राष्ट्रिय एकीकरणका पक्षमा

shyam rimal_3श्याम रिमाल

 

 

‘महानायक पृथ्वीनारायण शाह !
एक वर्षमा एक छिन
तिम्रो सालिक सुम्सुम्याएर
तिम्रो कर्खा गुनगाएर
एकता दिवस मनाउँछौँ
र, सभाकक्षबाट निस्कने बित्तिकै
तिम्रो दिव्योपदेश बिर्सेर
विखण्डनको बाटो अपनाउँछौँ हामी’
(क्षेत्रप्रताप अधिकारी, ‘महानायक पृथ्वीनारायण शाह’, ‘पृथ्वीजयन्ती–५८ःस्मारिका’, नेप्रप्र,२०५९)
वि.सं. २०७३ मा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पुस २७ गतेलाई एकता दिवस (पृथ्वीजयन्ती होइन) मानी सार्वजनिक बिदा दिन्छ कि दिँदैन भनी गरिएको प्रतीक्षा अन्ततः सत्यमा परिणत भयो । सो दिन राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरबारस्थित पृथ्वीनारायण शाहको शालिक अगाडि आएर सेनाको सलामी ग्रहण गरी फर्किनुभएको पनि सत्य हो । चुनावी सरकारले धेरै अवसरमा बिदा घोषणा गरी सम्बन्धित समूहको मत तान्ने मनसुबा राखेको सिलसिलाकै बिदा भए पनि सो साल सार्वजनिक बिदाको घोषणाले राष्ट्रिय एकताप्रेमीलाई हर्ष र सन्तोष लाग्नु स्वाभाविकै थियो । यसरी वि.सं २०६३ देखि हटाइएको राष्ट्रिय एकता दिवसको सार्वजनिक बिदा पुनः कायम भएपछि मुलुकलाई राष्ट्रिय एकतामा जोड्न झन् मद्दत पुगेको थियो । एक सानो समूहले कीर्तिपुरस्थित छयाँकल्वहंमा थुके पनि तिनीप्रति सामाजिक सञ्जाल कसरी विरोधमा उत्रिएको थियो भन्ने थाहा भएकै हो । अब सार्वजनिक बिदा दिइए पनि वा नदिइए पनि राष्ट्रिय एकताको मर्मअनुसार कुनै पनि सरकार, नागरिक समाज, सबै जातजाति र देशवासीले राष्ट्रिय भावधारमा उत्रिइ आफूलाई खरो उतारेको छ छैन, त्यो नै मूल कुरा हो ।
नेपालमा पृथ्वीनारायण शाहले राज्य विस्तार गरेको र एकात्मक शासन आरम्भ गरेको भनी विरोध गर्नेहरू एकथरि सङ्घीयतावादी छन् । अर्काथरि लडाइँका क्रममा कीर्तिपुरका जनतामाथि अत्याचार गरेको, नुवाकोट र बेलकोट विजयपछि गोरखाबाट निष्काशित भई जयप्रकाश मल्लका तर्फबाट नुवाकोट हेर्न राखिएका उमराव जयन्त रानाको छाला काढी नुनचुक दलिएको, मुख छोपिएकी क्षयरोगी एक महिलाको मुख हेर्दा तनहुँका त्रिविक्रम सेनलाई नुवाकोट बोलाएर झुक्याइ थुनेको जस्ता आरोप पनि उनीमाथि लाग्ने गरेका छन् । झन् अर्काथरि त राजा भनेका राजा नै हुन् राजतन्त्र विरोधीले जुनसुकै राजाको पनि विरोधै गर्नुपर्छ, नत्र राजावादी होइन्छ भन्ने खालका तर्क दिने पनि छन् ।
पृथ्वीनारायण शाहले राज्य विस्तार गरेको होइन, छरिएका राज्यलाई एकीकरण गरेका हुन् भन्ने प्रमाण इतिहासविद्ले दिइसकेका छन् । इपू. ८००–६०० बीचमा लेखिएको ‘अथर्व परिशिष्ट’ र इपू. ४०० मा लेखिएको कौटिल्यको ‘अर्थशास्त्र’ तथा इस्वीको चौंथो शताब्दीमा समुद्रगुप्तको इलाहाबादस्थित प्रयागस्तम्भ लेखमा पूर्वमा कामरूप (आसाम) देखि पश्चिममा कर्तृपुर (कुमाउँ) तथा उत्तरमा नीलकण्ठदेखि दक्षिणमा गङ्गासम्मको भाग उल्लेख भएको भाग नेपाल नै भएको इतिहासविद्ले बताएका छन् ‘हिमवत्खण्ड’मा भने पूर्वमा कोशी, पश्चिममा गण्डकी, उत्तरमा नीलकण्ठ हिमाल र दक्षिणमा चम्पारण क्षेत्रलाई देवभूमि भनिएको छ । लिच्छविकालदेखि नेपाल विभिन्न राज्यमा टुक्रिइ अठारौँ शताब्दीमा आइपुग्दा ५४ (बाइसे, चौबीसे, काठमाडौँ उपत्यका–३, सेन राज्य मकवानपुर, चौदण्डी र विजयपुर तथा गोरखा र मुस्ताङ) राज्यमा विभक्त भएको थियो । समुद्रगुप्तको शिलालेखमा उल्लिखित नेपाल र हालको नेपालको क्षेत्रफल करिब करिब बराबर भएको पनि जनाइएको छ ।
तेह्रौँ शताब्दीतिर जुम्लाको सिँजा राजधानी कायम गरेका कर्णाली भेकका खसहरूले राज्यविस्तारका क्रममा गण्डकी प्रदेशका इलाका र नुवाकोट, तराई सिम्रौनगढको तिरहुत (डोय) राज्यले मिथिला एकीकरण, काठमाडौँ उपत्यकाका यक्ष मल्लले मिथिला, गया, पर्वते राज्य जिते । पाल्पाका मुकुन्द सेनले पूर्वका पहाड, टिष्टा र समस्त तराई जिते । पछि शाह राजाहरूले काठमाडौँ उपत्यका जित्ने सपना देखेकाले नै बरोबर त्यता गई त्यहाँको दरबार, राजनीति, अर्थव्यवस्था, संस्कृतिबारे जानकारी लिइरहन्थे । पृथ्वीनारायणका पिता नरभूपाल शाहले पनि उपत्यका विजय गर्न पहिलो ढोका नुवाकोट आक्रमण गरे पनि हार खाई विक्षिप्त भएका थिए । पिताको महाìवाकाङ्क्षालाई पुत्रले नुबझ्ने कुरै भएन । नुवाकोट जितेपछि नुवाकोट राजधानी र काठमाडौँ जितेपछि काठमाडौँ राजधानी राख्नाको अर्थ नै विजय अभियान ‘गोरखा राज्यको विस्तार’ होइन भन्ने स्पष्ट हुन्छ । भक्तपुर विजयपछि भाइहरूले राज्य माग्दा उनले त्यसो हुन दिएनन् र भने–
पारिन्छ सत्ता जब खण्ड खण्ड
रहन्छ के राज्य त्यहाँ अखण्ड
थुतिन्छ पत्ता जब खात खात
सिद्धिन्छ शोभा अनि फूलबाट
(माधव घिमिरे, राष्ट्रनिर्माता )
प्राज्ञ जगमान गुरुङले एलएफ स्टिलरलाई उद्धृत गर्दै कुनै एउटा स्वतन्त्र राज्यले अर्काे स्वतन्त्र राज्यलाई जितेर त्यसको अस्तित्व आफूमा विलीन गराएको छ भने राज्य विस्तार, चारैदिशाका राज्य जितेमा दिग्विजय र कुनै विशाल राज्य अनेक खण्डमा टुक्रिइ एक राज्यको नेतृत्वमा पुनः पहिलेजस्तै विशाल बनाएमा एकीकरण हुने विश्वव्यापी सिद्धान्तबारे उल्लेख गर्नुभएको छ । पृथ्वीनारायणको विजय अभियान पछिल्लो अवस्थाकै हो भन्ने स्पष्ट छ जसमा टुक्रिएका राज्यलाई आपसमा गाभियो, पुनः विशालता दिइयो । एकीकृत राज्यलाई प्रदेशमा विभाजन गरेर सङ्घीयता ल्याउने हैन, विभक्त राज्यलाई सङ्घीय बनाउने हो भनी तर्क दिने डा. भीमार्जुन आचार्यजस्ता बुद्धिजीवीले जति कराए पनि आखिर जनताको मागबमोजिम भनी एकात्मक राज्य नेपालले सात प्रदेशमा अधिकार बाँडेर सङ्घीयता लागू गरिसकेकै छ । यस्तो अवस्थामा पृथ्वीनारायणलाई साम्राज्यवादी, एकात्मक शासनका पक्षधर, निर्दयी भनी गाली गर्नाको कुनै तुक छैन । मुसलमान र अङ्ग्रेजलाई मकवानपुर र सिन्धुलीमै हराएको र पादरीलाई देश निकाला गरेका कारणले मात्र उनीसँग रिसाएर उनलाई कीर्तिपुरेको १७ धार्नी नाक कटुवा भनी फत्तुर लगाइएको हो भनी इतिहासकारले जवाफ दिइसकेका छन् । जयन्त रानालाई नुनचुक दल्नु र त्रिविक्रमलाई झुक्याएर पिँजडामा कैद गर्नु चाहिँ राजालाई सुहाउने कुरा हैन । यतिका कारणले मात्र स्वतन्त्र र एकीकृत मुलुकका प्रवत्र्तकलाई अपराधी भन्नु मुख्याइँ मात्र हुनेछ । विस्तारवादी चेतना भएका भए जीवनको अन्त्यकालमा ‘मेरा साना दुषले आज्र्याको. मुलुक होइन. सबै जातको फुल्वारि हो, सवै लाई. चेतना भया.’ भन्ने भाव नै उनमा कसरी उत्पन्न हुन्थ्यो र ?
मुलुकको अटल स्वतन्त्रता चाहनेले पृथ्वीजयन्ती नमनाए पनि राष्ट्रिय एकताको भाव लिएर दिगदिगन्तर स्वतन्त्र नेपालकै लागि मरिमेट्नु नै बुद्धिमानी हुनेछ । विदेशी हस्तक्षेपलाई मन, वचन र कर्मले खुला आमन्त्रण दिने कामले सिक्किमी, अफगानी र प्यालेष्टिनी जनताले जस्तै पश्चात्ताप गर्नु र रुँदै हिँड्नुपर्नेछ ।
हाम्रो देश हिमालका हृदयमा जेठो र अग्लो सदा
मेची कालि हिमाल माल भरिमा फैली बसेको छदा
माई कौशिकि गण्डकी हिम तिला भेरी र कर्णालिले
मुक्ताहार सरी गरी वरि परी राम्रो छ गोर्खा मिले ।
(योगी नरहरिनाथ, ‘हाम्रो देश गोर्खा’, ‘दिव्य उपदेश–पृथ्वीको अर्ति’)

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना