पूर्वजको सम्झनामा उद्यान   

बागलुङ, असार २१ गते । वरिपरि हरियाली उद्यान बीचमा चिटिक्क परेको ठाँटी । कतै पदयात्रा गर्न सिँढी त कतै विश्रामस्थल । यो हो गलकोट नगरपालिका–२ नरेठाँटीस्थित ‘खाँई पुन पार्क’ ।    
    
मध्यपहाडी पुष्पलाल लोकमार्ग छेउँ भएकाले उद्यानमा झट्ट नजर ठोकिन्छ । त्यहाँ पुग्ने जो कोहीलाई उद्यानले लोभ्याउछ । पहिले उक्त स्थान उजाड थियो । ठाँटी जीर्ण अवस्थामा थियो । आफ्ना पूर्वजद्वारा निर्मित ठाँटीको अस्तित्व मेटिने देखेपछि ‘खाँई पुन मगर समाज’ले ठाँटी पुनःनिर्माण र उद्यानको योजना ल्यायो ।    
    
अहिले ठाँटीले घरको झैँ स्वरुप पाएको छ । रङ्गरोगन र सजावटले आकर्षक देखिएको छ । ठाँटी वरिपरिको भू–भागलाई उद्यान बनाइएको छ । घेराबार र संरक्षण गरिएको छ । विसं १७८० मा नरि र हरि खाँई पुनले उक्त ठाँटी बनाएको इतिहास छ ।    
त्यसबारेको शिलालेख ठाँटीमा छ । सोही ठाँटीका नामबाट नरेठाँटी नाम रहन गएको बताइन्छ । पहिले बटुवाका लागि बास सार्वजनिक ठाउँमा ठाँटी बनाउने चलन थियो । पुर्खाहरुको इतिहास र योगदानलाई जीवन्त राख्न ठाँटी पुनःनिर्माण गरिएको ठाँटी संरक्षण तथा संवद्र्धन समितिका सचिव गोविन्द पुनले बताउनुभयो ।    
    
रु ३७ लाख खर्चेर ठाँटी पुनःनिर्माण र उद्यान बनाइएको हो । उक्त कार्यका लागि देश विदेशमा छरिएका रहेका खाँई पुनहरुले आर्थिक सहयोग गरेका थिए । खाँई पुन समाजसँग आबद्ध केही अगुवा व्यक्तित्व अहिले बेलायत, हङकङलगायतका देशमा छन् ।    
    
“देश विदेशमा रहेका खाँई पुनहरु एकीकृत र सङ्गठित हुँदैछौँ”, पुनले भन्नुभयो, “हाम्रो पहिचान र इतिहास जोगाउन आवश्यक छ ।” उद्यानमा खाँई पुनहरुको इतिहास झल्कने स्तम्भ पनि राखिएको छ । यस्तै सन् १७८० मा निर्मित ठाँटीको पर्खाल पनि संरक्षित गरिएको छ ।    
    
कुनै समयमा खाँई पुनहरुले शासन सम्हालेको र पछि राज्य खोसिएपछि लखेटिएको इतिहासमा उल्लेख छ । ठाँटीको पुनःनिर्माणले पुरानो इतिहासलाई चिर स्थायी बनाएको स्थानीयवासी बताउछन् । अहिले ठाँटीको उपयोगिता नरहेपनि धरोहरको रुपमा संरक्षण गरिनु सुखद् पक्ष हो ।    
    
ठाँटी र उद्यानले पर्यटकीय आकर्षण थपेको वडा नं २ का वडाध्यक्ष हिमबहादुर भण्डारीले बताउनुभयो । “नरेठाँटी बजारको सौन्दर्य बढेको छ”, उहाँले भन्नुभयो, “पर्यटनका हिसाबले पनि यसको महत्व छ ।”    
    
इतिहास र खोजमा रुची राख्ने विद्यार्थी, अनुसन्धानकर्मीलाई पनि यो ठाँटी एउटा गन्तव्य बन्न सक्छ । यस्तै प्रकृत्तिमा रमाउन चाहने सर्वसाधारण तथा पर्यटकलाई पनि उद्यान उपयुक्त छ ।    
    
ठाँटी तथा उद्यानको संरक्षण र विकासमा गलकोट नगरपालिकाले पनि सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालमा खाँई पुनका झण्डै ४०० बढी परिवार छन् । बागलुङको नरेठाँटी, लेखानीलगायतका ठाउँमा खाँई पुनहरुको बसोबास छ ।    
    
हालसम्मको अध्ययनअनुसार खाँई पुनहरुको सबैभन्दा पुरानो थातथलो नरेठाँटीको तोरीखोला, घसघसा र पुरानो गाउँ रहेको पाइएको छ । खाँई पुनहरुले उक्त ठाँटीलाई पूर्वजहरुको चिनोको रुपमा लिन्छन् । (रासस)     

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds