हराएको भोटो

 मुनीन्द्ररत्न बज्राचार्य

यो संसारमा रहेका सबै प्राणीको दुःख निवारण र लोक उद्धारका लागि नेपालमा अनेक लोकेश्वरहरूको सृष्टि भएको छ । प्राचीन ग्रन्थ गुणकारण्ड ब्यूहमा उल्लेख भए अनुसार यो संसारको प्रतिपालन नै विभिन्न लोकेश्वरहरूको उत्पत्तिको कारण मानिन्छ । विभिन्न लोकेश्वरहरूलाई परापूर्वकालदेखि नै विभिन्न जात्रा–पर्वका रूपमा धार्मिक सहिष्णुताका साथ श्रद्धापूर्वक मानिँदैआएको छ । नेपालका विभिन्न स्थानमा रहेका चार प्रसिद्ध लोकेश्वरहरूमा ललितपुरका रातो मच्छेन्द्रनाथ लोकेश्वर, काठमाडौँ चोभारका आनन्दादी लोकेश्वर (आदीनाथ), बनेपा नालाका सृष्टिकान्त लोकेश्वर र काठमाडांैँ केलटोलका सेतो मच्छेन्द्रनाथ विशेष महìवमा आउँछन् । यी चारै लोकेश्वरको विशेष रूपमा जात्रा गरी मनाउँदै आइएको छ । यी चार लोकेश्वरमा रातो मच्छेन्द्रनाथको जात्रा भने निकै लामो समयसम्म विशेष रूपले चल्दछ ।
नेपालको इतिहासमा परापूर्वकालदेखि नै रातो मच्छेन्द्रनाथलाई विशेष पर्वका रूपमा हिन्दू र बौद्धमार्गीले श्रद्धापूर्वक जात्रा गरेर मनाउने गर्दछन् । रातो मच्छेन्द्रनाथलाई नेवारी समुदायमा ‘बुँगद्यो’ भनेर सम्बोधन गरिन्छ । यस्तै बौद्धमार्गीहरू लोकेश्वरलाई पद्मपाणि बुँगम लोकेश्वर, अभिताभ बुद्ध तथा रक्तावलोकेश्वर पनि भन्ने गर्छन् । लोकको उद्धार गर्ने भएकोले कसैले लोकनाथ पनि भन्ने गरेको पाइन्छ । जे भने पनि सबैमा करुणा राख्ने करुणावतार श्री करुणामय लोकनाथ निकै लोकप्रिय र शक्तिशाली देवताका रूपमा पूजित हुँदैआएका छन् । bhoto
रातो मच्छेन्द्रनाथको उत्पत्तिका सम्बन्धमा एउटा ऐतिहासिक घटना नै किंबदन्तीका रूपमा स्थापित छ । कुनै समयमा गोरखनाथ नेपाल आई पशुपतिनाथ नजिक मृगस्थलीमा नागहरूमाथि आसन जमाई तपस्यारत रहँदा नेपालमा दिव्य बाह्र वर्षसम्म जलवृष्टि नभई हाहाकार मच्चिएको थियो । तर पछि यहाँका तान्त्रिक शान्तिकराचार्यले समाधिबाट हेर्दा भारतको कामारूकामाक्षबाट मच्छेन्द्रनाथलाई नेपालमा नल्याएसम्म जलवृष्टि नहुने देखेपछि उनले आफ्ना शिष्य बन्धुदत्त आचार्यलाई उनका साथ भक्तपुरका राजा नरेन्द्रदेव र पाटनका रथचक्र भरियालाई रातो मच्छेन्द्रनाथलाई लिन कामारूकामाक्ष पठाए । बढो कठिन प्रयास र तान्त्रिक रिद्धिसिद्धि बल तथा विद्याको प्रयोगले रातो मच्छेन्द्र्रनाथलाई नेपाल ल्याउन सफल भए । आफ्ना गुरु मच्छेन्द्रनाथको नेपाल आगमन भएको थाहा पाएर गुरुको दर्शनका लागि गोरखानाथ तपस्या स्थलबाट उठेर दर्शन गर्न गए । जब उनी नागको शरीरबाट उठेर गएथे, त्यसपछि ठूलो वर्षा हुन गयो । यिनै रातो मच्छेन्द्रनाथलाई बुङ्मतीमा ल्याएर मन्दिर र विहार बनाई विराजमान गराइयो । साथै प्रत्येक वर्ष रातो मच्छेन्द्रनाथका लागि विशेष रथ तयार गरी रथमा राखेर ललितपुरका विभिन्न स्थानमा तानेर पु¥याइने प्रचलन चलिआयो ।
प्राचीनकालदेखि नै ऐतिहासिक मान्यताका साथ राष्ट्रिय तवरले मनाइने जात्रा यही रातो मच्छिन्द्रनाथको नै हो । यो जात्रा लामो अवधिसम्म चल्ने जात्राका रूपमा छ स्थापित छ । यी देवताको जात्रामा विशेषखालको रथ बनाई हरेक वैशाख शुक्ल चतुर्थीमा रथारोहणका लागि पाटनको पुल्चोकमा ल्याई रथमा विराजमान गराई चौथो दिनमा विभिन्न गन्तव्य स्थानहरूमा रथ तानिन्छ । सर्वप्रथम रथलाई गाःवाहाल पु¥याइन्छ र गाःवाहालबाट सुन्धारा ल्याइन्छ । सुन्धाराको जात्रा सकिएपछि त्यसको भोलिपल्ट दुवै रथलाई टङ्गाल हुँदै लगनखेलनजिक पोडेटोलमा पु¥याइन्छ । त्यहाँ ज्योतिषीहरूले दिएकोे साइतमा नरिवल खसाली नैक्यालं लुइगु पर्व मनाइन्छ । नरिवल खसालेको जात्राको भोलिपल्ट बिहान सबेरै महिलाले मात्र रथ तानी थतीको चार दोबाटोसम्म पु¥याइन्छ । फेरि शुभसाइत हेरी लगनखेलबाट तानेर जाउलाखेल लैजाने दिनका लागि साइत जुराइन्छ । जावलाखेल ल्याइपु¥याएको भोलिपल्ट भोटो देखाउने जात्रा ‘भोटोजात्रा’ गरिन्छ ।
भोटोजात्राको पनि आफ्नै ऐतिहासिक महìव रहेको छ । भोटो देखाउने परम्परा कसरी चल्यो भन्नेबारे छुट्टै किंवदन्ती चलिआएको छ । भोटो देखाउने परम्परा रातो मच्छेन्द्रनाथको रथ तान्ने जात्रापछि मात्र चलेको बुझिन आउँछ । कुनै समयमा भोटोजात्रामा देखाइने भोटो कर्कोटक नागराजको थियो । त्यो भोटो कर्कोटक नागराजले आफ्नी रानीका आँखा दुखेको बेला उपचार गर्न आएको एउटा ज्यापूलाई उपहारस्वरूप दिएका थिए । एकचोटि टौदहका नागराजकी रानीका आँखा दुखेछन् । अनेक वैद्यहरूलाई देखाए तापनि कसैले निको पार्न सकेनन् । कसोकसो एक दिन नागराजले खेतमा काम गरिरहेको किसानलाई वैद्यका रूपमा नागलोकको दरबारमा लगेर रानीका आँखाको उपचार गर्न लगाए । किसान वैद्य थिएन । नागिनीका आँखाको उपचार गर्नुपर्दा उनी धर्म सङ्कटमा परे । के गरुँ कसो गरुँ भएकोले मनमनले करुणामयलाई सम्झना गरे । डरले गर्दा आफ्नो जीउमा आएका पसिना र खेतमा काम गर्दा जमेको मयल माडेर निकाली नागरानीको आँखामा लेप लगाइदिए । दैवसंयोग रानीका आँखा दुखेको निको भयो । आँखा सञ्चो भएपछि नागरानी खुसीले प्रशन्न भई ‘किसानलाई तिमी के माग्छौ माग’ भन्दा किसानले भित्तामा झुण्ड्याइराखेको टलल्ल टल्केको भोटो माग्यो । नागराजले त्यही भोटो किसानलाई दिएर पठाए ।
एक दिन किसान खेतमा काम गरिरहँदा नागराजले दिएको भोटोलाई भुइँमा राखी काम गरिरहँदा अचानक त्यो भोटो हरायो । उक्त भोटो एउटा भूतले सुटुक्क चोरेर लगेको थियो । एकदिन जावलाखेलमा रातो मच्छेन्द्रनाथको जात्रा भइरहेको बेला सोही भोटो लगाएर भूत पनि जात्रा हेर्न आएको रहेछ । किसानले आफ्नो भोटो देखेर ‘यो भोटो मेरो हो, मेरो हराएको भोटो तिमीले लगेका रहेछौँ, मलाई फिर्ता देउभन्दा भूतले दिन मानेन र दुईबीच झगडा नै भयोे । दुईको झगडा देखेर जात्रा हेर्न आउनेहरूले अर्कैखालको निर्णय गरिदिए । यो भोटो दुईमध्ये कसैको होइन, यस्तो झगडा भएपछि भोटो रातो मच्छेन्द्रनाथकहाँ चढाउन उपयुक्त हुन्छ भनी सुझाव दिए । भेलाको सुझाव दुवैले मञ्जुर गरेपछि त्यसै बेलादेखि उक्त भोटो सुरक्षित रहेको प्रमाणस्वरूप बर्सेनि देखाइन थालियो । machhindra
हालसम्म पनि राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई समेत निमन्त्रणा गरी हीराजडित भोटो देखाउँदै आएको छ । भोटो देखाउने बेलामा ललितपुरकी कुमारीको पनि उपस्थिति गराइन्छ । भोटो देखाउँदा उपत्यकाभित्रका मात्रै नभई टाढाटाढाबाट भोटोजात्रा हेर्न आउनेको घुइँचो हुने गर्छ । यस दिन राष्ट्रिय पर्वका रूपमा मनाउने हुनाले काठमाडौँ उपत्यकामा सरकारी बिदा दिने प्रचलन चलिआएको छ । जाउलाखेलमा भोटो देखाउँदा गुठी संस्थानका प्रमुखले रथमा चढेर चारै दिशामा घुमीघुमी तीन÷तीन पटक देखाउँछन् । चारै दिशाबाट देखाउने सम्बन्धमा पनि किंवदन्ती नै छ । पहिलो पटक देखाएको देव, मनुष्य र नागलोकलाई हो । दोस्रो पटक देखाएको कान्तिपुर, ललितपुर र भक्तपुरका जो रातो मच्छेन्द्रनाथ ल्याउने कान्तिपुरका बन्धुदत्त बज्राचार्य, भक्तपुरका राजा नरेन्द्रदेव र ललितपुरका रथचक्र र कर्कोटक नागराजको सम्झनामा भोटो देखाएको हो भनिन्छ । तेस्रो पटक देखाएको चाहिँ भूतप्रेत, किसान वैद्य, प्रेतात्मा, तारण राख्ने बज्राचार्यसहित लोकजन र यक्षगणमा रहेका सबैलाई देखाएको हो भनिन्छ । उक्त भोटो देखाउने कार्य सकिएपछि त्यस वर्षको रातो मच्छेन्द्रनाथको रथयात्रा समाप्त हुन्छ र रातो मच्छेन्द्रनाथलाई रथबाट निकाली खटमा राखेर बुङ्मतीमै लगिन्छ र भोटोजात्रा समाप्त हुन्छ । यसरी परापूर्वकालदेखि महìवपूर्ण जात्रा चलाई देशको राष्ट्रियताको संरक्षण गर्नुका साथै संस्कृतिको जगेर्ना गरेर नेवार समुदायले सम्पदाका रूपमा जीवन्त राखेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds