यु–ट्युबमा भिजिटरको ओइरो

 गोविन्द मरासिनी


पछिल्लो समय नेपाली लोकसङ्गीतले राम्रो फड्को मारेको छ । लोकगीत र सङ्गीतका क्षेत्रमा लागिरहेकाहरू यतिबेला कसरी लोकप्रिय हुन सकिन्छ भन्दै ठेट शब्द राखेर गीत सिर्जना गर्नेतर्फ हौसिएका छन् । लोकगीतमा छाएको व्यापक विकृति र ठाडा शब्दहरूको सट्टामा ठेट नेपाली शब्दको चयन गरेर गीत सिर्जना ग¥यो भने बढी मात्रामा दर्शकले रुचाउने रहेछन् भन्ने सर्जकले बुझेपछि लोकगीतमा नयाँ स्वाद पाउन थालिएको छ । दर्शक एवं श्रोताले रुचाएपछि कलाकार तथा सर्जकहरू झनै हौसिएका छन् । पछिल्लो चरणमा एकपछि अर्को लोकप्रिय लोकगीतको सिर्जना भइरहेको छ । केही समय अघिसम्म बजारमा आएका थोरै गीतले मात्र सामाजिक सञ्जालमा राम्रो लोकप्रियता कमाउँथे तर अब भने अलिकति मिहिनेत गरेर गीत र भिडियोलाई गुणस्तरीय बनाउन सकेको खण्डमा आमश्रोताको माया पाउन त्यति कठिन छैन । गीत–सङ्गीतको लागि सर्जकको मुख्य कमाइ भनेको यू–ट्युब भिजिटर नै हुन् भन्दा पनि फरक पर्दैन । यू–ट्युबमा प्रशस्त भिजिटर पाउँदा र आफूले मिहिनेत गरेको सिर्जनाले लोकप्रियता कमाउँदा कलाकारलाई खुसी लाग्नु स्वाभाविक हो । youtube_1
केही समय अगाडि सार्वजनिक भएको कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वरमा रहेको ‘सालको पातको टपरी हुने हो, नहुने सल्लैको’ले नेपाली लोकसङ्गीतमा हलचल मात्र मच्चाएन, लोकगीतप्रति राम्रो छापसमेत छाड्न सफल भयो । कुलेन्द्र विश्वकर्मा, वसन्त थापा र मरिष्का पोख्रेलको अभिनय रहेको यो गीतले दर्शकको मन जित्दै यू–ट्युबमा चार करोड ३० लाख बढी भ्युअर पाइसकेको छ । अहिले बिहे भोज, पिकनिक, पार्टीमा यही गीत घन्किने गर्दछ । सधैँभरि हिन्दी र अङ्ग्रेजी गीतमा मस्त हुने युवापुस्तालाई समेत पछिल्लो समय आएको लोकगीतको नयाँ स्वादले तानेको छ । एकपछि अर्को गीत बजारमा आउने क्रम बढ्न थालेको छ ।
शिव हमालको लय तथा शब्द रहेको सन्दिप न्यौपाने र विष्णु माझीको स्वरको ‘लालुमै’ले पनि दर्शकको मन जित्न सफल भयो । सालको पातको टपरीले लोकगीत पनि कति हदसम्म लोकप्रिय हुन्छ भन्ने देखायो । त्यसैले शिव हमालको लालुमै गीतले पनि यू–ट्युबमा एक करोड ४१ लाखभन्दा बढी भ्युअर पाइसकेको छ । उक्त गीतमा सन्दिप न्यौपानेसँग मोडल तथा नायिका सृष्टि खड्काको अभिनय पनि लोभलाग्दो छ । सालको पातको टपरी र लालुमैले लोकसङ्गीतमा व्यापक चर्चा कमाएपछि यस्तै धारमा गीत निकाल्ने होडबाजी नै चल्न थालेको छ । अर्थात् कलाकारले बल्ल दर्शकको रोजाइ बुझ्न थालेका छन् ।
लोकगीतमा ठेट, राम्रा र चल्ने गीतहरू निकाल्ने परम्पराको विकास हुन थालेको छ । हुन त पहिले बजारमा आएका केही गीत नचलेका भने होइनन् तर छोटो समयमा नै गीतले सर्वाधिक लोकप्रियता कमाउन थालेको चाहिँ पछिल्लो समयमै आएर हो ।
तेजश रेग्मी र विष्णु माझीकै स्वर रहेको ‘पिँडालु खुर्केर काट’ भन्ने गीत पनि यतिबेला बजारमा चर्चामा रहेको छ । कुलेन्द्र विश्वकर्मा, तेजश रेग्मी र भद्रगोल टेलिशृखङ्लाबाट अत्यधिक चर्चा कमाएकी रक्षा श्रेष्ठको अभिनय रहेको ठेट शब्दहरू प्रयोग गरिएको ‘पिँडालु’ले पनि सार्वजनिक भएको छोटो समयमै लाखौँ भ्युअर पाएको छ ।
सालको पातको टपरी... अत्यधिक लोकप्रिय भएपछि उक्त गीतबाट हौसिएका गायक वसन्त थापाले ‘जाम सुस्तै’ नामको अर्को गीत बजारमा ल्याए । अघिल्लो जस्तो लोकप्रियता कमाउन नसके पनि यसले राम्रै सफलता हात पा¥यो । जुना श्रीस, वसन्त थापा र रवि कार्कीको स्वर रहेको गीतमा वसन्त थापा र मोडल जवानी बस्नेतले अभिनय गरेका छन् । यस गीतलाई पनि यू–ट्युबमा ३१ लाख बढी दर्शक–श्रोताले यू–ट्युबमा हेरिसकेका छन् ।
शिव हमालको शब्द तथा सङ्गीत रहेको कुलेन्द्र विश्वकर्मा र सरिता कार्कीको स्वरको ‘लाउँछ माया’ बोलको गीतले पनि राम्रै लोकप्रियता बटुल्न सफल भएको छ । महेन्द्र गौतम र सुरक्षा पन्तको अभिनय रहेको यस गीतले पनि हालसम्म यू–ट्युबमा करिब २९ लाख भिजिटर पाइसकेको छ । गोरखा चौतारी म्युजिक कम्पनीले बजारमा ल्याएको राजन कार्की र मेलिना राईको ‘पान खायो मायाले चुना हालेर’ बोलको गीतले पनि चर्चा कमायो । पछिल्लो समय विभिन्न महोत्सव तथा रोदी घरमा यो गीतले राम्रो चर्चा कमायो । शङ्कर बिसी र अञ्जली अधिकारीको अभिनय रहेको यो गीतले पनि २६ लाखभन्दा बढी भ्युअर पाइसकेको छ ।
यसैगरी दिनेश क्षेत्री र विष्णु माझीको ‘केसरी’ बोलको गीतले पनि चर्चा कमाइरहेको छ । गायक तथा मोडल रामजी खाँण र अनु पराजुलीको अभिनय रहेको केसरीले पनि यू–ट्युबमा करिब २५ लाख भ्युअर पाइसकेको छ । तेजश रेग्मी र रिना केसीको ‘कहाँ गयो भँगेरी चरी’ पनि दर्शक–श्रोताले मन पराएको अर्को लोकगीत हो । तेजश रेग्मीको शब्द रहेको गीतमा रेग्मीसहित सतिश अधिकारी, पुजन घिमिरे र सङ्गम शर्माको अभिनय रहेको छ । यो गीतले पनि यू–ट्युबमा लोकप्रियता जमाउने क्रममा १९ लाख दर्शकको माया पाइसकेको छ ।
लोकगीतमा आएको नयाँ धारलाई चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीले पनि निरन्तरता दिने प्रयास गरिरहेका छन् । गायिका भण्डारी र गायक सेञ्चुरीको ‘औँठी बेरुवाको’ले पनि दर्शकको मायाले यू–ट्युबमा १८ लाख भ्युअर पाएको छ । ‘लुट्न सके लुट’बाट राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै लोकप्रिय बनेका गायक पशुपति शर्मा र गायिका भण्डारीको ‘क्यार्न माया मारिचौ’ले पनि छोटो समयमै चर्चाको शिखरमा पुगेको छ । शर्माको लय तथा स्वयं शर्मा र भण्डारीको अभिनय रहेको यस गीतले पनि दर्शकको माया पाउने क्रम बढ्दो छ । यू–ट्युबमा १५ लाखभन्दा बढी दर्शकको माया पाइसकेको छ । यीसँगै हरि सुनारको ‘झमझम पानी परेको रात’, विष्णुमाया गुरुङको ‘सल्ला धूपैले’, पुरुषोत्तम गैह्रेको ‘मयालु’ लगायतका गीतहरू पनि चर्चाको शिखरमा रहेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds