बहुउपयोगी राष्ट्रिय परिचयपत्र (सम्पादकीय)

gopa sआगामी दुई वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्यसहित राष्ट्रिय परिचयपत्र वितरणको काम भइरहेको छ । चालू आर्थिक वर्षमा पाँचथर जिल्लाका नागरिक र सिंहदरबारमा कार्यरत कर्मचारीलाई परिचयपत्र वितरण गरिएको छ । गत मङ्सिर ३ गते पाँचथरबाट सुरु गरिएको बायोमेट्रिक सूचनासहितको राष्ट्रिय परिचयपत्र मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई र सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिएको थियो ।
आगामी आर्थिक वर्षमा प्रदेश १ को झापा र सङ्खुवासभा, प्रदेश २ को सप्तरी र महोत्तरी, प्रदेश ३ को ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जा, प्रदेश ५ को कपिलवस्तु र गुल्मी, कर्णाली प्रदेशको सल्यान र जुम्ला र सुदूरपश्चिम प्रदेशको अछाम र कञ्चनपुर गरी १५ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रम तय भएको छ । यसका लागि यी जिल्लामा ६२ वटा केन्द्रबाट व्यक्तिगत विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ । प्राथमिकतामा रहेको यो कार्यक्रमअन्तर्गत बाँकी जिल्लामा करिब एक हजार केन्द्र स्थापना गर्ने तयारी पनि चलिरहेको छ । आगामी वर्ष सबै जिल्लाबाट विवरण सङ्कलन गरिसक्ने कार्यक्रम छ । सरकारले नागरिकका विभिन्न जानकारी एकै ठाउँमा सङ्कलन गर्ने उद्देश्यले राष्ट्रिय पहिचानसहितको बहुउपयोगी बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्न यो कार्यक्रम ल्याएको हो । व्यक्तिको राष्ट्रिय पहिचानपत्र, मतदाता परिचयपत्र, सामाजिक सुरक्षा कार्डका रूपमा उपयोग गर्न सकिने यो परिचयपत्र सबै किसिमका सार्वजनिक सेवामा आबद्ध गर्ने उद्देश्य छ । यसले सार्वजनिक सेवा प्रदायक निकायको सेवा प्रवाहलाई सहज, छिटो र कम खर्चिलो बनाउने आशा गरिएको छ । राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रूपमा सरकार–सरकार, सरकार–व्यवसायी र सरकार–नागरिकबीच सेवा प्रदान गर्न यसको उपयोग हुनेछ । प्रचलित कानुनबमोजिम स्थापित सेवा प्रदायक संस्था तथा विदेशस्थित नेपाली नियोगमा नेपालको राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीलाई आबद्ध गराउने लक्ष्य छ ।
राष्ट्रिय परिचयपत्रमा व्यक्तिका ३० भन्दा बढी व्यक्तिगत विवरण, औँला छाप, फोटो र आँखाको नानीको तस्बिरसहितका सूचना सङ्कलन हुन्छन् । यसले सरकारी सेवा प्रवाह, राष्ट्रिय सुरक्षा, विकास व्यवस्थापन र राजस्व परिचयपत्र व्यवस्थापन प्रणालीलाई आबद्ध गरी महìवपूर्ण सूचना औजारको रूपमा उपयोग गर्न सकिने भएकाले सेवा प्रवाह र सुशासनमा महìवपूर्ण सहयोग गर्न सक्छ । राष्ट्रिय परिचयपत्रको बहुउपयोगिता भए पनि यसको व्यवस्थापन चुनौतीपूर्ण छ । अहिलेको अवस्थामा पनि एक करोड ६० लाख नागरिकको एकीकृत सूचना हुनेछ । एकै ठाउँमा नागरिकको संवेदनशील सूचना भण्डारण हुने भएकाले यसको सुरक्षा उत्तिकै महìवपूर्ण हुन्छ । कतिपयले नागरिकका सबै सूचना एकै ठाउँमा राख्नु जोखिमपूर्ण हुने धारणा राख्छन् । त्यसैले यस प्रकारका स्मार्ट कार्ड प्रयोग गर्ने मुलुकले पनि सीमित सूचना मात्रै प्रयोग गर्छन् वा उच्च सतर्कता अपनाउँछन् । जैविक र आनुवंशिक तथ्याङ्कको दुरुपयोगबाट निम्तिने सामाजिक जोखिम उच्च हुन्छ । नागरिकता जस्तै महìवपूर्ण यो परिचयपत्रसम्बन्धी छुट्टै ऐन भने छैन । कानुनको अभावमा व्यक्तिगत सूचना कसैले दुरुपयोग गरेमा के हुने भन्ने स्पष्ट छैन । वेबसाइट र सूचना भण्डारणको सुरक्षा प्रणाली अर्काे चिन्ताको विषय हो । यो परिचयपत्रको उपयोगिता र प्रयोगबारे अझै स्पष्ट भइसकेको छैन । यसको प्रयोगमा प्रविधिको विस्तार हुनुपर्नेमा अहिले कमजोर छ ।
राष्ट्रिय परिचयपत्र राष्ट्रिय पहिचान हो । यसले सरकारी सेवा प्रवाहलाई व्यवस्थित र सहज बनाउनुका साथै सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सघाउने छ । यसको प्रभावकारी उपयोग हुनुपर्छ । यसका लागि परिचयपत्रको प्रयोजन र सीमा स्पष्ट हुनुपर्छ । दस वर्षअघि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना गरी सुरु गरिएको यो काम अहिलेसम्म करिब ८० हजारको हातमा मात्रै परिचयपत्र पुगेको छ । एक करोड ६० लाख नागरिकलाई परिचयपत्र दिने लक्ष्य छ । त्यसैले नागरिकको वैयक्तिक विवरण सङ्कलन, व्यवस्थापन, प्रशासनिक र प्राविधिक क्षमता बढाउनुपर्छ । सङ्कलित सूचनाको सुरक्षामा संवेदनशील हुनैपर्छ, चुहावट र दुरुपयोगलाई नियन्त्रण गर्ने स्पष्ट कानुन र
संयत्र हुनुपर्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds