विविधता बोकेको माघे सङ्क्रान्ति

trichandra pratiksyaत्रिचन्द्र प्रतीक्षा

 

माघ महिनाको सुरुवातको दिन अर्थात् माघ १ गतेका दिन मनाइने ‘माघे सङ्क्रान्ति’ पर्वलाई ‘मकर सङ्क्रान्ति’ को नामले पनि चिनिन्छ । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकैदिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन छ । नेपाली समाजमा प्रचलित कुनै पनि किसिमको चाड पर्वका परम्परामा धर्म र संस्कृतिको विविध पक्ष अन्र्तनिहित रहेको हुन्छ ।
‘सङ्क्रान्ति’ को अर्थ हो एउटा ठाउँबाट अर्को ठाउँमा जानु अर्थात् एउटा अर्कोसँग मिल्नु । यसरी जुन दिन सूर्य एक राशिदेखि अर्को राशिमा प्रवेश गर्छ त्यस दिनलाई सङ्क्रान्ति भनिन्छ । ज्योतिषीय दृष्टिकोणमा सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने र यसै दिनदेखि सूर्यको उदय दक्षिणतर्फबाट उत्तरतर्फ प्रवेश गर्ने क्रम आरम्भ हुने गर्दछन् । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामो हुने र तापक्रममा समेत बृद्धि भइ गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । महाभारतको कथामा भीष्म पितामहले ५६ दिनसम्म काँडाहरूको शैय्यामा सुतेर सूर्य उत्तरायण भएको दिन अर्थात् माघ १ का दिन प्राण त्यागेको उलेख छ भने सोही दिन भगिरथले गङ्गालाई पृथ्वीमा अवतरण गराइ सागरमा मिलाएका थिए । त्यसैले माघे सङ्क्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ ।
नेपालको किराँती संस्कृतिबाट प्रतिपादन गरिएको संस्कार हो– मकर सङ्क्रान्ति । यसमा किराँती राजा शक्को हाङ्गको नाम जोडिएको पाइन्छ । राजा शक्को हाङ्गको नामबाटै शङ्खमूल नदीको नामाकरण भएको प्राचीन कथन छ । यसदिन शङ्खमूलमा समेत ठूलो मेला लाग्ने गर्दछ ।
नेपालको समस्त भूभाग हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, लिम्बू, नेवार, गुरुङ्ग, तामाङ, मगर आदि सबै जनजातिले माघे सङ्क्रान्तिलाई आ–आफ्नो परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गर्छन् । घिउ, चाकु, तरुल, तिलको लड्डु जस्ता पौष्टिक खाद्य पदार्थ खाएर मुलुकभर माघे सङ्क्रान्ति पर्व मनाइन्छ भने नेवार समुदायमा घिउ र चाकु खाने भएकोले नेपाल भाषा (नेवारी)मा ‘घ्यो चाकु सँल्हु’ भनिने यस पर्वमा उपत्यकाका तीन शहरमा खिचडीका साथै ‘यलय् पलः’ (पाटने पालुङ्ग) खाने चलन छ । यस दिन परिवारमा मूली वा आमाले छोराछोरीलाई तालुमा तेल हालिदिने, जीउभरि तेल घसेर घाम ताप्ने चलन पनि छ ।
यसै दिन भक्तपुरको टौमढी टोलस्थित माधव नारायण (वाकुपति नारायण) चोकमा गाईलाई उसिनेको गहुँ खुवाउने र वाकुपति नारायणलाई घिउ चाकु र तिलले अभिषेक गर्ने परम्परा छ भने माधव नारायणको मन्दिरमा चढाइएको घिउ सन्तान नभएका महिलाले शुद्ध भई खाएमा सन्तान प्राप्ति हुने विश्वास गरिन्छ । यसै दिन भक्तपुरमै पाँचवटा विहारका दीपङ्कर पञ्चबुद्धहरू (अजाजु) को जात्रा हुने गर्दछ । त्यस्तै उपत्यका नजिकैको काभ्रे, पनौतीमा पनि माघ महिनाभरि मकर मेला लाग्छ भने बाह्र वर्षमा एकपल्ट महिनाभरि बाह्र वर्षे मेलासमेत यहाँ लाग्ने गर्दछ । यस्तै हरेक बाह्र वर्षमा एकपटक स्वयम्भूको भुँइखेलमा दीपङ्कर बुद्धको जात्रासमेत हुने गर्दछ । यसलाई बौद्ध धर्मालम्बीहरूले सम्यक पूजा भनिन्छ । उता भक्तपुरमा हरेक वर्ष माघे सङ्क्रान्तिका दिन सम्यक दान गर्ने गरिन्छ ।
विभिन्न स्थानमा मनाइने माघे सङ्क्रान्ति
माघे सङ्क्रान्तिको दिन नेपालको पूर्वदेखि पश्चिमसम्मको विभिन्न नदी, घाटका किनार एवं दोभान र त्रिवेणीहरूमा स्नान गर्नेहरूको भीड हुने गर्दछ ।
यस दिन झापाको प्रसिद्ध धार्मिक नदी कन्काईमा हिन्दू धर्मावलम्बीले मकर स्नान गर्छन् । सङ्क्रान्तिदेखि पाँच दिनसम्म कन्काई नदीको वरिपरि रमाइलो मेला लाग्ने र किराँत परम्परा एवं संस्कृति अनुरूप धान नाच देखाइने प्रचलन छ । उता सुनसरी जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्रमा माघे सङ्क्रान्तिका दिन हजारौँ हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुको पूजा आराधना गर्छन् । हिन्दू धार्मिक विश्वासका आधारमा उक्त स्थानमा त्यसदिन मकर नुहाई शरीर स्वच्छ बनाएर मोक्ष पाउने विश्वास गरिन्छ । यस दिन इलाम जिल्लाको माईबेनीमा ठूलो मेला लाग्छ । माईखोला र जोगमाई खोलाको दोभानमा लाग्ने उक्त मेलामा हजारौँ भक्तजनको घुइँचो लाग्ने गर्दछ भने सो मेलामा धाननाच, चण्डीनाच, बालन, सङ्गिनी, मारुनी नाच जस्ता परम्परागत नृत्यसमेत हेर्न पाइन्छ ।
पश्चिममा माघे सङ्क्रान्ति मेला रिडीको रुरु क्षेत्रमा तीन दिनसम्म भव्य मेला लाग्ने गर्दछ । उक्त मेला जेठी, माईली र कान्छी सङ्क्रान्तिको रूपमा तीन दिन मनाइने गरेको पाइन्छ । ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महìवपूर्ण तानसेनदेखि ३६ किलोमिटर दक्षिण पश्चिम पर्ने गुल्मी, पाल्पा र स्याङ््जा जिल्लाको सङ्गमस्थलबाट बग्ने पवित्र कालीगण्डकी नदी र गण्डकीको तिरमा अवस्थित पुरानो हृषिकेशव मन्दिरमा मेला लाग्ने गर्दछ । सोह्रौँ शताव्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान हृषिकेशवको मूर्ति फेला परेको र सोही मूर्तिलाई प्रतिस्थापन गरेको भन्ने किंवदन्ती रहिआएको छ । काली नदीमा स्नान गरेर हृषिकेशवको मूर्तिलाई दर्शन गरियो भने मनले चिताएको पुग्ने जनधारणा रहिआएको छ । सोही दिन पर्वत जिल्लाको कालीगण्डकी नदीको दोभानमा (एशियाकै सबैभन्दा ठूलो मानिएको शालिग्राम) शिला रहेको स्थानमा समेत बिहानैदेखि स्नान गर्नेहरूको ठूलो भिड हुने गर्दछ ।
यता चितवनको देवघाटमा हरेक वर्ष मकर सङ्क्रान्ति मेला बाँसको लिङ्गो गाडेर शुभारम्भ गर्ने गरिन्छ । भारतको हरिद्वार हृषिकेशको तुलनामा निकै मनोरम र ठूलो महìव बोकेको देवघाटको माघे सङ्क्रान्तिमा स्नान गर्न स्वर्गबाट देवताहरू आउने जनविश्वास छ । धार्मिक र पर्यटकीय महìव बोकेको देवघाटमा तीन दिन मेला लाग्छ भने मेलासँगै गलेश्वर आश्रममा लक्ष्यहवनसमेत गरिन्छ ।
यसरी माघे सङ्क्रान्तिका दिन शास्त्रोक्त विधिपूर्वक स्नान, व्रत, ध्यान र दान गर्नेहरूको सम्पूर्ण मनोकामना पूरा हुनुका साथै ‘माघ स्नान’ को अवधारणा अनुरूप माघ महिनाभरि स्नान गर्नेहरूलाई जीवनको अन्त्यपछि मोक्ष प्राप्तिको मार्गसमेत प्रशस्त हुने तथ्यमा हाम्रा धर्मग्रन्थहरूले महìवपूर्ण प्रकाश पारेका छन् ।
मगर समुदायमा माघे सङ्क्रान्ति छोरी चेलीवेटीहरूको पर्वको रूपमा मनाइन्छ । यस दिन चेलीबेटीहरूलाई पूजा गर्ने गरिन्छ । पूजा गर्नका लागि जम्मा गरिएको चामल, फलफूल, तरुल, रोटी आदिलाई मिश्रा भनिन्छ । माघे सङ्क्रान्ति वा माघ १ गतेका दिन बिहान सबेरै उठेर नुहाइधुवाइ गरी दाजुभाइले चेलीबेटीहरूलाई भेला गराएर मिश्रा चढाइ पुज्ने परम्परा छ । यदि कुनै चेलीको घर टाढा छ भने उनको मिश्रा अर्को दिन पु¥याइदिने चलन छ । बालकहरू धनु काँड खेल्ने चलन पनि यस समुदायमा छ ।
माघे सङ्क्रान्ति मैथिली समुदायले ‘तिला सङ्क्रान्ति’ को रूपमा मनाउँछन् । उनीहरू यस पर्वलाई बाचा वन्धनको रूपमा समेत मनाउने गरेको पाइन्छ । यसदिन परिवारका अग्रज र आमा–बाबुले आफ्ना सन्तानहरूलाई सख्खर र तिलको लड्डु खुवाई उनीहरूबाट बुढेसकालमा सेवा गर्नुपर्ने बचन, बाचा लिन लगाउने गर्दछन् ।
खासगरी मैथिली महिलाका लागि ‘तिला सङ्क्रान्ति’ पर्वको अझ बढी महìव रहेको पाइन्छ । यसै दिनदेखि कन्याहरू सुयोग्य वर प्राप्तिको कामनाले तुसारी पर्व मनाउन थाल्छन् भने विवाहित महिला पृथ्वी पर्व मनाउने गर्छन् । यस पर्वमा नवविवाहित दुलहाको घरबाट दुलहीको माइतमा तिल र चिउराको कोसेली र जाडोमा लगाउने लुगा पठाइदिने परम्परा पनि छ । धेरैजसो मिथिलावासी यसै दिनदेखि माघ स्नान शुरु गर्छन्, अर्थात् माघ महिनाभर एकाबिहानै नुहाएर घिउ, खिचडी खाने गर्दछन्् ।
नयाँ वर्षको रूपमा थारु समुदायले माघी पर्व बडो धुमधाम र उत्साहका साथ मनाउँछन् । माघी मौलिक संस्कृतिले भरिएको सबभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यसदिन मासको दाल र चामल मिसाइएको खिचडी (माघी) खाने चलन छ । उनीहरूमा माघे सङ्क्रान्तिको अघिल्लो दिन सुँगुर काट्ने चलन छ, यसलाई ‘जिता मरना दिन’ भनिन्छ भने सङ्क्रान्तिको रातभर गाउने गीतलाई ‘धमार’ भनिन्छ । माघको दोस्रो दिन खिचडी बनाई खाने गरिन्छ यसलाई उनीहरू ‘खिचरहवा’ भन्छन् । यस्तै भाइ–भाइमा मन नमिले माघीमा नै अंशबण्डा गर्ने गरिन्छ । यसलाई घरफुटाइ भनिन्छ । अंशबण्डामा कुनै भाइलाई मर्का नपरोस् भन्ने उद्देश्यले गाउँका पञ्च भलाद्मीको मध्यस्थकर्ताको रूपमा माघको पहिलो हप्ताभित्रै बैठक बसेर सामूहिक रूपमा गत वर्षको काम कारवाहीबारे छलफल गरिन्छ ।
नेपालकै कैयौँ गाउँठाउँमा माघी पर्वलाई नयाँ वर्षको रूपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आ–आफ्नो लेनदेन, हर–हिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाब किताब शुरु गर्ने प्रचलन छ ।
गोरु जात्रा
नुवाकोट जिल्ला तारुका गाविसमा माघे सङ्क्रान्तिको दिन आयोजना गरिने गोरु जात्रा (गोरुजुधाइ) परम्परागत जात्रा हो । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर जाँदा उनलाई मनोरञ्जन दिलाउन गोरुजुधाइ मेलाको शुरुवात गरिएको किंवदन्ती छ । भनिन्छ जयपृथ्वीबहादुर सिंह वि.सं. १९७८ मा नुवाकोटको तारुका–५, चन्दनीस्थित मामाघर आउँदा भानिजलाई मनोरञ्जन दिन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा शुरु गरेका थिए ।
विगतमा सोही गाविसको कोलडाँडा, चन्दनी, ठूलो पोखरीलगायतका ठाउँमा छरिएर रहेको गोरुजुधाइलाई विगत दश वर्षदेखि तारुका चन्दनीमा एकीकृत र व्यवस्थित रूपमा मनाउन थालिएको हो ।
यसैको अनुशरण गरी पर्वतको लिमीठाना गाविसमा पनि माघे सङ्क्रान्तिको अवसरमा पहिलोपटक वि.सं २०७० सालमा गोरुजुधाइ प्रतियोगिता आयोजना गरियो । गोरु जुधाउनका लागि लिमीठाना, ठानामौला, शङ्करपोखरी र खानीगाउँबाट गोरु ल्याइएको हो । प्रतियोगितामा दश हल गोरु जुधाइएको थियो ।
नेपालमा मनाइने सङ्क्रान्तिमध्ये आध्यात्मिक र भौतिक दृष्टिलेसमेत सबैभन्दा महìवपूर्ण संस्कृति मकर सङ्क्रान्ति हुनुका साथै किराँतकालीन संस्कृति हो । यो पर्व परिवारमा प्रेम र एकता वृद्धि गर्न, मानिसलाई कर्तव्यको ज्ञान दिलाउन, सूर्य देवलाई उदाहरण बनाएर उनीहरूमा वीरता भरिदिन अनि सर्वोपरि उनीहरू आफूमा भएको देवत्वको बोध गराउन मनाइन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना