आत्मनिर्भर हुँदै एकल महिला

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १० गते । एउटै लक्ष्य र साझा पीडाबाट मुक्त हुन डेढ लाख महिला एउटै सङ्गठनमा आवद्ध भएर अगाडि बढिरहेका छन् ।
एकल महिलालाई सङ्ठित गर्ने उद्देश्यले २५ वर्ष अगाडि स्थापना गरिएको मानव अधिकारका लागि महिला समूहमा एकल महिला सङ्गठित भएर अगाडि बढिरहेका हुन् ।
सती प्रथामा श्रीमान्को मृत्युपछि श्रीमतीले पतिको पार्थिव शरीरसँगै जलेर मर्नुपर्ने थियो । यो प्रथा १९२० सालमा त हट्यो तर एकल महिलामाथिको विभेद कायमै रह्यो । उनीहरूलाई रातो रङको प्रयोगमा समेत बन्देज लगाउँथ्यो नेपाली समाजमा ।
श्रीमान् मरेपछि वा विवाह नगरी बस्दा पनि महिलाले स्वतन्त्र पेशा र व्यवसाय गरेर बाँच्न पाउने हक हुन्छ । त्यसविरुद्ध सङ्गठित हुनैपर्छ भन्ने सोचका साथ लिली थापाको नेतृत्वमा स्थापना भएको सो सङ्गठन रजत जयन्ती मनाउने तरखरमा छ । mahila
समूहका अध्यक्ष कुन्दा शर्माका अनुसार एकल महिलालाई समूह, सहकारी, छहारीमार्फत सङ्गठित पार्ने कामबाट व्यापक परिवर्तन आएको छ । रातो अभियान, सीप दक्षतामा अभिवृद्धिका कारण उनीहरूमा आत्मविश्वास बढेको छ । साथै समाजमा एकल महिलालाई लगाउने लाञ्छना र कुरीतिमा कमी आएको उहाँले बताउनुभयो ।
देशभरमा १४ वटा छहारी निर्माण गरिएको छ । जहाँ एकल तथा हिंसापीडित महिलाले आश्रय पाउँछन्, आफ्ना दुःख पीडा सुनाउँछन् । साथै, आत्मनिर्भर हुने बाटो पहिल्याउँछन् । सो समूहले सातवटै प्रदेशमा एक हजार पाँच सय पाँचवटा समूह र नौवटा सहकारीको पनि स्थापना गरिसकेका छन् ।
समूहका उपाध्यक्ष शोभा बिसीले २१ वर्षको उमेरमा श्रीमान्को मृत्यु हुँदा विक्षिप्त अवस्थामै सो समूहले सङ्गठनमा ल्याएको स्मरण गर्दै एकल महिलाको सङ्गठनले नेतृत्व तहसम्म पुगेर आफ्नो कुरा राख्न सक्ने बनाएको बताउनुभयो ।
देशभरका एकल महिला नेतृत्वको भेलासहित काठमाडौँ हात्तीगौंडामा निर्माण गरिएको छहारी
(सुरक्षित सेवा गृह) को उद्घाटनका साथै स्वास्थ सेवालगायत मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरी समूहले शनिबार रजत जयन्ती मनाउँदैछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना