नेकपाका दुई अध्यक्षबीच छलफल


गोरखापत्र समाचारदाता

KP-oli-Prachandaकाठमाडौं, जेठ ९ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी कामको विषयमा केन्द्रित भएर छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान भएको छलफलमा पार्टीको एकता प्रक्रिया, सरकारको कार्य प्रगतिका विषयमा छलफल भएको थियो । करिब दुई घन्टा भएको छलफलमा महासचिव विष्णु पौडेलसमेत उपस्थिति रहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो ।
दुई अध्यक्षबीच सरकारको कामकाज तथा पार्टीको आन्तरिक समस्या समाधानका विषयमा नियमित छलफल हुने गरेको बताउँदै सापकोटाले भन्नुभयो, “यो छलफल कुनै गोप्य छलफल होइन, दुई अध्यक्षबीचको नियमित छलफल र भेटघाट हो, भेट भएपछि सरकारको कामकाज तथा पार्टीको समस्या समाधानका विषयमा छलफल हुनु सामान्य हो ।”
नेकपाको पोलिटब्युरो सदस्यहरूको सूची तयार गर्ने र केन्द्रीय कमिटीका सदस्यहरूलाई जिम्मेवारी बाँडफाँटका विषयमा सहमति हुन नसक्दा पार्टीको नेता तथा कार्यकर्तामा गुनासो बढिरहेका बेला दुई अध्यक्षबीच भएको छलफललाई महत्वका साथ हेरिएको छ तर छलफलका विषयमा कुनै ठोस जानकारी भने दिइएको छैन ।
सरकारले जेठ १५ मा ल्याउन लागेको आ.व. २०७६÷७७ को वार्षिक बजेट, एक वर्षका अवधिमा गर्नुपर्ने पार्टीको जिल्ला अधिवेशनदेखि केन्द्रीय अधिवेशनसम्मको तयारीका लागि समेत दुई अध्यक्षबीच छलफल हुने गरेको बुझाई अध्यक्षद्वयका सचिवालयका सदस्यहरूको छ ।
नेकपाले पार्टी एकता घोषणा गरेको एक वर्ष पूरा गरे पनि अहिलेसम्म पार्टीको राजनीतिक प्रतिवेदन सार्वजनिक गरिसकेको छैन । पार्टी घोषणा गर्नु अगावै वरिष्ठ नेता माधवकुमार नेपाल संयोजकत्वमा गठित कार्यदलले राजनीतिक प्रतिवेदन तयार गरेर अध्यक्षद्वयलाई बुझाए पनि सो प्रतिवेदन सार्वजनिक गरिएको छैन ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds