पर्यटकको रूपमा भित्रिएर अपराध


देवबहादुर कुँवर

काठमाडौँ, जेठ ९ गते । आइभोरीकोष्टका नागरिक वात्तर अलाक्ग्नी (टोगा) ले नेपाल बसाईको एकवर्षमा काभ्रेकी कुसुम कायस्थसँग बिहे गरे । फुटबल खेलाडीको रूपमा प्रवेश पाएका अलाक्ग्नीको जोडी ‘अनलाईन चिठ्ठा’ ठगीमा पक्राउ परे ।
२०७२ सालको महाविनाशकारी भूकम्प पीडित बालबालिकाको संरक्षण गर्ने उद्देश्य अनुरुप एक गैरसरकारी संस्थाको आग्रहमा नेपाल आएका फ्रान्सेली नागरिक ७९ वर्षीय गर्गेस आईगोर सिमानेस्कीलाई बाल यौनदुराचारको अभियोगमा ठमेलबाट पक्राउ गरियो ।
त्यस्तै, ठमेल ज्याठामा होटल व्यवसाय सञ्चालन गर्ने योजना अनुरूप तीन वर्षअघि नेपाल छिरेका वाङ झु नाम गरेका चिनियाँ नागरिक पनि अबैध डलर ४० लाख बोकेर हङकङ जाँदै गरेको अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।  अध्यागमन विभागका अनुसार, यो आर्थिक वर्षका उल्लेखित अपराध घटनामा संलग्न यी तीनजना विदेशी नागरिक पर्यटकको रूपमा नेपाल भित्रिएका हुन् । उनीहरूले नेपालको बसाइलाई पर्यटकको रूपमा नभई अपराधका लागि प्रयोग गरेको देखिन्छ । crime tourist
नेपाल भ्रमणमा आउने विदेशीमध्ये केहीको उद्देश्य ‘गलत’ हुने गरेको पाइएको छ । गत वर्षको वैशाखदेखि हालसम्म विभिन्न अपराधमा संलग्न एकसय विदेशी नागरिकलाई पक्राउ गरी कानुनी कारवाही गरिएको विभागले जनाएको छ ।
‘छोटो समयका लागि आउने तर लामो समयसम्म बसिराख्नेमाथि निगरानीको अभाव छ’, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी उपरीक्षक उमा चतुर्वेदी भन्नुहुन्छ, “अपराध भइसकेपछि मात्र पक्राउ पर्छन्, अपराध हुनुपूर्व कोही पनि पक्राउ परेको छैन्न ।”
विभिन्न अपराधमा संलग्न एक हजार १५६ जना विदेशी नेपालका विभिन्न जेलमा सजाय भुक्तान गरिरहेको केन्द्रीय कारागार विभागको तथ्याङ्कमा उल्लेख छ । विशेष गरी ठगी, तस्करी र लागूऔषध कारोवारीका लागि नेपाल क्रिडास्थल बन्ने गरेको पाइएको छ ।
त्यस्तै, मानव वेचविखन, साइवर ठगी, विदेशी मुद्राको अबैध कारोवार, धर्म परिवर्तन र जाली राहदानी प्रयोग गरी लुकिछिपि बस्नेको समस्या चूनौतीपूर्ण बन्दै गएको छ । पदयात्रा, दृश्यावलोकन, मनोरञ्जन, अध्ययन तथा अनुसन्धानका नाममा भिसा लगाउँछन् काम अर्कै गर्छन् ।
‘इन्टरपोल’ प्रहरीको खोजी– सूचीमा रहेकाहरूलाई पक्राउ गर्न नेपाल प्रहरी सफल छ तर आउने र जानेहरूको विस्तृत ब्यक्तिगत विवरण राख्ने सूचना प्रणाली नहुँदा नियन्त्रणमा समस्या आएको पर्यटक प्रहरी प्रमुख अमृत बस्नेतले बताउनुभयो ।
एकवर्षको अवधिमा अध्यागमन कसुर तथा कारवाही अन्तर्गत १६९ जना विदेशी नागरिकलाई निष्कासन गरिएको छ । विभागका अनुसार, नक्कली राहदानी ३७, ओभरस्टेमा ६७, शंकास्पद कागजपत्र १२, नक्कली भिसामा सात, ठगीमा पाँच, लागूऔषध छ, बैकिङ कसुरमा आठ, बाल यौनदुराचारमा छ र इन्ट्री डिफ्युजमा छ जनालाई निष्कासन गरिएको छ ।
त्यस्तै, खोटाचलनमा तीन, सुन ओसारपसारमा दुई, मानव वेचविखन एक, दुर्लभ वन्यजन्तु ओसारपसारमा एक, सरकारी छाप किर्तेमा एक, अबैध मुद्राको कारोवारमा एक र धार्मिक प्रचारप्रसारको अभियोगमा केही व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कानुनी सजाय भुक्तान गरिसकेपछि निष्कासित गरिएको विभागले जनाएको छ ।
आर्थिक वर्ष २०७४÷०७५ मा विश्वका एकसय देशका करिब ११ लाख ९३ हजार विदेशी नेपाल भित्रिएका छन् । तीमध्ये हिमपहिरोमा पुरिएर र भीरबाट लडेर ४१ जना पर्यटकले ज्यान गुमाइसकेका छन् । एकसय ११ जना पर्यटकले आत्महत्या गरेका छन् । मानसिक सन्तुलन गुमाएका पर्यटकको समस्या पनि त्यतिकै छ ।
अध्यागमन विभागका प्रमुख ईश्वरीराज भण्डारी विदेशी नागरिकको क्रियाकलापमाथि सूक्ष्म निगरानी राख्नुका साथै आगमन र प्रस्थानमा कडाइ गरिएको बताउनुहुन्छ । सरकारले नेपाल पर्यटन वर्ष २०२० का लागि सार्क सदस्य राष्ट्रका नागरिकलाई वर्षमा एक पटक ३० दिनका लागि र चिनियाँ नागरिकहरुका लागि वर्षमा १५० दिनको निःशुल्क भिसाको व्यवस्था गरेको छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना