कथा: बिहान त आज पनि भएकै हो

 भाउपन्थी

यस पटक राम्ररी संवाद हुन सकेन । मणिजी व्यस्त थिए वा बाइकमा ? त्यो बुझ्न सकिएन । कुनै एउटा त्यस्तो माध्यम थिएन जसबाट मणिजी व्यस्त वा बाइकमा भन्ने थाहा पाउन सकिँदैनथ्यो । मणिजीले एकाएक मोबाइल बीचैमा काटिदिँदा लज्जाबोध भयो गौरवलाई । नाम त गौरव थियो तर मणिजीको फोनकटुवा बानीले ऊ गौरवहीन हुन पुग्यो । फोनकटुवा बानी भन्नाले मणिजीले पहिले यसरी फोन काट्दैनथे । फोन काटेपछि गौरवमा एउटा प्रश्नात्मक सोच आयो, वास्तवमै ऊ फोन संवादको लागि लायक पनि छैन त ?
मणिजी जो थिए, उनले पहिलेपहिले एसएमएस गरेर ‘आइ’म अन बाइक’ भनेर फोन संवाद गर्न नसक्नुको बाध्यता सूचित गर्थे तर आज त्यस्तो केही भएन । ‘म बिजी छु’ वा ‘मङ्गलमय शुभकामना’ वा ‘पछि कुरा गरुँला’ आदि जस्ता अङ्ग्रेजीका तयारी वाक्यांशहरू हुँदा रहेछन् मोबाइलमा । त्यस्तैको प्रयोग गरेर मणिजीले उसलाई आश्वस्त पार्थे, ‘तपाईंलाई रिकग्नाइज गरिएको छ’ वा ‘पालो पर्खनुस्’ वा ‘समय भएपछि संवादका लागि सम्पर्क गरुँला’ भन्ने सन्देश प्रवाहित हुन्थ्यो । आज त्यस्तो केही भएन । कोसँग कुरा गर्दैछु भन्ने समेत मणिजीले नोट गरेजस्तो लागेन । त्यसैले बीचैमा फोन काटिदिए ।
गौरव मणिजीलाई मान्थ्यो । मणिजी आफ्नै जिल्लाका थिए । ऊभन्दा सिनियर व्यक्ति । उनले केही आदर्श स्थापित गर्लान् भनेको त झनै फोन नै काटेर उपेक्षा पो देखाए ए ! व्यस्तता होला । ठूला मानिस हुन् कि ? गौरवले थाहा पाएजतिमा मणिजी त्यति धेरै ठूला व्यक्ति भइसकेका थिएनन् तर ठूलो मानिस हुने दौडधूपमा थिए । ‘चाकरी बजा नाम कमा’ भन्ने आदर्श वाक्यजस्तो, जसले उनलाई कर्मठ बनाइरहन्थ्यो । सरकारको प्रवक्ता वा सरकारको गृहमन्त्री अथवा अन्य शक्तिकेन्द्रमा नयाँ नियुक्तिका लागि असिनपसिन हुँदै चाकरीमा धाइरहेको पद इच्छुक । गौरव उसरी यीमध्ये कसैलाई पनि चिन्दैनथ्यो । चिन्दैन भन्नु छापामा ती भीआईपीका नाम पढ्थ्यो र टीभीमा अनुहार देख्थ्यो । उसलाई लाग्थ्यो, व्यस्त हुनुपर्नेमा यी यी व्यक्ति मात्र अग्रपङ्क्तिमा पर्छन्, दायित्वले वा आवश्यकताले । अरू त्यति चर्चामा आउँदैनथे । bhaupanthi
गौरव चिया पसलमा पसेको छ । यो आवश्यक कार्य थिएन तर उसलाई भाउन्न भइरहेको थियो । आज उसको फोन बीचैमा काटेर मणिजीले उसको उपेक्षा गरिदिएका छन् तर मणिजीमाथि यो आक्षेप एकतर्फी हुने थियो । वास्तविकता थाहा नपाई त्यसै मनगढन्ते आक्षेपले आरोपित गर्नु असामाजिक व्यवहार मान्न सकिन्थ्यो । मणिजीले थाहा पाए भने अर्थात् ऊ कुनै अज्ञात चिया पसलमा पसेर उनीमाथि काल्पनिक आक्षेप लगाउँदै मुर्मुरिएको छ भन्ने थाहा पाएदेखि हुनसक्छ उनले आफ्नो मोबाइलबाट उसको नम्बर डिलिट गरिदिऊन् ? हुन सक्छ, तर पक्का छैन । मोबाइलबाट नामै त डिलिट हुने हो, पृथ्वीबाट अस्तित्व मेटिजाने त होइन नि !
मणिजीले फोन उठाएको दिन सहजै सोध्ने गर्थे– ‘के छ भाइ ?’ मानौँ ऊ उनको मुख्य कार्यकर्ता हो जसलाई उनी जसरी पनि चिन्दछन् र जति बेला पनि चिन्दछन् वा मोबाइल नम्बरले चिन्दछन् । चिनेका त उनले मोबाइल नम्बरबाटै हो । उसले आफ्नो परिचय दिनै पर्दैनथ्यो । मोबाइलमा उसको नाममा उसकै नम्बर सेभ गरिएको छ भने परिचय दिनैपर्ने खण्ड थिएन । तर के भने, आफ्नो महìव आपैmँ स्थापित गरेर आत्मसन्तुष्ट हुन गौरवले यस्तो सोच्यो । सोच्दैमा के नै जाने हो र ? सोच्ने फुर्सद पनि छ । अर्डर अनुसार चिया आइसकेको छ । अगाडि चियाको गिलास छ । तातै छ । सेलाउन टाइम पनि लिने भयो । त्यसबीच सोच्न सकिन्छ । चिया पसल कपवाला थिएन, अभैm पनि सिसाकै गिलासको परम्परावादी सोचमा जमेको पसल थियो ।
चुरोट गौरवले छाडिसकेको छ पत्नी शिवाको आग्रहमा । क्यान्सरको डर हुन्छ भनिन् । धूमपान निषेध । बाहिर कतै चुरोट खाएको थाहा पाएँ भने मेरो हत्या गरेको पाप लाग्नेछ भनेर वाचा गराइन् । पापदेखि उति डर थिएन जति कानुनका प्रतिनिधि प्रहरीदेखि डर लाग्थ्यो । पत्नीको हत्या गरिहाल्नुपर्ने खण्ड पनि थिएन । अपराध व्यक्तिको जिनमै हुन्छ कि ? तर पत्नीहरूको हत्या भइरहेछ धमाधम ।
उसकी पत्नी पनि महिला त हो, उसको अपराधवृत्ति जाग्यो भने कति नै प्रतिरोध गर्न सक्छे र ? यस्तो सोच्नु भएन, मणिजीले फोन बीचैमा काटे भन्दैमा पत्नीलाई अचानोमा राख्ने विचार तन्काउने । यो बडो अन्याय हुनेछ । अमेरिका हुँदो मानिस डिपे्रस्ड भएर बन्दुकले आठ÷दस जना सहजै मारिदिन्छन् । त्यहाँ सजिलै आग्नेयास्त्र किन्न पाइन्छ । सजिलै आग्नेयास्त्र किन्न पाइन्छ भन्दैमा जथाभावी निर्दोषहरू मार्दै हिँड्नु जायज होइन । त्यो त हो ।
तर आजकै दिन गौरवको मोबाइल कल मणिजीले बीचैमा काटिदिए । ‘हँ–हुँ’ गरे । फोनमा खासै जवाफ दिएनन् । खासै जवाफ के हुन सक्थ्यो ? खास माने गौरवले रकम सापट माग्ने विचार गरेको थियो कि ? सापट माग्छ भन्ने गन्ध उनीसम्म फोनमार्पmत पुग्यो कि ? उसको विचार दिमागमा थियो तर उताको मोबाइलको स्क्रिनमा कसरी देखाप¥यो ? गन्धै गयो भने साइन्सले त्यति प्रगति गरिसकेको पक्कै छैन । उसको विचार मणिजीको मोबाइलको स्क्रिनमा देखा नपरी उनले बीचैमा संवाद किन स्थगित गरे ?
साइन्सले त्यतिविधि प्रगति गरिसकेको हुन पनि सक्छ । यता व्यक्ति मोबाइल उठाएर कुरा गर्न खोजिरहेछ, उता रिसिभ गर्नेको मोबाइलमा व्यक्तिले भन्न चाहेको कुराको विचार–खाका स्क्रिनमा आइसकेको होस् । साइन्स र जादुमा खासै अन्तर रहेन । जादु भनेको हातको सफाइ हो भन्छन् तर साइन्स त्यस्तो होइन । त्यस्तो होइन भने साइन्स हो के त ? ‘साइन्स वास्तविकता हो,’ यति मात्र परिभाषा गर्न सक्थ्यो गौरव । अध्ययन छुटेको धेरै भयो । शब्दहरूको संयोजनमा कमजोर भएको छ । कुनै नेताको भाषण सुनेदेखि साइन्सको परिभाषा पाउन सकिन्छ । जनजीवनमा नेताहरू नै विज्ञ भएर अगाडि आइरहेका छन् । समयको देन ।
यति व्यङ्ग्य सोचेपछि उसले चियाको पहिलो सुर्को तान्यो । चिया मनतातोमा गइसकेछ । विचार निमग्नता लम्बिएछ । तातो चियाका लागि अर्को एक गिलास मगाउनु व्यर्थ छ । पैसाको नाश । चिया त घरैमा खान पाइन्छ तर गौरव ट्र्याकमा फर्कियो । मणिजीले किन त्यसो गरे ? मणिजी एक शिष्ट व्यक्ति हुन् । मान्यता त्यही थियो । केही परेको होला । जाममा थिए कि ? उनी प्रायः बाइकमा हिँड्छन् । राजधानीको जामको एउटा स्वभाव छ । मणिजी भन्छन्– ‘बिना जामको राजधानी के राजधानी ?’
गौरव पैदलै हुन्छ । जामको बीचबाट बाटो छिचोल्न पनि धौ धौ पर्छ । बाइकमा भएको मान्छेले त्यसो भन्नु स्वाभाविक हो । बाइकबाट ओर्लेर काँधमा बोकेर जामबाट निस्किन सकिँदैन तर आज मणिजीमा अर्कै जाम परेको हुनसक्छ । चाकरीमा धाएको भीआईपीसित भेट हुन सकेन होला । उनले ताकेको पदमा अर्कै कुनैको नियुक्ति भयो कि ? मुड अफ हुन पनि सक्छ । यो पनि हुन सक्छ, यो गौरव भन्नेसँग अब टाढिनु ठीक छ । एउटै जिल्लाको हो । काठमाडौँमै लामो समय बसेको छ । जहिले पनि फोन गर्छ तर काम केही हुन्न । कुनै बेला अत्यन्त जरुरी कामले हिँडिएको हुन्छ, बीचमा यसको फोन आइदिन्छ । केके न होला भनेर बाइक सडकछेउ लगाएर मोबाइलमा कान लगायो । खासै केही काम हुँदैन । ‘दाइ म गौरव । आरामै ?’
‘म गौरव’ यसरी भन्छ मानौँ आज बिहान मात्र राजदूतमा नियुक्त भएको छ । बधाई थाप्न फोन गरेको छ । अनि सोधेको पनि के ? ‘आरामै ?’ यति मात्रै सोध्छ । आरामबिराम जे छ, त्यसको लेखाजोखा राख्ने जिम्मा लिएजस्तो । काम छैन कि क्या हो ? तर मानवीय शिष्टता भन्नु पनि केही हुन्छ । मणिजी सबै कुराको जवाफ दिन्छन् । शान्त स्वरले अन्त्यमा, ‘लौ त भाइ पछि भेटौँला,’ भन्छन् ।
‘पछि’ आउँछ, आउँदैन त्यसको ठेगान छैन ।
‘दाइ आज भेट्नु थियो’ गौरव यस्तो भन्न चाहन्थ्यो । बीचैमा फोन काटियो । सञ्चारको टावर ठीक छैन र हो कि ? मणिजीले ‘होस् भाइ, म पछि फोन गरुँला’ पनि भनेनन् । सधैँ त्यस्तो भनेर फोन काट्ने गर्थे र ? गौरवले त्यो सम्झिन सकेन । आजै फोन सम्पर्क बिग्रिनु पर्ने ? मणिजीलाई भेटेर ऊ जे भन्न चाहन्थ्यो, त्यो उसले फ्ल्यास गरेन । मनैमा राख्यो । त्यसबारे ज्ञापन निकालेर फाइदा छैन । सोच्यो, ‘मेरो व्यथा मैसँग रहोस् ।’
एक पटक फेरि ट्राइ गर्नु ठीक होला । गौरवले चिया सकेपछि त्यस्तो सोच्यो । जान दे, मणिजीले ठीकसँग जवाफ दिने मनशाय नै देखाएनन् भने अब किन फेरि कल गरिरहनु । उसको कल हो भनेर काटिदिए भने ? झन् अर्को बेइज्जती । इज्जतै छ के र ? मानिससित कुन विन्दुमा एकाएक सम्बन्ध खराब हुन थाल्छ थाहै हुँदैन ।
गौरवले खल्ती छाम्यो । धन्न चियाको तिर्न पुग्ने पैसा रहेछ ।
ए यस्तो पनि हुनसक्छ, उसको मोबाइलमा पैसा सकिनै लागेको थियो कि ? होस्, अब हेरेर के फाइदा ? रिचार्ज गर्ने पैसा अहिले छैन भनेपछि । त्यसमाथि पैसै सकिएको रहेछ भने मणिजी क्षम्य हुनेछन् । मनभित्र क्लेश बोकेर हिँड्दा अर्कै भइन्छ । कहिले त मेरो पनि दिन आउला भन्ने भावना । दिन कहिले आउला ? सधैँ त एक नयाँ दिनको बिहान भइरहन्छ । यद्यपि बिहान त आज पनि भएकै हो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds