मकवानपुरमा १३८ विद्यालय निर्माण

राममणि दाहाल/मकवानपुर

हेटौँडा, जेठ २९ गते । वि.सं. २०७२ को भूकम्पबाट क्षति भएका विद्यालयको पुनःनिर्माणले पछिल्लो समय गति लिएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मकवानपुरमा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थामार्फत यहाँ विद्यालय निर्माण भइरहेको छ ।
भूकम्पले पूर्णरुपमा क्षति भएका २५२ वटा विद्यालय निर्माण गर्ने कोटा प्राप्त भएकोमा हालसम्म १३८ वटा विद्यालय निर्माण सम्पन्न भएको जनाइएको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरका प्रमुख बद्री पाठकले विद्यालय व्यवस्थापन समितिमार्फत् चार वर्षको अवधिमा २५२ वटा विद्यालयका ८२५ वटा कक्षा कोठामध्ये ५० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार स्टिल ट्रसको दुई कोठे, तीन कोठे तथा आरसीसी पक्की चार, छ र आठ कोठे भवन निर्माण गर्न पुनःनिर्माण प्राधिकरणबाट कोटा प्राप्त भएको छ ।
आर्थिक वर्ष २०७३÷७४ मा ६८ विद्यालयका २२० कक्षा कोठा, आ.व. २०७४÷०७५ मा ६८ विद्यालयका २२० कक्षाकोठा, आव २०७५÷०७६ मा ६५ विद्यालयका दुईसय कक्षाकोठा र चालु आवमा नै थप ५१ विद्यालयका १८५ कक्षा कोठा निर्माण गर्ने कोटा यहाँ प्राप्त भएको थियो ।
विद्यालय भवन ८३ करोड ५८ लाख ६८ हजार रुपियाँको लागतमा निर्माण भइरहेको हो । आर्थिक वर्ष २०७३÷७४ मा ६८ विद्यालयमध्ये ६६, आर्थिक वर्ष २०७४÷७५ मा ६८ विद्यालयमध्ये ५४ निर्माण गरिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा ६५ विद्यालयमध्ये केही विद्यालय निर्माण भइसकेका छन् भने बाँकी निर्माणाधीन छन् ।
शिक्षा इकाइ प्रमुख पाठकले चालु आर्थिक वर्षमा थप ५१ विद्यालय र ७० वटा शौचालय निर्माणका लागि विद्यालय व्यवस्थापन समितिसँग सम्झौताको तयारी भइरहेको जानकारी दिनुभयो ।
यस्तै जापान सरकारको ऋण सहयोगमा निर्माण हुने ४१ विद्यालयमध्ये सातवटा निर्माण सम्पन्न भई तीनवटा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण भइसकेको छ ।
महेन्द्र माध्यामिक विद्यालय भीमफेदी, देवकी मावि फापरबारी र थाहा नगरपालिका १२ टिष्टुङस्थित नेपाल चेम्बर आधारभूत विद्यालय हस्तान्तरण गरिएको छ ।
जापान सरकारको एक अर्ब ५१ करोड रुपियाँको ऋण सहयोगमा ४१ विद्यालयका ४२४ कक्षा कोठा निर्माण हुनेछ ।
एशियाली विकास बैंकको १० करोड रुपियाँ अनुदान सहयोगमा हेटौँडाको हटियामा जनप्रिय माध्यामिक विद्यालयको ४८ कोठे नमूना विद्यालय भवन निर्माणको अन्तिमचरणमा रहेको छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds