जनता र संसद्बीचको सञ्चार

mukunda sharma_1मुकुन्द शर्मा

हामी तपाईंबाट शासित हुन मञ्जुर छौँ तर तपाईंंले गर्ने शासन हाम्रो मताधिकारको सम्मान गर्ने हुनुपर्छ भन्ने सिद्धान्तका आधारमा राष्ट्रको नीति र विधि तर्जुमा गर्ने जनप्रतिनिधिहरू सम्मिलित संस्था संसद्को प्रत्येक क्रियाकलापको जानकारी दिने महŒवपूर्ण माध्यम सञ्चार हो । समाचारका लागि मात्र नभई, राज्यभित्र वा बाहिरका प्रायः सम्पूर्ण विषयको एकीकृत सूचना प्राप्त गर्ने अत्यन्त महŒवपूर्ण संस्था संसद् हो । संविधान, कानुन वा नियमबाट मात्र निर्देशित वा सञ्चालित नभई असल परम्परा र अभ्भासबाट कार्यसम्पादन हुने जनप्रतिनिधिमूलक संस्था संसद्को विषयवस्तु जे हो, त्यही रूपमा बुझेर सूचना सङ्कलन, विश्लेषण र सम्प्रेषण गर्नुपर्दछ । अन्यथा संसद्को विषेधाधिकार हननको गम्भीर अवस्थाबाट सञ्चार जगत् गुज्रनुपर्ने हुन्छ । संसद्मा भएको छलफलका आधारमा कुनै पनि सांसदलाई कुनै पनि प्रकारको अभियोग लगाउन नमिल्ने र व्यक्त विचारप्रति शङ्का गरी गलत वा भ्रामक रूपमा प्रचार–प्रसार गरिएमा सदनको विशेषाधिकार हनन भएको मानी कारबाही गर्ने अधिकार संसद् स्वयम्मा निहित रहेकाले सञ्चारकर्मीहरू अत्यन्त सजग र सचेत रही संसदीय काम–कारबाहीको सूचना संप्रेषण गर्नुपर्ने हुन्छ ।
संसद्, सांसदको क्रियाकलाप जनसमक्ष र जनताका चाहना र भावना पृष्ठपोषकका रूपमा संसद्समक्ष पु¥याउन सञ्चारकर्मीको अहम् भूमिका रहन्छ । सम्भावना र अवसर कुनै पनि कार्यसम्पादन गर्ने एक पक्ष हो भने प्राप्त सम्भावना र अवसरको प्रयोग के–कसरी गरिएको छ भन्ने अर्को महŒवपूर्ण र अहम् विषय हो । सञ्चारमाध्यम र संसद्को प्रयोग र चर्चा जुन रूपमा वर्तमान अवस्थामा भइरहेको छ, यसतर्फ विचार गर्दा दुवै संस्थाले आफ्नो स्तर उकास्न थप जाँगर, सीप र कौशलको आवश्यकता खड्किएको देखिन्छ ।
संसदीय काम–कारबाही सदा सहज, रोचक नहुने निरस, जटिल र घोचक एवम् हेर्दा कर्मकाण्डीजस्तो लाग्ने भएकाले त्यस्ता विषयलाई सूक्ष्म विश्लेषण गर्दै समाचार रोचक बनाउने कलासमेत सञ्चारकर्मीसँग रहनुपर्छ । सञ्चारमाध्यमहरू संसद् र जनताको सम्बन्ध सेतु बन्न सक्नुपर्दछ । स्वतन्त्र सञ्चार लोकतन्त्रको आधारभूत खम्बा हो । पारदर्शिताको एक आधार स्तभका रूपमा रहेको सञ्चारमाध्यमका प्रत्येक क्रियाकलापले खुला र लोकतान्त्रिक वातावरणमा फस्टाउन खोजेको स्वेच्छाचारिताको अन्त्य गरी सुशासन कायम गर्न अहम् भूमिका निर्वाह गर्नुपर्दछ ।
अरूको त्रुटितर्फ मात्र अत्यधिक ध्यान दिनेले आफ्नो त्रुटिमा ध्यान दिन समय नै पाउँदैन र कुनै गल्ती नै नगर्ने भनिएको व्यक्तिले कुनै काम–कारबाही नै गर्न सक्दैन । त्यसलै हामीले आफ्ना धारणा राख्दा वा काम–कारबाही गर्दा सकारात्मक रूपमा अगाडि बढ्नुपर्दछ । सञ्चार जगत्मा उठेका प्रश्नको सामना योग्य र इमानदार व्यक्तिले मात्र गर्न सक्ने भएकाले संसदीय क्रियाकलापको वाचडगका रूपमा समेत सञ्चार जगत्लाई लिने गरिएको छ । सञ्चारकर्मीहरूका लागि संसद् सूचनाको महŒवपूर्ण स्रोत भएकाले त्यो स्रोतको प्रयोग गर्न सक्ने कला, कौशलले निपूर्ण सञ्चारकर्मीमात्र संसदीय सूचना सङ्कलन, विश्लेषण र सम्प्रेषणको हस्तीका रूपमा स्तथापित हुन सक्छन् ।
संविधान, ऐन, नियम वा सम्बन्धित विषयवस्तुको अध्ययनमा सञ्चारकर्मीको उदासिनता वा अनभिज्ञताका कारणले
(विधेयक अनुमति प्रस्ताव, विचार गरियोस् प्रस्ताव, दफावार छलफल, पारित) जस्ता विषयमा अन्यथा हुन गई कतिपय अवस्थामा संसद्मा नै असहज परिस्थितिको सिर्जना हुन पुगेको छ । समाजलाई सचेत, सजग र अनुशासित तुल्याउन अहम् भूमिका निर्वाह गर्ने सञ्चारकर्मीबाटै यदाकदा त्यसतर्फ आफैँ उदासिन रहँदा (बैठक कक्षमा सेलफोन प्रयोग, आपसमा कुराकानी, निदाउने, सदस्यको सिट प्रयोग गर्ने, छलफलकै क्रममा सदस्यहरूसँग संवाद गर्न चाहने, बैठक कक्षमा आवतजावत, सुरक्षा व्यवस्थापन, संसदीय मूल्य र मान्यताप्रतिको अज्ञानताजस्ता कारण) ले संसदीय मूल्य, मान्यता स्थापनार्थ कार्यरत मर्यादापालक हुँदै सचिवालय, संसदीय पदाधिकारी र सञ्चारकर्मीबीचमा असहज परिस्थितिको सामना हुने गरेको देखिन्छ । संसद्मा सञ्चारको पहुँचको आधार भनेको संसद्को नियम र सभामुख वा अध्यक्षको आदेश नै हो, मनपरी वा नियम र आदेशभन्दा उपल्लो स्तरको होइन भनी बुझ्ने सजगता र सचेतना नरहने गरेको देखिन्छ ।
सूचना सङ्कलन र सम्प्रेषणको उच्च प्राथमिकताका कारणले हुन सक्छ, सरोकारवालाभन्दा पूर्व नै सूचना प्राप्त हुनुपर्ने जिकिर सञ्चारकर्मीहरूबाट हुने गर्छ । जसबाट सांसद, सचिवालय र सञ्चारकर्मीबीचमा असमझदारीको वृद्धि हुने गरेको छ । कतिपय सञ्चार संस्थाहरूले प्रायः अनुभव सङ्कलन र प्रशिक्षित तुल्याउने मनसायले हो वा बाध्यताले हो, भर्खर नियुक्त सञ्चारकर्मीलाई संसदीय रिपोर्टिङमा पठाउने गरेकाले संसद् व्यवस्थापन, प्रक्रिया र पद्धतिका बारेमा जानकारीबेगरको सूचना सम्प्रेषण हुने गरेका अनुभव छन् । संसदीय मूल्य, मान्यता र परम्पराको उच्च अनुभवसहित अन्य कतिपय मुलुकहरूमा वरिष्ठ पत्रकारहरूको प्राथमिकतामा संसदीय सूचना सङ्कलन र सम्प्रेषण रहने गरेको तर नेपालको हकमा सो विषयमा प्रश्न गर्ने स्थिति छ । सञ्चारकर्मीहरूले मात्र नभई, सञ्चार संस्थाहरूले समेत आफूबाट प्रेषित सूचनाको अभिलेख नराख्ने वा खोज्नुभन्दा सोध्नु सहज ठानेर तत्काल सूचना उपलब्ध गराउन प्राप्त अनुरोधको अस्वीकार्यताबाट असमझदारी वृद्धि हुने गरेका छन् । वाइट (संवाद) का लागि कुरा गरेको भन्ने जानकारी नै नदिई साधारण वार्तालापका विषयहरूलाई नै वाइटका रूपमा उपयोग गर्दा समस्या उत्पन्न हुने गरेका छन् । यसैगरी, आमनागरिकको जानकारीमा आइसकेका साधारणभन्दा साधारण विषयमा समेत सूचनाका लागि सञ्चारकर्मीहरूबाट सम्पर्क हुने गरेको तर विवादित र असान्दर्भिक सूचना सम्प्रेषण हँुदासमेत सरोकारवालासँग सम्पर्क नगर्ने प्रवृत्ति छ ।
सञ्चार संस्थाहरूले पनि आफ्नो आवश्यकता र सम्पादन गर्नुपर्ने काम–कारबाही र उत्तरदायित्वसहितको जिम्मेवारी निर्वाह गर्न सक्षम र योग्य तुल्याउन दिइनुपर्ने प्रशिक्षणमा ध्यान दिएको पाइँदैन । सूचना सङ्कलन र सम्प्रेषणबाट देखापर्ने चुनौतीप्रति पूर्ण बेखबर रही चाहेको सूचना चाहेकै समयमा प्राप्त हुनुपर्नेजस्ता अव्यावहारिक माग सञ्चारकर्मीबाट हुने गरेका छन् । सञ्चारका माध्यमहरूका लागि आवश्यकतानुसारको सञ्चार प्रवेश अनुमतिपत्र सचिवालयले उपलव्ध गराउन नसकेको अवस्था छ । आवश्यकताअनुरूपको मिडिया सेन्टरको व्यवस्थापनमा असहजता, सञ्चारकर्मीहरूको आवश्यकताअनुसारको भौतिक पूर्वाधारहरू, कम्प्युटर, फ्याक्स, वाइफाइ, वेबसाइट वा इन्टरनेटजस्ता सुविधाहरू पर्याप्त हुन नसक्नुजस्ता समस्या पनि छन् ।
उपलब्ध स्रोत–साधनभन्दा यदाकदा सचिवालयको जनशक्तिमा देखिएको नकारात्मक सोचले पनि अन्तरसम्बन्धमा तनाव उत्पन्न हुने गरेको छ । यस्तै, संसदीय समितिहरूमा अनावश्यक रूपमा सञ्चारमाध्यमको पहुँचलाई नियन्त्रण गरिएबाट पनि संसद् र सचिवालयसहित जनशक्तिप्रति सञ्चार जगत्को नकारात्मक सोच देखिएको छ । अन्य संस्था र सञ्चारकर्मीबीचको सम्बन्ध र सहकार्यको तुलनामा संसद् र सचिवालयका पदाधिकारी र सञ्चारकर्मीबीच समान उद्देश्यसहितको सहकार्य उदारणीय रूपमा उल्लेख हुनुपर्नेमा सन्तोषको वातावरणभन्दा असन्तोषको वातावरण नै ज्यादा देखिएकाले यसतर्फ दुवै पक्षको कमी कमजोरीका बारेमा आत्मसमीक्षाको खाँचो देखिन्छ । संसद्, सचिवालय र सञ्चारकर्मीहरूका बीचमा विषयवस्तु, संसदीय मूल्य, मान्यता र परम्परासहित संसदीय नियम सभामुख वा अध्यक्षको रुलिङजस्ता विषयमा सचिवालयले समय–समयमा अन्तक्र्रिया गर्नुपर्ने देखिन्छ ।
राजनीतिक संरचना एवम् पदाधिकारी र सञ्चार क्षेत्रबीचको सम्बन्ध र सहकार्य पेसागत निष्ठा र मर्यादाका आधारमा रहनुपर्दछ, अन्यथा यी दुवै संस्था प्रभावकारी बन्न नसक्नेप्रति सचेत र सजग रही कार्यसम्पादन गर्नुपर्दछ । सञ्चारमाध्यम र सञ्चारकर्मीको अनुपस्थिति वा सकारात्मक सोच र खोजविना संसद्को उपादेयता जनमानसमा पुग्न असम्भव प्रायः हुने निर्विवाद सत्य हो । एकै परिवारका सदस्यहरूका बीच यदाकदा देखिने असमझदारीजस्तै संसद्, सचिवालय र सञ्चारकर्मीबीचको सम्बन्ध रहेको छ । संसद्मा सञ्चार संस्थाको उपस्थिति भनेको नै जनताको पहुँच हो । सञ्चारमाध्यमलाई दिइने सूचना सञ्चारकर्मीलाई दिने नभई, उनीहरूमार्फत सार्वभौमसत्तासम्पन्न जनतालाई दिइने भएकाले संसद्मा सञ्चारमाध्यमको उपस्थितिलाई सोही रूपमा हेर्नुुपर्दछ । तर, यसमा आज पनि केही समस्या जीवन्त देखिएका छन् । यसतर्फ संसद्ले गम्भीर ध्यान दिनुपर्छ । अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिङ्कनको ‘जनतालाई तथ्यको जानकारी देऊ, तबमात्र देश सुरक्षित रहनेछ’ भन्ने भनाइको मर्म र भावनाअनुरूप संसद् र सञ्चार जगत् अगाडि बढ्नु उपयुक्त हुन्छ ।

(लेखक संसद् सचिवालयका पूर्वसचिव हुनुहुन्छ । )

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds