मोतियाबिन्दुमा शल्यक्रियाको विकल्प ‘थोपा औषधि’

ईश्वरचन्द्र झा

काठमाडौंँ, असार ३ गते । अधिकांशले दृष्टिलाई अनिवार्य मानेका छन् । परिणामस्वरूप हामीले लेख्न, पढ्न, सवारी चलाउनसहित असङ्ख्य गतिविधि गर्न दृष्टिको आवश्यकता महसुस गर्छौं । तर दृष्टि सबैका लागि त्यत्ति सहज भने छैन । यथार्थमा धेरैका लागि सामान्यरूपमा हेर्न पाउनु सङ्घर्षपूर्ण छ ।
आँखाको दृष्टिसम्बन्धी समस्यामा मोतियाबिन्दु (क्याटरेट्स), खस्रेरोग (ट्राकोमा) प्रमुख हुन् । उमेर बढेसँगै नेपालमा मोतियाबिन्दु हुनुलाई सामान्य रूपमा लिइन्छ । मोतियाबिन्दु हटाउन संवेदनशील मानिने आँखामा सुई लगाएर शल्यक्रिया नै गर्नुपर्छ ।
तर अमेरिकी चिकित्सकहरूले थोपाका रूपमा राख्न सकिने औषधिले मोतियाबिन्दुलाई विस्थापित गर्ने औषधिको खोज गरेका छन् । ‘आई ड्रपर’को सहयोगले उक्त औषधि आँखामा राख्न सकिनेछ । तर त्यो प्रयोगमा सफल अनुसन्धान प्रयोगमा भने आइसकेको छैन ।motiya

अझै आशङ्का
नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरका निर्देशक डा. कोमल खड्काले भने आफ्नै पालामा उक्त खोज औषधिका रूपमा आउनेमा आशङ्का व्यक्त गर्नुहुन्छ । डा. खड्काले मानवमा परीक्षण भएको छैन, परीक्षण सफल भएपछि कानुनी अड्चन पार गर्नुपर्ने बताउँदै भन्नुभयो, “अमेरिकाबाट नेपालसम्म आइपुग्न कम्तीमा एक दशक लाग्छ । ”
यद्यपि उहाँले समयमै आए आँखासम्बन्धी औषधीय विज्ञानमा चमत्कार र वरदान नै हुने बताउनुभयो । शल्यक्रिया झञ्झटिलो, बढी समय लाग्ने, जोखिमयुक्त र खर्चिलो हुँदा ‘ड्रप’का रूपमा आउने औषधि छिटो आए आफूहरूका लागि पनि राहत हुने उहाँले उल्लेख गर्नुभयो ।
उक्त औषधि चिकित्सकीय परीक्षणको चरणमा रहेको छ । तर औषधिको प्रयोगले शरीरमा अन्य कुनै असर नहुने सुनिश्चितता गर्न कडा कानुन रहेकामा परीक्षण चरण पूरा गर्न समय लाग्नेछ । उक्त चरण पूरा गरेलगत्तै बजारमा औषधिको थोपा ‘ड्रप’को रूपमा उपलब्ध हुनेछ । जसले मोतियाबिन्दुमा शल्यक्रियाको वैकल्पिक उपचारको ढोका खोल्नेछ । जुन औषधीय विज्ञानमा ठूलै कदम हुनेछ ।

दृष्टिको समस्या व्यापक
विश्वका २८ करोड ५० लाख मानिसमा दृष्टिको समस्या छ । अस्ट्रेलियास्थित ‘फ्रेड होल्लोज फाउन्डेसन’का अनुसार विश्वमा आँखा नदेख्ने मानिसको सङ्ख्या तीन करोड ४० लाख रहेको छ । जसमध्ये ९० प्रतिशत व्यक्ति विकासशील राष्ट्रका छन् । तथ्याङ्कले आधाभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुका कारणले अन्धोपना हुने देखिएको छ । यथार्थमा अन्धोपना हुने प्रमुख कारणमध्ये एक मोतियाबिन्दु हो । सन् १९९२ मा स्थापित उतm फाउन्डेसन अस्ट्रेलियासँगै अफ्रिका, दक्षिण र दक्षिण पूर्वी एसियाली राष्ट्रहरूमा अन्धोपना हुन नदिन र दृष्टिमा समस्या भए उपचारमा केन्द्रित संस्था हो ।
नेपाल आँखा अस्पतालका निर्देशक डा. खड्का उच्च परावैजनी किरणमा निरन्तर बस्नु, खानापानमा ध्यान नदिनु, औषधिको प्रयोगमा सतर्कता अपनाउन नसक्नु र आँखामा चोटपटक लागेमा मोतियाबिन्दु हुने बताउनुहुन्छ ।
आँखाको लेन्समा बन्ने नयाँ प्रोटिन लेन्सको वरिपरि रहनु र पुरानो प्रोटिन बीच भागमा केन्द्रित हुँदै जानुले मोतियाबिन्दु हुन्छ । “मुख्यतया उमेर थपिँदै जाँदा पुरानो प्रोटिन बीच भागमा जम्मा हुँदा मोतियाबिन्दु हुने सम्भावना बढी हुन जान्छ,” डा. खड्काले थप्नुभयो । समयमै उपचार नभए मोतियाबिन्दुले अन्धोपना निम्ताउँछ । भाग्यवश, मोतियाबिन्दुको उपचार छ । तर उपचारको एउटा मात्र विकल्प शल्यक्रिया हो । नेपाल नेत्र ज्योति सङ्घका अनुसार नेपालमा मोतियाबिन्दुको शल्यक्रिया गराउँदा चार हजारदेखि १५ हजार रुपियाँसम्म खर्च पर्छ । हाल शल्यक्रियाको दुई प्रविधि प्रयोगमा छन् ।
कम्प्युटराइज्ड प्रविधिमा आधारित ‘फेकोमलफिकेसन’ शल्यक्रिया खर्चिलो हुन्छ । ‘स्मल इन्सिजन सर्जरी’ सामान्य प्रक्रिया हो । यस प्रक्रियाबाट हुने शल्यक्रियामा दुई हजारदेखि चार हजार रुपियाँ खर्च हुन्छ । नेपाल आँखा अस्पतालका निर्देशक डा. कोमल खड्काले अस्पतालमा पुगे छोटै समयमा शल्यक्रिया गरेर निको हुने बताउनुहुन्छ । नेपालमा भने सङ्ख्या नै खुलाउने अध्ययन भएको देखिन्न । नेपाल नेत्र ज्योति सङ्घका प्रशासकीय प्रबन्धक शेखर शर्माले एक दशकअघि गरिएको सर्वेक्षणबमोजिम कुल जनसङ्ख्याको शून्य दशमलव ३४ प्रतिशत व्यक्तिमा आँखाको अन्धोपनाको समस्या फेला परेको उल्लेख गर्नुहुन्छ । उक्त सर्वेक्षण सन् २०१२ मा विश्व स्वास्थ्य सङ्गठन, खानेपानी विभाग र सङ्घले संयुक्त रूपमा गरेको थियो ।

नेपालमा आँखा उपचार भरपर्दो
तर गत् वर्ष मात्रै करिब तीन लाख ९० हजार आँखाको शल्यक्रिया गरिएकोमा नेपाली मात्रैको सङ्ख्या एक लाख पचास हजारको हाराहारीमा छन् । आँखाको उपचारका लागि नेपालका अस्पतालहरू भरपर्दो, सस्तो र विश्वसनीय गणना गरिन्छ । शल्यक्रियामा खस्रेरोग (ट्राकोमा)को सङ्ख्या पनि जोडिएको छ । यद्यपि नियन्त्रणमा आइसकेको हुँदा ट्राकोमाको सङ्ख्या थोरै हुने सङ्घका कार्यक्रम संयोजक हुकुम पोखरेलले बताउनुभयो । दुर्भाग्यवश आधारभूत उपचारसम्म पहुँच नहुने विकासशील राष्ट्रका मोतियाबिन्दु हुने व्यक्तिमा उपचारको विकल्प छैन । यद्दपि यो भने विकासशील राष्ट्र मात्रैले सामना गरेको समस्या भने हैन ।

अमेरिकामा पनि समस्या
प्रविधि, उत्पादन, अनुसन्धान र मानव विकासको उच्चतम अभ्यास गरिरहेको अमेरिका पनि मोतियाबिन्दुको प्रभावबाट अछुतो छैन । अमेरिकी नेत्र विज्ञान प्रतिष्ठानका अनुसार ४० वर्षभन्दा बढी उमेरका करिब दुई करोड २० लाख अमेरिकी नागरिकमा मोतियाबिन्दु छ । त्यहाँ ८० वर्षको उमेरसम्म पुग्दा ५० प्रतिशतभन्दा बढी अमेरिकीमा मोतियाबिन्दु हुने प्रतिष्ठानको दाबी छ ।

कसरी हुन्छ मोतियाबिन्दु
हाम्रो आँखाको लेन्स बनाउन सहयोग गर्ने क्रिस्टिलिन प्रोटिनको संरचना नै मोतियाबिन्दु हुने परिणाम हो । उमेर बढ्नुसँगै उक्त संरचना बिग्रिएपछि क्रिस्टिलिन प्रोटिन समूहमा आउँछ र आँखाको दृष्टिमाथि दुधिलो तहको रूपमा देखा पर्छ । जसले दृष्टिलाई छेक्छ र परिणामस्वरूप मोतियाबिन्दु हुने गर्छ । वैज्ञानिक एवं खोजकर्ताहरू यस्तो संरचना समूहमा आउने कारणका बारेमा अझै सुनिश्चित भइसकेका छैनन् । यद्धपि यहीँबाट नयाँ औषधिको उत्पत्ति हुने भनिएको छ ।
नयाँ उपलब्धि आशाको केन्द्र
प्राकृतिक रूपमा पाइने ‘स्टेरयड’बाट उपचारमा आधारित भएर यसको सिर्जना भएको थियो, जसलाई ‘लेनोस्टेरल’ भनिन्छ । अनुसन्धानकर्ताले आमाबुवालाई नभए पनि मोतियाबिन्दु भएका दुई भाइबहिनीलाई खोजी गरे । भाइबहिनीमा उत्परिवर्तन साझा गरियो । जसले ‘लेनोस्टेरल’ बन्न बन्द भयो । उनीहरूका आमाबुवामा भने यस्तो उत्परिवर्तन भएन ।
“आमाबुवाले ‘लेनोस्टेरल’ उत्पादन गरे पनि उनीहरूमा मोतियाबिन्दु छैन, सायद छोराछोरीले लेनोस्टेरल उत्पादन नगर्दा मोतियाबिन्दु भएको हो कि ?,” अनुसन्धानकर्ताले खोजलाई त्यतातिर मोड्नुभयो । खोजकर्ताहरू यस प्रकार आँखामा लेनोस्टेरल राख्दा क्रिस्टिलिन प्रोटिनलाई समूहमा जोडिनबाट रोकेर मोतियाबिन्दु हुनबाट जोगाउने निष्कर्षमा पुग्नुभयो ।
खोजकर्ताले खरायोमा आफ्नो परिकल्पनालाई परीक्षण गर्नुभयो । परिणाम भने अत्यन्तै उत्साहबद्र्धक आयो । परीक्षण गरेको एक सातापछि १३ वटा खरायोमा परीक्षण गरिएकोमा दुईवटामा मोतियाबिन्दु अत्यन्तै बढीबाट घटेर सामान्य स्तरमा आयो भने अधिकांशमा हटेर गयो । कुकुरमा पनि उक्त औषधिको परीक्षण गरियो, परिणाम उस्तै आयो ।
मानवमा गरिने परीक्षण सफल भयो र बजारमा आयो भने विश्वका करोडौँ मानिसका लागि ठूलो योगदान हुनेछ । उक्त सोधका सहलेखक रुबेन अवज्ञा लेनोस्टेरलको थोपाको प्रभाव मानव मोतियाबिन्दुमा पनि खरायो र कुकुर जस्तै परिणाम ल्याउने विश्वास गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “मानवमा उक्त प्रक्रियालाई अनुवाद गरिनु नै अबको पाइला हुनेछ र यसभन्दा उत्साहबद्र्धक अरू केही हुने छैन । ”

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds