स्वास्थ्य सेवामा रुपान्तर (सम्पादकीय)

gopa 1सात दशकअघि वीर अस्पताल स्थापना भएपछि सुरु भएको आधुनिक स्वास्थ्य सेवा गाउँगाउँसम्म विस्तार भएको छ । अहिले विभिन्न तहका साढे चार हजारभन्दा बढी स्वास्थ्य संस्था सरकारी स्तरबाट सञ्चालित छन् । झण्डै ९१ हजार शय्या छन् । २४ हजारको हाराहारीमा चिकित्सक र एक लाख जति अन्य स्वास्थ्य जनशक्ति छन् तर पनि स्वास्थ्य सेवा सबै जनताको सहज पहुँचमा छैन । बर्सेनि निकै ठूलो सङ्ख्यामा नेपाली उपचार गर्नकै लागि विदेश जाने गरेका छन् भने मुलुकभित्रै पनि उपचार गराउन नपाएर वा नसकेर रोग पालेर बस्ने वा मृत्यु पर्खने वा ज्यान गुमाउनेको सङ्ख्या पनि ठूलो छ ।
वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि मुलुकको स्वास्थ्य सेवाले फड्को मारेको छ । जनस्वास्थ्यप्रति सरकारले दिएको प्राथमिकताका कारण गाउँगाउँसम्म स्वास्थ्य संस्था र जनशक्ति पुगेका छन् । २०४८ मा आएको राष्ट्रिय स्वास्थ्य नीतिले गाउँगाउँमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने गरी संरचना विकास र विस्तार मात्रै गरेन स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको लगानी र सहभागितालाई प्रवद्र्धन ग¥यो । त्यसपछिका स्वास्थ्य नीतिले पनि गुणस्तरीय स्वास्थ्य सेवालाई व्यापक बनाउने उद्देश्य लिए । यसकै फलस्वरुप स्वास्थ्य क्षेत्रमा केही उपलब्धि हासिल भए । प्रतिहजार जीवित जन्ममा नवजात शिशु मृत्युदर २२, पाँच वर्षमुनिको बाल मृत्युदर ३९ र मातृ मृत्युदर २३९ छ । यो राम्रै उपलब्धि भए पनि सन्तोष लिने ठाउँ भने अझै छैन । स्वास्थ्य सेवा क्षेत्रमा थप समस्या र चुनौती देखिएका छन् । स्वास्थ्यमा सर्वव्यापी पहुँचसम्बन्धी नेपालले गरेका राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सम्बोधन गर्न र नेपालले सहस्राब्दी विकास लक्ष्यमा प्राप्त सफलतालाई कायम राख्दै दिगो विकास लक्ष्य हासिल गर्न अझै निकै चुनौती छन् ।
जनअपेक्षाअनुरुप गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र एकरुपता कायम गर्न नसक्नु अहिलेको मुख्य समस्या हो । पर्याप्त र दक्ष जनशक्तिको अभाव, स्वास्थ्य सेवामा लगानी अनुसारको प्रतिफल नहुनु, सरकारी स्वास्थ्य संस्थामा आवश्यकता अनुसारको आधुनिक उपकरण र विशेषज्ञ चिकित्सकको अभाव हुनु स्वास्थ्य क्षेत्रका जल्दाबल्दा समस्या हुन् । अस्पताल न्यूनतम पूर्वाधार जनशक्तिविहीन छन्, सुविधा भए पनि सर्वसाधारणले धान्नै नसक्ने महँगा छन् । सरकारी अस्पतालको सेवा केही सस्तो भए पनि माग धान्न सक्ने अवस्थामा छैनन् । निजी क्षेत्रको सेवा लिन केही सहज छ तर शुल्क महँगो छ । गरिब यसको मारमा परेका छन् । राजधानी र केही सीमित सहरलाई छोड्ने हो भने एक्स रे गर्न सुविधा छैन । दुर्गम र ग्रामीण क्षेत्रका रोगीले सामान्य प्याथोलोजी सेवा लिन निकै धेरै खर्च गर्नुपर्ने बाध्यता छ । रगत पाउन मुस्किल हुन्छ । राजधानी र अन्य सहरमा केही बढी सुविधा रहे पनि पर्याप्त सुविधा छैन र उपलब्ध भए पनि मागभन्दा निकै कम र महँगो छ । उदाहरणका लागि सिटी स्क्यान र म्याग्नेटिक रिसोन्सेस इमेजिङ (एमआरआई) जस्ता अति आवश्यक प्रविधि र उपकरणको कमी छ । उच्चस्तरीय र आधुनिक प्रविधि भएकाले महँगो पर्नसक्छ तर यसमा अस्पतालका लगानीकर्ताको मुनाफासमेत जोडिँदा यसले बिरामीको झनै ढाड सेक्छ । सरकारी अस्पतालमा केही सस्तो भए पनि पर्याप्त नहुँदा निजी अस्पतालमा भर पर्नुपर्ने बाध्यता रहेको छ ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने मौलिक हकको व्यवस्था गरेको छ । यसको दायित्व राज्यको हो । त्यसैले राज्यले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन आवश्यक छ । देश विकासमा स्वस्थ र उत्पादनशील नागरिकको महìवलाई दृष्टिगत गरी यस क्षेत्रमा लगानी वृद्धिमार्फत गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवामा समतामूलक पहुँच सुनिश्चित गर्नु आवश्यक छ । लोककल्याणकारी राज्यको अवधारणाअनुरुप स्वास्थ्य क्षेत्रलाई नाफामूलकबाट क्रमशः सेवामूलक क्षेत्रमा रूपान्तरण गर्दै लैजानुपर्ने जरुरी छ । अहिले सङ्घ, प्रदेश र स्थानीय तहमा स्वास्थ्य सेवाको जिम्मेवारी बाँडिएका कारण यी तीनै तहको समन्वय र सहकार्य आवश्यक छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds