टौदह संरक्षणको माग गर्दै पुरातत्व र जिल्ला प्रशासनमा उजुरी

taudhaaकाठमाडौँ, असार २४ गते । कीर्तिपुर नगरपालिका–६ मा रहेको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक दृष्टिले महत्वपूर्ण टौदहको पहिचान समाप्त पार्न खोजिएको भन्दै संरक्षणका लागि स्थानीयवासीले माग गरेका छन् ।    
    
स्थानीयवासीले पुरातत्व विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौँमा टौदह संरक्षणको माग गर्दै निवेदन दर्ता गराएका छन् । नगरपालिकाले चालू आर्थिक वर्षमा टौदहमा पानीको फोहरा (वाटर फाउन्टेन) निर्माण गर्न रु ३७ लाख ५० हजार बजेट विनियोजन गरेको थियो ।    
    
चालू आवको शुरुमै काम गर्न खोजिए पनि स्थानीयवासीले पानीको फोहरा निर्माण गरेर सम्पदा मास्न नहुने भन्दै विरोध जनाएपछि रोकिएको थियो । आवको अन्त्यमा उपभोक्ता समिति गठन गरेर टौदहको प्राकृतिक स्वरुप बिगार्न खोजिएपछि संरक्षणका लागि सरोकार भएका निकायमा निवेदन दर्ता गर्नु परेको टौदह संरक्षण समितिका संयोजक विनोद बस्नेतले राससलाई जानकारी दिनुभयो ।    
    
वातावरणीय अध्ययन बिना विकासका नाममा प्राकृतिक दहमा नकारात्मक प्रभाव पार्ने गतिविधि हुन थालेकामा स्थानीयवासीले आपत्ति जनाएका छन् । सांस्कृतिक महत्व बोकेको स्थललाई व्यापारिक रुपमा उपयोग गर्न लागिएको भन्दै स्थानीयवासीले रोक्न विभागका महानिर्देशक र प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेका हुन् ।    
    
टौदहजस्तो संवेदनशीलस्थलको संरक्षण गर्नुपर्नेमा स्थानीय सरकार नै विनाश गर्न लागि परेको स्थानीय उपेन्द्रप्रसाद नेपालले बताउनुभयो । नेपालको विद्यमान कानून, वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ ले समेत इञ्जिन जडित उपकरण प्रयोग गर्दा वातावरणीय अध्ययन गर्नुपर्ने व्यवस्था गरेको छ ।    
    
नगरपालिकाले टौदहमा प्रारम्भिक वातावरणीय परीक्षण एवं प्रभाव मूल्याङ्कनसमेत गराएको छैन । स्थानीयवासीका तर्फबाट बस्नेत र नेपालले दर्ता गराउनु भएको निवेदनमा कार्यालयका प्रतिनिधिको संयोजकत्वमा पुरातत्व विभाग, त्रिभुवन विश्वविद्यालय इतिहास विभाग, स्थानीय समूह, गैरसरकारी र वातावरणीय संस्थाका प्रतिनिधि रहेको समिति गठन गरी अध्ययन गर्न माग गरिएको छ ।    
    
प्राचीनकालमा मञ्जुश्रीले चोभारको डाँडा काटेर मानव बस्ती बसाएपछि नागराजा एवं रानी अन्यत्र गए उपत्यकामा अनावृष्टि हुन्छ भनी टौदहमा राखेको जनश्रुति पाइन्छ । प्रत्येक वर्ष नागपञ्चमीका दिन यहाँ मेला लाग्ने गरेको छ ।    
    
वातावरणीय अध्ययन बिना सिमेन्ट, कङ्क्रिटको प्रयोग गरी संरचना निर्माण गर्दा जलचरको सङ्ख्या घट्न थालेको नेपाल पक्षी संरक्षण सङ्घले जनाएको छ । पहिले आउने गरेका विभिन्न प्रजातिका हाँस भौतिक संरचनाको निर्माणले आउन छोडेको सङ्घका संरक्षण अधिकृत कृष्ण भुसालले बताउनुभयो ।  (रासस)     

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds