महाशिवरात्रिका लागि साधुसन्तको आगमन शुरु

 

सरोज आचार्य

काठमाडौँ, माघ २९ गते । महाशिवरात्रि पर्व मनाउने सिलिसिलामा यस पटक निकै अगाडिदेखि साधुसन्तको आगमन शुरु भएको छ । शिवरात्रि पर्व आउन झन्डै तीन साता बाँकी छ ।
भारत प्रयागको कुम्भमेलामा सहभागी भएका साधु महाशिवरात्रिका लागि यहाँ भित्रिन थालेका हुन् । साधुको आगमनपछि पर्व सम्पन्न गर्नुपर्ने निकायलाई पर्वको चटारो परेको छ । पशुपति गुठी गोश्वारा कार्यालयले पर्वमा धुनी जगाउन ५० हजार किलो दाउरा वन मन्त्रालयमार्फत् झिकाएको छ ।
गोश्वारा प्रमुख लच्छुना शर्मा काफ्लेका अनुसार टिम्बर कर्पोरेसनले दाउरा उपलब्ध गराउँछ । गुठी संस्थानले साधुको भोजन तथा विदाइका लागि ३२ लाख रुपियाँ विनियोजन गरेको छ भने पशुपति क्षेत्र विकास कोषले ५४ लाख रुपियाँ विनियोजन गरेको छ । कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार प्रयागको कुम्भबाट साधु यहाँ आइरहेका छन् ।आएका साधुले नागाबाबको एक समूह यहाँ आउँदै गरेको जानकारी दिएका छन् ।
सम्प्रदाय अनुसारका केही साधु कालमोचनघाटस्थित सन्यासी, वैरागी, उदासी र नाथ अखडाको आश्रयमा छन् । कोषका घाट व्यवस्थापन तथा शवदाहगृह प्रमुख कुमार थापामगरका अनुसार घाट क्षेत्रमा साधुको आगमन हुन थालको छ ।
राजराजेश्वरी, भष्मेश्वर, मृगस्थली लगायतका स्थानमा साधुले आफ्नै तर्फबाट धुनी जगाएका छन्, दाताले खानपानको व्यवस्था मिलाएका छन् । अन्नपूर्ण आश्रममा पनि साधुको आगमन भएको छ । साधुको आगमनले कालमोचनघाट र पशुपति क्षेत्रमा महाशिवरात्रि आगमनको रौनक र चहलपहल बढाएको छ ।
पशुपति क्षेत्र विकास कोषले सञ्चालक परिषद् सदस्य डा. मिलनकुमार थापा, भगवतीप्रसाद देव, अधिकृतत्रय राजुकुमार रेग्मी, भोला सिटौला र भरत मरासिनीको संयोजकत्वमा विभिन्न सेवा प्रदायक समिति गठन गरेको छ । कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाका अनुसार मन्दिर प्रवेशका लागि पासको व्यवस्था हटाइएको छ । नित्य दर्शनार्थीले बिहान ३ बजे सहजरूपमा मन्दिर प्रवेश पाउनेछन् । पर्वका दिन पशुपतिनाथको चारैढोका चारै प्रहर खुला गर्ने निर्णय गरिएको छ ।
अर्चक, उपाशक, नित्य दर्शनार्थीबाहेक सबै साधारणले पङ्िक्तबद्ध भएर नाथको दर्शन गर्न सक्नेछन् । कालमोचनघाटमा भने जोकोही साधुको संसर्गमा रहन सक्नेछन् ।
उपत्यकाका राजगुठी अन्तर्गतका सबै सिवालयमा साधुहरूले स्वेच्छाले धुनी जगाउन सक्नेछन् भने विदाइ खर्च लिन कालमोचन वा पशुपति क्षेत्रमा साधुले आफ्नो अखडा तथा दर्जाको विवरण सूचीकृत गर्नुपर्ने व्यवस्था गरिएको छ । साधुलाई फलफूल, खिचडी, दही, पुरी र चियापानको व्यवस्था मिलाइएको छ ।
महान् महन्थ, अवधुत, अघोरी, लालमोहरिया साधु, नागाको स्तर अनुसार विदाइ खर्च तोकिएको छ । कोषका कर्मचारी वरुण खतिवडाका अनुसार अघोरी डा. त्यागिनाथको अगुवाइमा सुनसरीमा एकत्रित हुने गरी पशुपतिमा अघोरीको आगमन हुँदैछ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds