वातावरणीय मापदण्ड : कतिपय उद्योग अझै कमजोर

ईश्वरचन्द्र झा

काठमाडौं, जेठ ३० गते । देशको मध्य तथा पश्चिमी तराईमा सञ्चालित कतिपय उद्योगले वातावरणीय मापदण्डलाई पूर्ण पालना नगरेको पाइएको छ । अद्यावधिक भइरहने मापदण्ड पूरा गर्न समय लगाउँदा उद्योगमा काम गर्ने श्रमिक, वरिपरिका सर्वसधारण र वातावरणमा प्रतिकूल असर परेको छ ।  वातावरण विभागले मध्य तथा पश्चिमी नेपालको चितवन, भैरहवा र नेपालगञ्जमा सञ्चालित केही उद्योगको अवलोकन गर्दा वातावरणीय प्रदूषणमा प्रतिकूल असर पर्ने गरी सञ्चालन भएको पाइएको छ ।
विभागले चितवनस्थित बोटलर्स नेपाल, भैरहवास्थित पञ्चकन्या आइरन उद्योग, रुपन्देहीको मैनियाँस्थित अर्घाखाँची सिमेन्ट र नेपालगञ्जस्थित शिखर प्लाइ उद्योगको अवलोकन गर्दा वातावरण संरक्षणप्रति गम्भीर नभएको देखिएको हो । मापदण्ड पूरा गर्न उद्योगहरू लागिरहेका छन् ।  विभागका केमिकल एनालिस्ट केशव पौडेलले शिखर प्लाई उद्योग र अर्घाखाँची सिमेन्टमा धुलोको कणको मात्रा बढी देखिएको बताउनुभयो । प्रदूषण न्यूनीकरणको प्रयास दुबै उद्योगले सुरु गरिसकेको उहाँले दाबी गर्नुभयो ।
अर्घाखाँची सिमेन्टले दैनिक एक हजार ३५० टन सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगमा २५० जना श्रमिक कार्यरत छन् । प्याकेजिङ प्लान्टमा कार्यरत श्रमिकले आँखा र नाक छोपेर काम गरेको देखिएन भन्दै विभागका पौडेलले उद्योगका महाप्रबन्धक उद्धबबहादुर पाण्डेलाई त्यसबारे ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो ।
महाप्रबन्धक पाण्डेले भने सुरक्षाका लागि ‘मास्क’, ‘हेलमेट’ लगायत सामग्री उपलब्ध गराए पनि प्रचण्ड गर्मीका कारण श्रमिकले प्रयोग नगरेको दाबी गर्नुभयो । उद्योगले प्याकेजिङ्ग बाहेकको क्षेत्रमा धुलो नियन्त्रण र न्यूनीकरण गर्न ‘डिटेक्टिङ्ग फिल्टर’ लगाएको छ तर त्यसले प्रदूषण हुने पूरै क्षेत्रलाई समेट्न सकेको छैन् । उतm प्रविधिले जम्मा भएको सिमेन्टको धुलोलाई पुनः प्रयोगमा ल्याउन भने सहयोग पुगेको छ ।
सिमेन्ट उद्योगको परिसरमा धातुले निर्मित सडक हुनुपर्ने मापदण्ड तय गरिएको छ । तर पाँच बिघा क्षेत्रफलभन्दा बढी परिसर रहेको अर्घाखाँची सिमेन्टमा अझै कच्ची बाटो नै छ ।
नेपालगन्जस्थित शिखर प्लाई इन्डष्ट्रिजले पनि श्रमिकको सुरक्षा र स्वास्थ्य संवेदनशिलतामा ध्यान नदिइको पाइएको छ । उतm उद्योगले लहरे पीपल र सपेताबाट आकर्षक ढोका, टेबल, प्लाई गरेर वार्षिक १७ टन प्लाईजन्य सामग्री उत्पादन गर्दै आएको छ । काठको फ्ल्याक चिर्दा निस्किने धुलोबाट नाक, आँखालाई बचाउन अपनाउनुपर्ने सतर्कतामा उद्योगले चासो दिए पनि श्रमिकले नै नियमित लगाउन नमानेको प्रबन्धक चम्पालाल गौत्रले गुनासो गर्नुभयो ।
उद्योगले चिम्नीबाट उत्सर्जन हुने कार्बनको मात्रा सतहमा कम गर्न दुई महिना अगाडि मात्रै आठसय एमएम व्यास र एकसय फिट उचाइ रहेको चिम्नी जडान गरेको छ ।
वातावरणीय मापदण्ड पूरा गरेर आईएसओ १४०००१ र अन्तर्राष्ट्रिय व्यवस्थापकीय प्रणाली अपनाएर आईएसओ ९००१ जस्ता उपाधिबाट पुरस्कृत पञ्चकन्या स्टिलको परिसर भने अव्यवस्थित पाइएको छ ।
पञ्चकन्या उद्योगले ठूल ठूला फलामको ‘स्ल्याब’ चिरेर डण्डी र स्टिलजन्य सामग्री उत्पादन गर्दै आएको छ । उद्योगलाई विभागले श्रमिकको सुरक्षा र स्वास्थ्यमा गम्भीर बन्न सुझाब दिएको छ । उतm उद्योगमा करीब चारसय श्रमिक कार्यरत छन् । उद्योगका महाप्रबन्धक देवेन्द्र साहुले प्रदूषण न्यूनीकरण गर्न ‘फर्नेस अटोमेशन प्यानल’ जडान गरेको बताउनुभयो ।  बोटलर्स नेपालले जमिनमुनिबाट दैनिक छदेखि सातलाखसम्म लिटर पानी पेयपदार्थ उत्पादनका लागि प्रयोगमा ल्याउने गरेको छ । प्रबन्धक गणेश सुवेदीले यति धेरै मात्रामा जमिनमुनिको पानी प्रयोगमा ल्याएपनि नजिकै जङ्गल र पानीको स्रोत हुँदा पानीको तहमा खासै फरक नपरेको दाबी गर्नुभयो । व्यवस्थित देखिएको उद्योग परिसरमा डिजेल प्लान्टबाट निस्किने ध्वनि प्रदूषण नियन्त्रण गर्न ध्वनि नियन्त्रक उपकरण जडान गरिएको छ ।
उद्योगको अवलोकन गर्नुभएका वातावरण विभागका केमिकल एनालिस्ट केशव पौडेलले वायु प्रदूषण, जल प्रदूषण मापन गर्ने उपकरणसहित नियमित निरीक्षण र परीक्षणको आवश्यकता औंल्याउनुभएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना