अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्रका लागि उत्पादन वृद्धि हुनुपर्ने बताउनुभएको छ। मंगलबार काठमाडौंमा आयोजित ३० औं किसान तथा ६९ औं भीमदन्त पन्त स्मृति दिवसको कार्यक्रममा उहाँले कृषिमा आधारित उद्योगको विकासमा जोड दिनुभएको हो।
सांसद मीना सुब्बाले सरकारी विद्यालय र निजी विद्यालयका विद्यार्थीको शैक्षिक पहुँच सम्मान बनाउन सरकारसँग माग गर्नुभयो । उहाँले ८० प्रतिशत विद्यार्थी पढ्ने सरकारी विद्यालयहरुले एसईईमा २० प्रतिशत र २० प्रतिशत विद्यार्थी पढ्ने निजी विद्यालयहरुले ८० प्रतिशत राम्रो नतिजा ल्याउनु चिन्ताको विषय भएको बताउनुभयो ।
अविरल वर्षापछि पूर्वी नवलपरासी गैंडाकोटका केही क्षेत्र डुबानमा परेका छन् । गैंडाकोट वडा नम्बर २ र ४ का केही क्षेत्र डुबानमा पर्न थालेका छन्।
कैलालीमा हिंस्रक वन्यजन्तुले एकै दिन किसानका २१ बाख्रा मारेको छ।
काठमाडौं, साउन १७ गते । 'केबीसी'को पहिलो एपिसोडको प्रोमो सार्वजनिक गरिएको छ । अमिताभ बच्चनको चर्चित गेम शो ‘कौन बनेगा करोडपति १४’ को पहिलो एपिसोडको प्रोमो सार्वजनिक गरिएको हो । सार्वजनिक भएको प्रोमोमा बलिउडका स्टार आमिर खान 'हट सिट'मा बस्नुभएको छ । शोको प्रोमोमा उहाँले सामाजिक सञ्जालमा यस कार्यक्रमको बारेमा विज्ञापन गर्न जरुरी नभएको बताउनुभयो । यस्तै, 'कौन बनेगा करोडपति'मा यसपटक पुरस्कार नगद ७ करोडबाट बढेर ७.५ करोड ताेकिएकाे छ ।शोका निर्माताले यसको प्रोमो शेयर गर्दै दर्शकलाई यसको जानकारी दिनुभएको हो । यसका साथै यस पटक शोमा तीनवटा लाइफ लाइन हुनेछन् ।
नेकपा एमालेका सांसद डा. भीम रावलले निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको बताउनुभएको छ । मङ्गलबारको प्रतिनिधिस बैठकमा बोल्नुहुँदै सांसद रावलले सो कुरा बताउनुभएको हो ।
पानी नपुग्दा तनहुँको टारी खेतको रोपाइँ प्रभावित भएको छ। प्रशस्त वर्षा नहुँदा मूल नफुटेपछि रोपाइँ प्रभावित भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।
नेकपा (एमाले)का सांसद विशाल भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेतालाई कारबाहीको लागि पत्र पठाएको प्रति आपत्ति जनाउनुभएको छ ।
काठमाडौं, साउन १७ गते । गायक, गीतकार तथा सङ्गीतकार प्रकाश सपूतको डेब्यु फिल्म 'परदेशी-२' को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको 'के वर मागी फर्क्यौ' बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा रमेश पौडेलको शब्द तथा नारायण रायमाझीको सङ्गीत र निशान भट्टराईको आवाज छ । नारायण रायमाझीले निर्देशन गर्नुभएको फिल्ममा प्रकाश र केकी अधिकारी मुख्य भूमिकामा छन् । दशैँको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्ममा प्रकाश र केकीसँगै वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारको पनि अभिनय छ । निर्देशक रायमाझी र राजेश वंशलको निर्माणमा बनेको फिल्मको कथा रमेश विजीले लेख्नुभएको हो । फिल्म असोज १४ देखि प्रदर्शनमा आउने बताइएको छ ।
बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १३ हजार सात सय ३४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको विकल्पको रुपमा सरकारको ध्यान नपुगेको बताउनुभएको छ ।
लुम्बिनी विकास गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा मङ्गलबार बसेको परिषद् बैठकले सो निर्णय खारेज गरेको हो ।
म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामेङ गाउँमा गएको पहिरोमा परी बेपत्ता भएका तीनजनाको शव फेला परेको छ । मङ्गलबार बिहान ३ बजे घरमाथिको पाखोबाट पहिरो खसेर घर परिँदा बेपत्ता भएका एकै परिवारका तीनजनाको शव फेला परेको हो ।
लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक अलपत्र परेको छ । पाँच वर्ष बितिसक्दा समेत लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको हो ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक सुरु भएको छ । मङ्गलबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भएको खानेपानी तथा सरसफाई विधेयक २०७७ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ ।