६५९ जनाले चढे सगरमाथा

विश्वास रेग्मी

काठमाडौँ, जेठ ३० गते । यस वर्षको सगरमाथा आरोहणका क्रममा आरोहीको अत्यधिक भीडले ‘ट्राफिक जाम’ भई आरोहीको मृत्यु भएको एकोहोरो प्रचार विदेशी सञ्चार माध्यमले गरिरहेका र प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार बीबीसीसँगको अन्तर्वार्तामा आरोहीको मृत्यु ‘ट्राफिक जाम’ का कारण नभएको बताउनुभएको भोलिपल्ट बुधबार पर्यटन विभागले पनि यस्तो प्रचारको खण्डन गरेको छ ।
विभागका अनुसार आरोहणका क्रममा आठ जनाको मृत्यु भएको र एक जना हराइरहेका छन । सगरमाथा आरोहणको क्रममा मृत्यु भएका र चुचुरोसम्म पुग्नका लागि प्रतिक्षामा रहेका आरोहीको तस्बिर सार्वजनिक भएपछि अधिक अनुमति र ‘ट्राफिक जाम’का कारण मृत्यु भएको मन्ने प्रचारलाई विभागले अस्वीकार गरेको छ । यो वर्ष अघिल्लो वर्षभन्दा केही थोरै बढीलाई मात्र आरोहण अनुमति दिइएकाले अधिक अनुमति पत्रकै कारण आरोहीको मृत्यु भएको विषय वास्तविक नभएको विभागको दाबी छ ।everest_2
यस वर्ष ६५९ जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ । जेठको पहिलो हप्तादेखि सुरु भएको यस वर्षको सगरमाथा आरोहणको वसन्तकालीन मौसममा २८१ जना आरोही र ३७८ जना आरोहीका सहयोगी सगरमाथाको चुचुरोसम्म पुगेको विभागले जानकारी दिएको छ । सगरमाथा आरोहणको मुख्य समय मानिने यस मौसमका लागि विभागले यस सिजनाको लागि विभिन्न ४४ ओटा आरोहण दलका ३८१ जना आरोहीलाई अनुमति दिएको थियो । ती आरोहीलाई सहयोग गर्न ६४२ जना गाइड, सरदार र शेर्पा खटिएको विभागले जनाएको छ । सम्बन्धित आरोहण दलका नेता र सम्पर्क अधिकृतले उपलब्ध गराएको तथ्याङ्कको आधारमा आरोहीको सङ्ख्या यकिन विभागका निर्देशक मिरा आचार्यले जानकारी दिनुभयो ।
विभागका अनुसार सन् २०१७ मा ३६६ जनालाई आरोहणको अनुमति दिइएको थियो । अहिलेको अनुमति सङ्ख्या गत वर्षको भन्दा १५ जनाले मात्रै बढी हो । त्यस्तै सन् २०१८ मा ३४६ जनालाई अनुमति दिइएको विभागले जनाएको छ । अघिल्लो वर्षमा दिइएका आरोहण अनुमतिका आधारमा अहिले दिएको अनुमति सङ्ख्या धेरै नभएको अनुमतिकै आधारमा मृत्यु भएको विषयमा ध्यानाकर्षण भएको विभागले जनाएको छ ।
सम्पर्क अधिकृत र सम्बन्धित एजेन्सीले उपलब्ध गराएको विवरणका आधारमा प्रतिकूल मौसम तथा मौसमको सीमित अनुकूलता, अचानक मुर्छा पर्ने, शारीरिक कमजोरी र लेक लाग्ने समस्याका कारण मृत्यु भएको खुल्न आएकाले अधिक अनुमतिपत्र र ट्राफिक जाम यसको कारण नरहेको विभागले स्पष्ट पारेको छ ।

अध्ययन समिति गठन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष हिमाल आरोहणका क्रममा मृत्यु भएका र हराइरहेकालगायत पर्वतारोहणका नीतिगत, कानुनी, संरचनागत, सुधारका लागि सुझाव दिन समिति गठन गरेको छ । मन्त्रालयका जनशक्ति व्यवस्थापन तथा प्रवद्र्धन महाशाखा प्रमुख घनश्याम उपाध्यायको संयोजकत्वमा विभागका महानिर्देशक डन्डुराज घिमिरे, टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)का अध्यक्ष नवराज दाहाल, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामा र विभागका निर्देशक मीरा आचार्यसहित पाँच सदस्यीय अध्ययन तथा सुझाव समिति गठन गरेको हो । समितिलाई यस क्षेत्रका सम्पूर्ण विषयको गम्भिर किसिमले अध्ययन गरेर आवश्यक सुझाव उपलब्ध गराउन जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds