अहिले पनि कम छैन धामीझाँक्री प्रभाव

नारद गौतम

काठमाडौं, जेठ ३० गते । विज्ञानको युगमा पनि धामी–झाँक्रीको विश्वास नगर्न अरूलाई सल्लाह दिँदै आउनुभएका भक्तपुर लोकन्थलीस्थित नयाँ बस्तीका चिकित्सक दम्पती छोरीको उपचार गर्न धामी–झाँक्रीकै सहरा लिन वाध्य हुनुभयो । 
चिकित्सक दम्पती छोरीलाई लिएर थिमि सरस्वती खेलमा बस्दै आउनुभएका लामा गुरुकहाँ उपचार गर्न पुग्नुभयो । यो तथ्य अरूले पनि चाल पाए । यो दम्पती त प्रतिनिधि पात्र मात्र हुन्, नेपालको संस्कार, संस्कृति, शिक्षा र चेतनाको स्तरले अझै पनि बिरामी हुँदा धामी–झाँक्रीमा पुग्ने परम्परा कायमै छ । 
चिकित्सकभन्दा पहिला धामी–झाँक्रीकहाँ जाने प्रचलन छ । हिमाल, पहाड, तराई–मधेस वा राजधानी काठमाडौंँ हरेक ठाउँमा झारफुक गर्ने परम्परा कायमै छ । काठमाडौंँका गल्ली–गल्ली र सडक पेटीमा अनि महँगा कोठा भाडामा लिएर झारफुक गरेर राम्रो दाम कमाउने पनि छन् । त्यति मात्र होइन, यही पेसामा लागेर ज्यानै लिने पनि छन् । 
आफूलाई शक्तिशाली धामी बन्नका लागि धनुषा जिल्लाको ढल्केवरमा अढाइ वर्षका आर्यन साहको कथित धामी शत्रुद्यन महतोले हत्या गरे । अहिले उनी प्रहरीको खोरमा छन् । बिरामीलाई कालो बोका, कालो पाठी, रातो भाले पूजा गर्नुपर्छ भन्ने धामी–झाँक्री पनि धेरै छन् । कतिपय तान्त्रिकले दोबाटोको कालो मसान लागेको रहेछ, बोका, भाले बलि दिनुपर्छ पनि भन्छन् । यस क्षेत्रमा पर्याप्त विकृति, विसङ्गति भए पनि उपचारका लागि जानेको संख्या भने घटेको छैन । 
पाटन अस्पतालका मनोचिकित्सक डा. रवि शाक्यका विचारमा ‘जिउँदो मान्छेले सिन्कोको सहरा लिन्छ’ भने झैं रोगव्याधी लागेपछि धामी–झाँक्रीदेखि नाम चलेका चिकित्सकसम्म जाने चलन छ, त्यहाँ पुग्दा उनीहरूमा सकारात्मक प्रभाव पर्छ । डा. शाक्यले नेपालमा मात्र होइन शतप्रतिशत साक्षर मुलुकमा पनि यस्ता परम्परा कायमै रहेको बताउनुहुन्छ । बाजे, बज्यै रिसाउलान्, अरुले पनि भनेका छन्, जाऊँ न त भनेर धेरै मानिस धामी–झाँक्रीकहाँ पुग्ने गरेको भनाइ उहाँको छ ।

चिकित्सकभन्दा महँगा 
लाखौं लाख खर्च गरेर वषौं गहन अध्ययन र अभ्यास गरेका चिकित्सकभन्दा महँगा धामी–झाँक्री पनि छन् । चर्चित विशेषज्ञ चिकित्सकले भन्दा बढी धामी–झाँक्रीले महँगो शुल्क लिने गरेको पाइन्छ । सामान्यतया एक सय रुपियाँदेखि दुई हजार पाँच सय रुपियाँसम्म धामी–झाँक्रील शुल्क लिने गरेको पाइन्छ । 
थिमिको सरस्वती खेलमा रहनुभएका लामा गुरुले कसैको उपचार गर्नुभन्दा पहिला ग्रन्थमा पाँच सय रुपियाँ राखेपछि मात्रै सोधीखोजी सुरु गर्नुहुन्छ । नागले दुःख दिएको छ, यसको उपचार गर्न दुई हजार पाँच सय रुपियाँ लाग्छ, जन्तर बाँध्नुपर्छ, त्यसका लागि थप दुई हजार पाँच सय लाग्छ भन्ने गरेको जानकारी एकजना गृहिणीले सुनाउनुभयो । ‘बच्चा बिरामी भएर हैरान पारेको छ, सन्चो हुन्छ कि भनेर खर्च गर्नै प¥यो’, उहाँ थप्नु हुन्छ । 
कतिपय धामी, झाँक्री र माताहरूमा विकृति रहेको स्वीकार गर्दै नेपाल झाँक्री संघका अध्यक्ष चेतबहादुर थिङ (बोन्बो) भन्नुहुन्छ, ‘फु’ गर्दा निको हुन्छ भने बिना पैसा पनि गर्नुपर्छ, सेवाको भाव राखेर उपचार गर्नुपर्छ, कुनै भक्तले खुसी भएर दिन्छ भने स्वीकार गर्नु राम्रो हुन्छ ।’ jhakri

 ‘फु’ गर्दा निको हुन्छ भने बिना पैसा पनि गर्नुपर्छ, सेवाको भाव राखेर उपचार गर्नुपर्छ
  तपाइँले कुटेर–पिटेर उपचार नगर्नुस्
  शक्तिको प्रयोग सेवा भावले गर्नुहोस्, सेवा नै धर्म भावले उपचार गर्नुपर्छ 
  मानिस निको पार्न बलि दिएको राम्रो होइन
  तिम्रो शरीरमा दैवी शक्ति छ भने आगोमा उफ्र भन्छौँ, नभए पर्दैन भन्छौँ ।

मसानघाटमा झाँक्री तालिम
स्वम्भूस्थित तामाङ समुदायको लाश जलाउने चिहानघाटमा पाल टाँगेर बसेका १२ जना साधक झाँक्री विद्यामा पोख्त हुन लागेका छन् । चियानघरको पश्चिमपट्टि रहेको खाली जग्गाको पालमुनि मैयुरको प्वाँखको श्रीपेच, हातमा ड्याङ्ग्रो, काँधमा थरीथरीका माला र झाँक्री पोशाक लगाएका महिला तथा पुरुष झाँक्री गुरु चेतबहादुर थिङ (बोन्बो) को प्रशिक्षणमा छन् । मसानघाटको १३ दिनको ध्यान र चिहानमाथि आगोमा नाचेर आफ्नो शक्ति देखाएपछि यी साधक घर फर्कने छन् । 
ध्यानमा रहनेमा सञ्चारकर्मी, नेपाली सेनाका जवानदेखि कम्युनिस्ट पार्टीका कार्यकर्तासम्म छन् । अर्घाखाँची घर भई ड्रिम संसार अनलाइनमा कार्यरत दिलकुमार बिक, नेपाली सेनाका मानबहादुर तामाङ, कम्युनिस्ट कार्यकर्ता पुनम डंगोललगायत १२ जना रातदिन ध्यानमा छन् । प्रायः यी साधकहरू ठाउँ–कुठाउँ काम्ने थालेपछि उपचारका लागि यहाँ आएका हुन् । 
तामाङ भन्नुहुन्छ, ‘‘पहिला त मलाई विश्वास नै थिएन, जाँड खाएर काम्यो भनेर खिल्ली उठाउँथे, जाँड खाने बाटो बनायो भन्थेँ, पछि म आफैं काम्न लागेँ, डिप्रेसनको औषधी पनि खाएँ तर भएन, २४सै घण्टा काम्न आएपछि ध्यानमा आएको हँु, अब देउतालाई बोलाउन र नआउने बनाउन सक्ने भएँ ।’’ 
सञ्चारकर्मी बिकले कसैले यहाँ सिकाउने वा पढाउने होइन, ध्यानमा बसेपछि मेरो कुलले यसो गर, उसो गर भन्छ, अब कुललाई कसरी बोलाउने, विधिपूर्वक पूजा गर्ने, बिदा गर्नेजस्ता कुरा ध्यानबाट सिक्दै गरेको बताउनुभयो । 
प्रशिक्षण दिँदै आउनुभएका अध्यक्ष थिङ भन्नुहुन्छ, ‘‘शरीरमा दैवी शक्ति वा भगवान् आयो भने यसरी पूजा गर्ने, पाठ गर्ने, बोलाउने, उपचार कसरी गर्ने भनेर ध्यान गराइएको हो । उनीहरूलाई चिहान घाटमा आगो माथि नचाउँछौं । आगोमाथि यसरी खेल्ने र नराम्रो आत्मासँग यसरी खेल्ने भनेर हरेक तरिका सिकाइन्छ ।’’
‘‘आगोमा उफ्रनका लागि तिम्रो शरीरमा दैवी शक्ति छ भने आगोमा उफ्र भन्छौँ, नभए पर्दैन भन्छौँ । जब आगो माथि नाच्छ, आगोसँग नाचेपछि आत्मासँग कुरा गर्न सक्छन् । शरीरमा दैवी शक्ति छ भने आगो धूलो हुँदासम्म नै नाँच्न सकिन्छ । राति आगोमा नाच्ने गरिन्छ ।’’ अध्यक्ष थिङले भन्नुभयो । 
यसरी पनि उपचार हुन्छ त भन्ने प्रश्नमा अध्यक्ष थिङले कतिपय धामी–झाँक्रीले रक्सी खाएर तातो पानी हाल्दिन्छन्, उसले जगाएको ज्ञानगुनको कुरा बिर्सन्छन्, बिर्सेपछि त मान्छे जल्ने गरेको बताउनुभयो । मानिसमा लागल (लागू) छ कि छैन भनेर झाँक्रीले हातको नसा छामेर पत्ता लगाउन सक्नुपर्छ । बिरामीको दुई प्रकारले उपचार हुन्छ । ज्वरो आएको वा घाउ भएको त्यसका लागि औषधी खुवाएर र भूत प्रेत लागेको भए दैवी शक्तिको प्रयोग गरेर उपचार गरिन्छ । 
आधुनिक समाजमा भूत र प्रेत सबै अन्धविश्वास भनिन्छ तर उहाँ अझै पनि भूत र प्रेत सबै हुने बताउनु हुन्छ । कुनै मान्छे झुण्डिएर मरेको हुन्छ, मरेको बेलामा पशुले छोएर पनि त्यो आत्मा भड्किएको हुन्छ, माथि जान सकेको छैन भने भूत र प्रेत भएर बस्ने गर्छ भन्ने उहाँको दाबी छ ।

उपचार शक्तिले गर्ने कुटेर होइन
बोक्सी हो भनेर दिसापिसाब खुवाउने, कुटपिट गर्ने र कानुनलाई चुनौती दिने काम पनि धामी–झाँक्रीबाट हुने गरेका समाचार पनि बेला बेलामा आइरहन्छन् । संघका अध्यक्ष थिङका विचारमा तान्त्रिक वा झाँक्री पनि सबै एकै खालका हुँदैनन्, कतिपयबाट कमजोरी हुने बताउनुहुन्छ । 
धामी, झाँक्री र माताहरूलाई अध्यक्ष थिङ भन्नुहुन्छ, ‘‘तपाईले कुटेर–पिटेर उपचार नगर्नुस्, दैवी शक्ति तपाईको शरीरमा छ भने त्यसले तानेर उपचार गर्नुहोस्, कुटेर पिटेर उपचार हुने भए त घरमै कुटेर उपचार हुन्थ्यो होला नि ! कतिपय ठाउँमा महिलाको चुल्ठो समाएर उचालेर यातना दिएर उपचार गर्छन्, त्यो ठीक होइन ।’’

हुङ्ग्रा–मुङ्ग्राले मसान भगाऊ
अध्यक्षको भनाइ छ, ‘‘बलि दिएको राम्रो होइन, कालो मसान वा वीर आयो भनेर बलि दिँदा त्यो मान्छे निको हुन्छ तर केही समय पछि त्यो फेरि आउँछ । किनभने त्यो मसानले खान पायो, ऊ पल्क्यो । खान पाएन भने फेरि दुःख दिन्छ । बरु तान्त्रिकले ज्ञान गुनले लखेट्न सक्यो भने फेरि फर्केर आउँदैन । त्यसपछि त्यहाँ गयो भने हुङ्ग्रा–मुङ्ग्रा लगाएर लखेट्छ भनेर मसान फर्केर आउँदैन ।’’

धामी–झाँक्रीका अनेक रूप
आफ्नो शरीरमा दैवी शक्ति चढेर आउने झाँक्री हुन् भने सिकेर बन्नेलाई धामी भनिन्छ । धामीहरू मन्दिरहरूमा प्रायः भेटिन्छन्, मेरो भाकल छ, घर परिवारको रक्षा होस् भनेर पूजा गरिदेऊ भन्छन् । त्यस्तै, बल र शक्ति माग्छन् । त्यसरी पूजा गर्नेलाई पुजारी भन्ने गरिन्छ । 
झाँक्री–धामी सबै समुदायमा पर्छन् । क्षेत्री नै झाँक्री भए पनि तामाङ वा लामाको ठूलो घरमा गएर पनि ढ्याङ्ग्रो ठोकेर घरमा शान्ति गर्ने र बाँध्ने काम हुन्छ । यस्तै, लामा गुरु पण्डितको घरमा र पण्डित लामाको घरमा पढ्न त आउँदैन तर झाँक्री भने लामा वा पण्डितको घरमा जान्छन् । सबै जातिको घरमा जाने र त्यहाँका सबै ठाउँमा पुग्ने अनुमति झाँक्रीहरूलाई छ । 
वन झाँक्री र झाँक्रीमा केही फरक छ । वन झाँक्री भनेको चाहिँ सानो उमेरमा वन झाँक्रीले छ वा तीन महिना लगेर ध्यान गराएर ल्याएको हुन्छ, कतिपयलाई जिजू बराजुबाटै उत्रँदै आएको हुन्छ । भविष्यवाणी गर्ने कतिपय व्यक्ति जेलको चिसोमा छटपटाइरहेका छन् । यसबारे राखिएको प्रश्नमा अध्यक्ष थिङको भनाइ छ, ‘‘भविष्यवाणी गर्ने भए २०७२ वैशाख १२ गते अघि वैज्ञानिक, धामी–झाँक्री, ज्योतिषी, माताले कसैले किन नभनेको त ? भनेको भए धेरै नेपाली बाँच्ने थिए । दैवी शक्तिले भनेमा त्यसमा एकसय मा २५ प्रतिशत मात्रै मिल्छ । शक्तिको प्रयोग सेवा भावले गर्नुहोस्, सेवा नै धर्म भावले उपचार गर्नुपर्छ ।’’

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds