थप एक दर्जन स्थानमा सेज


गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २९ गते । यसअघि छनोट गरिएका सातओटा विशेष आर्थिक क्षेत्र(सेज)बाहेक देशका विभिन्न एक दर्जन स्थानमा सेज स्थापनाको तयारी अगाडि बढेको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले त्यसमध्ये कतिपय ठाउँमा सम्भाव्यता अध्ययन पूरा भइसकेको र केहीमा स्थान छनोट मात्र भएको जनाएको छ ।
सेज सञ्चालनमा निजी क्षेत्रलाई पनि सहभागी गराउन सकिने कानुनी व्यवस्थाअनुसार भविष्यका लागि ठाउँ छनोट गरेर अध्ययनको प्रक्रिया अगाडि बढाएको सेज प्राधिकरणका कार्यकारी निर्देशक डा. चन्डिकाप्रसाद भट्टले जानकारी दिनुभयो । ‘‘निजी क्षेत्रले पनि सेज सञ्चालन गर्न पाउने व्यवस्था भएकाले सेज स्थापना गर्ने ठाउँ विस्तार गर्न लागिएको हो’’– उहाँले भन्नुभयो ।
प्राधिकरणले झापाको कमला गाउँपालिका, सिरहाको लहान नगरपालिका, धनुषाको धनुषाधाम नगरपालिका, रौतहटको यमुनामाई गाउँपालिका, नुवाकोटको बिदुर नगरपालिका, बाँकेको राप्ती सोनारी गाउँपालिका र कैलालीको तालवन शिविरमा थप सेज विस्तारको अध्ययन अगाडि बढाएको हो । यसबाहेक स्थानीय निकायका प्रतिनिधिको मागअनुसार चितवन, सर्लाही, सप्तरी, चन्द्रपुर र बर्दियालाई पनि सम्भावित क्षेत्रका रूपमा राखिएको भट्टले जानकारी दिनुभयो । छनोट भएका क्षेत्रमध्ये बिदुर, राप्ती सोनारी र तालवनमा सम्भाव्यता अध्ययन पूरा भइसकेको प्राधिकरणले जनाएको छ । त्यस्तै लहान धुनषाधाम र यमुनामाईमा विस्तृत इन्जिनियरिङ हुने क्रममा रहेको पनि प्राधिकरणले जानकारी दिएको छ । कमल गाउँपालिकामा भने सम्भाव्यता अध्ययन रोकिएको अवस्थामा छ ।
हाल छनोट गरिएका सातओटा सेजबाहेक उद्योग स्थापनाको क्रम बढ्दै जाँदा जग्गाको आवश्यक परेमा त्यसको विकल्पका रूपमा नयाँ ठाउँको पहिचान गरिएको भट्टले जानकारी दिनुभयो । यसअघि प्रत्येक प्रदेशमा कम्तीमा एउटा सेज रहने गरी विराटनगर, सिमरा, पाँचखाल, गोरखा, भैरहवा, जुम्ला र धनगढीमा सेज स्थापनाको प्रक्रिया अघि बढाइएको थियो । त्यसमध्ये भैरहवामा सेज स्थापना भएर उद्योगले उत्पादन सुरु गरिसकेको अवस्था छ । सिमरामा पनि तयारी पोसाक प्रोसेसिङ गर्ने क्षेत्र सञ्चालनको लागि उद्योगबाट आवेदन माग गरेको अवस्था छ । यद्यपि आवेदनमा उद्योगीहरूले खास चासो भने देखाएका छैनन् । पाँचखालमा सेज निर्माणको काम सुरु भइसकेको छ भने गोरखामा सम्भाव्यता अध्ययनको काम पूरा भएको छ । जुम्लामा विस्तृत इन्जिनियरिङ अध्ययन सम्पन्न भएको र धनगढीमा विस्तृत सम्भाव्यता अध्ययन पूरा भएको अवस्था छ ।
सरकारले निर्यातमूलक उद्योग प्रवद्र्धन गर्ने उद्देश्यसहित आवश्यक पूर्वाधार निर्माण गरेर २०६० साल माघ १५ गते विशेष आर्थिक क्षेत्र आयोजना स्थापना गरेको थियो । २०७३ असोज १८ गते सेज प्राधिकरण स्थापना गरी अहिले त्यसै अन्तर्गत सेज सञ्चालनको काम अगाडि बढाइएको छ । बढ्दो व्यापार घाटा कम गर्न सेजमा स्थापना हुने उद्योगले ६० प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान राखिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds