समृद्धिमा उभारको आधार

atindra dahal_1डा. अतीन्द्र दाहाल

 

समृद्धि र स्थायित्वको मूल लक्ष्य लिएको वर्तमान सरकारले आफ्नो कार्यकालको पहिलो वर्षलाई आधार निर्माणको वर्ष घोषणा गरेको थियो । कार्यकालको दोस्रो वर्षका लागि ल्याइएको सरकारको नीति तथा कार्यक्रममा आर्थिक प्रगतिमा ठोस उपलब्धि हासिल गर्ने वर्षका रूपमा चित्रण गरिएको छ । यसैका आधारमा अब आगामी आर्थिक वर्षका लागि बजेट आउने छ । आर्थिक समृद्धिका अनेकन योजना र कार्यक्रममध्ये भ्रमण वर्ष एक हो ।
सरकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउँदै छ । २० लाख पर्यटक भिœयाउने लक्ष्य राखिएको छ । सन् २०१८ मा झन्डै ११ लाख पर्यटक नेपाल आए । अघिल्लो वर्ष काठमाडौँमा सम्पन्न बिमस्टेकको चौथो सम्मेलनमा समेत नेपालले पर्यटन प्रवद्र्धनको विषयलाई प्राथमिकतासाथ उठाएको थियो ।
समृद्धि नेपाल र नेपालीको अपेक्षा हो । समृद्धिका स्वरूप विभिन्न हुन सक्ने भए पनि आर्थिक विकास सबैभन्दा महŒवपूर्ण पक्ष हो । मानवलाई गुणस्तरीय जीवन बाँच्न आर्थिक आधार बलियो हुनैपर्छ । समाजका केही जात, लिङ्ग, वर्णका आधारमा हुने विभेदजस्तो पुरानो अभ्यास अहिले छैन । तर, आर्थिक विभेदको जरा उखेल्न सफलता हात लाग्न सकेको यथार्थ हो । बलियो आर्थिक स्थिति भएकाले कमजोर आर्थिक अवस्था भएकालाई गर्ने असमान व्यवहार अनि भेदभावचाहिँ अझै बाँकी छ । यही कुरा देश–देशबीच पनि लागू हुन्छ ।
सबल अर्थतन्त्र भएमा साना देश पनि शक्तिशाली र समृद्ध हुन्छन् । विश्वमा यस्ता धेरै उदाहरण छन् । सिङ्गापुर क्षेत्रफल र जनसङ्ख्याका हिसाबले ज्यादै सानो छ । समृद्ध भनिएका अधिकांश देश हामीभन्दा साना छन् । तर, उनीहरू विश्वमा शान, मान र स्वाभिमानले बाँचेका छन् । यसको कारण नै उनीहरू आर्थिक हिसाबले सक्षम छन् । समृद्धि र स्वाभिमानको ताज हाम्रो अभीष्ट हो । यसका लागि हामीले समेत देशको आर्थिक अवस्था फेर्नेतिर ध्यान दिनुपर्छ । आर्थिक विकासलाई उच्च गतिमा अगाडि बढाउने नयाँ सोच कोर्नुपर्छ, सम्भावनाको क्षितिज उघार्नुपर्छ । हामीसँग अथाह सम्भावना छन्, अनुपम मौलिक परियोजना प्रशस्तै छन् । पर्यटन हाम्रो समृद्धिको एउटा मुख्य सारथि बन्नसक्छ । भ्रमण वर्षले त्यो सम्भावनाको क्षितिज सार्वजनिक गर्नुपर्छ ।
विश्वव्यापीकरणको जमानामा विश्वका सबै देशसँग सबै पक्षमा प्रतिस्पर्धा गर्न सकिँदैन । युरोपेली मुलुकहरू जस्तो औद्योगिकीकरणका लागि हाम्रो पँुजी, मानवस्रोतले समेत साथ दिँदैन । असङ्ख्य कलकारखाना खोल्नलाई भूगोल पनि प्रशस्त छैन । हामीसँग अमेरिकाको जस्तो विश्व नियन्त्रण गर्नसक्ने राजनीतिक र सैनिक ल्याकत छैन । कुवेतको जस्तो तेलभण्डार छैन । यद्यपि एउटै नयाँ योजनाले समेत देशको आर्थिक विकासलाई नयाँ टेवा दिनसक्छ । पर्यटनमा हाम्रो अद्वितीय सम्भावना र क्षमता छ । अझ नयाँखालको पर्यटन, बौद्ध तीर्थाटन देशको समृद्धिमा अचुक र अनुपम उपाय बन्नसक्छ । भ्रमण वर्ष मनाइरहँदा यसमा विशेष ध्यान दिनुपर्छ ।
विश्व दृष्टान्त
थुप्रै देशले पर्यटनबाटै उच्च प्रगति गरेका छन् । ‘वल्र्ड ट्राभल एन्ड टुरिजम काउन्सिल’ को सन् २०१८ को तथ्याङ्कअनुसार मकाउ, माल्दिभ्स, बहामास, सेसेल्सको अर्थतन्त्र पर्यटनमा आधारित छन् । मकाउको कुल ग्रार्हस्थ उत्पादनको झन्डै ४५ प्रतिशत पर्यटनको हिस्सा छ । सन् २०१७ मा मकाउले साढे ३६ अर्ब अमेरिकी डलरभन्दा बढी आय गरेको थियो । विश्वका लगभग २० देशको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको अधिक योगदान छ । माल्दिभ्सले लगभग ३० प्रतिशत आम्दानी पर्यटनबाट लिन्छ । मकाउमा सम्पूर्ण जनसङ्ख्याको ५० प्रतिशत, बहामासमा ३० र माल्दिभ्समा २५ प्रतिशतले पर्यटनबाट प्रत्यक्ष रोजगार पाएका छन् । सन् २०१८ मा बहामासमा ५८ लाख पर्यटक पुगेको तथ्याङ्क छ ।
अनुपम सम्भावना
पछिल्लो समय केही मुलुकले उच्च गतिमा आर्थिक विकास गरेका छन् । एसियामै रहेका यी मुलुकलाई ‘बाघ’ को संज्ञा दिइएको छ । ‘टाइगर इकोनोमी’ भनेर चिनिने हङकङ, थाइल्यान्ड, दक्षिण कोरिया, चीन, मलेसिया, जापान, ताइवान, भियतनामजस्ता देशको तीव्र आर्थिक विकासले संसारलाई चकित बनाएको छ । यस्तो आर्थिक प्रगति गरेका देश अधिकांश बौद्ध धर्मावलम्बी देश हुन् ।
जब आर्थिक सम्पन्नता हुन्छ तब मानिसलाई सामान्य जीवनशैलीबाट माथि उठ्ने, घुमफिर गर्ने र मनोरञ्जनको जीवन जिउने इच्छा हुन्छ । सम्पन्न देशका मानिस भ्रमण र घुमफिरमा समय दिन्छन् । जति–जति आर्थिक सम्पन्नता बढ्दै जान्छ, घुमफिरप्रति उनीहरूको आकर्षण बढ्दै जान्छ । संसारभर बौद्ध धर्मावलम्बी पर्यटकको भ्रमण बढ्दो छ । ‘इन्भेस्टिङ अन बुद्धिस्ट सर्किट’ नामक प्रतिवेदनको तथ्याङ्कअनुसार अहिले संसारभर प्रतिवर्ष लगभग ३० करोड पर्यटकमध्ये २५ प्रतिशत बौद्ध धर्मावलम्बी छन् । भगवान् गौतम बुद्धसँग सम्बन्धित चार प्रमुख ठाउँमध्ये उहाँको जन्मस्थल लुम्बिनी सबैको प्राथमिकतामा पर्छ । मुख्य धर्मग्रन्थ त्रिपिटकले समेत बौद्ध अनुयायीलाई एकपटक लुम्बिनी पुग्नैपर्ने भन्छ । भ्रमणमा रहेका सबै बौद्ध धर्मावलम्बी पर्यटकमा पनि लुम्बिनी पुग्ने उत्कट अभिलाषा देखिन्छ । यस्तो महŒवपूर्ण स्थान हामीसँग हुनुले आर्थिक प्रगतिको सम्भावना बोकेको छ । अन्य सांस्कृतिक र प्राकृतिक मनोरञ्जन पनि प्रशस्त छन् ।
लुम्बिनी भ्रमण गर्नेहरूको सङ्ख्यामा उच्च वृद्धि भएको छ । सन् २००३ मा २८ हजार ५३ जना पर्यटक पुगेको लुम्बिनीमा सन् २०१६ मा लगभग दुई लाख ५६ हजार पर्यटक पुगेका थिए । त्यसमा नेपाली र भारतीय पर्यटकको सङ्ख्या समावेश छैन । तीमध्ये अधिकांश थाइल्यान्ड, चीन, म्यानमार, दक्षिण कोरिया र जापानका पर्यटक छन् । लुम्बिनी विश्वको आकर्षण बन्ने देखेर नै भारतले समेत कृत्रिम लुम्बिनीको निर्माण गर्दै छ र बारम्बार बुद्धिस्ट सर्किटका लागि जोड गरिरहे छ । ती बौद्ध धर्मालम्बी देशहरू एसिया महादेशमै भएकाले उनीहरू नेपाल आउँदा यातायातमा कम र अन्य शीर्षकमा बढी खर्च गर्छन् । यसले हामीलाई ठूलै फाइदा दिन्छ ।
हामीले सशस्त्र द्वन्द्व र सङ्क्रमणकाल भनेर बिताएका पछिल्ला दुई दशकमा माथि उल्लिखित देशहरूले बाघ अर्थतन्त्रको आकार लिए । यी देशमा झन्डै ६० करोड बौद्ध धर्मावलम्बी छन् । उनीहरूसँग पैसा छ, घुम्ने चाहना छ, त्यो पनि लुम्बिनी पहिलो प्राथमिकतामा छ, संयोजन गर्ने र विश्वस्त पार्ने ल्याकत हामीले राख्नुपर्छ । अबको २० वर्षमा कम्तीमा एकतिहाइ मात्र नियमित रूपमा नेपाल ल्याउन सके हामी पनि अर्काे बाघ अर्थतन्त्र बन्न सक्छाँै । यसका लागि हाम्रो माटो, पुँजी, क्षमता, र विशेषताले पनि पर्यटन, त्यसमा पनि बौद्ध पर्यटन अहिलेलाई सबैभन्दा सहज, भरपर्दो र सुरक्षित योजना हुनसक्छ ।
युरोपेली र अमेरिकी देशहरूमा विगत केही वर्षदेखि आएको आर्थिक सुस्तता र मन्दीका कारण ती देशका अधिकांश पर्यटक सस्तो प्रकारको पर्यटन गन्तव्य रोजिरहेका छन् । आर्थिक सम्पन्नताको लक्ष्य पूरा गर्न यी देशका पर्यटक हाम्रो प्राथमिकतामा हुनुपर्छ । छिमेकी देश भारतमा आउने धार्मिक पर्यटकलाई पनि नेपालमा आकर्षित गर्न सकिन्छ ।
आर्थिक कोणबाट हेर्दा विश्व मानचित्रमा सर्वाधिक सम्पन्न बन्दै गएका तथा सामरिक रूपले कमजोर हुँदै आएका दुवै प्रकारका देशका लागि नेपाल विशेष पर्यटन महŒवको क्षेत्रका रूपमा रहेको छ । भ्रमण वर्षमा सङ्ख्या पु¥याउन मात्र होइन, गहन प्रकारको विवेकपूर्ण राष्ट्रिय नीति बनाएर कार्यान्वयन गर्दा पर्यटन हाम्रो समृद्धिको सशक्त आधार बन्नसक्छ ।

(लेखक नेपाल संस्कृत विश्वविद्यालयमा प्रध्यापनरत हुनुहुन्छ ।)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds