सिर्जना चोरी : महारोग

नेपालमा विशेषगरी साहित्यिक सिर्जनाको चोरीको इतिहास कति लामो होला ? कस्ता कस्ता व्यक्तित्वरू समेत यो चोरीमा सहभागी छन्, यिनीहरूलाई अहिलेसम्म कस्तो कारबाही भएको छ । के यो चोरी रोक्न सम्भव छ ? एक नेपाली विश्वविद्यालयका हर्ताकर्ता नै यो चोरीको आरोपमा पनि मुछिए । विदेशी विश्वविद्यालयमा बौद्धिक चोरी रोक्नका लागि विशेष सफ्टवेयरको प्रयोग गरिएजस्तै नेपालमा सम्भव नहोला ? यी र यस्तै विषयवस्तुमा केन्द्रित रहेर नगेन्द्रराज रेग्मीको अनुसन्धनात्मक लेख ।

मूर्ति चोर पक्राउ, बालक चोर्ने गिरोह पक्राउ, बलात्कारी पक्राउ, सुन चोर पक्राउ आदि आदि समाचारहरू हामी दिनँहु पढ्द,ै सुन्दै आइरहेका छाँै । तर रचना, सिर्जना चोरी भएको एक त कम सुनिन्छ, सुने पनि पक्राउ परेको र उसलाई दण्ड दिएको समाचार भने कहिल्यै सुनिन्न, किन ? यो चोरी होइन ? अपराध होइन ? के यसलाई सामान्य मानवीय त्रुटि, कमजोरी अथवा प्रभाव मात्र भनेर उन्मुक्ति दिन मिल्छ ? एउटाले वर्षांै–वर्ष लगाएर विभिन्न स्रोत केन्द्रमा पुगी खोजमेल, अथक मिहिनेत गर्दै परिश्रमपूर्वक बौद्धिक व्यायामका साथ तयार पारेको सामग्रीलाई अर्काेले घर बसी–बसी सारेर आफ्नो भन्न मिल्छ, आफ्नो पार्न पाउँछ ? राजशेखरले काव्यमीमांसामा भनेका छन्– ‘नास्त्यचौरो कविजनः नास्त्यचौरो वाणिग्जन’ अर्थात् व्यापारी र कविले चोर्नै पर्ने हो त ? अब बौद्धिक, प्राज्ञिक तथा साहित्यिक क्षेत्रभित्र यस विषयले प्रवेश पाउनु पर्छ र यसको चर्चा परिचर्चा गर्दै गम्भीर बहस प्रारम्भ हुनुपर्छ ।
भनिन्छ–जर्मनका एक शिक्षामन्त्रीलाई उनले गरेको विद्यावारिधि (पीएच्.डी.)को उपाधि ३५ वर्षपछि आएर चोरी गरेको आरोप पुष्टि भएका कारण बर्खास्त गरिएको थियो रे । तर त्रिभुवन विश्वविद्यालयका कतिपय स्नातकोत्तरका थेसिसहरू अर्काे विद्यार्थीले हुबहु नक्कल गरेका समाचार बारम्बार हामीले सुनिरहनुपर्छ तर पनि हामी मौन छौँ, मूक र निरीह छौँ । यस्तै हुँदै जाने हो भने भोलि लुम्बिनी बौद्ध विश्वविद्यालयमा बुद्धसम्बन्धी काम भएका थेसिसहरू र सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका सामग्रीहरू नेपाल संस्कृत विश्वविद्यालयमा प्रवेश नगराउनका लागि हामी कस्तो खबरदारीको संयन्त्र लिएर बसेका छौँ ? विश्वविद्यालय अनुदान आयोगले गराउने लघुपरियोजना (मिनि रिसर्च) सँग नेपाल प्रज्ञा प्रतिष्ठान वा अन्य अनुसन्धान केन्द्रका लघु अनुसन्धान परियोजना नदोहोरिउन अथवा एकै प्रकृतिका अझ भन्ने हो भने एक ठाउँमा पहिला बुझाएको सामग्री पुन अर्काे ठाउँमा प्रवेश नगराउनका लागि भनेर हामी कत्तिको सजग छौँ ? अनुसन्धान गराउने यस्ता निकायसँग हाम्रो समन्वय कस्तो छ ? यसप्रति हामी त्यति चनाखो भएझै महसुस हुँदैन । अमेरिका र युरोपका विश्वविद्यालयमा प्राज्ञिक चोरी रोक्नैका लागि एक विशेष किसिमको सफ्टवेयरको विकास तथा प्रयोग गरिएको हुन्छ जसबाट तत्कालै चोरीको पत्तो लाग्छ र चोरीकर्ताको कृति वा अनुसन्धान स्वतः रद्द हुन्छ । sirjan chori
त्यसो त भाव आउनासाथ चुरोटका खोलमा लेख्न पनि पछि नपर्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको बानी थाहा पाउने धेरै व्यक्तिहरू फालिएको खोल खोज्दै उनका कृतिलाई आफ्नो पार्दै वरिष्ठ साहित्यकारमा दरिएको चर्चा नेपाली साहित्यिक वृत्तमा नसुनिने होइन । आफूले सिर्जना गरेको गीत अर्कै रचनाकारको नामबाट रेडियोमा बजेको सुन्दा वास्तविक सर्जक प्रत्येक पटक गीत बजेसँगै आफू मरिरहेको अनुभूत गर्छ, अनि त्यो मार्ने व्यक्ति भने प्रशंसाको यश बटुल्दै मञ्चासिन हुन्छ । यो कस्तो विडम्बना ? यसको दोषी को ? के पीडितको मौनता मात्र हो त ? यी र यस्ता यावत् प्रश्नहरू हामी माझ गम्भीर रूपमा तेर्सिरहेका छन् । हामी प्रतिलिपि अधिकार ऐनको दुहाई दिएर चुप लाग्न विवश छौँ । यो स्थिति कहिलेसम्म रहिरहने ? सर्वाधिक महìवपूर्ण र चासोको विषय बनेको छ अहिले ।
सिर्जना चोरीको विषय अहिले मात्र आएको होइन । धेरै अगाडिदेखि नै यस्ता विषयले प्रवेश पाइसकेको कुरा थाहा पाइन्छ । इतिहासकार नयराज पन्त यो समस्याबाट कत्ति पीडित हुनुहुँदोरहेछ । एक प्रसङ्गमा उहाँ भन्नु भएको थियो ‘...हेर्नुहोस्, यहाँ केही पनि अन्वेषण हुँदैन । अन्वेषण गर्ने भनिएका डा.डिल्लीरमण रेग्मीको काम चोर्ने छ । अन्वेषण गरेँ भन्दै उनले अरूले अन्वेषण गरेको कुरा चोर्ने गरेको प्रमाण मसँग छ । म अदालतसम्म गएर उनले चोरेको भनेर सिद्ध गर्न सक्छु । चोरलाई विद्वान् भन्ने ठाउँमा के को अन्वेषण होस् नि ? ...खेती गर्नेको बाली अरूले काटेर लान्छ भने किन खेती लाउने ? ...बालचन्द्र शर्मा, सूर्य विक्रम ज्ञवाली र डा. डिल्लीरमण रेग्मी अरूले अन्वेषण गरेको तथ्य आफूले पत्ता लगाएको भनी हिँड्ने र छाप्नेहरू हुन्’ भन्दै ‘चोरीबाट पीडित र आक्रोशित इतिहासकार नयराज पन्त’ शीर्षकमा तोया गौतमले लिएको अन्तर्वार्तामा (२०४६ साल जेठ २१ गतेको गोरखापत्र शनिबारको परिशिष्टाङ्कमा) उहाँले यो तथ्य उद्घाटन गर्नु भएको हो ।
इतिहासकै कुरा गर्दा ज्ञानमणि नेपालको अर्काे सन्दर्भ पनि डा.रेग्मीकै प्रति लक्षित देखिन्छ । इतिहासकार ज्ञानमणि नेपालले तयार पारेको नेपाल निरुक्त नामक नेपाली ग्रन्थका कतिपय घटना सन्दर्भलाई अर्का इतिहासकार तथा राजनीतिज्ञ डा. डिल्लीरमण रेग्मीले अङ्ग्रेजीमा सारेर एन्स्येन्ट इन्स्कृप्सन्स् अफ नेपाल नाम दिएर प्रकाशित गरेको कुरा स्वयं ज्ञानमणि नेपालले (अतीतका स्मृति र अनुभूति पृ.१८३) नामक आफ्नो पुस्तकमा बताउनु भएको छ । उहाँको कथन छ –‘...मैले नेपालीमा लेखेको थिएँ, उनले अङ्ग्रेजीमा अनुवाद गरे । अभिलेख खोज्न पनि, पढ्न पनि उनले परिश्रम गर्नु परेन । .....अब यसको उजुरी कहाँ गर्ने, कसलाई
सुनाउने ? डिल्लीरमणजस्तो ठूलो मान्छेको विरोध कसले सुन्छ ? कसले चो¥यो भनेर पत्याउँछ । ’
कवि शिरोमणि लेखनाथ पौड्यालको पिंजडाको सुगा नामक कविता पनि भारतीय कवि मैथलिशरण गुप्तको पञ्जरबद्ध कीट नामक कविताको प्रभाव हो भनेर ज्ञानमणि नेपालले कृषि विकास बैङ्कको समष्टि नामक पत्रिकामा लेखनाथ पौड्यालको पिंजडाको सुगा अनुकृत कि उपज्ञात भन्ने लेख नै प्रकाशित गरेर जानकारी गराउनु भएको थियो ।
चोरी प्रसङ्गकै कुरा गर्दा झण्डै २०÷२२ वर्ष अगाडिको कुरा हुनुपर्छ । आफूले लेखेर प्रकाशित गरिसकेको एउटा लेख हुवहु (बुनु शर्माको ?) नामले दोस्रो पत्रिकामा प्रकाशित भएको देखेपछि वास्तविक लेखकलाई उनकी छोरीले–‘आर्थिक लोभ र यश कामुकताका लागि बुबाले यसरी छद्मनाममा पुनः सोही लेख प्रकाशित गर्नु राम्रो भएन’ भनेर नैतिक पाठ पढाइछन् । छोरीको यस भनाइले बाबुलाई अझ मर्माहत पारेको हुँदा संक्षिप्त तर विना गालीगलौजले भरिएको एक पत्र तिनै बुनु नामधारी लेखकलाई सम्पादकको चिठी स्तम्भमा पत्र लेखी झटारो हानेका थिए पीडित लेखकले । पत्रको आशय थियो–‘पुरुष भए भाइ तथा छोरा, महिला भए दिदी तथा बहिनी, मेरी छोरीलाई तिम्रो बाबुले पैसा र नामका लागि अरूले लेखेको लेखलाई आफ्नो पारेर इमान बेचेको छैन भनिदिनु होला । म न्यूरोड, रत्नपार्क वा जहाँ, जहिले बोलाउनु हुन्छ त्यहाँ छोरीलाई लिएर आउनेछु, कृपया त्यति कष्ट गरिदिनु होस् । ’ यसरी यी चोर लेखकलाई शिष्ट र शालीन हुँदै अत्यन्त मीठो तर मार्मिक र चोटिलो पत्र लेखिएको यस्ता घटना पनि पाइन्छन् ।
वरिष्ठ साहित्यकार स्व.शङ्कर लामिछानेलाई कुमुदिनी नाम गरेकी एक छद्मनामी पाठकले चोरीको आरोप लगाएर लेखेको पत्रले झण्डै झण्डै उहाँको साहित्यक मत्यु नै भयो भन्दा पनि हुन्छ । उहाँको एक रचनालाई चोरीको आरोप लगाएर कुमुदिनीको पत्र प्रकाशित भएपछि लामिछानेले (रूपरेखा १३६) मा पठाएको प्रतिक्रिया अत्यन्त मर्मस्पर्शी र एक महान् स्वीकारोक्तिका रूपमा नेपाली साहित्यिक क्षेत्रले ग्रहण गरिरहेको देखिन्छ । शङ्कर लामिछानेले सो पत्रमा लेख्नुभएको थियो –‘....यस पाँच वर्षभित्र उसले चार पाँचवटा विश्वको महान् इतिहास र लेखनशैली समेत चोरेको छ । कारण हो उसको जागीर थिएन र उसलाई बाँच्नु थियो । तपाईले एउटा मात्र पाउनु भयो, बाँच्नका निम्ति मैले त त्यस्ता पाँच छ वटा बदमासी गरेको छु । बाँँच्नुजस्तो ठूलो कुरा जीवनमा अरू केही रहेनछ । मैले कसैलाई मारिनँ, त्यो मेरो भाग्य हो । म शायद साहित्यिक क्षेत्रबाट सन्यास लिँदैछु र अब म लेख्ने पनि छैन होला । ...कुमुदिनी बहिनी नेपाली साहित्यलाई तपाईंजस्तो पाठकको जागरूकताको आवश्यकता छ, यो भएन भने मजस्ता मानिसले बीचबीचमा बदमासी गर्ने सम्भावना हुन्छ । ’ यसरी उहाँले चोरेको स्वीकार्दै प्रतिउत्तर स्वरूप यस्तो भावुक पत्र कुमुदिनीलाई लेख्नु भएको थियो । कुमुदिनीको छद्मनामबाट लेख्ने यी महिला (?) को हुन् ? अहिलेसम्म अज्ञात छ ।
सिर्जनामा प्रभाव र नक्कल यी दुई शब्दहरू निकै विवादित हुन थालेका छन् । प्रभावकै कुरा गर्दा आफूलाई मनपर्ने स्रष्टाबाट जो कोही जान–अनजान प्रभावित हुने गर्छ । के भानुभक्तको रामायणलाई पनि चोरी भन्ने ? उनले पनि स्रोत त कहीँ खुलाएका छैनन् । देवकोटाको मुनामदनसमेत मल्लकालीन नेवारी कथाबाट प्रभावित हो भनिन्छ । एन्टोन चेखवको वैदारको मरण कथाबाट बी.पी.को दोषी चस्मा, गोपालप्रसाद रिमालको मसान नाटक इब्सेनको पुतली घरबाट, मैथलीशरण गुप्तको पञ्जरबद्ध कीट कविताबाट लेखनाथको पिंजडाको सुगा, पहलमानसिंह स्वाँरको नाटक अटलबहादुर आदि आदि कृतिबाट लेखकहरू प्रभावित भएको कुरा सुन्नमा आइरहन्छन् ।
प्रभावकै कुरा गर्दा महाकवि देवकोटालाई पनि बिर्सन मिल्दैन । कमलमणि दीक्षितबाट मैले सुनेको हुँ भन्दै डा.रामप्रसाद ज्ञवालीले (उत्पीडित जीवनका निम्ति उज्यालो खोजिरहेको घाम नामक दामोदर पुडासैनी किशोरको कविता सङग्रहको भूमिकामा) भनेका छन्–‘‘गाइन् तिनले घँसिया गीत शीर्षकको गीति कविताको विषयवस्तु, त्यसमा प्रयुक्त पदपदावली र त्यसको अनुप्रासीय रणनको अद्भूततालाई लिएर महाकवि लक्ष्मीप्रसाद देवकोटामाथि के आक्षेप लागेको थियो रे भने ‘उनले यस कवितामा अङ्ग्रेजी साहित्यका स्वच्छन्दतावादी कवि वर्डस्वर्थको गीतिकविताको नक्कल गरेका छन् । ’ आफूमाथि लागेको यस आक्षेपका सन्दर्भमा महाकविले भन्नु भएको थियो रे–लामो समयसम्म खान नपाउँदा मलाई भोक लाग्छ र खानेकुराको चाहना गर्छु वर्डस्वर्थलाई पनि त्यस्तै हुँदो हो । सुन्दर वस्तु, सुन्दर दृश्य र सुन्दर व्यक्ति देखेपछि मलाई अद्भूत सौन्दर्यको बोध हुन्छ वर्डवस्र्थलाई पनि हुँदो हो । नचाहिँदा कामकुरा देख्दा मलाई रिस उठ्छ, वर्डवस्र्थलाई पनि उठ्दो हो । हामी जुन देशका, जुन भाषाका र जुन ठाउँका व्यक्ति भए पनि प्रथमतः मान्छे हाँै र हाम्रा अद्भूत आवेग संवेगहरू आधारभूत रूपमा उस्तै–उस्तै हुन्छ । कति स्थानमा त हाम्रा जीवनशैली, जीवनस्थिति अनि प्राकृतिक मनोरमता पनि समान स्वरूपका हुने गर्छन् । यस्तो स्थितिमा अनुभूतिगत समानता हुन सक्छ र साहित्यिक अभिव्यक्तिमा त्यस्ता समानताको अभिव्यञ्जना उस्तै उस्तै स्वरूपमा हुन सक्छ । वर्डस्वर्थ र मेरा रचनामा पनि त्यस्तो सम्यता देखिनु अस्वाभाविक होइन । यसरी हाम्रा महाकविलाई प्रभाव वा नक्कलका सम्बन्धमा लागेको आरोपका प्रति सटिक र स्वाभाविक टिप्पणी गरेको यो प्रसङ्ग पनि स्मरणीय देखिन्छ ।
यस सम्बन्धमा प्रकाशक संस्थाहरूको चर्चा गर्नु पनि केही प्रासङ्गिक ठहर्ला । महìवपूर्ण कहलिएका केही प्रकाशक संस्थाहरूले समेत सर्जकका पाण्डुलिपिमाथि अन्याय गरिरहेका घटनाहरू सुन्नमा आइरहन्छन् । उनीहरूले समयमा सर्जकका पुस्तक नछापिदिने धेरै समयसम्म धाउँदा पनि नछापिएपछि उ त्यहाँ जानै छाड्छ । केही कालपछि त सर्जकले पनि कि त बिर्सन्छ कि त उसको निधनै भइसक्छ । यो अवस्थामा त्यो पाण्डुलिपिले अर्कै रूप, आकार मात्र लिदैन, लेखकको नामसमेत परिवर्तित भएर प्रकाशित हुने गरेका दुखद स्थिति पनि हामीले सुनिरहनु परेको छ । नक्कलै गर्दा पनि सन्दर्भ सामग्रीमा सो कृतिलाई उल्लेखसम्म गरिदिए त हुन्थ्यो जसले गर्दा अलिकति सान्त्वना त मिल्दथ्यो तर त्यो पनि नगर्ने परिस्थिति छ । अनि यसलाई चोरी नभनेर के भन्ने ? शायद त्यसैले इतिहासविद् तथा अन्वेषक डा.महेशराज पन्त विमल आचार्यसँगको कुराकानीमा (नागरिक दैनिक २९ साउन २०४७) यसरी आफ्नो पीडाबोध गर्नुहुन्छ ‘...सजिलोका नाममा विनास्रोत, विनापादटिप्पणी लेख्नुहुन्न । .....सन्दर्भस्रोत सामग्री छिपाएर, लुकाएर लेख्नु बेइमानी र चोरी हो । चोरी चोरी नै हो, बौद्धिक चोरी भन्ने भए आर्थिक, भौतिक चोरी पनि भन्नु पर्छ । स्रोत नखोल्नु अशास्त्रीय काम हो । सबै आफैँले जानेजस्तो गरी लेख्नु पाठकको अपमान गर्नु हो । ’
सिर्जना चोरीकै कुरा गर्दा नेपाली साङ्गीतिक क्षेत्र पनि अछूतो छैन । हिन्दी सिनेमाबाट नेपाली चलचित्रहरू अत्यधिक प्रभावित भएका छन् । प्रभावित हुनु एउटा कुरा हो, नक्कल गर्नु अर्काे कुरा हो । अहिले त प्रभाव मात्र नभएर कतिपयलाई त नक्कलनै भनिदिए पनि फरक पर्दैन । शायद त्यसैले होला चलचित्रमा नेपाली मौलिकता के हो ? कथाको संवाद, प्रस्तुति र अभिनयमा नेपाली मौलिक पहिचान कसरी स्थापित गर्न सकिन्छ भन्नेजस्ता बहस चल्न–चलाउन थालिएको छ, जुन सकारात्मक कुरा हो । नभन्दै अभिनय, ध्वनि र दृश्यजस्ता माध्यमहरूमा परिवर्तन गरी नेपाली शैलीका खास मानक तयार गर्नु अति आवश्यक भइसकेको छ ।
त्यसो त नेपाली सङ्गीतबाट भारतीय सङ्गीतकारहरू समेत प्रभावित नभएका होइनन् । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको ‘ए कान्छा मलाई सुनको तारा खसाइदेउन, त्यो तारा मात्र होइन, जून पनि झारिदिउँला’ नामक अरुणा लामा र रुद्रमणि गुरुङले गाएको कालजयी गीतको ट्यून चोरेर हिन्दी गीतका सुप्रख्यात कम्पोजर आर.डी.वर्मनले तिसरी मञ्जिल फिल्ममा ‘दिवाना मुझसा नही इस अम्बरके निचे, आगे है कातिल मेरा और मै पिछे पिछे...’.भन्दै मोहम्मद रफीले यो गीत गाउन पुग्छन् । यसै सन्दर्भलाई लिएर स्व.अम्बर गुरुङले एक सार्वजनिक समारोहमा हाँसी–हाँसी भनेका छन् ‘...भारतको कलकत्तामा यो गीत रेकर्ड गरिएको थियो । त्यही समयमै यो गीत आर.डी.वर्मनले चोरेछ । त्यो गीत सुन्दा त म छक्कै परेँ । ’ आर.डी.वर्मनले त्यतिखेर आफू उनबाट प्रभावित भएको कुरालाई अस्वीकार गरे पनि उनको निधन पछि निकालेको द म्यान एण्ड म्यूजिक नामक पुस्तकमा भने अम्बर गुरुङको ट्यून लिएको कुरा स्वीकारेका छन् । त्यस्तै अर्काे नेपाली गीत ‘मुसुमुसु हाँसिदेउन लै लै, मुसुमुुसु हाँसिदेउ न’ नामक गीतको धूनले हिन्दी जगत्मा चर्चा र प्रसिद्धि कमाइसकेको छ ।
प्रभाव पर्नु र हुबहु नक्कलै गर्नु दुई छुट्टा छुट्टै कुराहरू हुन् । अतः यस विवादमा परिरहनु आवश्यक देखिँदैन । जब जस्ताको तस्तै नक्कल गरिन्छ त्यसलाई चोरी नै मानिन्छ । यसरी चोरी गरिएको सामग्री सत्य तथ्यका प्रमाणका साथ कसैले उद्घाटित गरी न्याय पाउनका लागि याचना गरेको खण्डमा त्यसलाई नियमानुसार दण्डित गरिने परिपाटीलाई कडाइका साथ कार्यान्वयनमा ल्याउन सकिएमा सिर्जना चोरीका घटनामा निश्चय नै कमी आउने थियो । यसबाट सर्जकका अधिकार अझ सुनिश्चित भएर निर्भयका साथ सिर्जना कर्ममा उनीहरू दत्तचित्त हुन सक्ने थिए । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना