सगरमाथामा राष्ट्रसेवक

sabita_1 सविता शर्मा

छिरिङले मलाई लतार्दै तल ल्याउनुभएको थियो । माथिभन्दा तल अक्सिजनको मात्रा बढी हुन्छ । अक्सिजनको प्रेसर कम थियो, सकिँदैछ भन्ने थाहा थियो । त्यसैले तल गएर अर्को सिलिन्डर लगाउँछु भनेर छिटो हिँडेको थिएँ । त्यतिकैमा अक्सिजन सकियो । स्याँस्याँ हुन थाल्यो । यसो घोप्टो पर्दै थिएँ, मैले त धमिलो देखेंँ र बेहोस भएँ । .....
चुचुरोमा पुगेपछि अरूले अक्सिजन फेर्नुभएछ । मैले फेरेको थिइन, मेसिन सेट गर्नतिर लागेँ । अक्सिजन बोकेको भाइले मैले पनि फेरिसकेको ठानेछन्, उनको खुट्टामा समस्या भएको थियो, त्यसैले तल झरेछन् । फेर्न नपाएर पनि मेरो अक्सिजन सकिएको हो । म जाँदा छिटो पुगेको थिएँ, झन्डै दुईघण्टा चुचुरोमै बसेँ । ....
रविन बेहोस भएर लड्नुभयो । हामीसँग अक्सिजन थिएन, उहाँको आशै मार्ने अवस्था आयो । नेतृत्व गरेको हुँदा मलाई त रविनलाई कसरी बचाउने भन्ने छटपटी भयो तर खास उपाय थिएन । हामीलाई पथ प्रदर्शन गरिरहनुभएका छिरिङ जाङ्बु शेर्पा यो क्षेत्रमा निकै लोकप्रिय । यति नै बेला उहाँलाई कसैले चिनेर बोलायो र तत्कालै सहयोग गर्नुभयो । हामीले त्यो अक्सिजनले साथीलाई बचाउन पायौँ । फर्कने बेलामा आठ हजार छ सय मिटरको उचाइमा रविनको अक्सिजन सकिएको थियो । ....
सगरमाथाको शिखर चुम्नु अत्यन्त चुनौतिपूर्ण काम, पुनर्जन्म पाएर फर्किएको जस्तो । शिखर चुम्ने रहरमा धेरैले ज्यान गुमाइसकेका छन् । आफ्नो जीवनको पर्वाह नगरी लिइने लक्ष्य हो, सगरमाथा आरोहण । सबैसँग यस्तो जोखिम मोल्ने साहस र आत्मविश्वास हुनै सक्दैन । gautam_1
निजामती सेवामा प्रवेश गर्नेको ध्याउन्न श्रेणीगत तह उक्लँदै उच्च तहमा कसरी पुग्ने भन्ने हुन्छ तर प्रमुख नापी अधिकृत खिमलाल गौतम र नापी अधिकृत रविन कार्की उक्लँदै हुनुहुन्थ्यो सगरमाथामा । उद्देश्य चाहिँ सगरमाथाको चुचुरो चुम्ने थिएन, यसको मापन गर्ने थियो । त्यो पनि मापनमा प्रयोग हुने अत्याधुनिक मेसिनबाट । चुचुरोमा भएका र सगरमाथामा अवस्थित जमिनको सतहमा रहेका आठवटा नियन्त्रण विन्दुसँग सम्पर्क जोडेर नाप्नुपर्ने थियो ।
समस्या अक्सिजनको अपर्याप्तमा मात्र सीमित थिएन । सगरमाथा मापनका लागि लगिएका मेसिनलगायतका सामग्री बोकेर गएका दुई जना शेर्पा स्वास्थ्यमा समस्या आएपछि क्याम्प नं. ३ र ४ बाट फर्किएका थिए । उनीहरूले बाकेको भारी पनि आफैँले बोक्नुप¥यो । प्राविधिक कामका लागि मात्र हिँडेकाहरू आफैँ भरिया पनि बन्नुप¥यो ।
माथि चढ्दा मौसम प्रतिकूल भइदियो । त्यसले गर्दा साउथ कोल अर्थात् आठ हजार मिटरमा उहाँहरूले दुई रात बिताउनुप¥यो, जुन जीवनका लागि निकै खतरनाक मानिन्छ । त्यहाँ लामो समय बस्दा अक्सिजनको कमीले मानिसको दिमागी हालत बिग्रन्छ र सही निर्णय गर्नसक्ने अवस्था रहँदैन । अधिकृत कार्कीले झर्ने क्रममा आफूलाई पनि दिमागमा भ्रम सिर्जना भएको सुनाउनुहुन्छ, “यस्तो उचाइमा अक्सिजनको कमीका कारण धेरैको दिमागी हालत ठीक हुन्न । गलत निर्णयहरू लिने सम्भावना बढी हुन्छ । मैले पनि कसैले बोलाएको जस्तो सुनिरहेको थिएँ । कतिपय शेर्पाहरू मलाई चाइनिज परीले बोलायो म जान्छु भनेर हाम फालेका छन् रे ! शक्ति क्षीण हुँदा कतिपय अवस्थामा ज्यान छोड्दिउँजस्तो हुँदोरैछ ।”
चढ्दाखेरि हिउँको पहिरो आइरहेको थियो । डर पनि लागिराथ्यो तर आत्मविश्वास र जोश कम भएको भने थिएन । क्याम्प ३ मा पुग्नेबेलामा ढुङ्गा झरिरहेका थिए, खुट्टा राम्रोसँग चलेको थिएन ।
फर्किंदा इनर्जी एकदमै लेस भयो, केही ठाउँमा खुट्टा चिप्लिए । क्याम्प ४ मा आउँदा खुट्टा लर्खराए । एक ठाउँमा टेक्छुभन्दा अर्को ठाउँमा टेकिन्थ्यो । पानी खानलाई थर्मसको बिर्को खोल्दा खोल्न सकेनौँ, थर्मसको बिर्कोनिर निस्केको पानी जमेर बिर्को खुलेन ।
क्याम्प ४ बाट मेसिन बोकेर गएका एक जना फर्कंदा र अक्सिजनको कमी भएका कारण पथप्रदर्शक छिरिङले जाङ्बु शेर्पाले पनि हार खाने अवस्था आयो । उहाँले क्याम्प २ मा झरेर मेसिन बोक्नका लागि अरू शेर्पालाई बोलाउने सल्लाह गर्नुभयो । त्यतिबेला काम सम्पन्न गर्न नसकिने अवस्था आउन लाग्दा सबैजना सँगै रुनुप¥यो ।
प्रमुख गौतमले भन्नुभयो, “आठ हजार मिटरमा कार्यक्रम असफल हुने अवस्था आउँदा हामी सबैजना रोयौँ । हामीसँग पर्याप्त अक्सिजन थिएन । छिरिङले जिन्दगी खेर फाल्न सकिँदैन सर भन्नुभयो । एक दिन बरु ‘रिस्क’ लिउँ भने । व्यवस्थापकीय समस्याका कारण चुनौती भोग्नुप¥यो । अहिले पनि सम्झिँदा रुन मन लाग्छ । यसमा नापी विभागको दोष छैन । आठ हजारमा बस्नु भनेको जीवनका लागि निकै खतरनाक हो तर नबस्दा हाम्रो कार्यक्रम असफल हुन्थ्यो । गाइडले ‘यो प्रोजेक्ट क्यान्सिल भयो’ भन्दा मैले ‘यो हुन सक्दैन, हामीलाई प्रधानमन्त्रीले माला र टीका लगाएर पठाउनुभएको छ’ भनेर अडान लिएँ । त्यहाँ निर्णय गर्न निकै गाह्रो थियो ।”
कार्की थप्नुहुन्छ, “रुन मन लाग्यो, आँसु आयो, चुचुरोतर्फ लाग्नेबेलामा गएका सहयोगीले सक्दिन भन्दा रिस उठेको थियो । हामी सबै जनाको आँखाबाट आँसु बगिरहेको थियो । त्यतिबेला मर्न परे मर्दिन्छु तर यो काम जसरी भए पनि गरेरै छोड्छु भन्ने जोश आएको थियो । राष्ट्रगान बज्ने बेलाजस्तै म जुरुकजुरुक भएको थिएँ । राति उठेर खिमलाल सर रुनुभएको थियो, हाम्रो उद्देश्य पूरा नहुने भयो भनेर । साउथ कोलबाट साँझ नै माथि जाने योजना थियो तर त्यहीँ बस्नुप¥यो । हामीसँग एउटा मात्र सिलिपिङ ब्याग थियो ।”
पर्याप्त अक्सिजन नहुनु, मौसम प्रतिकूल हुनु र सँगै गएका दुईजना सहयोगी फर्कंदा उहाँहरूले थप कष्ट बेहोर्नुप¥यो । गौतम भन्नुहुन्छ, “आठ हजार मिटरमा रात बिताउने सबैभन्दा चुनौतिपूर्ण निर्णय गरेँ भन्ने लाग्छ । हामी अन्तिम र विक्षिप्त अवस्थामा थियौँ, सहकर्मी रविनलाई निकै कठिन परिस्थितिबाट फिर्ता ल्याउन पाउँदा खुसी लागेको छ ।’’
आठ हजार दुई सय मिटरमा आउँदा लडेर दुईवटा खुट्टामा समस्या भयो गौतमको । एक हप्ता नर्भिक अस्पतालको उपचारपछि घर फर्कनुभएको छ तर बायाँ खुट्टाको बूढी औँलाको टुप्पो काट्नुपर्ने भएको छ ।
माथि पुग्दा त मृत्यु सामान्य कुरा हो भन्ने लाग्छ ! यस वर्ष पनि धेरैको मृत्यु भयो । रसियन नागरिकको एक वर्षअगाडिको लासको हातमा घडी चलिरहेको थियो कति ‘ओरिजिनल’ रहेछ !
लासका बीचबाट हिँडेको अनुभव बाँड्दै कार्कीले भन्नुभयो, “अरूको लास देख्दा मेरो हालत पनि यस्तै हुने हो कि जस्तो लाग्यो । एकजना भारतीयको लास देखेर पनि हेरिन, पछि सोचे जति भाग्न खोज्यो त्यति नै त्यो समस्याले सताउँछ भनेर पछि फर्केर हेरेँ, फोटो पनि खिचेँ । आँखा डुलाउँदा धेरै लास र हड्डीहरू देखिन्थे ।”
चुचुरोमा पुगेपछि कार्यक्रम सम्पन्न भयो भनेर अङ्कमाल ग¥यौँ, गौतमले चुचुरोको खुसियाली सम्झनुभयो । नेतृत्व गरेका कारण धेरै कुरामा ध्यान पु¥याउनुपथ्र्यो । रविनजीले पनि निकै राम्रो काम गर्नुभयो । कुनै स्टेप बिग्रन्छ कि ? मेसिन हावाले पल्टाइदिन्छ कि ? घाइते भएर लडिन्छ
कि ? मेसिन बिग्रन्छ कि भनेर भुइँमा राख्दा पनि म गाली गर्थें । सफल भएपछि सबै सङ्कट बिर्सियो । मेरो घाउभन्दा यो देशको उपलब्धि ठूलो हो भनेर निकै खुसी छु ।
चुचुरोमा आफू एकदमै उत्साही नभएर सामान्य रूपमा रहेको उल्लेख गर्दै कार्कीले भन्नुभयो, “आफूलाई सामान्य राख्न सक्नुपर्ने रहेछ । बिहानको तीन बजे चुचुरोमा पुगेका थियौँ, उज्यालो भएर तल हेर्दा स्वर्गमा पुगेजस्तो ! आफ्नो मुनि आकाश चम्केको !” 
चुचुरोमा पुगिसकेपछि हात खोलेर (पन्जामा मात्र) माइनस ४३ डिग्री सेल्सियसमा मेसिन सेटअप गर्नुप¥यो । हावा चल्थ्यो, ट्राइपड समात्नुपथ्र्यो । चुचुरोमा भन्दा पनि आठ हजार मिटरमा धेरै कष्ट भोग्नुप¥यो । छिरिङ नभएको भए हामी बाँच्न सक्दनथ्यौँ, गौतम भन्नुहुन्छ ।
परिवार नसम्झने होइन तर आधार शिविरबाट माथि लागेपछि कसैको याद गर्न सकिँदैन । घरपरिवार, इज्जत प्रतिष्ठा सम्झिए केही गर्न सकिन्नथ्यो । बेस क्याम्पमा चाहिँ किन यस्तो निर्णय लिएँ हुँला भन्ने लाग्थ्यो बेलाबेला गौतमलाई । तर, यो कामका लागि परिवारबाट पूर्णरूपमा व्यवधान हुँदाहुँदै पनि उहाँले राष्ट्रको गहन जिम्मेवारीलाई ग्रहण गर्नुभयो । नेपालीले पनि यस्तो काम गर्न सक्छन् भन्ने सन्देश दिनु थियो उहाँलाई । हुन पनि आफूको कार्यबाट नापी विभागकोे छवि उँचो भएकोमा औधी खुसी लागेको छ गौतमलाई । gautam1
साढे दुई दशक मात्र पार गरेका अविवाहित कार्कीलाई चाहिँ जस्तोसुकै विपत्तिमा पनि घर परिवारको याद आएनछ । अविवाहित हुनु आफ्नो बलियो पक्ष रे ! आधारशिविरबाट हिँड्नेबेला आमा बुवालाई फोन गर्नुभयो अनि कसैलाई सम्झनुभएन । सानोमा निमोनिया भएकाले आमाले चिसो लाग्छ भनेर चिन्ता गर्नुभएको थियो, नगइदिए हुन्थ्यो भन्ने आमाको आशय थियो । तर, ‘म पहिलेदेखि नै आफूलाई फिट बनाइरहेको थिएँ । बेस क्याम्प नपुग्दै बिरामी भएँ, ज्वरो आएको थियो । ठीक हुन पाइन भने म जान पाउँदिन भनेर मन खिन्न भएको थियो ।’ लक्ष्यको हुटहुटी मात्र रहेको सुनाउनुहुन्छ कार्की ।  
नापी कार्यालय कास्कीका प्रमुख गौतमले यसअघि पनि इतिहास रचिसक्नुभएको छ । उहाँ सगरमाथा आरोहण गर्ने पहिलो निजामती कर्मचारी हुनुहुन्छ । सन् २०११ को नेपाल भ्रमण वर्षमा उहाँले नेपाल निजामती कर्मचारी प्रथम सगरमाथा आरोहण अभियानमा सगरमाथाको आरोहण गर्नुभएको थियो । त्यतिबेला सगरमाथा आरोहण गर्ने नौ जना कर्मचारीमध्ये उहाँ सबैभन्दा कम उमेरको हुनुहुन्थ्यो ।
यसैगरी सगरमाथा आरोहण गर्ने सबैभन्दा माथिल्लो (उपसचिव) स्तरको कर्मचारी पनि आफू नै रहेको उहाँको दाबी छ । दुईपटक सगरमाथा आरोहण गर्ने पहिलो कर्मचारी पनि उहाँ नै हुनुभएको छ । नेपालको सर्भेयर नै गएर काम गर्ने पहिलो टिम पनि उहाँहरूकै हो ।
सगरमाथाको चुचुरो चुम्नुभन्दा कयौँ कठिन काम हो यसको मापन । मृत्युसँग जुध्दै यस्तो कठिन जिम्मेवारीलाई सम्पन्न गरी उहाँहरू फर्कनुभएको छ । यो राष्ट्रियतासँग पनि जोडिएको छ । नेपालमा भएको संसारको सर्वोच्च शिखर सगरमाथाको उचाइ नेपाल आफैंँले मापन गरेको थिएन । नेपालकै साधन स्रोतमा पहिलोपटक सगरमाथा मापनको काम गरिएको हो । मापनमा धेरैको सहभागिता रहे पनि सबैभन्दा चुनौतिपूर्ण कामको जिम्मेवारी गौतम र कार्कीले पूरा गर्नुभयो । उहाँहरू मृत्युसँगको पौँठेजोरीमा विजयी हुनुभयो । यो साहस र आत्मविश्वास उत्प्रेरक हो, राष्ट्रको सिन्दुर ! राष्ट्रसेवकले राष्ट्रको गहन जिम्मेवारी पूरा गर्नैपर्छ । झन् यो कार्य त राष्ट्रियतासँग जोडिएको विषय हो ।

 चुचुरोमा मापन
यही जेठ ८ गते बुधबार बिहान ३ बजे गौतमको टोली सगरमाथाको चुचुरोमा पुगेर मापनको काम सम्पन्न गरी फर्किएको हो । चुचुरोमा एक घण्टा १६ मिनेट मेसिन राखी मापनको काम गरिएको थियो । सगरमाथा मापनका लागि जि. एन. एस. एस. रिसिभर र जीपीआर मेसिन चुचुरोमा लगिएको थियो । उक्त मेसिनमध्ये पहिलोले उचाइर त्यहाँको अवस्थिति नाप्छ भने जीपीआरले हिउँको गहिराइको सूचना दिन्छ ।
मापन कार्यबारे प्रष्ट्याउँदै प्रमुख गौतमले भन्नुभयो, “हामीले लगभग ४६ सय तथ्याङ्क सङ्कलन गरेर आएका छौँ । हामीसँग एक घण्टा १६ मिनेटमा एक सेकेन्ड इकोको जीएनएसएस रिसिभ गरेको स्याटेलाइट रिसिभर डेटाहरू छ । लगभग ५२ वटा स्याटेलाइटबाट तथ्याङ्क पनि सङ्कलन भएको छ । सर्वोच्च शिखर सगरमाथाको चुच्चोमा मेसिन सेटअप गरेर त्यति लामो समय रेकर्ड लिनु वास्तवमै ऐतिहासिक काम हो । यसभन्दा अघि नेसनल जियोग्राफी सोसाइटी अमेरिकाले पनि मेसिन लगेर सर्भेक्षण गरेको थियो तर त्यो तथ्याङ्क सर्वमान्य भएन । उनीहरूले अत्यन्त छोटो समय मात्र मेसिन राखेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त टोलीलाई गत चैत २७ गते काठमाडौँबाट बिदाइ गर्नुभएको थियो । टोलीले एक महिनासम्म त्यहाँको वातावरणमा आफूलाई अनुकूलन गराएको थियो । जेठ ३ गते राति टोली आधारशिविरबाट चुचुरोतर्फ लागेको थियो । प्रमुख नापी अधिकृत गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल मापन कार्यमा संलग्न हुनुहुन्थ्यो । गौतम र कार्की मापनका लागि सगरमाथा आरोहण गर्नुभएको थियो भने भण्डारी र धिताल आधारशिविरमा रहनुभएको थियो ।
अनुकूल मौसमको समय पारेर सगरमाथा आरोहण गरिएको हो । अझै कतिपय ठाउँमा मापनको काम सकिएको छैन । सबै क्षेत्रको तथ्याङ्क सङ्कलन गरी प्रोसेसिङ गरेर यकिन उचाइ निकाल्न थप छ महिना लाग्ने छ । गत वर्ष फागुनदेखि बङ्गालको समुद्री सतहबाट सगरमाथाको मापन कार्य सुरु गरिएको थियो ।

सगरमाथा मापनका केही तथ्य
साढे छ दशक अघिदेखि पटकपटक सगरमाथा मापनको काम भए पनि नेपाल सरकारका तर्फबाट पहिलोपटक सगरमाथाको उचाइ मापन गरिएको हो । नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो । नेपालले अहिलेसम्म यसलाई आधिकारिक मान्यता दिएको छ । त्यसैगरी सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए । सबैको मापन फरकफरक निस्किएको थियो । अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनको मापनमा आठ हजार ८४४ मिटर थियो । चीनको मापनमा हिउँलाई घटाएर चट्टानी भागको मात्र उचाइ लिइएको थियो ।
वि.सं. २०७२ को भूकम्पपछि नापी विभागले गरेको सर्भेमा काठमाडौँका विभिन्न ठाउँको उचाइमा परिवर्तन आएको थियो । काठमाडौँ उपत्यका औसतमा ०.९२ मिटर उचालिएको र १.४२ मिटर दक्षिण पश्चिमतर्फ सर्केको निष्कर्ष निस्किएको थियो ।
यसलाई आधार मानेर धेरैले सगरमाथाको उचाइमा पनि परिवर्तन आएको हुनसक्ने अनुमान गरे । त्यसपछि भारतले सगरमाथाको उचाइ नाप्न खोजेको थियो तर नेपाल सरकार आफैँले सगरमाथाको उचाइ मापन गर्ने घोषणा गरेर काम अगाडि बढाएको हो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds