तीन दिनदेखिको अविरल वर्षाले रौतहटको जनजीवन प्रभावित (तस्विर सहित)

यादवराज पुरी,

रौतहट, असार २७ गते । तीन दिनदेखिको अविरल वर्षाले रौतहटको जनजीवन प्रभावित बनेको छ । बागमती, लालबकैया र चाँदी नदीमा जलस्तर र बहाव बढ्दो छ ।

जिल्लाका अधिकांश भू-भाग पानीले भरीएका छन् । डुबानको खतरा बढ्दै गएको छ । बिहीबार राती लालबकैया नदीले बगाउँदा ईशनाथ नगरपालिका–३ का ३५ वर्षीय रामपुकार पटेलको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरदेखि पूर्व रहेको कजवेमा पानीको उच्च बहावका कारण बिहीबार रातीदेखि नै सैयौंको संख्यामा सवारी रोकिएका छन् । यात्रुहरु बाटो मै अलपत्र अवस्थामा छन् । जिल्लाको अधिकांश स्थानमा विद्युत सेवा समेत अवरुद्ध छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक नविन कार्कीका अनुसार बागमती नदीले रौतहटको गढीमाई नगरपालिका –८ लक्ष्मिपुर नजिकको बाँध कटान गरेको छ । यसैगरी लालबकैया नदीले फतुवा विजयपुर नगरपालिका स्थित हर्षाहा गाउँको बाँध कटान गरेको छ । बस्ती डुबानमा परेको छ । प्रहरीको उद्दार टोली घटनास्थलमा पुगिसकेको छ ।

बागमती र लालबकैया आसपासका वासिन्दाले उच्च सतर्कता अपनाउनु पर्ने भएको छ । पानीको सहत बढ्दै गर्दा ती नदीको आसपासका वासिन्दालाई सुरक्षित स्थानमा सार्नु पर्ने अवस्था आउने प्रवक्ता कार्कीले बताउनुभयो ।
अविरल वर्षाले चन्दपुर नगरपालिका–६ स्थित जनज्योति माध्यमिक विद्यालय डुबानमा परेको कारण विद्यार्थीको प्रथम त्रैमासिक परिक्षा स्थगन गरिएको छ ।

जिल्लाको बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुवानमा परेका छन् । सदरमुकाम गौर समेत डुबानमा परेको छ । जसको कारण स्थानीय त्रसित बनेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना