भोका बाँदर भान्सामा

सरोज आचार्य

monkeyकाठमाडौँ, असार २६ गते । बाँदरलाई व्यवस्था गरिएकोे मकै मानिसले खाएपछि राजधानी काठमाडौँको कतिपय ठाउँमा बाँदरले मानिसका लागि पस्केको भातको थाल खोस्न थालेको छ । पशुपति वरपर ज्यादती गर्ने बाँदर कहिलेकाँही सहरका अन्य ठाउँमा पनि पस्ने गरेका छन् ।
बाँदरले मानिसका भान्सामा पसेर बबन्डर मच्चाउन थालेका छन् । बाँदरलाई कहिल्यै यसो गर्नु नपरोस् भनेर पृथ्वीनारायण शाहका कपरदार भोटू पाँडेले बाँदरका लागि मकै उब्जाउ गर्न राखेको काठमाडौँकै ३१ रोपनी रानीखेत अभिलेखमा मात्र सीमित भएपछि बाँदरलाई पनि भान्सामा पसेर मानिसको भातको थालै खोस्नुपर्ने अवस्था आएको छ ।
यो दृष्टान्त बाल विकास व्यवसायी केन्द्र सिफलमा आश्रित अनाथ र भूकम्पपीडित बालबालिकाले टड्कारो रूपमा भोगिरहेका छन् । यहाँ बालबालिकाले खान तयार भएको पस्किएकै थालको भात बाँदरले खोसेर हैरान गरिरहेको छ । लुगा सुकाउन पनि नपाइने अवस्था छ । जुत्तामोजा च्यातेर खोसेर हैरान गर्छ । ‘‘आनन्दपूर्वक खेल्नबस्न नै पाइँदैन, यसो खेल्यो बाँदर झम्टन आइपुग्छ,’’ आश्रमका बालबालिका हैरान हुँदै भन्छन् । रातमा जस्तामाथि बाँदर उफ्रेर बालबालिकाको निद्रा पनि पुग्दैन । व्यवसायी केन्द्रमा आवासीयतर्फ ५२ जना बालबालिका बस्दैआएका छन् ।
केन्द्रका भान्से वेदप्रसाद गौतमका अनुसार भातको औसानीसम्म पनि हाल्न दिँदैन । बाँदरले कहिले त भातको खड्कुलो नै जुठो गरिदिन्छ । कहिले थालै घिसारेर लैजान्छ । लुगाफाटा सुकाउन र ढोका बाहिर जुत्तामोजा राख्न पनि हुँदैन दौडाइहाल्छ । भान्से गौतम थप्नुहुन्छ, ‘‘भूकम्पपीडित बालबालिका पनि यहाँ छन् । भूकम्पको पीडा बिर्साउँ भन्यो बाँदरको अर्को पीडा थपिएको छ । बाल संरक्षण केन्द्रा बसेका मध्ये २२ बालबालिका भूकम्पपीडित अनाथ र असहाय छन् ।
उहिल्यै ५१ जनासम्मको दरबन्दी थियो, अहिले टुहुरा र पीडित गरी ११० बालबालिका यहाँ छन्, आवासीयतर्फ ५२ जना छन् । केन्द्र प्रमुख दानबहादुर बस्नेतका अनुसार बाँदर नजिकैको भण्डारखाल जङ्गलबाट भित्रन्छ । खान, बस्न, खेल्न र सुत्न नै दिँदैन बालबालिकालाई झम्टौँला जसो गरी तर्साइरहन्छ । केन्द्रसँगै जोडिएको बाल विकास केन्द्र माविमा पनि बाँदरको उपद्रवले हैरान गरेको छ ।
विद्यालयका कोअर्डिनेटर दीपक भुसाल भन्नुहुन्छ, ‘‘बाँदरले झम्टन आउँछ, विद्यार्थीलाई खाजा खान पनि दिँदैन खोस्न आइहाल्छ, कक्षाकोठाको झ्यालबाट हात पसाएर बाँदरले ख्याउ गर्न आउँछ । ’’ विद्यालयमा अध्ययनरत ३६० विद्यार्थीको विद्यालय परिसर प्रवेशको पहिलो चिन्ताको विषय नै आज बाँदरले के उपद्रव गर्ने हो भन्ने नै छ ।
यस्तै, त्रिपुरेश्वरमा पनि बाँदरले जोगीको अखडामा पसेर बस्नखान दिँदैन उदासी अखडाका महन्थ पुष्पदास महाराज भन्नुहुन्छ, ‘‘ राखनधरन केही गर्न पाइन्न, बाँदरले हैरानै पार्छ । ’’
यहीँको राममन्दिर अखडाकी माता सावित्रीले पनि बाँदर भान्सामा पसिदेला भनेर सधैँ तर्सिरहनु परेको बताउनुहुन्छ, फलफूल खानेकुरा त लुकाएरै राख्नुपर्छ ।
इतिहासविद् डा. गोविन्द टन्डनका अनुसार बाँदरको लागि मकै परेवालाई चारो, माछाका लागि पिठो र कुकुर र गाईसाँढेलाई खान दिन दाताले मकै, पिठो, नुनका लागि आयस्ताबापत खेत राखिदिएका थिए तर ती खेत अमानतमा गए । भएका गुठी कर्मचारी मातहत गयो । खरिदार सुब्बा सेक्सन अफिसरले ठाउँठाउँमा बाँदरलाई मकै बाँड्दै हिँड्ने कुरो पनि रहेन । यी गुठी लोप भए बाँदर मात्र हैन अन्य दोपाया चौपाया पनि भोकै पर्न थाले, समाजमा यसको प्रभाव दूरगामी प¥यो ।
डा. टण्डन भन्नुहुन्छ, ‘‘खोज्दै जाने हो भने बाँदर, परेवा, मलेवा, साँढे, गाई भोकै नपरुन् भनेर अन्नका लागि व्यवस्था गरिदिएका निकै गुठी फेला पर्छन् अब यसको खोजी हुनुपर्छ । ’’
वास्तवमा बाँदरले टन्न खान नपाएरै मानिस र बसोबासमा आक्रमण गरेको बुझाइ धेरैको छ । अमालकोटका द्वारे पूर्ण
ड्ङ्गोल भन्नुहुन्छ, ‘‘कार्यालयको जस्तामा भोका बाँदर उफ्रेर कामै गर्न दिँदैन, बाँदर उफ्रेपछि मानिसबीचको कुरा पनि सुनिन्न । ‘‘जयवागेश्वरीमा त बाँदरले दुःख दिन्छ भनेर घरजग्गा किन्न कोही चाहँदैन बाँदरकै कारण जग्गाको मोल निकै कम गर्नुपर्छ,’’ जयबागेश्वरी नवालीटोलका पञ्चराम महर्जन भन्नुहुन्छ । उहाँका अनुसार झ्याल छेउमा केही राख्नै हुन्न हात हुलेर
सामान दौडाइहाल्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds