नेपालको पहिलो गीति नाटकका सर्जक

डा. ध्रुवेशचन्द्र रेग्मी 

समय जान कति पनि बेर लाग्दैन । नेपाली सङ्गीत क्षेत्रका महान् व्यक्तित्व नेपाल कलाभूषण वरिष्ठ सङ्गीत निर्देशक चन्द्रराज शर्माले आफ्नो भौतिक देह त्याग गर्नुभएको एक वर्ष पूरा भएको छ । सङ्गीतको ज्ञानका खानी, शान्त र गम्भीर स्वभावका धनी, उहाँको जन्म वि. सं. १९९६ सालमा काठमाडौँको ज्ञानेश्वरमा पिता सङ्गीतशिरोमणि यज्ञराज शर्मा तथा माता होमकुमारीको ज्येष्ठ सुपुत्रका रूपमा भएको थियो । आफ्ना समयमा अत्यन्तै उत्कृष्ट सङ्गीतका रूपमा स्थापित उहाँका बुवा पं. यज्ञराज शर्माले भारतको बम्बैमा धुरन्धर सङ्गीतज्ञहरू उस्ताद बिलायत हुसैन खाँन, उस्ताद फैयाज खान र ग्वालियरका पं. कृष्णराव शङ्करसँग सङ्गीतको शिक्षा लिनुभएको थियो । त्यस्ता दिग्गज व्यक्तित्वहरूबाट सङ्गीत शिक्षा आर्जन गरेका बुवाबाट उहाँले शास्त्रीय सङ्गीतको शिक्षा लिनुभएका कारण नै चन्द्रराज एउटा उत्कृष्ट र सफ सङ्गीतकारको श्रेणीमा आफूलाई अब्बल सावित गर्न सफल हुनुभयो । सङ्गीतको शैक्षिक उपाधि हासिल गर्ने क्रममा उहाँले भारतको प्रयाग सङ्गीत समितिबाट शास्त्रीय गायन विषयमा स्नातक (बी.म्युज) उत्तीर्ण गर्नुभएको थियो । पिता सङ्गीत शिरोमणि यज्ञराजबाट आरम्भ भएको सङ्गीतको यो परम्परालाई उहाँका दुई छोरा चन्द्रराज र सूर्यराज शर्माका साथै नाति पुस्ताका गायक तथा सङ्गीतकार सुदेशराज शर्माले निरन्तरता दिएका छन् ।
लगभग वि. सं. २०३७/०३८ तिर तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रदान गर्ने एक वर्षे कलाकार प्रशिक्षण कार्यक्रममा सुदेशराज शर्मा र मैले सँगै तालिम लिने अवसर प्राप्त गरेका थियौँ । त्यही समयमा नै प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयको दक्षिण कुनाको एकतलामाथि रहेको वाद्यसङ्गीतको कक्षमा शकुन्तला गीति नाटकको अभ्यास भइरहेको हुन्थ्यो । सोही स्थानमा नै मैले पहिलो पटक त्यस गीति नाटकको सङ्गीतको निर्देशकका रूपमा रहनुभएका सुदेशका बुवा वरिष्ठ सङ्गीतकार नेपाल कलाभूषण चन्द्रराज शर्मासँग भेट्ने अवसर प्राप्त गरेको थिएँ । सुदेश मित्र भएकै कारण त्यतिबेला उहाँसँग पटक पटक भेट्ने अवसर प्राप्त गर्दथँे । तर आफ्नो कामसँग मात्र मतलव राख्ने र गम्भीर स्वभावका कारण उहाँसँग बोल्न डर लाग्दथ्यो, हाम्रो अन्तक्र्रिया भने अत्यन्तै कम मात्र हुन्थ्यो । sarjak
मेरा जीवनमा उहाँसँग सङ्गीतकर्मीको हैसियतबाट तीन पटक भेट्ने अवसर प्राप्त भएको थियो । पहिलो पटक प्रज्ञा प्रतिष्ठानमा उहाँबाट निर्देशित उल्लेखित शकुन्तला नाटकको अभ्यासको क्रममा उहाँले म त्यहाँको प्रशिक्षार्थी नै रहेको अवस्थामा एकाध पटक सितार बजाउन दिनुभएको अवसर मेरो जीवनका लागि अत्यन्तै रोमाञ्चकारी क्षण थिए । दोस्रो पटकमा लगभग वि.सं. २०४० तिर गाईजात्राको अवसरमा कुनै एउटा राणा परिवारको सदस्यको सम्झनास्वरूप तयार पर्न लागिएको रामायणमा उहाँले व्यावसायिक रूपमा नै सितार बजाउने कलाकारको रूपमा संलग्न गराउनुभएको थियो । यसका लागि धेरै दिनसम्म पहिला बानेश्वरस्थित अमर आदर्श विद्यालय र पछि थापाथलीको एउटा घरमा निरन्तर रूपमा उहाँके निर्देशनमा अभ्यास पनि भएको थियो । अन्तिममा केही कारणवश उहाँले चाहना राख्दाराख्दै पनि म त्यस टोलीमा सरिक हुन सकेको थिइँन । त्यसैगरी उहाँको सङ्गीतमा काम गर्ने अन्तिम अवसर मलाई वरिष्ठ सिनेमा निर्देशक यादव खरेलद्वारा निर्देशित भानुभक्त सिनेमाको केही दृश्यमा सितारको पृष्ठभूमि सङ्गीत बजाउने अवसर प्राप्त भएको थियो । उहाँसँगको सान्निध्य पाएका उल्लेखित ती सबै अवसरबाट मैले उहाँबाट केही न केही सिक्ने अवसर प्राप्त गरँे जुन मेरो साङ्गीतिक जीवनको अविस्मरणीय र उपलब्धिमूलक पाटोको रूपमा रहेको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिका आधारमा तयार पारिएको मुनामदन गीतिनाटकको प्रशंसा बाल्यकालमै आफ्ना अग्रजहरूबाट सुन्ने गर्दथेँ भने स्वरसम्राट नारायण गोपालद्वारा गाइएको रेडियो नेपालबाट बज्ने मुनामदनका गीत मलाई असाध्यै मन पर्दथ्यो । त्यो गीतका रचनाकार, सङ्गीतकार तथा गायक को थिए भन्ने कुराको हेक्का आरम्भमा मलाई थिएन । धेरै समय पश्चात् मात्र यसका रचनाकार लक्ष्मीप्रसाद देवकोटा, गायक नारायण गोपाल र सङ्गीतकार चन्द्रराज शर्मा थिए भन्ने सत्यताबाट म अवगत भएको थिएँ । तथापि म मा गीतको सुरिलोपना बाहेक अरू पक्षको विश्लेषण गर्ने क्षमता विकास भएको थिएन । विस्तारै विस्तारै सङ्गीतका बारेमा केही ज्ञान राख्न थालेपश्चात् मैले उहाँको व्यक्तित्व, साङ्गीतिक कृति र क्षमताको महŒवलाई बुझ्न थालेँ ।
मलाई सङ्गीतमा लाग्नलाई प्रेरणा दिने क्रममा मेरो बुवा प्रा. सतीशचन्द्र रेग्मीले (देवचन्द्र रेग्मी सितार घरानाका तेस्रो पुस्ता) सुनाउनु हुन्थ्यो “बावु, सङ्गीतशिरोमणि यज्ञराज शर्माका छोरा चन्द्रराज शर्माले १२ वर्षको उमेरमा नै आफ्नो प्रस्तुति रेडियो नेपालमा दिएका थिए, तिमीले पनि रेडियो नेपालमा बजाउनु पर्दछ” भनी उहाँको उदाहरण दिएर हौस्याउनु हुन्थ्यो । त्यसैगरी वि.सं २०२१ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आयोजित शास्त्रीय सङ्गीत सम्मेलनमा उहाँका भाइ सूर्यराज शर्मासँग प्रस्तुत गर्नुभएको युगल गायनमा उत्कृष्ट प्रस्तुतिका कारण तत्कालीन राजा महेन्द्रले उहाँहरूलाई नेपाल कलाभूषण उपाधिले सम्मानित गरेको प्रसङ्ग पनि सुनाउनु हुन्थ्यो । मेरो बुवाको त्यो कुरालाई मैले त्यतिबेला विद्यालयमा नेपाली विषयमा पढेको हुने बिरुवाको चिल्लो पात भन्ने उखानलाई चन्द्रराज शर्मासँग तुलना गर्दथेँ । उहाँको घरानाको विशेषताको चर्चा गर्दा एउटा अर्को रोचक पक्ष के छ भने नेपालमा मात्र होइन कि संसारमै यस्ता घटना विरलै भएकै होला जहाँ बावु र छोरा दुवैलाई राज्यको तर्फबाट विशिष्ट उपाधिबाट सम्मानित गरिएको हुन्छ ।
विस्तारै विस्तारै ममा उहाँका कार्यहरू प्रति चासो र उत्सुकता अत्यधिक बढ्न थाल्यो । पहिलो नेपाली रङ्गीन चलचित्र कुमारी, पहिलो गीतिनाटक मुनामदन र प्रशस्तै कालजयी गीतका सङ्गीतकार उहाँ नै हुन भएको ज्ञात भयो । त्यस्तै वर्तमानमा आधुनिक गीतका महान् हस्तीका रूपमा चिनिएका दीपक जङ्गम जस्ता मूर्धन्य सङ्गीतकर्मी उहाँकै शिष्य रहेका भन्ने ज्ञानबाट त म झनै प्रभावित भएँ । शर्माले वि. सं. २०२० मा मुनामदन गीतिनाटकको सङ्गीत निर्देशकको रूपमा काम गर्नुभएको थियो । यसअघि नेपालमा त्यसप्रकारको गीतिनाटकको रचनाभएको हालसम्म कुनै अभिलेख पाइँदैन । यसपछि उहाँले अन्य थुप्रै गीतिनाटकलाई सङ्गीतबद्ध गर्र्नुभयो भने उहाँपछि मात्र अन्य सङ्गीतकर्मीहरूले गीति नाटकलाई सङ्गीतबद्ध गर्ने क्रमलाई अगाडि बढाएको पाइन्छ । त्यसैले नेपालमा उहाँलाई गीति नाटकको प्रवर्तककै रूपमा लिइन्छ ।
उहाँद्वारा अत्यधिक गीतहरू तथा थुप्रै गीति नाटक, ब्याले तथा चलचित्रमा सङ्गीत प्रदान गरिएका छन् र ती सबै सङ्गीत तथा लोकप्रियताको दृष्टिबाट अब्बल छन्, शास्त्रीयताले भरिपूर्ण र सरल छन् । तथापि स्वरसम्राट नारायण गोपालद्वारा गाइएको मुनामदनको “ईश्वर तैंले रचेर फेरि” र लक्ष्मण लोहनीद्वारा रचित “म मरे पनि मलाई मेरो देशको माया छ” र सुदेश शर्माद्वारा गाइएको “हामी नदीका दुई किनारा” मेरा लागि उत्कृष्ट तीनमा पर्दछन् ।
नेपालमा राज्यस्तरबाट सम्मानित गरिएका सङ्गीतशिरोमणि यज्ञराज शर्मा, वाद्यशिरोमणि गणेशलाल श्रेष्ठ, सङ्गीतप्रवीण नरराज ढकाल तथा नेपाल कलाभूषण चन्द्रराज शर्मालगायत अन्य सङ्गीतकर्मीहरूको उचित जीवनयापनका लागि वा देहावसान पश्चात् समेत राज्यले कुनै चासो दिएको पाइँदैन । जसरी यो राज्यमा विभिन्न राजनीतिक व्यक्तित्वका नाममा संस्था खोल्ने, अस्पताल, विश्वविद्यालय वा सडकको नामकरण गरिने प्रचलन छ त्यसैगरी यी मूर्धन्य स्रष्टाहरूको नाममा केही गर्नुपर्दछ भन्ने सोच र चेत अद्यपि नेपालका सरकारहरू, राजनीतिक दल वा राजनीतिकर्मीहरूमा नहुनु सङ्गीत क्षेत्रको दुर्भाग्य नै मान्नुपर्दछ ।
नेपाली सङ्गीतमा सङ्गीत शिरोमणि यज्ञराज शर्मा, उहाँका सुपुत्र वरिष्ठ सङ्गीतकार नेपाल कलाभूषण चन्द्रराज शर्मालगायत नेपालका अन्य सङ्गीतकर्मीले पु¥याएको योगदानलाई कदर गर्दै राज्यस्तरबाट उहाँहरूको वार्षिक पुण्य तिथिमा केही औपचारिक कार्यक्रमको थालनी गरियोस् । सङ्गीतकर्मीहरूलाई भाषणका क्रममा मात्र देशका गहनाका रूपमा लिइने, सङ्गीत क्षेत्रलाई समेत राजनीतिक आस्थाको रूपमा हेर्ने र नियुक्ति गर्ने परिपाटी यो नयाँ गणतान्त्रिक तथा लोकतान्त्रिक नेपालबाट हटोस् भन्ने कामना गरौँ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds