नेकपा संसदीय दलको कार्यालय अझै दुई ठाउँमा

गोरखापत्र समाचारदाता

cpn officeकाठमाडौं, जेठ ३० गते । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएको एक वर्षभन्दा बढी भइसक्यो तर ठाउँ अभावका कारण नेपाल कम्युनिस्ट पार्टी (नकेपा) संसदीय दलको कार्यालय अझै  व्यवस्थित हुन सकेको छैन ।  तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रको जहाँजहाँ संसदीय दलको कार्यालय थियो, हालसम्म त्यही ठाउँमा रहेको छ । सांसदहरूको प्रशासनिक काम पनि पुरानै संसदीय दलको कार्यालयमा भइरहेको छ ।
संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ र सचेतक शान्ता चौधरीको कार्यकक्ष पूर्व एमालेको संसदीय दलको कार्यालयमा छ भने पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख सचेतक देव गुरुङ, राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माको कार्यकक्ष पूर्वमाओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छ ।
केही समय पहिले पूर्व एमालेको संसदीय दलको कार्यालयमा एकीकृत पार्टीको संसदीय दलको कार्यालय राख्ने निर्णय गरी त्यसको तयारी थालिएको थियो । त्यसका लागि कोठाहरुको मर्मत सम्भार गर्नुको साथै फर्निचरहरुको व्यवस्था गर्ने काम पनि शुरु भएको थियो तर भवन पुरानो भएको र सबैलाई ठाउँ नपुग्ने भनेर मर्मत सम्भारको काम स्थगित गरिएको संसद सचिवालयका एक कर्मचारीले जानकारी दिनुभयो ।
संसदीय दलका अधिकृत शैलेन्द्र घिमिरेले दुइटै पार्टीको संसदीय दलको कार्यालय एकैठाउँमा राख्न सिंहदरबारमा ठाउँको अभाव रहेको उहाँले बताउनुभयो । ठाउँ खोज्ने काम भइरहेको र नपाएसम्म दुवै ठाउँमा कार्यालय रहने उहाँले बताउनुभयो ।
हालसम्म नेकपा संसदीय दलको बैठक सिंहदरबारमा बसेको छैन । दुईसय १३ सदस्य संसदीय दलको बैठकका लागि सभाकक्षको अभावका कारण बानेश्वरस्थित संसद् भवनमा बैठक बस्ने गरेको छ भने कहिलेकाहीँ प्रधानमन्त्री निवास बालुवाटारमा पनि बस्ने गरेको छ ।
संसदीय दलको दोस्रो भवनको चौथो तल्लामा पूर्वमाओवादी केन्द्रको संसदीय दलको कार्यालय छ भने पाँचौं तल्लामा तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालको संसदीय दलको कार्यालय छ । फोरम नेपाललाई अन्यत्र सारेर दुवै तल्लामा नेकपा संसदीय दलको कार्यालय राख्ने छलफल भइरहेको संसदीय दलमा कार्यरत एक कर्मचारीले जानकारी दिनुभयो ।
एकै ठाउँमा नेकपाको कार्यालय नहुँदा काम गर्न समस्या भइरहेको त्यहाँ कार्यरत एक कर्मचारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसदीय दलका नेताको काम प¥यो भने पूर्वएमालेको कार्यालयमा जानुपर्छ भने प्रमुख सचेतकको काम प¥यो भने पूर्वमाओवादी केन्द्रका संसदीय दलको कार्यालयमा जानुपर्छ ।’
राष्ट्रियसभा, संसदीय दलका नेता दिनानाथ शर्माले एकैठाउँमा संसदीय दलको कार्यालय राख्न आवश्यक रहेको बताउनुभयो । राष्ट्रियसभाका सांसदबीच समन्वय भइरहेको बताउँदै उहाँले ठाउँ अभावले एकैठाउँमा दलको कार्यालय हुन नसकेको जानकारीे दिनुभयो ।  नेकपाका सांसद विरोध खतिवडाले भन्नुभयो, ‘ठाउँ अभावकै कारण एकै ठाउँमा संसदीय दलको कार्यालय व्यवस्थापन हुनसकेको छैन ।’

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds