जाने होइन खप्तड ?

 सुनिता बोहरा श्रेष्ठ

सुन्दर सुदूरपश्चिमका कैलाली, अछाम, बझाङ, बाजुरा, डोटी जिल्लामध्ये कैलाली तराईमा पर्दछ भने बाँकी चार पहाडी जिल्ला हुन् । यिनै चार जिल्लाको मध्य भागमा अवस्थित छ खप्तड । सुदूरपश्चिमेलीले यसलाई मुटुका रूपमा लिएका छन् र आफ्नो शान, मान र गौरव ठानेका छन् ।
प्रत्येक वर्ष जेठ महिना दशमी तिथिमा यहाँ ठूलो मेला लाग्दछ । डोटी जिल्लामा यस दिन दस थोकको तरकारी पकाएर खाने चलन छ । जेठ महिनाको चर्को गर्मीका कारण मानिसले शीतल, ओत तथा ठण्डी हुने ठाउँको खोजी गरिरहेका हुन्छन् । काम गर्दागर्दै थकित भएको शरीरलाई केही दिन आराम दिलाउँ भन्नेहरूले आफ्नो अमूल्य समय खप्तडका लागि साँचेर राखेका हुन्छन् । यहाँका मानिसले यो पर्वलाई हाँसीखुसीका साथ मनाउँछन् । आफ्नो दुःख–पीडालाई बिर्सिएर मनोरञ्जनका लागि शान्त र मनोरम स्थल खप्तड गएर थकान मेट्छन् । khaptad
खप्तड जानका लागि डोटीको सिलगढीसम्म गाडी जान्छ । प्लेनबाट जाने हो भने धनगढीसम्म गएर त्यहाँबाट गाडीमा जानुपर्दछ । त्यसपछि दुई÷तीन घण्टा पैदल हिँडी खप्तड पुगिन्छ । खप्तड जाने बाटोमा जताततै हरियाली र जङ्गल छ । सानो छँदा किताबमा ‘हरियो वन नेपालको धन’ भनेर पढ्थ्यौँ । त्यसको वास्तविक दृश्य यहाँ आएपछि देख्न पाइन्छ ।
रुखमा काफल पाकिरहेको हुन्छ । लालीगुराँस फुलेर ढकमक्क भएको हुन्छ । रङ्गी÷बिरङ्गी फूल फुलेर बास्ना फैलिरहेको हुन्छ । यी सुन्दर फूल र लालीगुराँसले पर्यटकलाई बाटोमा स्वागत गरेझैँ लाग्छ । जता हे¥यो उतै राम्रो । शान्त ठाउँ, स्वच्छ वातावरण, प्रदूषणको कतै नामोनिशान छैन । यहाँको सुन्दर हरियालीका दृश्य देखेर आँखा पनि लठ्ठिरहेका हुन्छन् । मन पनि मुग्ध हुन्छ । मानाँै, हामी धर्तीबाट स्वर्गीय भूमिमा आइपुगेका छौँ जस्तो अनुभूति हुन्छ ।
गोठालाहरू बाँसुरीमा मधुर धुन भरिरहेका हुन्छन् । घरपालुवा चौपाया पाटनमा चरिरहेका हुन्छन् । वरिपरि हरिया डाँडा छन् । दुबोले ढाकिएका चउर छन् । जमिन टेक्दा थलथल भई गर्मीमा चिसोको आनन्द अनुभव हुन्छ । मन्दमन्द हावा, रङ्गी÷बिरङ्गी फूल फुलेर त्यहाँको प्राकृतिक सौन्दर्यलाई शोभा दिइरहेको हुन्छ ।
डाँफे, मयुरहरू नाचिरहेका हुन्छन् । कोइलीको कँुहूकँुहूको सुरिलो स्वरले पर्यटकलाई मुग्ध पारिरहेको हुन्छ । अनेक चराचुरुङ्गी चिरबिर चिरबिर गर्दै आकाशमा उडिरहेका हुन्छन् । यहाँका यस्ता दृश्य देखेर खप्तड पुगेको मानिस घर–व्यवहारको हतारो नहुँदो हो त पक्कै पनि फर्किहाल्न मन गर्दैनथ्यो ।
खप्तडको थप आकर्षण अरू के के हो त ? यहाँ खप्तड बाबाको कुटी छ । केदारढुङ्गा, नागढुङ्गा, मन्दिर, पाटीपौवा, खप्तडताल । त्रिवेणी नदी छ । यो नदीमा स्नान गर्दा अपार पुण्य कमाइन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । सहस्रलिङ्गमा ठूलो पूजा हुन्छ । त्यहाँ ठूलो ढुङ्गो छ । मानिसहरू आफ्नो मनोकामना पूर्ण होस् भनी भेटी चढाउँछन् ।
सम्पन्नहरू हेलिकोप्टरमा पनि जान्छन् । हिँड्न नसक्ने र घोडामा चढ्ने इच्छा भएका मानिसहरू घोडा चढेर यात्राका साथै मनोरञ्जन पनि लिइरहेका हुन्छन् ।
मनै लोभ्याउने गरी स्थानीय बाजा बजाइरहेका हुन्छन् । आफ्नो÷आफ्नो ठाउँको भाका अनुसारका गीत गाउने, देउडा खेल्ने, सेतो पहिरन र शिरमा सेतो फेटा, कम्मरमा पटुका, हातमा ढाल र तरबार लिएर हातखुट्टाको ताल मिलाइ नाचिने भुवाँ नाचले सबैलाई मोहित पार्ने सामथ्र्य स्थानीयसँग छ । धामीझाँक्रीको बाहुल्य पनि यहाँ देख्न सकिन्छ । आफ्नो रीतिरिवाज र संस्कारलाई सधैँभरि बचाइराखौंँ, जोगाइराखौँ भन्नेमा हाम्रा आदरणीय गुरुहरू, मान्यजन तथा स्थानीयवासी लागिरहेका छन् ।
स्थानीयको हकमा मेला भर्न जानु भनेको आफन्तजनसँग भेटघाट गर्ने माध्यम पनि हो । मेलामा आफ्नो नाता–कुटुम्ब भेटिँदा खुसीले गद्गद् हुन्छन् । एक–अर्कामा अङ्कमाल गर्छन् । सुखदुःख साटासाट गर्छन् । मीठो–मसिनो खानेकुरा पकाएर लगी बाँडीचुँडी खान्छन् । मेलामा लगाउनकै लागि भनेर सिलाइएका नयाँ लुगाकपडा लगाएर आउँछन् । शिरदेखि खुट्टासम्म गहना लगाएर मेला भर्न आउनेका साथमा काखे बालबच्चा देख्दा मेलाको रहर र महìवलाई बोध गर्न सकिन्छ । खप्तड घुम्न र रमाइलो मेला हेर्न आउने विदेशी पर्यटकलाई स्थानीयले बधाइ र शुभकामना दिइरहेका हुन्छन् ।
जेठ महिनाको गर्मीमा खप्तड मेला परेकोले पनि यो मेलाको महìव अझ बढेको हो जस्तो लाग्दछ । त्यहाँको मौसम ठण्डा हुन्छ । न्यानो लुगाकपडा लैजानुपर्दछ । फूल तथा वनस्पतिको बास्नाले लठ्याउने र अनुहारमा केही असर गर्ने हुनसक्छ । छिनछिनमा घाम लाग्ने, छिनछिनमा पानी परिहाल्ने मौसमले लुकामारी खेलेझैँ लाग्छ ।
पहिलो पटक म खप्तड जाँदा खप्तड बाबा आफ्नो कुटीमा हुनुहुन्थ्यो । बिरामीहरू उहाँको प्रतीक्षामा लाइनमा हुन्थे । कुन रोगका लागि कुन जडिबुटी दिने भन्ने उहाँ पर्गेलिरहनुभएको हुन्थ्यो । उहाँले दिएको औषधिले बिरामी ठीक भएको कुरा सुनाउँथे । अब उहाँ हुनुहुन्न, उहाँको अभाव खप्तडवासीलाई हुने नै भयो, उहाँको ज्ञान र विद्वता बुझेकाहरूलाई पनि उहाँ नहुँदाको पीडाबोध भइरहेकै छ ।
खप्तडको नाम सबैले सुनेका छौँ । एक पटक पुग्ने इच्छा जो कोहीको हुन्छ तर कसरी र कहाँबाट जाने भन्ने मेसो नमिलिरहेको हुनसक्छ । आधा बाटोसम्म गाडी जान्छ, त्यसपछि पैदल हिँड्नुपर्दा कष्ट हुनसक्छ हिँड्ने बानी नभएकाहरूलाई । जसरी मनकामना, चन्द्रागिरि, कालिञ्चोक, जाँदा केबुलकारको सहज यात्रामा यात्रुहरू रमाइरहेका पाउँछौँ, खप्तडमा पनि केबुलकारको व्यवस्था भइदिए यात्रुलाई सहज हुन्थ्यो । स्थानीयका लागि पनि केबुलकार नौलो साधन भएकाले चढ्ने रहर मेटेर नौलो अनुभव गर्ने थिए । विदेशी पर्यटकका लागि खप्तडजस्तो मनोरञ्जनात्मक स्थल अर्को हुनै सक्दैन ।
खप्तड एक अलौकिक पावनस्थल पनि हो । खप्तडको क्षेत्रफल एक हजार २४ वर्ग किलोमिटर छ । धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार देवी–देवताले यो स्थानमा बास तथा तपस्या गरेका थिए । ऋषिमुनिले तपस्या गरेको स्थान तथा खप्तड बाबाको तपोभूमि भएकाले पनि यो स्थल पवित्र छ । सिनेमाका दृश्यका लागि खप्तडमा छायाङ्कन गर्न सकिन्छ । यातायातको अभाव र प्रचार–प्रसारको कमीले मात्रै खप्तड क्षेत्र पिछडिएको हो भन्न सकिन्छ ।
खप्तडको जति वर्णन गरे पनि कमै हुन्छ । धार्मिक दृष्टिकोणले पनि यो ठाउँ प्रख्यात छ । अन्यत्र नपाइने दुर्लभ जडिबुटी यस क्षेत्रमा प्रशस्त पाइन्छन् । प्राकृतिक सौन्दर्यले त भरिपूर्ण छँदैछ । खप्तड पुगेर फर्किएको आन्तरिक होस् वा विदेशी पर्यटक, उसमा बेग्लै खालको स्फूर्तिभाव जागृत भएको देखिन्छ र उसले पृथ्वीको स्वर्गमा पुगेर आएँ भनिरहेको हुन्छ । खप्तड राष्ट्रिय निकुञ्जको आकर्षण त झन् छँदैछ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना