गुठी परम्परा व्यवस्थित गर्न नयाँ विधेयक

सरोज आचार्य

काठमाडौँ, असार ३ गते । भूमि व्यवस्थापनलाई आधुनिकीकरण र सांस्कृतिक परम्परालाई अझ व्यवस्थित गर्न सरकारले गुठी विधेयक ल्याएको छ । गुठी आयस्ता उपभोग गर्ने तर काम नगर्ने प्रवृत्तिले गुठी क्षेत्र अव्यवस्थित बनेको छ । सुधारका लागि संसद्मा पुगेको गुठी विधेयकका विरोधमा र समर्थनमा सडकमा जानेक्रम जारी छ ।
दाङमा किसानहरू समर्थनमा धर्ना दिइरहेका छन् भने काठमाडौँ उपत्यकामा विरोधको जुुलुस निस्किरहेको छ । गुठीमा तल्लो तह र कामदारको शोषण हुने गरेको तर स्रोत हात पार्ने माथिल्लो तहले आयस्तामा हालीमुहाली गर्ने गरेको छ । यसले गर्दा तल्ला तहले क्रमशः काम छोड्दै गएर गुठी प्रणाली पनि तहसनहस हुँदै गएको कतिपयको अनुभव छ ।
पशुपति वज्रघरमा रणोद्धीप सिंहको श्राद्धमा पकाउनुपर्ने १२ वटा बोका अभ्यागतले खानै नपाउने तर १२ वटा बोका वर्षमा बुझिलगेको हिसाब भने देखिने गरेको पशुपति वज्रघरका पञ्चराम महर्जन बताउनुहुन्छ । उहाँ गुठीको प्रचलित पद्धतिमा व्यापक परिवर्तन आवश्यक भएको बताउनुहुन्छ ।
नेपाल गुठी संरक्षण पुचःका महासचिव भरतमणि जङ्गमका अनुसार विधेयकका केही बुँदा संशोधन हुन्छ भन्ने विषयमा केही दिनअघि भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग केही गुठियारले विमर्श गरेका थियो । उहाँ गुठी विधेयकको विषय वार्ताबाट समाधान गर्नुपर्ने बताउनुहुन्छ ।
सरकारले गुठी विधेयकले परम्परामा हस्तक्षेप नगरेको र भूमि व्यवस्थापनलाई आधुनिकीकरण गर्न खोजेको स्पष्ट पार्दै आएको छ । नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गुठी विधेयकले परम्परामा हस्तक्षेप नगरेको स्पष्ट पार्नुभएको छ । नेपाल गुठी संरक्षण पुचःका संस्थापक सदस्य एवं गुठीविद् डा. गोविन्द टन्डन भने यो ऐन जस्ताको तस्तै पारित भए गुठियारको हक स्वतः समाप्त हुने बताउनुहुन्छ ।
उहाँले नागरिक समाजबाट आएका केही प्रश्न सांस्कृतिक पक्षसँग जोडिएको र केही सामन्ती उत्पादन सम्बन्धलाई सुुधार गर्ने हिसाबले आएको बताउनुभएको छ । उहाँले गुठी, बेठी, हलिया, कमलरी अनेक प्रथाले सामन्तवादको आर्थिक, सामाजिक र राजनीतिक चरित्रको प्रतिनिधत्व गर्दै आएकोले तिनको सुधारमा विधेयक आएको स्पष्ट पार्नुभएको छ ।
थरी–थरीका गुठी
गुठी पनि एकै प्रकारका छैनन् । विधेयकबारे बहस हुँदा मुख्य समस्या र अन्योल यसैमा देखिएको छ । विधेयकले सबै गुठीलाई एउटै डालोमा हालेजस्तो देखिएको छ । यद्यपि सरकारी अधिकारीहरूको व्याख्या र अभिव्यक्तिले भने यस्तो महसुस गराउँदैन । विधेयकको विरोध गरिरहेकाले यसबाट धर्म तथा परम्परागत संस्कारमा असर पर्ने आरोप लगाउँदै आएको छ । सरकारी अधिकारीहरू भने विधेयकले यस्तो कुनै समस्या नल्याउने दाबी गरिरहेका छन् ।
गुठी अधिनस्थ– गुठी जग्गामा मोही भएको कुत पोत मोहीले गुठी संस्थान वा तोकिएको मालपोत कार्यालयमा बुझाउनुपर्ने ।
छुट गुठी– देवस्थलको आय गुठियारले खर्च गरेर बाँकी रहेको सलामी राज्यलाई तिर्नु बुझाउनुपर्ने ।
अमानत गुठी– यो राजगुठी राज्यले नै सञ्चालन व्यवस्थापन गर्ने, व्यक्तिले नगर्ने ।
गुठी तैनाथी– मोही नलाग्ने, जग्गामा कसैको स्वामित्व नरहने तर कमाएको बालीसम्म गुठियारले भोग गर्न पाउने ।
निजी गुठी– निश्चित परिवारभित्र नै व्यवस्थापन हुने निजी गुठीमा राज्यको कुनै हस्तक्षेप नहुने ।
अभिलेखमा मात्र सीमित कतिपय गुठी
देशभर रहेका कतिपय गुठी अभिलेखमा भए पनि यथार्थमा ती गुठी भने छैनन् । मुलुकभर रहेका दुई हजार ८० यस्ता गुठीमध्ये अधिकांश गुठी प्रायः निष्क्रिय छन् भने कतिपयको नामोनिसान छैन । केन्द्रीय गुठी लगत तथा अभिलेख शाखा कार्यालय भद्रकालीका अनुसार अभिलेखमा भएका तर कार्यान्वयनमा नभएका महŒवपूर्ण गुठी तल दिइएको छ ।
धारापाटी गुठी– नरदेवी दमाईटोलमुन्तिरको धारामा पानी व्यवस्था गर्ने, सफाइ गर्ने, झाडुबढारु गर्ने गुठी गुठियारलाई आयस्ताबापत १२ रोपनी जग्गा व्यवस्था छ ।
ढुङ्गेधारा गुठी– स्वयम्भू ठ्यास्फूमा बनेको ढुङ्गेधारा संरक्षण तथा चालू राख्ने गुठी गुठियारलाई आयस्ताबापत सात रोपनी जग्गा व्यवस्था छ ।
तत्कालीन माहिली रानीसाहेबबाट राखेको बौद्धधारा गुठी– धारा संरक्षणका लागि गुठियारलाई आयस्ताबापत राखेको बौद्धको दुई रोपनी जग्गा छ ।
टुँडिखेल सुन्धारा गुठी– धारा र परिसर मर्मतसम्भार सरसफाइलगायतका लागि गुठियारलाई आयस्ताबापत राखिएको २५ रोपनी १२ आना जग्गा ।
चाँगुधारा गुठी– पानीको व्यवस्थापन सरसफाइका लागि आयस्ताबापत ५३ रोपनी जग्गा वीर अस्पताल गुठी– तीस रोपनीभन्दा बढी जग्गा ।
तीनधारा पाठशाला गुठी– जग्गा राजधानीको मध्ये भागमा रहेका तीनधारा पाठशालाको पनि उपत्यकामा ३० रोपनीभन्दा बढी जमिन भए पनि त्यो कहाँ छ थाहा छैन ।
यसैगरी रणमुक्तेश्वर बगैँचा गुठी, तत्कालीन श्री ५ को नयाँ वायुदेवता गुठी, चाबहिलबाट चलाउने नागेचा प्याँख गुठी, विद्यार्थी खुवाउने गुठी, धोबीखोला फलामे देशीपुल गुठीको पनि जमिन भए पनि जानकारीमा छैन । यसैगरी बुबुधाइ रत्नकुमारीको श्राद्ध गुठीलगायत तत्कालीन श्री ३ र कमान्डिङ जनरल र तीनका दर्जनौँ रानीको श्राद्ध गुठी, पशुपति दर्शन गर्न आउनेलाई
चियापान गुठी, आर्यघाट पारी दाउरा गुठी, सिस्नेरी पाठशाला गुठी, अपाङ्ता भएका गरिब गुरुवालाई पशुपतिमा खुवाउने गुठीको पनि जमिन कहाँ के कति छ जानकारीमा नभएको गुठी सम्बद्ध व्यक्तिहरू बताउँछन् ।
पशुपति दक्षिणामूर्ति अगाडि टुटेधारा गुठी, पशुपतिका बाँदरलाई रोजन्दा मकै खुवाउने, गोकर्ण गजाधर गुठी, पकनाजेल गाई गुठीलगायतका सयौँ गुठी अस्तित्वमा छैनन् । यस्तै बागमती, विष्णुमती, इच्छुमती, रुद्रमती, बल्खु, हनुमन्तेलगायतका खोलामा वर्षामा खोला तर्न र फड्के साँघु राख्नका लागि गुठियारलाई आयस्ताबापत राखिएका पचासौँ रोपनी जग्गा तथा उपत्यकमा रहेका प्रायः सबै देवस्थलका नित्य भजन गुठी र राजराजेश्वरी जितजङ्प्रकाशेश्वरमा नित्य सहनाई बजाउने गुठीको पनि नामोनिसान नभएको गुठी लगत तथा अभिलेख कार्यालयका प्रमुख राजेन्द्र दाहाल बताउनुहुन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds