माध्यमिक शिक्षा परीक्षामा पुरानै तामझाम

प्रकृति अधिकारी

काठमाडौँ, चैत ९ गते । कक्षा १० को अन्तिममा सञ्चालन गरिने माध्यमिक शिक्षा परीक्षा (एसईई) अब माध्यमिक तहको सुरु वा अन्तिम परीक्षा होइन, तर तामझाम र सुरक्षा तयारी भने विगतको जस्तै छ ।
माध्यमिक तह कक्षा ९ बाट सुरु हुन्छ भने कक्षा १२ मा अन्त्य हुन्छ । गत २०७४ सालमा एसईई (साविक एसएलसी) परीक्षा सङ्घस्तरबाट सञ्चालन हुने गरी अन्तिम हुने भनिएको थियो र यस वर्ष पनि त्यही भनिएको छ ।
कानुनतः एसईई परीक्षाको सम्पूर्ण जिम्मा प्रदेशमा रहने व्यवस्था छ तर परीक्षासम्बन्धी सबै जिम्मेवारी प्रदेशमा हस्तान्तरण गरिएको छैन र अधिकाँश जिम्मेवारी सङ्घमै निहित छ ।
परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले कक्षा १० विद्यालय तहमा न सुरु हो, नत अन्त्य हो भन्दै थप्नुभयो, “त्यसैले कक्षा ९, १० र ११ को परीक्षा सञ्चालनको जिम्मेवारी सम्बन्धित विद्यालयलाई नै दिइनुपर्दछ ।”
एसईई परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयले यस वर्ष परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)मा २५ जना कर्मचारीको अस्थायी दरबन्दी सिर्जना गरेको छ । परीक्षासम्बन्धी कार्य गर्न २३ करोड रुपियाँ विनियोजन गरिएको छ ।
उत्तरपुस्तिका तयार गर्ने जिम्मा प्रदेशलाई दिइए पनि प्रश्नपत्र तयारी, परीक्षण र नतिजा प्रकाशनको जिम्मा केन्द्रमै छ । हरेक परीक्षा केन्द्रमा १५ जनाका दरले २९ हजार ५३५ जना सुरक्षाकर्मीलाई खटाइँदैछ ।
“आगामी वर्ष पनि यस वर्षकै जस्तै अन्तरिम व्यवस्था होला भन्ने डर छ” उहाँले थप्नुभयो, “आगामी साउनदेखि के हुन्छ भन्न सकिन्न । कक्षा १० मा अहिलेकै जस्तो तामझामका साथ परीक्षा लिने व्यवस्था हटेमा विद्यार्थीको तनाव र राज्यको खर्च घट्थ्यो होला ।” higher edu
आधारभूत तहको (कक्षा ८) को वार्षिक परीक्षा स्थानीय तह (पालिका)ले, कक्षा १० को प्रदेशले र कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्नुपर्ने व्यवस्था छ । शिक्षाविद्हरूले कक्षा १० मा प्रदेशको निगरानीमा विद्यालयलाई नै परीक्षा सञ्चालनको जिम्मेवारी दिनुपर्ने सुझाव दिएका छन् ।
लोक सेवा आयोगले खरदार पदमा अझै पनि न्यूनतम् कक्षा १० उत्तीर्ण हुनुपर्ने व्यवस्था गरेकाले राज्यले एसईई परीक्षा सङ्घीयस्तरमा सञ्चालन गरिरहेको हुनसक्ने भनाइ शिक्षाविद्हरूको छ । शिक्षक सेवा आयोगले भने प्राथमिक तहका शिक्षकको योग्यता न्यूनतम् कक्षा १२ उत्तीर्ण बनाइसकेको छ ।
शिक्षाविद् प्राडा मनप्रसाद वाग्लेले भन्नुभयो, “अझै पनि हामी परीक्षा नियन्त्रकलाई राखेर एसईई परीक्षालाई नियन्त्रण गर्न खोजिरहेका छौँ, जुन नीतिगत त्रुटी हो ।”
एसएलसी परीक्षालाई एसईईमा परिणत गरिएको यो तेस्रो वर्ष हो । सङ्घको जिम्मेवारीमा नरहेको परीक्षालाई अझै पनि हाउगुजीका रूपमा प्रस्तुत गर्न राज्यले नै खोजेको तर्क नेपाल अभिभावक महासङ्घका संयोजक सुप्रभात भण्डारीको छ ।
“औचित्य नै नभएको परीक्षामा बन्दुकधारी प्रहरी राख्ने, विद्यार्थीका खल्ती छामेर परीक्षा केन्द्रभित्र पठाउने प्रवृत्ति उस्तै छ । परीक्षार्थीको सिकाइलाई तीन घण्टामा मापन गर्न सकिन्छ ? त्यसैले सम्पूर्ण पद्धतिमा पनि पुनर्मूल्याङ्कन जरुरी छ ,” उहाँको भनाइ छ ।
एसईई परीक्षामा सबै विषयमा २५ अङ्क प्रयोगात्मकको व्यवस्था छ । परीक्षा नियन्त्रक अधिकारीले थुप्रै परीक्षार्थीले लिखित ७५ अङ्कमा एक, दुई अङ्कमात्र प्राप्त गर्ने गरेको तर प्रयोगात्मकमा २५ अङ्कमा २५ अङ्क नै प्राप्त गर्ने गरेको प्रवृत्ति चर्चा गर्दै प्रयोगात्मक अङ्क दिने व्यवस्था पनि ठिक नभएको बताउनुभयो ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (राष्ट्रिय–प्याब्सन)का अध्यक्ष रितु सापकोटाले माध्यमिक तहको अन्तिम परीक्षा कक्षा १२ मा हुनुपर्नेमा अझै कक्षा १० नै भएको बुझाइ रहेको बताउँदै शिक्षकले आफूखुशी प्रयोगात्मक अङ्क दिने व्यवस्थाले एसईई परीक्षाको मूल्याङ्कन विधिलाई निकै कमजोर तुल्याएको बताउनुभयो ।
प्याब्सनका सहअध्यक्ष डीके ढुङ्गानाले पनि कक्षा १० को परीक्षालाई फलामे ढोका जस्तो गराइरहनु आवश्यक नरहेको बताउँदै भन्नुभयो, “अक्षराङ्कन पद्धति हचुवामा लागू गरियो । सबै उत्तीर्ण हुने मनःस्थितिबाट विद्यार्थी ग्रसित छन् । यसले प्रतिस्पर्धा र गुणस्तर खस्कियो छ । पढ्ने प्रवृत्ति घटेको छ । यसको असर केही वर्षपछि देखिन थाल्नेछ ।”

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds