कानुनका सहयोगी र उत्प्रेरक गुरु

केही हप्ताअघि निधन भएका वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ नेपाली कानुनी क्षेत्रमा सम्मानित नाम हो, वकालत सिक्नेलाई सदासर्वदा प्रेम र आत्मियताका भाव राख्ने तथा असली कुरा सिकाउने गुरुका रूपमा पनि उहाँलाई लिइन्छ । यसै सन्दर्भमा उहाँका समवयी वरिष्ठ अधिवक्ता विश्वराज पाण्डेले आफ्ना गुरुका लगनशीलता, निष्ठा तथा जीवनशैली लगायतका विषयका सम्बन्धमा लेख्नुभएको आलेख ।

पहिलोपल्ट भेटेपछि सदासर्वदा मेरो सम्झनामा आइरहने मेरा वकालती गुरु कुसुम श्रेष्ठ हुनुहुन्थ्यो जसको हालै निधन भयो । म आफैँ उहाँको उमेरको व्यक्ति, तर उहाँको लामो समयदेखिको दमको कारणले निधन भएको समाचार पाएदेखि सिनेमाको रिल घुमेजस्तै उहाँसँगका क्षण प्रतिक्षणमा भएका घटना परिघटनाहरू मनमा घुमिरहे ।
विराटनगरको मोरङ कलेजको प्रिन्सिपल भइसकेपछि अनेक कारणले बीएल पास गरेको प्रमाणपत्र प्रस्तुत गरेर सर्वोच्च अदालतबाट वकील (अधिवक्ता)को लाइसेन्स लिएर काठमाडौँमा वकालत गर्न थालेँ । यही वकालत सिक्ने रनाहामा म बहुचर्चित वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको ल फर्ममा पुगेँ । यही ल फर्ममा पार्टनर बनेर वकालत गरिरहनु भएका कुसुम श्रेष्ठलाई त्यसपछि चिनेको हुँ । परिचयपछिको पहिलो काममै मैले मनमनै मेरो वकालती पेशाको असली गुरु मान्न थालिहालेँ ।
मैले नेपालको पहिलो ल फर्म (नेपाल ल फर्म) मा २०३२ सालमा प्रवेश गरेको हुँं । नेपाल ल फर्म अहिले पनि जहाँ छ, उतिबेला पनि त्यहाँ नै थियो । फरक एउटै छ, त्यहाँ अब ल फर्म स्थापना गर्ने कृष्णप्रसाद भण्डारी एक जना गुरु मात्र जीवित हुनुहुन्छ । नेपाल ल फर्मका पाँच जना संस्थापक सदस्यहरू हुनुहुन्थ्यो, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, अधिवक्ता लवदेव भट्ट, वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ, अधिवक्ता कृष्णप्रसाद पन्त र अधिवक्ता रामनगिना सिंह । उपरोक्त पाँच जनामध्ये म त्यहाँ जाँदा मैले भण्डारीजी, लबदेवजी र कुसुम श्रेष्ठजीलाई मात्र भेट्ने अवसर पाएँ । अधिवक्ताद्धय पन्त र सिंहले नेपाल ल फर्म छोडिसक्नु भएको रहेछ । biswa
कुसुमजीको साह्रै राम्रो पक्ष के थियो भने नेपाल ल फर्ममा वकालत सिक्न जानेलाई सदासर्वदा प्रेम र आत्मियताका भावहरू राख्ने र असली कुरा सिकाउने । शरणागतलाई उहाँ राम्रो शरण दिनुहुन्थ्यो । मैले कुसुमजीको शरणमा सहृदयताको सागर नै भेटेँ । कुसुमजीको कार्यकुशलता, बौद्धिक क्षमता र बोलेको कुरा पालना गर्ने स्वभावलाई मैले बेवास्ता वा अटेर गरेको भए सम्भवतः उहाँसँग मेरो सन्निकटता हुँदैनथ्यो होला । म आफू अङ्ग्रेजी साहित्यमा एमए गरेर कलेजको प्रिन्सिपल भइसकेको व्यक्ति हुनाले र अङ्ग्रेजी भाषामा प्रकाशित ग्रन्थहरूको बहुतै प्रयोग वकालतमा जबर्जस्त रूपमा गर्ने कुसुम श्रेष्ठसँग मेरो घनिष्टता अर्कै किसिमले भएको पनि हुनसक्छ । साथै मैले नेपाली भाषामा पनि एमए गरेकोले नेपालीमा पनि राम्रै दख्खल थियो । यसरी एक प्रकारले कुसुमजीको दह्रो कानूनी पकडमा हामी दुईको सम्बन्ध माटोको भर ढुङ्गा र ढुङ्गाको भर माटो भएजस्तै हुन पुग्यो ।
मैले तयार गरेको फिराद, प्रतिउत्तर वा रिट आदिको लेखाइ जत्ति मिहिनेत गर्दा पनि कानुनी ढाँचाअनुसार हुन्थेनन् । मेरो मिहिनेतले मात्र पुगेको थिएन, मलाई मार्गदर्शनको आवश्यकता रहेछ । कुसुमजी बराबर भन्नु हुन्थ्यो, तपाईं पाश्चात्य र नेपाली साहित्य दुवै पढेको प्राध्यापक हुनुहुन्छ । लेखाइ राम्रो र शुद्ध छ तर साहित्य पढाएर व्याख्या गरे भन्दा कानुनी लेखाइ अलिक रुखो, घुमाउरो, दोहोरिएको पनि हुन्छ है पाण्डेजी भनेर सचेत गराइरहनु हुन्थ्यो । उहाँ कानुनका सिद्धान्त, नजीर र तिनको व्याख्या बौद्धिक रूपमा गर्नुपर्छ भन्ने दोहो¥याइरहनु हुन्थ्यो । मैले पनि कुसुमजीले भनेका कुरालाई गुरु शिक्षाको रूपमा लिएँ । कहिल्यै दम्भ गरेर यसो गर्दा किन नहुने भनेर तुजुक प्रदर्शन गर्न कदाचित खोजिन् ।
कुसुमजीलाई मेरो सिक्ने बानी मन परेर हो वा केले हो आफूले जानेका कुरा सिकाउने मात्र होइन, तपार्इं यी यी किताब बढ्नुस् भनेर कानुनका किताबहरू सिफारिस पनि गर्न थाल्नु भयो । मैले पढेँ कि पढिन भनेर पनि चासो दिइरहनु भयो, जसले गर्दा उहाँले भनेका पुस्तकहरू गम्भीर बनेर पढेँ । पढेका कुराहरू बारे उहाँसँग अनेक सवालहरू उठाएँ । नबुझेका कुरा उहाँबाट सिकेको मात्र होइन, त्यसलाई कसरी अदालती बहसमा प्रयोग गर्ने, लिखतहरू तयार गर्दा प्रयोग गर्ने कुसुमका परिपक्व सिपहरू पनि सिक्ने अवसर पाएँ जसले गर्दा उहाँसँग सिकेका कुरापछि मैले आफ्नै ल फर्म सञ्चालन गर्दा गुरुमन्त्र नै साबित भए ।
नेपाल बार एसोसिएसन वा नेपाल कानुन व्यवसायीको मुखपत्रको रूपमा अहिले पनि ‘न्यायदूत’ प्रकाशन हुनेगर्छ । २०३२ सालमा मैले यो पत्रिकाको लोकप्रियता शिखरमा पुगेको प्रत्यक्ष रूपमा देखेँ । त्यस बखत कुसुमजी नै न्यायदूतको सम्पादन विभागमा हुनुहुन्थ्यो । ‘न्यायदूत’ मा नयाँ–नयाँ विषयका कानुनी लेखहरू प्रकाशित भइरहे । ल फर्ममा प्रवेश गरेपछिको एक दिनको कुरा हो, मलाई कुसुमजीले, मस्यौदा विधिको विषयमा एउटा खँदीलो र व्यावहारिक लेख ‘न्यायदूत’ को निम्ति लेख्न भन्नु भयो । उहाँले माग्नु भएको मैले टार्ने कुरा भएन । म कटिबद्ध भएर लेख तयार गर्न लागेँ ।
तिनताका नेपाल ल फर्ममा कानुनसम्बन्धी निकै किताबहरू थिए । ती सबै कि अङ्ग्रेजीमा वा नेपाली भाषामा थिए । मैले मलाई जिम्मा दिएको विषयसम्बन्धी किताबहरू खोजेँ, भेटेँ र तिनका सम्बन्धित अंशहरूको अध्ययन गर्दै लेखको खाका तयार पारेँ । ‘मस्यौदा विधि’ नामको त्यो लेख तयार भएपछि कुसुमजीलाई बुझाएँ । २०३३ सालको अन्ततिरको ‘न्यायदूत’ मा छापियो । लेख प्रकाशित भएपछि तत्कालीन न्यायाधीश कृष्णप्रसाद बस्यालले ‘मस्यौदा विधि’ बारे ‘न्यायदूत’ लाई पठाउनु भएको पत्रसमेत छापिएपछि कुुसुमजीले मलाई धाप दिँदै भन्नुभयो ( अब बराबर लेख लेख्नुपर्छ है ।
‘मस्यौदा विधि’ को प्रकाशनपछि म कानुनसम्बन्धी लेख लेख्न जान्ने लेखकमा गनिन थालेँ । साथै नेपाल कानुन क्याम्पसबाट प्रकाशित हुने ‘नेपाल कानुन परिचर्चा’ ले बराबर लेख लेखाउँदै स्तम्भकारझैँ बनायो । यसको जस मलाई जिम्मेवार र गम्भीर बनेर लेख लेख्नुपर्छ भनेर सिकाउने मेरा गुरु कुसुमजीलाई नै जान्छ । तर उहाँ मैले गुरुजी वा सर भनेर सम्बोधन गर्दा मलाई यस्तो सम्बोधन गर्ने होइन, हामी एउटै पेशाका साथी हौँ, त्यसैले मलाई कुसुमजी नै भन्न भन्नुहुन्थ्यो । मलाई पाण्डेजी भनेर नै सम्बोधन गरिरहनुभयो ।
कुसुमजी छुट्टीको दिनलाई उपयोगी मात्र होइन, ज्ञानवद्र्धक र बौद्धिक बहसको विषय बनाउनु हुन्थ्यो । त्यतिबेलाका अध्ययनशील बौद्धिक भनिने शङ्कर घिमिरे, गणेशराज शर्मा, दमननाथ ढुङ्गाना, कुवेर शर्मा र कुसुमजी स्वयम्समेतले अनौपचारिक रूपमा ‘बुक क्लब’ नै चलाउनु भएको थियो । यसको बैठक प्रत्येक शनिबार बस्थ्यो तर त्यो बैठक कुनै तोकिएको कोठा वा स्थानमा हुन्थेन । कहिले कसको घरमा, कहिले कसको घरमा हुन्थ्यो । यसले मित्रतालाई घनिष्ट पनि बनाइरहेको थियो ।
पछि यो अनौपचारिक जमघट बन्द भयो र त्यसको ठाउँमा कुसुमजीले सातामा एकदिन पैदल यात्रा गर्ने प्रस्ताव गर्दै टोली नै तयार पार्नुभयो । त्यसमा कुसुमजी, मुकुन्द रेग्मी, झुलेन्द्रप्रसाद छत्कुली, नीरकुमार क्षेत्री, कमलनारायण दास, बलराम काफ्ले तथा म थिएँ । यो यात्रालाई कुसुमजीले सकेसम्म मनोरञ्जक बनाउन कहिल्यै छाड्नु भएन । गम्भीर विषयहरू बीचबीचमा हुन्थे तर कहिल्यै विषयलाई निरस बनाइन्नथ्यो । सबै जना मस्तले हाँस्थ्यौ । हामीले पैदल यात्रा गर्ने ठाउँमा काठमाडौँ उपत्यकाका कीर्तिपुर क्षेत्र, साँगा भञ्ज्याङ, बनेपा, नाला, सुन्दरीजल, साँखु, बालाजु, दक्षिणकाली आदि क्षेत्र थिए ।
कुसुमजी पूर्ण प्रजातान्त्रिक विचारधाराको मान्छे हुनुहुन्थ्यो । सामान्य कुराकानी गर्दा वा कतै भाषण गर्दा अथवा लेख लेख्दा या अन्तर्वार्ता दिँदा उहाँका अभिव्यक्ति सिद्धान्त तथा विचारधारामा आधारित हुन्थे । कुसुमजीको ख्याति विद्वान् कानुन व्यवसायी बीचमा मात्र होइन, राजनीतिक क्षेत्रमा पनि शिखरमा थियो । उहाँलाई अमेरिकी राष्ट्रपतिको चुनाव पर्यवेक्षण गर्न बोलाइएपछि उहाँ अमेरिका जानुभयो । अन्तर्राष्ट्रिय क्षेत्रले उहाँले व्यक्त गर्नुभएका विचारलाई गम्भीरतापूर्वक लिन्थ्यो ।
कुसुमजी छुट्टीको समयमा तास खेल्ने वा जमघट बनाएर रक्सी खानेजस्ता काममा समय बिताएको कहिल्यै देखिन तर कहिले ‘बुक क्लब’ कहिले ‘पैदलयात्रा वा टे«किङ’ कहिले नयाँ विषयमा बहस चलाउन भने सक्रिय रहिरहनु हुन्थ्यो । गम्भीर तथा जटिल मुद्दा छ भने सबैथोक छाडेर त्यसका लागि तयारी गर्न समय चाहियो भनेर विषयवस्तुका जानकारलाई खबर गरेर चुर्लुम्मै डुब्नु हुन्थ्यो ।
कुसुमजी ‘थोडा खाना बनारस रहना’ वाला हुनुहुन्थ्यो । मिठाई भन्दा वा नुनिलो चिज उहाँको प्राथमिकतामा पथ्र्यो । मासु र मासुजन्य पदार्थ उहाँको प्रिय थियो । सुग्घर सफा त उहाँको पर्यायवाची भन्दा फरक पर्दैन । कसैले खानेकुरामा हात हालेर भाग लगाउन थाल्यो भने रोकिहाल्नु हुन्थ्यो । डाडु, पन्यौ, चम्चा आदिबाट भाग लगाएको र काँटा चम्चाको प्रयोग गरेर खानु हुन्थ्यो । उहाँ खाँदा शान्त रहनुहुन्थ्यो र बडा प्रेम भावले खानु हुन्थ्यो । मीठो खानाको तारिफ गर्नु कहिल्यै कन्जुस्याइ गर्नुहुन्नथ्यो ।
यस्तो हुनुहुन्थ्यो मेरा कानुनका गुरु ! परोपकारी, सहयोगी र उत्प्रेरक । अति अध्ययनशील । उहाँको सङ्गतले मेरो जीवनपथलाई धेरै प्रभावित पा¥यो, जबकि म त्यतिबेलै प्रौढ भइसकेको थिएँ तर मैले असल कुरा सिक्न कहिल्यै कन्जुसी गरिन, अल्छी मानिन । त्यसैले पनि उहाँले मलाई आफ्नो चेलो बनाउनलायक ठान्नुभयो । भनाइ छ (असल मान्छे मृत्युपछि स्वर्गमा जान्छ । मलाई कुसुमजी पनि त्यही पुग्नुभएको लाग्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds