फूल भन्छ फुलिरहूँ

 भीम देवान


शिशिरका नाङ्गा वनपाखा अनि उजाडझैँ देखिने खर्क र चउरहरूमा मनै बहकाउनेगरी वसन्तको वहार पोखिएको छ । गुँडको खोजीमा डुलिहिँड्ने चराचुरूङ्गीले रूखका हाँगाबिँगामा बसेर र घरछेउ आएर गर्ने चिर्बिराहटले प्रकृतिमा अलौकिक धुन थपेको छ ।भनिन्छ– फूलको जोवन एकै ऋतुको हुन्छ । हरेक पूmल जवानीमय हुने भनेकै वसन्त ऋतमा हो । कतिपय पूmलहरू ढकमक्क फुलिसकेका छन्, कतिको कोपिला फक्रँदैछ । वनपाखा र भीरपहरासमेत फूलको जवानीमा हेरिरहुँझैँ लाग्ने भएका छन् । चाँप, चिमाल, केशरी र विभिन्न प्रजातिका गुराँसको सौन्दर्यमा यतिखेर लेकाली वनपाखा मनै बहलाउने बनेका छन् । रनवनैभरि गुयँलो, काफल र ऐँसेलु पाकेका छन् । घरछेउमा आरु, आरुबखडा, नासपातीलगायतका फलफूलमा वसन्तको लाली चढेको छ । 14
राष्ट्रकवि माधव घिमिरेको ‘वैशाख’ शीर्षकको कविता चैत–वैशाख अर्थात् वसन्त ऋतुको वर्णनमा मानवीय संवेदनाले भरिएको छ । चैत–वैशाखको आगमनसँगै मनमोहक वातावरणमा उत्पन्न हुने असीमित खुसीको उन्माद र प्रेममय भावहरू बोलेको छ कविताले । सिङ्गो कवितामै पनि कविले वैशाख महिना र त्यस यामको वर्णन अत्यन्त सुन्दर ढङ्गले गर्नुभएको छ ः
‘आइ कैल्यै पनि नसकिने चैतवैशाख मेरा
लाइ कैल्यै पनि नसकिने प्रीति नौलाख मेरा’
हुन पनि ‘ऋतुहरूको राजा’ वसन्त ऋतु साँच्चिकै सुन्दर हुन्छ । यसको सुन्दरता ज्यादा त फूलले नै हो । फूल आफैँमा सौन्दर्यको प्रतीक, कोमलताको पर्याय । त्यसैले पनि वसन्त ऋतु भनेकै फूलैफूलको मौसम ।
नेपाली साहित्यमा वसन्त ऋतुको चर्चा जति छ, अरूको छैन । खडेरी र डढेलो बिर्सने हो भने यो यामको सौन्दर्य अद्भुत छ । जाडो सकिएर गर्मी सुरु हुने याम हो यो । यो बेलामा शिशिरमा पत्झर भएका बोटबिरुवामा पालुवा पलाएर हरियाली छाउन थाल्छ । ती पालुवाहरू छोएर बहने सिर्सिरे हावाको स्पर्शले कसको मन कुत्कुत्याउँदैन र । विरहले होस् या हर्षले या वर्णनै गर्न नसकिने आनन्दले मानिसको मन उँडूउँडूझैँ गर्छ । वसन्तको आगमनमा मनै प्रफुल्लितमात्र पार्दैन, जुनीजुनी बाँचिरहने प्रेरणा पनि दिएर जान्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds