इजरायलमा केयरगिभर

 दीप्स शाह

अक्टोबर महिनाको आकाश, धर्ती, फूलपात, हावाको बयली, भुल्काभुल्की बादल सबैसबै मलाई असाध्यै मनपर्छ । पूर्वतिर छ्याङ्गै खुलेको आकाश मानौँ नीलो पछ्यौरा अनन्त फैलिएको छ । ‘एरुसलायम सेल जहाब (सुनको जेरुसेलम)’ भनेर सम्पूर्ण यहूदीहरूले हृदयनतः प्रार्थना गर्ने ठाउँ, संसारका तीन ठूला धर्मको उत्पत्ति र विकास भएको पवित्रस्थल, जहाँ दुनियाँका हरेक मान्छे जीवनमा एकपटक पुग्ने अभिलाषा राख्छन् । यस्तो अद्भूत ठाउँमा संयोगले पटकपटक पुगिसकेकी छु । तैपनि यो पटक केही खास छ, जो केही दिने लामो बसाइ त्यही रमणीय जेरुसेलमको छातीमा हुनेभएको छ । यसै पनि इजरायली ‘वर्क ल’ अनुसार हरेक विदेशी कामदार केयरगिभरले कानुनी रूपमा भिसा अपडेट गर्दै बस्न पाउने चार वर्ष तीन महिनाको अवधि पार गरिसकेकी छु । अबको मेरो इजरायल बसाइ भनेको हालकी मेरी अन्नदाता चिपोरा तलोरले श्वास फेरुञ्जेल न हो । यस्तो अनिश्चित समयमा शायद अन्तिम पनि हुनसक्ने रमणीय घुमफिरको शतप्रतिशत फाइदा उठाउने सोचमा थिएँ म पनि ।
सल्लाह मुताविक हाम्रो गाडी हुइँकियो तेलअभिभ सहरछेउको सानो बस्ती मोनोसोनबाट पूर्व जेरुसेलमतिर । ३५ मिनेट गुडेपछि स–साना थुम्के पहाडले जेरुसेलम नजिकिन लागेको सङ्केत ग¥यो । इजरायलकै नामीमध्येको एउटा तारे होटल ‘मालोन एच जाइत (दि ओलिभ ट्री होटेल)’ हाम्रो गुँड हुनेभयो घुमाइ अवधिभरिका लागि । यो होटल चिपोराले केही हप्ता पहिले नै बुक गरिराखेकी थिइन् । दिनको १२ बजेतिर कारले हामीलाई होटलको ढोकामा पु¥यायो । चाडबाडको बेला परेकोले होटल पनि असाध्यै खचाखच । आधा घण्टा त ‘चेक इन’मै लाग्यो ।
शानदार ओलिभ ट्री होटेल वास्तवमा एक ऐतिहासिक नमुनाको पनि रहेछ । इतिहासमा उल्लेख भए अनुसार, करिब दुई हजार वर्ष पहिले यहूदी राजा किङ्ग दबिद समय÷समयमा त्यही ओलिभको रुखमुनि टहल्थे रे । समयको अन्तरालपछि पनि उसैगरी समयचक्रको उतारचढाव हेर्दै उभिइराखेको त्यही ओलिभको रुखलाई वरिपरिबाट घेरेर होटल बनाइएको रहेछ । त्यसबेलादेखि होटलको नाम पनि उही रुखकै नामले राखिएको रहेछ । अहिले त अत्याधुनिक भवन छ तर स्थापनाकालका पिल्लर र भित्तो एकापट्टी अझै जस्ताको तस्तै राखिएको रहेछ । यस्तो इतिहास, ओलिभको रुख, होटल र अन्य धेरै जानकारी एकैछिनमा होटेलका म्यानेजर मिस्टर मेहेरबाट मैले लिन भ्याइहालेँ । हँसिला र मिजासिला मेहेरले अरू पनि निकै रमाइला प्रसङ्ग बताए र मेरो देशबारे पनि जान्न चाहे । ‘नेपाल’ भन्ने बित्तिकै फुरुङ्ग पर्दै भन्न भ्याइहाले, अहिलेसम्म म नेपाल पुग्न पाएको छैन तर निकट भविष्यमै जाने सोच बनाएको छु । साह्रै सुन्दर देश है नेपाल त ! मेहेरले भनिरहँदा म भित्रभित्रै जलिरहेकी थिएँ । विदेशीले यसरी मुक्तकण्ठले प्रशंसा गर्ने मेरो देशको प्राकृतिक सुन्दरतासँगसँगै विकास र सम्पन्नताको लेप लाग्नसके आहा, कति सुन्दर हुँदो
हो ! विदेशीले विश्व मानचित्रमा गुगल सर्च गरेर नेपाललाई सुन्दर देख्छन् यथार्थमा हामीभित्रका पीडा हामीसँगै छन् । मेरो देश र हामी नागरिकका पीडा उसलाई म किन देखाउँथे र ? उसको हात समातेरै धन्यवाद भनेँ र मेरो सुन्दर शान्त नेपाल एकपटक होइन, पटकपटक आउन आग्रह गर्दै आफ्नो कोठातिर लागेँ ।
अघि काउन्टरबाट दिइएको कार्ड सुँघाइदिएपछि चुइँक्क गर्दै कोठाको ढोका खुल्यो । हामीले थोरै समयमा धेरै घुम्नु थियो । एकैछिनमा तयार भएर लाग्यौँ यहूदीहरूको पुरानोमध्येको एक प्रार्थना घर अवलोकन गर्न । ८० किलोकी भारी चिपोरालाई ठसठस पार्दै ढोकैनेर पु¥याएँ तर भित्र पस्न पो दिएनन् दुई जना दारिवालले । धर्ममा विश्वास गरे पनि केही बेकारका अन्धविश्वासलाई भने म सधैँ नकार्छु तर यस्तो त मेरो धर्ममा मात्रै नभएर अरूको धर्ममा पनि हुने रहेछ !
कट्टर यहूदीहरूका अनुसार मूल प्रार्थना घर छिर्नका लागि महिला र पुरुषका अलगअलग ढोका रहेछन् । हामी पुरुषतिरको ढोकामा पुगेछौँ । ‘असुर असुर ! बिख्लाल लो याखोला । तिल्खिले देलेत निसिम (यताबाट पाप लाग्छ, महिलाको ढोकाबाट जाउ !) भन्दै दारिवालले हप्काएपछि लुरुक्क परेर हामी फर्कियौँ अर्को बाटो । isaryal
आहा ! सुनैसुनको मोलम्बाजस्तो केके हो केके भित्र त ! कति भव्य, कस्तो शानदार ! कति खर्च गर्न सकेका हुन् ! अति मनोरम प्रार्थनाघरको दृश्यावलोकन गरिसकेपछि लाग्यौँ जेरुसेलम ओल्ड सिटीतिर । पश्चिम जेरुसेलममा अवस्थित यो बजारमा लगभग सबै मुस्लिम व्यापारी छन् । उसोर यहूदीहरू सबाथ (शनिबारे धार्मिक छुट्टी) मा पनि यो बजार खुला नै रहन्छ । अन्यथा यहूदीहरू सबाथमा काम ठप्प गर्छन् । बजार, कार्यालय, यहाँसम्म कि सार्वजनिक सवारीसाधनसमेत सबाथ अवधिभरि चल्दैनन् । जेरुसेलम ओल्ड सिटीको अवस्थिति हेर्दा मलाई हाम्रो भृकुटीमण्डपको झल्को आयो । उस्तै लम्बेतान पसारिएको बजार । खुला गरेर सामान यताउता झुण्ड्याएर चिच्याइचिच्याइ ग्राहकलाई बोलाइरहेका पसलेहरू । सामानको भाउ पनि यहाँकै जस्तो सुरुमा चौबर भन्ने अनि घटाघट गर्दै दोब्बर या कहिले त तलै झरेर पनि बेच्ने । ओल्ड सिटीपछि निस्कियौँ ‘रकेभेत काला (फास्ट ट्रेन)’ हेर्न । केही महिना पहिले मात्रै इजरायलमै प्रथमपटक सुरु गरिएको र त्यसबेलासम्म निःशुल्क यात्रा गर्न पाइने रहेछ । तल चाहिँ रेलकै जस्तै मसिना दुईवटा लिकमा घस्रिने अनि माथि चाहिँ उहिलेउहिले हाम्रोमा भएको ट्रली बसको जस्तो तारमा झुण्डिएर बिजुली बेगमा हुँइकिने बसमा चढेपछि रमाइलो लाग्यो । हाम्रोमा भएको ट्रली बस अब इतिहास भइसक्यो । छिमेकीले उपहारमा दिएको संरचनासमेत हामीले जोगाउन सकेनौँ । भाग्यले विदेशका केही राम्रा कुरा देख्न पाउँदा पनि आफ्नो देशको भलिभाँडसँग तुलना गर्दै मन अमिलो भइहाल्ने !
३३३ चिप्लेकिरो जस्तै लामो तर टलक्क टल्किएको फास्ट ट्रेनले आवाजसमेत नगरिकन कतिखेर हामीलाई पूर्वी जेरुसेलमको ‘याफ्फो’ सिटीमा पु¥याइदियो । ‘एम लेस वन्डरिङ’ भनेजस्तो बिनाकाम बिना गन्तव्य उही फास्ट ट्रेन हेर्नका लागि बत्तिएका हामी समय कटाउन एउटा ठिकैको कफीसपमा पस्यौँ । ढोकैमा एउटा जर्मनजस्तो देखिने बूढो मान्छे गितार बजाउँदै हात थापिरहेको रहेछ । मगन्ते भनेको सबै देशका गहना पो हुन् कि क्या हो ! आखिर देश जति नै सम्पन्न भए पनि सबैतिर हुने रहेछन् ! विकसित देशको आधुनिक मगन्ते ऊ ! सुकिलो र राम्रो गेटअपमा महँगै देखिने गितार बजाइरहेको थियो । एक सेकेलेको ढ्याक दिउँ कि भन्ने लागेथ्यो । चिपोराको भतिजले छेक्दै भन्यो, गरिखाने हातखुट्टा तन्दुरुस्त भएकालाई किन दिनु ! उसको तर्क गलत थिएन, मैले निकालेको सेकेल पनि खल्तीमै फर्काएँ ।
साँझ ओर्लिन लागेथ्यो होटल फर्किंदा । हतारमा खानपिन सकेपछि फेरि लागियो ‘मिग्दाल दबिद (डेबिड टावर)’ मुन्तिरको ऐतिहासिक भग्न पर्खालमा । साँझ थपक्क ओर्लिएपछि देखाइने विशेष ऐतिहासिक जानकारी बारेको शो ‘ओर भे कोली’ (उज्यालो र आवाज) हेर्न । प्राचीन याहूदी राजा डेबिडकै पालाको मानिने एक भग्न टावरमुनिको भित्तोमा साँझपछि विभिन्न विद्युतीय प्रकाश ठोक्काएर आवाजसहित यहूदी राज्य इजरायलको प्राचीन इतिहासदेखि इजिप्सियन, रोमन, जोर्डनियन, टर्किस, ब्रिटिश लगायतले पटकपटक हमला गरेर आधिपत्य जमाउँदै कसरी उतारचढाव भोग्दै आजको इजरायल खडा छ भन्ने दर्शाउने महìवपूर्ण दृश्य हेर्न दैनिक ठूलो सङ्ख्यामा देशी–विदेशीको घुँइचो लाग्दोरहेछ । हर एक इजरायली तथा यहूदी साना नानीहरूले पनि उक्त शो हेरेर आफ्नो पुर्खाको बलिदानी र आफ्नो माटोको महìव मनन गर्न सक्छन् भनेर पनि इजरायलीले यस्तो काम गरेका रहेछन् । यिनीहरू इतिहासका हरएक घटना, चिजबिज र सम्झना बचाइराख्छन् । भोलिसम्म गौरव गर्न, खबरदारी गर्न र देशप्रतिको माया अटुट राख्न मरिमेट्ने रहेछन् । ६३ वर्षको इतिहासमा इजरायल संसारका विकसितमध्येका मुलुकमा गनिँदोरहेछ । पराइको सम्पन्नताको रस्तिबस्ती देखेर जलिरहेँ र खरानी बनिरहेँ डेबिड टावरको मुन्तिर ।
भोलिपल्टको गन्तव्य थियो अम्युनिसन हिल । सन् १९३० को पूर्वाद्र्धतिर ब्रिटिशले इजरायलमाथि आधिपत्य जमाएको समयमा उत्तरी इजरायलको त्यही स्थानमा आफ्नो प्रहरी एकेडेमी खोलेको रहेछ र यस ठाउँको न्वारन गरेको रहेछ अम्युनिसन हिल । अहिलेका इजरायलीले यो ठाउँलाई यतिको श्रद्धा र महìवको ठान्नुको कारण भने अर्कै रहेछ । ब्रिटिश उपनिवेशबाट मुक्त हुन सन् १९४७÷४८ मा भएको स्वतन्त्रता सङ्ग्रामपछि इजरायल त स्वतन्त्र देश भएछ तर उत्तरी जेरुसेलमको हालको अम्युनिसन हिल लगायतको भू–भाग भने जोर्डनले कब्जा गरेछ सन् १९६७ सम्म । यसरी इतिहासको त्यो कालखण्डमा २० वर्षसम्म जेरुसेलम आधा इजरायली, आधा जोर्डनियन भएर रहेछ । त्यसपछि सन् १९६७ जुन महिनामा छेडिएको छ दिने युद्धमा एक सय ८२ बहादुर इजरायली सुरक्षाकर्मी तथा सर्वसाधारणले प्राण बलिदान दिएर र कैयौँ क्षत्बिक्षत् भएर पनि गुमेको आधा जेरुसेलम इजरालयलीले फिर्ता लिएका रहेछन् । त्यसरी ज्यान गुमाएकै स्थानमा एक सय ८२ वटै जैतुनका बिरुवा रोपेर लडाइँको समयको भौगोलिक रूपरेखालाई जस्ताको तस्तै राखेका रहेछन् राष्ट्रिय मेमोरियल क्षेत्रका रूपमा । कतिसम्म भने त्यही स्थानमा सैनिक म्युजियमसमेत बनाएर युद्धका अनेक सम्झना जस्ताको तस्तै राखेका रहेछन् । हरेक वर्ष जेरुसेलम डे सेरेमोनी पनि त्यही स्थानमा मनाइँदोरहेछ राष्ट्रिय सम्मानका साथ ।
यिनीहरूले जति हामीले हण्डर, ठक्कर नखाए पनि लडाइँ त हाम्रोमा पनि भएकै थियो । स्वाधीनता कायम राख्न हाम्रा पुर्खा पनि त्यसैगरी लडेका थिए र शहादत प्राप्त गरेका थिए । फरक यति हो कि यिनीहरू ती बहादुरहरूले रगत बगाएर जोगाएको आफ्नो माटोको कणकणलाई प्राणभन्दा प्यारो मान्छन् र तिनीहरूलाई हृदय रित्याएर श्रद्धा गर्छन् । हामी इतिहास बिर्सिन्छौँ, शहीदको बलिदानीलाई सम्झनासमेत गर्दैनौँ र निहित स्वार्थको निमित्त आफ्नै देशलाई कुरुप पार्न पनि पछि पर्दैनौँ । जम्माजम्मी ६३ वर्षे इजरायल र अनन्त इतिहास बोकेको नेपालबीचको कल्पनै गर्न नसकिने असमानताको अनेक कारणमध्ये यही नै ठूलो कारण हो भन्ने मैले अनुभव गरेँ । अम्युनिसन हिलको अवलोकन गरुञ्जेल यस्तैयस्तै कुराले मलाई बिथोलिरह्यो ।
अबको हाम्रो गन्तव्य थियो इजरायलको सबैभन्दा ठूलो म्युजियम । म्युजियम यसै पनि ज्ञानबद्र्धक स्थल हो । झन् उक्त म्युजियम त इतिहासको विश्वविद्यालय जत्तिकै रहेछ । ओहो, कति अचम्म लाग्दा चिजबिज !! तेह्रौँ शताब्दीमा मुर्दा राखिने कफिन जो ठ्याकै मान्छेकै स्वरुप जस्तो ! त्यो देखेर कम्ती अचम्म लागेन । पन्ध्रौँ शताब्दीमा आविष्कार गरिएका शिशाका सामान । प्रथम शाताब्दीतिरका भाँडाकुँडा, चिजबिज र रहनसहनका अनेक भौगर्भिक सरसामानहरू बडो गहिरो खोज र अनुसन्धान गरी जतनले सजाइएको रहेछ । जहाँ सिङ्गो सृष्टिको आध्योपान्त जानकारी पाउन सकिने । दुर्भाग्य भनौँ, यी सबैथोक हेर्न पाइने तर ‘असुर लेचलेम’ (तस्बिर खिच्न सख्त मनाही छ) भनेर उर्दी जारी भएको रहेछ । म्युजियम भित्रै पनि ठाउँठाउँमा म्युजियमकै सुरक्षाकर्मी तैनाथ थिए । खल्तीबाट यसो मोबाइल झिक्यो कि बन्द गराउन आइपुग्ने । मोबाइल, क्यामेरा केही पनि प्रयोग गर्न नपाइने रे म्युजियम भित्र । ६५ हजार वर्ष पहिलेका हाम्रा पुर्खा नेन्डरथल जातिका अस्थिपञ्जर देख्दा विश्वासै लागेन सुरुमा त । घुम्दैजाँदा बाह्रौँ शताब्दीका बुद्धको प्रतिमासमेत देख्दा झ्वाट्ट फेरि नेपाल र नेपालीको गौरव सम्झेँ । उक्त प्रतिमा इजरायली सरकारलाई जापानले उपलब्ध गराएको हो रे । भने अनुसार यति विशाल म्युजियम हेर्नकै लागि मात्रै चाहिँ एक दिनको समय काफी हो तर बुझ्नका लागि एक दिन पर्याप्त होइन । यसो अर्कोतिर लागेका थियौँ, फुलाइएको बेलुनजस्तो बडेमानको सिमेन्टको तुम्बोमा चारैतिरबाट पानीको फोहोरा हानिराखेको देख्दा अचम्म लाग्यो । त्यसो त फोहोराले त्यसगरी उक्त सिमेन्टको तुम्बोलाई चौबिसै घण्टा पखालिराख्छ रे । किन त ? तुम्बोको अर्कोतिरबाट अन्डरग्राउन्ड पस्यौँ । भित्र त जलेका, च्यातिएका, पानीले धुमिल भएका अनेक टुक्राटाक्री किताबका पाना बडो जतन गरी शिशाका केशमा सजाइएको पो रहेछ ! प्रामाणिक हिसाबले पनि हिब्रु भाषा संसारको पुरानो भाषामध्येको मानिन्छ ।
हिब्रु ग्रन्थबाटै संसारभरि भाषा छरिँदै विकसित भएको मानिन्छ । यसरी संसारको माउभाषाको पुरानो अस्तित्व, अनेक खोज र अनुसन्धान गरी यहाँ ल्याएर सुरक्षित राखिएको रहेछ । यहूदीहरू धार्मिक मान्यता अनुसार उनीहरूका लागि सृष्टिको सबैभन्दा पवित्र चिज उनीहरूका धार्मिक ग्रन्थ हुन् र यिनीहरू भगवान्को आराधना गर्दा यिनै ग्रन्थलाई पूजा गर्छन् । त्यसैले यस्तो पवित्र चिजलाई हरसमय पवित्र नै राखिराख्नु पर्छ भन्ने मान्यता अनुसार उक्त बडेमानको सिमेन्टको तुम्बोलाई बाहिरबाट चौबिसै घण्टा पानीको फोहोरा दिएर धोइएको रहेछ । हाम्रोमा चाहिँ आधुनिक देखाउने नाममा धर्म र संस्कार छोड्ने, अन्धताको द्योतक हो भनेर हियाउने गरिन्छ ।
धर्मका नाममा केही निश्चित मान्यता र विश्वास जहाँ पनि हुन्छन् ! जब कि संसारको विकसितमध्येको एक मुलुक इजरायलले समृद्धिका लागि सम्पदा र संस्कृतिलाई कहिल्यै बाधक ठानेन । सत्य त यो हो कि धर्म, संस्कार र केही निश्चित मान्यताहरू संसारका हरेक सभ्य प्राणीले अवलम्बन गर्नैपर्छ । मौलिक पहिचान भनेकै आफ्नो धार्मिक, सांस्कृतिक मान्यता न हो । दुनियाँका हरेक सभ्य र विकसित मानव समाजले आफ्नो पहिचान कायम राख्नका लागि आफ्नो धर्मको निश्चित मान्यता, संस्कार र आस्थालाई अटुट राख्छन् । यो यिनैमध्येको एक उदाहरण हो । राजनीतिक परिवर्तनको जोसमा हामी अहिले यो बुझ्दैनौँ । देखासिकीको खोल ओढ्नु नै आधुनिकता र सभ्यता हो भन्दै हामी यतिबेला अन्धतामा कुदिरहेका छौँ । समयले लामो फड्को मारेर धेरै पछाडि हामीलाई छोडेर हुइँकिसकेपछि एक समय हाम्रो चेत खुलेको बेला पक्कै हामी पछुताउने छौँ । जेरुसेलमको त्यो सिमेन्टको तुम्बोभित्रका सुरक्षित धार्मिक ग्रन्थ र बाहिरबाट हरघडी पखालिरहेको पानीको फोहोरा नियाल्दै गर्दा विवादमा रहेको हाम्रो गुठी विधेयक, सम्पदा र संस्कृतिको महìवलाई हामीले किन बेवास्ता गरिरहेको छौँ भनेर प्रश्न गर्न मन लाग्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds