जानकीधामका मूर्त–अमूर्त सम्पदा

 हिमांशु चौधरी

janakiजानकीधामका मठ–मन्दिर र तिनमा प्रतिस्थापित देवदेवीका मूर्तिहरूमा ऐतिहासिक कालखण्डको उत्थान एवं पतनका अनेकौँ तथ्य लुकेका छन् । जानकारहरूका अनुसार प्राचीन बेबिलोनियाको सभ्यताबारे सन् १८४५ मा संसारलाई त्यतिखेर जानकारी भयो, जतिखेर निनेबेहको उत्खननमा संयोगवश केही बेलायती पुरातत्वविद्हरूले असिरियाका राजा असुर बनिपालको पुस्तकालय फेला पारेका थिए । त्यसै उत्खननमा माटाका गोलचक्कीहरू पनि प्राप्त भएथे । ती गोलचक्कीहरू ईसापूर्व हजार वर्षका भएको उल्लेख पाइन्छ । यसबाट प्राप्त सूचनाअनुसार ईपूमा बेबिलोनियाहरूले ‘मर्दुक’ भन्ने देवतालाई देवाधिदेव मान्ने गर्थे ।  १७८२ ईपूदेखि १६८६ ईपूसम्म शासन गर्ने हम्मुखरावी भन्ने राजाले पनि मर्दुकलाई नै संसारका सर्वोच्च देवता मानेका थिए । प्राचीन सभ्यताको स्वरूप, आस्था, परम्परा र ऐतिहासिकताबारे ती स–साना गोलचक्कीबाट त्यति गहिरो जानकारी प्राप्त हुन्छ भने यहाँको पुरातात्विक उत्खनन गर्ने हो भने अनेक प्राचीन मठ–मन्दिरका अवशेष, मूर्ति र माटो खन्दा प्राप्त भएका ऐतिहासिक सामग्रीहरू (ईंटा, अभिलेख, मुद्रा, मूर्ति आदि) छन्, जसले पौराणिक तथा ऐतिहासिकताबारे दुर्लभ जानकारी दिने गरेकाले उत्खननको आवश्यकता देखिएको छ । जनकपुरका मठ–मन्दिर र तिनमा सुरक्षित मूर्तिहरू, गढ–गढीहरूको उत्खनन र अनुसन्धान गर्ने हो भने इतिहासको अनेक कालखण्डका उत्थान र पतनका कुरा बाहिर आउने निश्चित छ । पुराकथाहरू, सनातन मूल्य–मान्यता, सभ्यताको प्राचीनता र चरमोत्कर्ष, जनककालीन जनकपुरका कथा, बज्जिसङ्घको प्रभाव, मिथिलाको प्राचीन इतिहास, नान्यदेव वंशीय प्रभाव, सेन र पालकालीन अवस्था, एकीकरणपश्चात्का तथ्य यिनै मठ–मन्दिर, मूर्ति र गढ–गढीहरूमा लुकेर रहेको बताइन्छ ।
 बेबिलोनको पूराकथाअनुसार सृष्टिको आरम्भमा सर्वत्र पानी नै पानी थियो जसलाई नुनिलो र गुलियो पानीको संज्ञा दिइएको थियो । आदिमाता तियामतको नुनिलो पानीमाथि शासन थियो भने आदि पितृशक्ति भगवान् अप्सुको गुलियो पानीमाथि शासन थियो ।  तियामत र अप्सु पतिपत्नी थिए । मर्दुक यसै वंशका थिए र यसै वंशबाट बेबिलोनियामा अन्य जातिको जन्म भयो । त्यस्तै विदेध माधवको कथामा जनकपुरका सरोवरहरू बताउँछन्– यो भूमि पनि जलैजलले भरिएको थियो । शिरध्वज जनक र सुनयना तियामत र अप्सुजस्ता हुन् । बेबिलोनियाका मर्दुक देवाधिदेव भएजस्तै हाम्री सीतामाता आदिदेवी हुन् ।
वैदिक वाङ्मय पुराण तथा धार्मिक साहित्यले जनकपुरधामको अस्तित्व अनादिकालदेखि नै रहेको र धार्मिक तीर्थ विशेष गरेर ‘सीताराम तीर्थ’का रूपमा प्रख्यात रहेको पाइन्छ । त्रेतायुगमा चर्चाको उत्कर्षमा रहेको जनकपुरधाम द्वापरयुगमा महाभारतको युद्धपछि लोप भएर पृष्ठभूमिमा पुगेको र कलियुगमा आएर सोह्रौँ शताब्दीपछि मात्रै जनकपुरधाम पुनः प्रकट भएको हो भनिन्छ ।
जनकपुरका मूर्त सम्पदाका सन्दर्भमा मठ–मन्दिरमा रहेका मूर्तिहरू धातु, पाषाण र मणि–विग्रहका रहेका बताइन्छ । पाषाणकालीन मूर्तिहरूमा केही पालकालीनका छन् भने केही मध्यकालीन छापका छन् । केही भने अयोध्यामा रहेका मूर्तिजस्ता देखिन्छन् । यहाँका मूर्तिले कुनै एक कालको कला एवं शैली प्रस्तुत नगरी विभिन्न कालका कला एवं शैली प्रस्तुत गरेको पाइन्छ । मुख्य रूपले पुरातात्विक अंश आध्यात्मिक नै रहेको छ । तीमध्ये पुरातात्विक अंश भएका केही मन्दिरहरूमा राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर, रत्नसागर, कपिलेश्वरनाथ र कुपेश्वरनाथ मन्दिर उल्लेखनीय छन् ।
 जानकी मन्दिर बन्नुअगाडि प्यागोडा शैलीमा निर्मित राम मन्दिरमा रामको पञ्चायन मूर्ति, लक्ष्मीनारायण, विष्णु, दशावतारको मूर्ति, सात घोडा रथमा रहेको सूर्यनारायण मूर्ति महŒवपूर्ण मानिएको छ । पुरातत्वविद् तारानन्द मिश्रका अनुसार राम मन्दिरको पश्चिम–दक्षिण दिशामा मन्दिरसँग टाँसिएर रहेको शिशु–नारी मूर्ति पुरातात्विक दृष्टिकोणले महŒवपूर्ण छ । सम्भवतः जनकपुरको प्राचीनतम मूर्ति यही नै हो  । सो मूर्ति पालकालीन भएको अनुमान गरिएको छ । सोही मन्दिरमा रहेको एकमुखे शिवलिङ्ग पनि पुराताŒिवक दृष्टिकोणले उत्तिकै महŒवको छ ।
मन्दिरका प्रथम महन्थ चतुर्भुज गिरीले उपर्युक्त मूर्तिहरू मन्दिरको पछाडि रहेको वरको रूखमुनि प्राप्त भएको बताएका थिए । त्यस्तै जनक मन्दिरमा सतानन्द, राजश्री, सुनयना, सीता, गोपालका मूर्ति रहेका छन् भने शिरध्वज जनकको मूर्ति खण्डित (शिर, हात, खुट्टा नभएको) छ । यो खण्डित मूर्तिबारे विभिन्न कथन पाइन्छन् ।  महाराजा जनकले दिएको दाइजोबाट अयोध्याका राजा दशरथ सन्तुष्ट नभएकाले जनकले टाउको काटेर दिएको प्रतीकका रूपमा यो खण्डित मूर्ति स्थापित भएको हो भन्ने भनाइ छ । त्यस्तै, यवनले आक्रमण गर्दा मन्दिर भत्काउने, मूर्ति फोड्ने कार्य भएको हुँदा मूर्ति खण्डित भएको हो भन्ने भनाइ पनि पाइन्छ । यो मूर्ति खण्डित नभएर मूर्तिको पत्थर नै यस्तो हो, जसलाई अनादिकालदेखि नै जनक स्वरूप मानेर पूजा गरिँदै आएको भनाइ पनि एकथरीको छ ।
 लक्ष्मण मन्दिरमा भएका लक्ष्मणको मूर्ति पौराणिक भएको मानिन्छ । श्रीमद्भागवतका अनुसार त्रेता युगमा मिथिलाका राजा बहुल्याश्व जनकका पालामा मिथिलामा भीषण अनिकाल पर्दा सो अवस्थाबाट शान्ति पाउन तत्कालीन ऋषिमुनिहरूले राजालाई हिमालयमा गई बाह्र वर्ष तपस्या गर्न सल्लाह दिए । ऋषिमुिनको सल्लाहअनुसार उनी हिमालय गई तपस्या गर्न थाले । बाह्र वर्ष तपस्या गरेपछि उनलाई लक्ष्मणको पत्थरको मूर्ति प्राप्त भयो र सँगै आकाशवाणी भयो– तिमी यो मूर्ति लिएर जानू र पूजा गर्नू तिम्रो देशमा अनिकाल हट्ने छ, जनता खुशी रहने छन् । राजाले लक्ष्मणको मूर्ति लिएर आई पूजाआजा गर्न सुरु गरेपछि  सबै सङ्कट हटेर सहकाल र शान्ति छाएको कथन पाइन्छ ।
 रत्नसागर मन्दिरमा राम–जानकीका मूर्तिहरू प्रमुख रहेको र लक्ष्मण, राधाकृष्ण, लडु गोपाल र हनुमानका ३० भन्दा धेरै धातु र सङ्गमरमरका प्राचीन मूर्ति एवं ७ सयभन्दा बढी सीताराम स्वरूपका शालिग्रामको नियमित पूजा गरिन्छ ।
  जनकपुर उपमहानगरपालिका वडा नं. १२ कुवागाउँमा रहेको कुपेश्वरनाथ मन्दिरको शिवलिङ्गका बारेमा धार्मिक ग्रन्थहरूमा पनि उल्लेख छ । मन्दिरभित्र महादेव कुपेश्वरनाथ एउटा कुपजस्तो गोलाकार खाल्डोमा छन् । महादेव कुपमा रहेकाले कुपेश्वरनाथ भनिएको हो । कुपेश्वरनाथको मन्दिर चर्तुज गिरीकै समयमा बनेको हो र यो राम मन्दिर जत्तिकै पुरानो हो । यसको पुनर्निर्माण विसं १९९६ मा भएको थियो । २०५१ सालमा पनि जीर्णोद्धार भई वर्तमानको यो स्वरूपमा देखिएको हो । मन्दिर शिखरशैलीमा निर्माण गरिए पनि त्यसमा मैथिल वास्तुशैलीको अंश पनि रहेको छ । मन्दिरमा रहेको छाना बङ्गालका पालकालीन राजाद्वारा निर्माण गरिएको तथ्य अन्वेषकहरूले बताएका छन् ।
जनकपुर उपमहानगरपालिका वडा नं. १२ हनुमानगढीमा हनुमान र धातुका राम–जानकीका मूर्ति रहेका छन् । सन्यासी प्रीतम दासले तीर्थाटनका क्रममा गङ्गामा हनुमानको मूर्ति प्राप्त गरेको उल्लेख छ । जनकपुर आउने पहिला सन्यासीहरूमा सुरकिशोर दास र चर्तुज गिरीपछि विसं १८३८ मा प्रीतम दासले बाराहकुटीको मौजाको कुश बिर्ता पाएको गिर्वाणविक्रम शाहको मिति १८६७ सुदी ५ भाद्रको शाही आदेश भएकोले यस मन्दिरको प्राचीनता स्पष्ट हुन्छ ।
  पन्ध्रदिने परिक्रमाको क्रममा कचुरीका किशोरीको डोला पहिलो रात यही मन्दिरमा विश्राम गरी बिहान कल्याणेश्वरतर्फ जाने परम्परा छ । शिखर शैलीमा निर्मित यस मन्दिरमा हनुमानको मूर्तिलाई दक्षिणाभिमुख बनाई प्रतिष्ठापित गरिएको छ ।
 त्यस्तै, वडा नं. १६ मा शिखरशैलीमा निर्मित कपिलेश्वरनाथ मन्दिरको धार्मिक एवं पुरातात्विक महŒव निकै छ । मन्दिरमा शिवलिङ्ग, बसाहा, गणेश, पार्वती, शालिग्राम तथा मन्दिरबाहिर शिव, पार्वती, गणेश, जोगीन्दर, महारानी आदिका मूर्ति छन् । मन्दिरभित्रका मूर्तिहरू काला पत्थरका छन् भने मन्दिरबाहिरका अधिकांश मूर्ति सङ्गमरमरका ।
धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार, जनकवंशीय राजा शिरध्वजले जनकपुरको चारै दिशामा चारनाथको स्थापना गरेका थिए । तीमध्ये पूर्व–उत्तरका कपिलेश्वरनाथ पनि एक हुन् । भनिन्छ, कपिलमुनिको आश्रम पनि यहीँ थियो । कालान्तरमा यस मन्दिरको प्राचीन रूप ध्वस्त तथा लोप हुन गयो । अन्वेषकहरूले यस मन्दिरको प्राचीन रूप सिमरौनगढीय वास्तुशैलीमा निर्मित भएको उल्लेख गरेका छन् । मुगल वास्तुशैली र मैथिल वास्तुशैलीको सङ्गमबाट बनेको जानकी मन्दिरमा वास्तु कलाकारिताको विलक्षण नमुना देख्न सकिन्छ ।
मन्दिरको गर्भगृहमा महात्मा सुरकिशोर दासद्वारा प्रतिष्ठापित किशोरीजीको स्वर्णमय प्राचीन मूर्ति र ओरछा नरेश तथा महारानीले प्रतिष्ठापित गरेका मणि विग्रहका मूर्ति छन् । यी मूर्तिहरू चाँदीको पाताले मोरिएको रथ आकारझैँ भान हुने विशाल एवं कलात्मक सिंहासनमा आकर्षक ढङ्गले सजाएर राखिएका छन् । सीतारामका मूर्तिहरू राखिएको कोठामा पस्ने मूलद्वार पनि चाँदीले नै जोडिएका छन् । सीतारामको पछिल्लो भागमा अष्टकुञ्ज नामक कोठाहरू छन् । तीमध्ये दुई कोठाबाट पाताल जाने बाटो छ । मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि दुईवटा विशाल राता आँखा भएका पत्थरले बनेका सिंहका कलात्मक मूर्ति छन् । पहिले यी दुवै सिंहका चारैवटा आँखा हीराजडित थिए । टाढैदेखि चम्किलो देखिन्थ्यो तर ती हीरा चोरिएको बताइन्छ । यस पत्थरमा कलात्मक ढङ्गबाट रोमनमा एसपी लेखिएको छ ।
जनकपुरधामका ऋषिमुनि दूरदर्शी थिए । उनीहरूले मिथिलाको इतिहास लेख्न यस्तो क्यानभासको परिकल्पना गरी त्यसलाई मूर्त रूप दिए, जो नष्ट भएर पनि नष्ट हुनेखालको थिएन । त्यो क्यानभास थियो– पत्थर । जसको खण्डित अंशले पनि महŒव बोकेको हुन्छ । हरेक युगमा यहाँ पत्थरको मूर्ति उत्कीर्ण हुँदै रह्यो । राजनीतिक, धार्मिक र भुइँचालो इत्यादिले मूर्ति खण्डित हुँदै, माटोले पुरिँदै ढिस्कोका रूप लिएको पाइन्छ ।
अनेकौँ अमूर्त सम्पदाहरू अनुसन्धानका लागि प्रतीक्षारत छन् । पुराताŒिवक सम्पदाअन्तर्गत वडा नं. ८ मा रहेको ज्ञानकुप विद्याकुप नजिकैको ढिस्को, कपिलेश्वर महादेवको गढी, कुपेश्वर महादेव मन्दिरको ढिस्को र उपमहानगरपालिका तथा यस क्षेत्रमा रहेका प्राचीन पोखरी एवं तलाउको अन्वेषण हुन आवश्यक देखिएको छ  । यसका साथै विग्धीखोलामा प्राप्त कुषाणकालीन मुद्रा अध्ययन र अनुसन्धानको विषय रहेको छ । खोजकर्ता नमोनारायण झाले यसबारे पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकाय गम्भीर नभएका कारण उक्त मुद्राको अवस्था अज्ञात रहेको बताइन्छ । यसैगरी, जनकपुर उपमहानगरपालिका वडा नं. १३ मा रहेको त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रले सीतासित विवाह गरेको स्थल भनी प्रख्यात ‘मणिमण्डप’ पनि अध्ययन, विश्लेषण, अनुसन्धानको प्रतीक्षामै छ । राजा जनकले सीताको विवाह गर्दा मड्वाका रूपमा ‘मण्मिण्डप’को निर्माण गराएको जनविश्वास छ । भगवान् विश्वकर्माले सीताको विवाहका लागि मणिजडित मड्वा निर्माण गरेकै कारण वैवाहिक मड्वाको नाउँ ‘मणिमण्डप’ हुन गएको अभिमत छ ।
यसका साथै जनकपुर क्षेत्रमा पाइने पुराना संरचनाका इँटा असामान्य आकारका छन् । शोधकर्ताहरूले जनकपुर क्षेत्रमा भएका सम्पदालाई दृष्टिगत गर्दै जनकपुरको सभ्यतालाई रोमको सभ्यताभन्दा १५ वर्ष जेठो भनेका छन् भने  कतिपयले जनकपुर र लुिम्बनीको सभ्यता समकालीन भएको उल्लेख गरेका छन् । सुप्रसिद्ध चिनियाँ यात्री हुवेन साङले पनि भ्रमण गर्दागर्दै मिथिलाको नाम सुनेर सातौँ शताब्दीमा (सन् ६४० तिर) यहाँ आउँदा उजाड र अस्तव्यस्त अवस्थामा पाएको भनी यात्रा वृत्तान्तमा उल्लेख गरेको पाइएको छ । जनकवंशीय राजा करालको वधपछि ऐश्वर्यवती मिथिलापुरीको दुर्दिन सुरु भएको हो । करालको अन्त्यसम्म मिथिला राज्यको दक्षिण–पूर्वमा गङ्गापारि रहेको प्राचीन वैशाली शक्तिशाली राज्यमा परिणत भइसकेको थियो । करालको अवसानपछि वैशालीका बज्जीहरूले मिथिलामाथि धावा बोली आफ्नो अधीनमा लिए । केही दशकपछि बज्जी सङ्घ पनि मगधका राजा अज्ञात शत्रुबाट परास्त भएर मिथिला प्रदेश ५५३ ईपूतिर मगधको अधीनमा पुग्यो । मगधपछि कन्नौज, पालवंश र कर्णाटवंशीहरूको पोल्टामा  पर्दै सन् १३२६ मा गयासुद्दिन तुगलकले जितेपछि केही समयका लागि मिथिलाले दिल्लीको मुस्लिम शासनअन्तर्गत समेत बस्नुपरेको थियो । यसरी राजाहरूको जय– पराजयको इतिहाससँग जोडिदै उथलपुथलबीच सयाँै वर्षसम्म पराधीन र श्रीहीन अवस्थामा रहेको पीडादायी इतिहास पनि यस क्षेत्रको भएकाले यसको प्रामाणिकताका लागि पनि यहाँका मूर्त र मिथिला संस्कृतिका अमूर्त सम्पदाको खोज, अनुसन्धान र उत्खनन हुन आवश्यक छ ।
जनकपुर क्षेत्रमा पाइने मूर्त, अमूर्त एवं पुराताŒिवक सम्पदाहरूले सामान्यतः मौर्य, शँुग, कुषाण, गुप्त, पाल, सेन, राज्यवंश र पछि मकवानपुरका सेन राजाहरूको समयलाई बोध गराइरहेको छ ।  मानव सभ्यताको विकासक्रमलाई रेखाङ्कित गर्न सकिने विभिन्न गढीको उत्खनन गर्नु आवश्यक देखिएको छ । यस क्षेत्रलाई जानकीको जन्मथलो, माइती भनी धार्मिक ग्रन्थहरूले स्थापित गरे पनि त्यस समयका अवशेषहरू अनुसन्धानको विषय नै रहेका छन् । पुरातात्विक महŒवका वस्तुको गहन अध्ययन भयो भने तत्कालीन राज्य व्यवस्था, सामाजिक जीवन, धर्म, लिपि आदिबारे पनि प्रशस्त जानकारी प्राप्त हुनसक्ने सम्भावना रहेको साहित्यकार डा. राजेन्द्र विमल बताउनुहुन्छ ।
जनकपुरधामका ऐतिहासिक स्थल र पुराताŒिवक सांस्कृतिक वस्तु, गढी, मुद्रा, भाँडाकुडा वा चित्रमूर्तिहरूको सोहीअनुरूप अध्ययन, अनुसन्धान हुन जरुरी देखिएको छ । यी तथ्यको अध्ययन–अनुसन्धान भएमा विभिन्न युग र कालखण्डका प्रख्यात अन्वेषक कृष्ण, बुद्ध, महावीर, स्वामी रामानन्दाचार्य, विद्यापति, तुलसी दास, भारतेन्दु हरिश्चन्द्र आदिको जनकपुर आगमनको प्रामाणिक विवरण प्राप्त हुनसक्ने सम्भावना रहेको बताइन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds