्था अहिले एकातिर सिर्जित छ भने अर्कोतिर देशलाई चाहिने त्यस्ता सीपवानहरू विदेशबाट आइरहेका छन् । यो मुलुकको समृद्धिका लागि पटक्कै नसुहाउने कुरा हो । हाम्रा गाउँघरतिर अहिले लुगा सिलाउन खप्पिस मानिएकाहरू अरबको खाडीमा मजदुरी गरिरहेका छन् अनि ती गाउँघरमा भारतबाट आएकाहरूले ‘टेलर’ खोलेर बसेका छन् । के यस्तो अवस्थाले मुलुक समृद्ध होला ? पक्कै जनतालाई रोजगारी दिन सकिएन भन्ने एकातिर छ भने रोजगारी पाइरहेका र श्रम–सीपको उपयोग गरिरहेकाहरूलाई अनेक किसिमबाट दपेट्ने प्रपञ्च रचिएको छ । खासमा आज हरेकका लागि नभई नहुने आधारभूत वस्तुका सिल्पीहरू पलायन हुँदैछन्, उनीहरूलाई कथित जातीयताको नाममा आफ्नो पेशाबाट विमुख गरिएको छ ।
समानता अनि विभेदरहित समाजको नाममा राजनीतिक हिलो छ्यापेर वंशाणुगत पेशाबाट ती शिल्पीहरूलाई अलग पारिएको छ । जसले गर्दा नेपालको अर्थव्यवस्था उल्टो दिशातिर उन्मुख छ ।
वैदेशिक रोजगारीले साना–साना कुराहरू आयात गरेर मुलुक धानिएका बेला जातीय विभेदको नाराले वंशाणुगत पेशा लोप हुने अवस्थामा पुगेको छ । वंशाणुगत गुण र सीप, पेशा अनि व्यवसायलाई व्यावसायिक बनाउँदै उनीहरूलाई सम्मानजनक स्थान दिनुको साटो ‘दलित’ भनेर उनीहरूको सीप र क्षमतालाई बेवास्ता गर्दै आरक्षण र अनुदानमा बाँच्न विवश पारिँदा त्यो अपार सीप र क्षमता राज्यको रुपान्तरणमा प्रयोग नै हुन सकेन । यसको उल्टो असर प¥यो ।
गीत–सङ्गीतको क्षेत्र होस् वा लुगा कपडा, जुत्ता, फलामे औजार, माटाका भाँडा, काष्ठकला, मूर्तिकला अनि यस्तै अनगिन्ती पेशामा दक्षहरूलाई उनीहरूको सीप र कौशलको प्रवद्र्धन गर्नुको साटो हामीले अर्कै बाटोतिर हिँड्न बाध्य बनायौँ । जन्मँदै बोकेर आएको सीप त्यागेर विदेशमा पसिना चुहाउनुभन्दा आफ्नै गाउँघरमा काम गरे विदेशकोभन्दा राम्रो कमाइ हुन्छ भन्ने पनि चेतना जागृत गर्नु पहिलो कर्तव्य हो र यसका लागि सरकारले नै पहल गर्नुपर्छ । उनीहरूलाई आत्मसम्मानका साथ आफ्नो पेशामा रम्ने मात्रै हैन व्यावसायिक नै बनाउँदै जाने नीति हुनुपर्छ तर, सरकारले अहिलेसम्म वंशाणुगत पेशाको प्रबद्र्धन गर्न चासो दिएको छैन ।
आज सानासाना औजारहरू विदेशबाट ल्याइन्छन् । हाम्रा गाउँघरमा आरनमा काम गर्नेहरूको पेशाको संरक्षण खोई ? तयारी पोशाक उद्योगमा भारत र बङ्गलादेशबाट कामदार ल्याइन्छन्, परम्परागत रूपमा लुगा सिलाउने काम गर्दै आएकाहरूलाई रोजगारी खै ? उनीहरूलाई पेशाबाट विमुख गरिएको छ विदेशीको स्वार्थका कारण । तिमीहरू कति अरूको लुगा मात्र सिलाएर बाँच्छौ भन्दै भड्काइदिएका छन् कथित डलरे अभियानकारीहरूले ! हो उनीहरूले सधैँ अरूको निगाहमा पोल्टो थापेर खानुपर्ने अवस्था रहनु हुँदैन । उनीहरूलाई सामूहिक रूपमा व्यवसाय नै सञ्चालन गर्ने वातावरण तयार गर्ने हो भने विदेशबाट आएको पैसा विदेशी श्रमिकले विदेश नै लान पाउने थिएनन् ।
वास्तवमा वंशाणुगत संस्कार, पेशा नेपालको मौलिक शिक्षा थियो र अझै कतैकतै छ । यस्ता परस्परमा एक प्रकारका अलौकिक विशेषता यो भूखण्डको जातीय विशेषता थियो तर तिनको समुचित संरक्षण, सम्वद्र्धन र समयानुकुल विकासतिर ध्यान दिइएन । त्रिशुली नदीमा बस डुब्दा विदेशबाट गोताखोर ल्याउनुपर्ने बाध्यता किन आइप¥यो भन्दा वंशाणुगत सीप र पेशाको प्रवद्र्धन नभएर हो । जसले गर्दा गोताखोरी, पौडीवाज र जलक्रिडाका विषयमा विशेषता हासिल गरेर कीर्तिमान कायम गर्नसक्ने बोटेहरू किंकर्तव्यविमुढको स्थितिमा पुगे ।
आज माटाका भाँडाहरू विदेशबाट आउँछन्, हाम्रा कुमालेहरूलाई सेरामिक्स उद्योगका मालिक बनाउन किन सकिन्न ? के उनीहरू सधैँ सामान्य भाँडाकुँडामै चित्त बुझाएर बस्नुपर्ने हो ? खै यस्ता कुरातिर राज्यको दृष्टि र नीति ? परिणाम आफ्नो पेशा छाडेर अन्तै भौतारिन्छन्, धर्म–संस्कतिसमेत बदलेर । यसलाई जातीय नारा दिइयो, अधिकारको जामा लगाइयो अनि समाज भाँड्ने काम भयो ।
त्यस्तै व्यक्तित्व निर्माणमा अतुलनीय योगदान दिने र सुसभ्य, सुसंस्कृत र सौन्दर्यका साथै इज्जतको प्रतीक शिरदेखि पाउसम्मको आकर्षण थरिथरिका पोशाक तयार गर्ने कुशल दमाइहरू किन साउदी र कतार जान मात्रै उत्सुक भए ? किन उनीहरू तयारी पोशाक निर्यातक किन बन्न सकेनन् ? सार्कीहरूले ठूलठूला छाला जुत्ता कारखाना खोलेर उद्योगपतिको स्थान किन लिन पाएनन् ? किनभने उनीहरूलाई उठाउनेभन्दा राजनीतिक दाउपेचको शिकार बनाउनेतिर बढी जोड दिइयो ।
उद्योगपति बनाउने कुरा अहिलेलाई सम्भव नहोला रे ! तर उनीहरूलाई सामान्य व्यवसायी त बनाउन सकिन्छ । जुत्ता बनाउन जान्नेहरूको समूह, लुगा सिलाउन जान्नेहरूको समूह अनि यस्तै सीप भएकाहरूको समुह–समूह बनाएर कम्तिमा विदेशी कामदार विस्थापित त गर्न सकिन्छ नि ? कपाल काट्ने ‘नाउ’हरू आज हराइसके । टोलटोलमा भारतबाट हजामहरू आएर सैलुन खोलेर बसेका छन् । यस्ता विषयतिर ध्यान दिने हो भने अहिले ‘मेगा प्रोजेक्ट’तिर ध्यान दिनै पर्दैन । टोलटोलबाट आर्थिक रुपान्तरण र जीवनस्तरमा सुधारको अभियान शुरु हुनेछ ।
खासमा अहिले दलित भनिने यी जात विशेषमा वंशाणुगत गुण र सीप, श्रम तथा अन्य मानवीय प्रतिभाको दृष्टिमा उच्चकोटीका छन् । यिनीहरूमा केही कमी थिएन, कलाका धनी थिए । सीप, जाँगर तथा स्वाभिमानी र स्वावलम्बी थिए तर नेपालको बहुआयामिक यस्तो विशेषतामा पश्चिमा रणनीतिको ग्रहण लाग्यो । उनीहरूको जीवनशैली तथा संस्कार र संस्कृतिमाथि अतिक्रमण हुनाका साथै उनीहरूका जीवनधारका सवै क्षेत्र र साधन खोसियो ।
वंशाणुगत पेशा अपनाउनेलाई सहुलियत र पुरस्कृत गर्ने नीति सरकारले लिने हो भने अझै केही बिग्रिसकेको छैन । यी सीप र क्षमताका धनी जातिलाई सरकारले संरक्षण गरेर अघि बढाउने हो भने नेपालको गरीबी केही वर्षमै ह्वात्तै घट्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना