सिमेन्टका बोरामा लेमिनेसन अनिवार्य


गोरखापत्र समाचारदाता

leminationकाठमाडौँ, असार २७ गते । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपालमा बिक्री हुने सबै सिमेन्टमा अबदेखि अनिवार्य रूपमा लेमिनेसन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउनुपर्ने व्यवस्था गरेको छ । विभागले स्वदेश तथा विदेशमा उत्पादित सिमेन्टमा लेमिनेसन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउनुपर्ने नयाँ व्यवस्था बुधबारदेखि कार्यान्वयनमा ल्याएको हो ।
विभागले सिमेन्टलाई लेमिनेसन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउन सिमेन्ट उत्पादक सङ्घलाई आग्रह गरेको छ ।
विभागले सर्वोच्च अदालत, संयुक्त इजलासको आदेश ०६९ डब्लुओ ०२१४ समेतको मुद्दामा २०६९ भदौ १९ मा जारी अन्तरिम आदेश निष्क्रिय हुनेगरी फैसला भएअनुसार सबै सिमेन्ट उद्योगलाई लेमिनेसन गरेको बोरामा प्याकिङ गरेर बजारमा पठाउन आग्रह गरेको हो ।
सो विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले अहिलेसम्म उत्पादन भएकाबाहेक अब उत्पादन गर्ने सिमेन्टको प्याकिङ गर्दा अनिवार्य लेमिनेसन गरेर मात्रै बजारमा पठाउन सबै सिमेन्ट उद्योगलाई पत्राचार गरिसकेको जानकारी दिनुभयो । उहाँले लेमिनेसन गरेको बोरामा प्याकिङ गरेर बजारमा पठाउँदा गुणस्तर लामो समयसम्म ह्रास नहुने र सिमेन्टको बोराबाट निस्कने धूलो कम हुने बताउनुभयो । लेमिनेसन गरेको बोरामा प्याकिङ गरेर बजारमा नपठाउने सिमेन्ट उद्योगलाई कारबाही गर्नेसमेत विभागले जनाएको छ । उहाँका अनुसार नेपालमा स्वदेशी र विदेशी गरी ७० देखि ७५ को हारहारीका सिमेन्ट उद्योगले नेपाल गुणस्तर (एनएस) चिह्न लिएर सिमेन्ट बिक्री वितरण गर्दै आएका छन् ।
महानिर्देशक पुडासैनीले भन्नुभयो, एनएस चिह्न लिएका सिमेन्ट उद्योगको अनुगमन गर्छौं र अब उत्पादन गर्ने सिमेन्टको प्याकिङमा लेमिनेसन भए वा नभएको हेर्छौं । नयाँ उत्पादित बोरामा लेमिनेसन नभएको भेटिएमा कारबाही हुन्छ । उहाँले भन्नुभयो, अनुगमनका क्रममा कैफियत भेटिएमा तुरुन्त सिमेन्ट उद्योगका उत्पादन जफत गर्नुका साथै उत्पादन नै बन्द गर्नेसम्मको काम कारबाही गर्छौं ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds