संस्कृति जोगाउँदै आम्दानी गर्दै   

रत्ननगर, वैशाख १९ गते । पछिल्लो समय घरबास (होमस्टे) सञ्चालन गरेर मौलिक कला–संस्कृति प्रदर्शन गरी आम्दानी गर्ने क्रम बढेको छ ।    
    
कला–संस्कृतिको प्रदर्शन गरी माडी नगरपालिका–८ स्थित पुन र मगर जातिले सञ्चालनमा ल्याएका अयोध्यापुरी मध्यवर्ती सामुदायिक घरबासको अम्दानीले त्यहाँका स्थानीयवासीको जीवनशैलीमा नै परिवर्तन आएको छ ।    
    
अयोध्यापुरी मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष मोहनबहादुर पुनका अनुसार वन्यजन्तुले अन्नबाली, पोखरीको माछा नष्ट गरी दिएसँगै पाँच वर्षअघि मध्यवर्ती समितिले घरबास सञ्चालन गर्नुपर्ने सुझाव दिएको थियो । त्यसपछि समितिले निःशुल्क नवलपरासीको अमलटारीको घरबास अवलोकन भ्रमणमा लगेकोे थियो । एकदिने अवलोकनबाट आएपछि घरबास सञ्चालनका लागि पुन समुदाय उत्साहित भएका छन् ।    
    
“घरबास सञ्चालन गर्ने निर्णयसम्म पुग्यौँ”, उहाँले भन्नुभयो, “तर पुन र मगर संस्कृति र भाषा भने शून्य थियो । पुन संस्कृति फेरि सिक्न भरतपुरबाट दुई ज्येष्ठ नागरिक ल्यायौँ ।” पश्चिम चितवन भरतपुर महानगरपालिका–१८ सूर्यनगरका ७२ वर्षका आमा र ६५ वर्षका बुबाले १० दिनसम्म पुन संस्कृति सिकाउनुभयो, अध्यक्ष पुनले स्मरण गर्नुभयो ।    
उहाँका अनुसार त्यसबेला ३० जनालाई दुई समूहमा विभाजन गरेर पुन र मगरको नाँच नै सिकाइएको थियो ।    
    
अहिले घरबासमा आउने पहुनालाई हरेक दिन सोरठी, मारुनी, चुड्का, लोक र थाल नाँच देखाउने गरिएको छ । सामूहिक टोली घरबासमा आउने भएकाले एक टोलीको रु दुई हजारका दरले पैसा लिने गरिन्छ । त्यस्तै नाँच्दै जाने क्रममा नाँच मन पराएर पैसा दिनेको लर्को नै लाग्छ ।    
    
सांस्कृतिक कार्यक्रमका संयोजक ठिलबहादुर पुनले सांस्कृतिक कार्यक्रम देखाउन शुरुको समयमा निकै गाह्रो भएको भए पनि अहिले नाँच थप हुँदै गएपछि सजिलो भएको छ । सांस्कृतिक प्याकेजका लागि ‘कौडा र झ्याउरे नाँच’ सिक्ने क्रममै छौँ, उहाँले भन्नुभयो, “मारुनी नाँच सिक्न सजिलो छ, झ्याउरे र कौडा सिक्न गाह्रो हुने भएकाले प्रयास जारी राखेका छौँ ।”    
    
संस्कृतिक संयोजक पुनले सांस्कृतिक कार्यक्रमको शुरुआतमा पाहुनालाई स्वागत गर्न सोरठीमार्फत कुल देवतालाई सम्झेर गीत गाइने बताउनुभयो । यो नेपाली भाषामै हुन्छ । पुनले सो गीतमा पुन जातिका पाँच देवता कुलचन, कर्वाकेली, हिमला, फिमला र रामचनलाई सम्झिएर गीत गाउने गरिन्छ । यसै गीतमा पाहुनालाई स्वागत गरेर मारुनी नाँच नाचिन्छ । यो नाँचमा चारदेखि आठ जनासम्म चाहिन्छ ।    
    
गुरुले मादलको ताल काटेर नचाउँछन् । यहाँ ११ तालमा नचाउने गरिएको छ । मारुनीमा २२ ताल हुन्छ । मारुनीमा नाँच्ने र मादल बजाउने दुवै पुरुष नै हुन्छ । नाँच्ने पुरुषले महिलाको पोशाक लगाउँछन् । संयोजक पुनका अनुसार मारुनीमा पहिला महिला नै नाच्नुहुन्थ्यो । मारुनी नाँच्दा सरवस्ती लाग्छ । त्यो समयमा महिनावारी भयो भने सरवस्ती नछुट्ने भएकाले पछि पुरुषलाई नचाउन थालिएको हो । मारुनीबाहेक अन्य नाँचमा भने यहाँका १० छोरी नातिनी नाँच्छन् ।    
    
उहाँले भन्नुभयो, थाल नाँच हेर्न म्याग्दी पर्वत नै जानु पर्दैन । म्याग्दी चिङखोलाबाट नौमती बाजामा चरेसको थाल लिएर नाँच्ने नाँच हो । घरबास सञ्चालन भएसँगै उमेर समूहअनुसार नै नाँच देखाउने टोली बनेको छ । त्यहाँबाट जम्मा भएको पैसा मासिक रूपमा घरबास सञ्चालकले बाँड्ने गर्दछन् ।    
    
वैशाख ९ गते २२०औँ सांस्कृतिक शृङ्खला प्रस्तुत गरिएको छ । साढे ३ वर्षको अवधिमा १२ हजार ३०० पर्यटकलाई घरबासमा स्वागत गरिसकेका छौँ, घरबासका अध्यक्ष पुनले भन्नुभयो । कला–संस्कृति जोगाउँदै राम्रै आम्दानी भए पनि सांस्कृतिक टोलका मानिस जागिरका सिलसिलामा गाउँ छोड्नु, युवतीको विवाह भएर अन्यत्र जानेले पनि यो संस्कृति जोगाउन समस्या परिरहेको पुनको भनाइ छ ।    
    
थाल नाँचमा नौमती बाजामा चरेसको थाल लिएर नाँच्नुपर्ने भए पनि अहिले स्टिलको थाल लिएर नाँच्ने गरेका छन् । नौमती बाजाको ठाउँ स्पिकर घन्काएर नाँच्ने गरेका छौँ, उहाँले भन्नुभयो । नौमती बाजा महङ्गो हुने भएकाले खरीद गर्न नसकिएको उहाँको भनाइ छ । सामुदायिक घरबासमा ११ घरधुरीले ११ वटै घरबास सञ्चालन गरिरहेका छन् । एक घरबासमा दुई कोठा रहेका छन् । पर्यटकको चाप वृद्धि हुन थालेपछि दुई घरबास निर्माणाधीन छन् । यी दुई घरबास जेठबाट पूर्णरूपमा सञ्चालनमा आउन लागेको बताइएको छ ।    

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds