पाँच नम्बर प्रदेशमा पर्यटन विकासका सम्भावना

dor kcडोरबहादुर के.सी.

 

अवश्य पनि पर्यटन समृद्धिको आधारशिला हो, यसमा दुई मत हुन सक्दैन । यस क्षेत्रको यथोचित विकासले नेपालका पर्वतीय क्षेत्र तथा ग्रामीण बस्ती र आय आर्जनको अवसरबाट पछाडि परेको समुदायलाई यथास्थानमा प्रत्यक्ष लाभप्रदान गर्न सक्छ ।
पर्यटकीय सम्भावनामा पाँच नम्बर प्रदेश अन्य प्रदेशको तुलनामा पछाडि छैन । यस प्रदेशको पर्यटनलाई पर्वतीय पदयात्रा, धार्मिक, जलयात्रा तथा वन्यजन्तु र पशुपक्षी अध्ययन÷अवलोकन, जङ्गल सफारी आदिमा वर्गीकृत गरेर हेर्न सकिन्छ । पर्वतीय पर्यटनको हिसाबले यस प्रदेशको भौगोलिक बनोटमा अन्य प्रदेशको जस्तो उच्च हिमाली भूभागमा पर्दैन, तापनि यस प्रदेशमा उच्च हिमाली सौन्दर्यलाई नजिकबाट नियाल्न सक्ने गरी पर्वतीय पदयात्राका सम्भावना बोकेका थुप्रै उच्च पहाडी भूभाग पर्दछन् ।
धार्मिक पर्यटनको हिसाबले विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल यस प्रदेशमा पर्नु सबैभन्दा गर्वको विषय हो भने चारधाम मध्येको रिडी तथा रेसुङ्गा क्षेत्र लगायत स्वर्गद्वारी, सुपादेउराली, गौमुखी, बागेश्वरी आदि यस क्षेत्रका पवित्र तीर्थस्थल हुन् । जलयात्राको कुरा गर्दा बडीगाड, झिमरुक आदि नदीमा प्रसस्त पर्यटकीय सम्भावना छन् । वन्यजन्तु तथा पशुपक्षी अध्ययन तथा अवलोकनका लागि बर्दिया राष्ट्रिय निकुञ्ज, मदाने संरक्षित वनक्षेत्र, जगदिशपुर जलाधार क्षेत्र आदि महìवपूर्ण स्थल पनि यसै प्रदेशका गहना हुन् ।
पर्यटकीय पूर्वाधार विकासको हिसाबले यो प्रदेशका मुख्य शहरी क्षेत्र बुटवल–भैरहवा, नेपालगञ्जमा तथा बर्दियामा सुविधा सम्पन्न तारे होटलहरू सञ्चालनमा आइसकेका छन् । भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न हुने अवस्थामा छ भने नेपालगञ्जको क्षेत्रीय विमानस्थल र दाङको विमानस्थलसमेत सुचारु छ । गुल्मीको रेसुङ्गा विमानस्थलको परीक्षण उडान सफल भई नियमित उडानको पर्खाइमा छ । उता सडक पूर्वाधारको हिसाबमा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा सुनौली नाका केन्द्रित भई बुटवलदेखि भैरहवासम्मको फराकिलो सडक निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै भैरहवा–लुम्बिनी खण्ड निर्माणाधीन अवस्थामा छ । उता सालझण्डी–ढोरपाटन सडकले ढोरपाटन क्षेत्रमा पर्यटकको प्रवेशलाई समेत सहज बनाइरहेको छ ।
पाँच नम्बर प्रदेश, कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल डोल्पा, मुगु र हुम्लाको सिमीकोट हुँदै तिब्बतको कैलाश–मानसरोवरको प्रवेश बिन्दुसमेत हो । नेपालगञ्ज क्षेत्रमा खुलेका स्तरीय तथा तारे होटलहरूको सञ्चालनमा राँझा विमानस्थलले प्रमुख भूमिका खेलिरहेको छ । हालै नेपालको प्रतिष्ठित होटल सोल्टीले समेत नेपालगञ्जमा होटल सञ्चालनमा ल्याउनुले यस क्षेत्रको पर्यटकीय सम्भावनालाई थप पुष्टि गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जपछि जङ्गल सफारी तथा वन्यजन्तु अवलोकनका हिसाबले बर्दिया राष्ट्रिय निकुञ्ज पहिलो नम्बरमा पर्दछ । यहाँ पनि स्तरीय होटलहरू सञ्चालनमा आइसकेका छन् । बर्दिया राष्ट्रि«य निकुञ्ज क्षेत्र प्रसस्त पर्यटकीय सम्भावना बोकेको क्षेत्र भए पनि राजधानीसँगको भौगोलिक दूरीका कारणबाट चितवनमा जस्तो पर्यटकीय चहलपहल भने त्यहाँ बढ्न सकेको छैन ।
गुल्मीको मदाने वनक्षेत्र संरक्षित वनको रूपमा अगाडि आएको छ । यसैगरी रुकुम, रोल्पा र प्यूठान तथा गुल्मीको उत्तरी भागलाई बाग्लुङ तथा म्याग्दीसम्म गुरिल्ला पदयात्रा मार्गको रूपमा अगाडि बढाउन सकिन्छ । नेपालमा सफल भएको द्वन्द्व व्यवस्थापनको मोडल विश्व समुदायको लागि अनुकरणीय बनिरहेको परिपेक्षमा सशस्त्र द्वन्द्वको उद्गमस्थल र आधारक्षेत्र रहेका ती स्थानको पर्यटकीय सम्भावना प्रर्वद्धन गरिनु आवश्यक छ ।
यस क्षेत्रको परम्परागत मगर बस्तीको जीवनशैली र रीतिरिवाजको अवलोकन आकर्षणको केन्द्र बन्न सक्छ । गुल्मीको कङ्की देउराली–मदाने–गौमुखी हँुदै ढोरपाटन क्षेत्रको पदयात्राबाट हिमाली सौन्दर्य, वन्यजन्तु तथा चराचुरुङ्गी र स्थानीय परम्परागत जीवनशैलीको अवलोकन एकैपटक गर्न सकिन्छ तर यो क्षेत्रको उचित प्रचारप्रसार हुन सकेको छैन । पर्यटकीय पूर्वाधारको विकास तथा स्थानीयलाई पर्यटन सम्बन्धी जनचेतना र शीप अभिवृद्धि गरिनु यहाँको पहिलो आवश्यकता हो ।
पाल्पाको श्रीनगर क्षेत्र, गुल्मीको रेसुङ्गा, अर्घाखाँचीको नरपानी आसपास आदि क्षेत्रलाई ‘डे हाईकिङ स्पट’का रूपमा विकास गर्न सकिन्छ । पाल्पाको रानीमहल तथा पाल्पा दरबार, अर्घाकोट, पुर्कोट, धुर्कोटजस्ता थुप्रै ऐतिहासिक महìवका भ्रमण स्थल यस प्रदेशमा छन् । देशको सीमित र लोकप्रिय क्षेत्रमा मात्र परम्परागत रूपमा अगाडि बढिरहेको नेपालको पदयात्रा पर्यटनलाई महìवपूर्ण तर प्रचारप्रसारबाट पछाडि परेका क्षेत्रमा नयाँ गन्तव्य स्थलका रूपमा स्थापित गर्न चुनौतीपूर्ण छ ।
लुम्बिनी, देवदह आदि क्षेत्रलाई समावेस गरेर बुद्ध सर्किटको अवधारणा अगाडि सारिए पनि लुम्बिनी क्षेत्रलाई बौद्धमार्गी बीच मात्र सीमित गरिनु यस क्षेत्रको विकासमा बाधक हुनसक्छ । लुम्बिनी क्षेत्र पर्यटन विकासको केन्द्रको रूपमा अगाडि बढिसकेको छ तथा आन्तरिक र बाह्य पर्यटकको समेत भिडभाड त्यहाँ देख्न सकिन्छ । तथापि पर्यटकीय लाभ लिने कुरामा भने यो क्षेत्र पछाडि परिरहेको आभास हुन्छ ।
विश्व सम्पदामा सूचीकृत यस पवित्र र सुन्दर क्षेत्रमा थप लगानी गरेर आकर्षण बढाउने चुनौती एकातिर छ भने अर्कोतिर यस क्षेत्रको महìवमा ह्रास नआउने गरी गुणस्तरीय पर्यटकको आगमन बढाउनु अर्को चुनौती छ । यस प्रदेशको पर्यटन विकासको अवधारणा अगाडि सार्दा लुम्बिनीलाई केन्द्रबिन्दुमा राखेर आसपासका अन्य क्षेत्रमा पर्यटन विस्तारको अवधारणा अगाडि सारिनु पर्दछ । यस प्रदेशको धार्मिक पर्यटन विकासको कुरा गर्दा सिद्धबाबा, रुरु, रेसुङ्गा, सुपादेउराली, स्वर्गद्वारी, बागेश्वरी आदि क्षेत्रको महìव भिन्नै छ । हालसम्म हिन्दू धर्मावलम्बी माझ तीर्थाटनका लागि मात्र परिचित यी क्षेत्रमा पश्चिमा पर्यटकलाई समेत आकर्षित गर्न सकिने गरी उचित विकास र प्रवद्र्धन गरिनु जरुरी छ । रुरु, रेसुङ्गा र स्वर्गद्वारीलाई विशेष समेट्ने गरी भारतीय पर्यटक बजारमा पर्यटन प्रर्वद्धनका कार्यक्रम अगाडि बढाउँदा बढी प्रभावकारी हुने देखिन्छ ।
बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा भइरहने बेमौसमी पहिरो तथा ढुङ्गा खस्ने समस्याले यस प्रदेशको पर्यटन विकासमा चुनौती थपेको छ । पर्यटकलाई आकर्षित गर्ने गरी सडक निर्माणमा ड्रागन सुरुङमार्गको कुरासमेत सार्वजनिक भएको छ, जुन सकारात्मक कुरा हो । पहाडकी रानीको नामले परिचित सुन्दर नगरी पाल्पा पर्यटकको प्रमुख गन्तव्यस्थलका रूपमा विकास भइसक्नु पर्ने स्थल हो तापनि हालसम्म यस क्षेत्रमा स्तरीय होटल तथा रिसोर्टहरूको समुचित विकास हुन सकेको छैन । पोखरा तथा लुम्बिनी भ्रमणमा निस्कने पर्यटकलाई पाल्पासम्म निम्ता पठाउने वातावरण तयार गर्नु गाह्रो विषय भने छैन ।
यस प्रदेशलाई जलयात्रा पर्यटन विकासको सम्भावनाको रूपमा हेर्दा बडिगाड खोलामा हालै जलयात्राको परीक्षण सफल भएको छ भने झिमरुक खोलामा पनि जलयात्रा व्यवसाय सञ्चालन हुनसक्ने कुरामा शङ्का छैन । रुपन्देही, कपिलवस्तु लगायत तराईका जिल्लामा धेरै ताल–तलैया र सिमसार क्षेत्रहरू छन् । जगदीशपुर जलासय त्यसको एउटा उदाहरण हो, जसमा लामो दूरी पार गर्दै रुसको साइबेरियादेखिका चरा जाडो छल्न र बच्चा कोरल्न आउने गर्छन् । चरा अध्ययन र अवलोकन गर्नेहरूका लागि यी ताल तलैया र सिमसार क्षेत्र महìवपूर्ण स्थल बन्नसक्छन् ।
यी उल्लेखित विषयवस्तुमा केन्द्रित रहेर तिनको उपयोग र व्यवस्थापनबाट यस प्रदेशलाई पर्यटकको आकर्षक क्षेत्रका रूपमा विकास गर्न सकिनेछ । यस प्रदेशका सरोकारवाला र नीति निर्माताहरूको दृढ इच्छाशक्ति र दूरदर्शी विचारबाट प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरेर जनस्तरसम्म सबैलाई लाभान्वित गर्न सकिन्छ ।

(लेखक आईएनटिआरइके ग्रुप अफ कम्पनी एन्ड रिजोर्टसँग सम्बद्ध हुनुहुन्छ । )

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना