आउँदो भाइटीकासम्म तयार हुन्छ रानीपोखरी


चाँदनी हमाल

काठमाडौँ, असार २ गते । पसिना छुटाउने मध्य दिनको चर्को घाम । राजधानी काठमाडौँको पोखरीमा हुलका हुल महिला धमाधम भित्ता सम्याउँदै र खुट्टाले माटो मुछ्दै छन् । प्राकृतिक मिश्रण बज्र तयार हुँदै छ । इँटा पखालिँदै छ ।
राजा प्रताप मल्लको पालामा बनेको रानीपोखरी २०७२ सालको भूकम्पले भत्कियो । पुनःनिर्माण गर्न लाग्दा केही समयअघि विवाद पनि देखियो तर अहिले भक्तपुरका कामदार आएपछि काम धमाधम भइरहेको छ । “सुरुमा आउँदा यहाँ हामीजत्रै घाँस र गन्हाउने फोहोर धेरै थियो, मरेका कुकुर पनि फाल्यौँ,” माटो मुछ्दै शर्मिला नापितले भन्नुभयो, “अब पोखरीको रूप सिँगार्दै छौँ । ”
अर्को महिला समूह उबडखाबड माटाका भित्ता सिनित्त पार्न व्यस्त थिए । पूर्णकेशरी बाटी, पूर्णेश्वरी तमखुलगायत लामालामा फेद भएका कोदालाले भित्ता खारखुर पार्दै माटो तल झार्दै मिलाउँदै हुनुहुन्थ्यो । “पहिले बिग्रेको यो भित्ता बनाउनुप¥यो नि,” बाटीले सुनाउनुभयो, “बल्ल यसमा माटो पोत्ने हो । ” अर्को समूह पुराना इँटा धुँदै पखाल्दै छुट्याउन व्यस्त थियो ।
“पुराना इँटाभरि लेउ नै लेउ छ, त्यही झार्दै धुँदै छौँ,” तमखुले भन्नुभयो, “इँटा पुराना भए पनि बलिया छन् पर्खाल बनाउन नयाँसँग यही इँटा मिसाउने हो । ” उहाँसँगै कृष्णा दुवाल र कृष्णश्वरी बासी काम गर्दै हुनुहुन्थ्यो । यसरी नै रानीपोखरी पुनःनिर्माणअन्तर्गत पर्खाल र पोखरी निर्माण यतिबेला महिलाको हातमा पुगेको छ । rani pokhari
अलिक पर महिलाको अर्को समूह माटाका भित्तामा पुरिएका चौडा इँटा निकाल्दै बटुल्दै भेटिए । भत्किएको भित्ता भए पनि त्यहाँ गाडिएका ठूला चौडा इँटा नयाँजस्तै देखिन्थ्यो । भित्ता खन्दै गर्दा कोदालाले भ्यागुतालाई लागेपछि सबै तर्सिए । शिव शिव भन्दै भ्यागुतालाई नजिकै जमेको पानीमा पु¥याए ।
“यी भ्यागुता यहाँको सह हो, मार्नुहुन्न,” लक्ष्मी ट्वाटीले भन्नुभयो, “पोखरीमा लामो समयदेखि बस्दै आएका यिनीहरूको पनि रक्षा हुनुपर्छ । ”
पोखरीमा कताकति अलि अलि पानी देखिन्छ । पूर्वपट्टि लाग्दै गर्दा रानीपोखरी छिर्ने जमलतिरको ढोकाबाट अलिक तल सानासाना दुईवटा कृत्रिम पोखरी बनाइएका छन् । त्यसमा बज्र (प्राकृतिक लेपन) र माटाले टालेको एउटा पोखरी र अर्को सिमेन्टको पर्खाल सहितको आधुनिक पोखरीको नमुना छ । कुन पोखरीमा बढी पानी टिक्छ भनेर हेर्नका लागि त्यसो गरिएको मैयाँकेशरी ध्वजूले
जानकारी दिनुभयो ।
पूर्वपट्टिका भित्तामा भने नयाँ पर्खाल लगाउने काम सुरु भइसकेको छ । पर्खाल लगाउन पहिले भक्तपुरमा बनेको नेपाली इँटा चाहिन्छ । त्यसपछि नेपालीपनकै बज्र बनाउनुपर्छ ।
बज्र बनाउन सेतो चुन, मसिनो बालुवा र नेपाली इँटाको धुलो चाहिन्छ । नाप अनुसारको धुलो मिसाएपछि त्यसमा पानी हालेर मुछिन्छ । आँटा मुछेजस्तो तर खुट्टाले बज्र मुछ्दै हुनुहुन्थ्यो– शिवलक्ष्मी वयजु र मङ्गलेश्वरी यवार । कोदालाले मुछेको बज्र फलामको आरीमा हाल्न सघाउँदै हुनुहुन्थ्यो सर्मिला ध्वँजू । पर्खाल बनेका ठाउँका माटो सम्याउने जिम्मा भने ईश्वरीमाया ट्वाँटी, कमलकेशरी तमखु लगायतले पाउनुभएको छ ।
सरस्वती बाटीलगायत भने ढोकाछेउमा गाडीले खसालेको नेपाली इँटा ओसार्दै हुनुहुन्थ्यो । राधा दुवाल, विष्णुकेशरी गरू र कृष्णलक्ष्मी लागी मुछेको बज्र ओसार्दै पर्खाल लगाउन गारोमा थप्दै हुनुुहुन्थ्यो । उहाँहरूले राख्नुभएको बज्रको मसला सम्याउँदै धागोले घुमाउरो पारेको घेराअनुसार पर्खाललाई डकर्मीद्वय शिवनारायण माचामसी र लक्ष्मीप्रसाद कर्माचार्य घुमाउरो स्वरूप दिँदै हुनुहुन्थ्यो ।
“सोह्र वर्ष भयो डकर्मी काम गरेको,” कर्माचार्यले भन्नुभयो, “तर सिमेन्टको भन्दा बज्रको मसला असल लाग्यो । ” आफ्नै गाउँठाउँमा पाइने सामग्रीको बज्र ठूला उद्योगले उत्पादन गरेको सिमेन्टभन्दा बढी टिकाउ हुने उहाँसँगै काम गर्नुभएका
माचामसी बताउनुहुन्छ ।
सीधा भागको पर्खाल लगाउन अन्य दुई डकर्मी रामचन्द्र जाकिबन्जा र भीष्मभक्त खरबुजा व्यस्त हुनुुहुन्थ्यो । “घर बनाउनेभन्दा यो काम नै फरक हो,” खरबुजाले थप्नुभयो, “दस–पन्ध्र इन्चको गारो घरमा हुन्छ तर यहाँ दुई फुटसम्मको त पर्खाल नै छ । ”
रानीपोखरी पुनःनिर्माणमा भाजुपोखरी उपभोक्ता समिति भक्तपुरमा आबद्ध ४८ महिला र १० जना पुरुष कामदार हुनुहुन्छ । “ऐतिहासिक रानीपोखरी बनाउन हामीले कुनै ठेक्का वा सर्तमा काम गरेका छैनौँ,” कामदार चण्डेश्वरी वमनले भन्नुभयो, “दैनिक ज्यालादारीले जति पाउँछन्, त्यतिमै काम गरेका छौँ । ” तर, काम गरेका जतिलाई रानीपोखरी आफूले बनाएको नातिपनातिलाई सुनाउने धोको भने अहिलेदेखि पलाइसकेको छ ।
रानीपोखरी पुनःनिर्माण अघिल्लो तीन वर्ष आधुनिक सामग्री प्रयोगको विषयलाई लिएर विवादित रह्यो । त्यसपछि भक्तपुरमा स्थानीय आफैँले गरिरहेको पुनःनिर्माण हेर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातìव विभाग र काठमाडौँ महानगरपालिकाका पदाधिकारी पुगेका थिए ।
“रानीपोखरी पुनःनिर्माणले अब गति लिएको छ,” प्राधिकरणका विज्ञ राजु मानन्धरले भन्नुभयो, “पूर्वको जग निर्माण सकेर पर्खाल निर्माण सुरु भयो, पश्चिममा भित्ता र पिँध निर्माण आइतबारदेखि सुरु भयो । ” पश्चिमतिर राजा प्रताप मल्लको पालाको धेरै इँटा कमजोर भेटिएकाले त्यही आकार र गुणस्तरका नयाँ इँटा निर्माण गरी ल्याएको उहाँले जानकारी दिनुभयो ।
पुरानै शैलीमा पोखरी बनाउन भक्तपुरको सिद्धपोखरी र भाजुपोखरी निर्माणको काम हेरेपछि उतैको प्राविधिक सहयोग लिइएको हो । माटोको पिँधबाट पानी बस्छ, बस्दैन भन्ने थाहा पाउन बनाएको नमुना पोखरीमा पानी जमेपछि त्यहीअनुसार बनाउन थालिएको उहाँले बताउनुभयो ।
पोखरी र पर्खालका लागि नौ करोड ९७ लाख रुपियाँ बजेट छ । जसमध्ये हालसम्म एक करोड ४२ लाख रुपियाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । आउँदो भाइटीकासम्म पोखरीमा पानी राख्ने योजना प्राधिकरणको छ ।
रानीपोखरीका लागि भक्तपुरका तर्फबाट प्राविधिक सहयोगीका रूपमा अनुभवी कामदार दिइएको भाजुपोखरी उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद डुमरूले बताउनुभयो । उहाँले पोखरी र पर्खाल जस्तै पुल र मन्दिर निर्माणमा पनि स्थानीयको सीप र प्रविधि प्रयोग गर्दा मौलिकता जोगिने छ भन्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds